अन्तर्वार्ता

बीपीले लेखेका चिठीहरू सुरक्षित छन्

असार १४, २०७५

अनुभवी राजनीतिज्ञ, कूटनीतिज्ञ, लोकप्रिय पुस्तक कूटनीति तथा राजनीतिका लेखक हुन्— रमेशनाथ पाण्डे । उनी त्यस्ता भाग्यमानी व्यक्ति हुन्, जसले १६ वर्षको उमेरमै तत्कालीन प्रधानमन्त्री बीपी कोइरालासँग भेट्ने अवसर प्राप्त गरे । १८ वर्षको उमेरमै राजा महेन्द्र र प्रधानमन्त्री बीपीबीच सम्पर्क सूत्र बनेका पाण्डे पाँच पटक मन्त्री भए । कुनै बेला उनी पत्रकारसमेत थिए । ‘कूटनीति र राजनीति’ पुस्तकपछि पाण्डे अहिले नेपाली राजनीति र साहित्यका शिखर पुरुष बीपी कोइरालासम्बन्धी पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा ल्याउने तयारीमा छन् । राजनीति, अध्ययन, लेखन तथा सोसल नेटवर्कमा फैलिएको तपाईंको जीवन रमाइलो 
छ नि ?
प्रश्न सुन्दा रमाइलो लाग्यो तर जवाफ खोज्दा हलुका मुस्कान र निधारमा गाँठो पार्ने बोझिलो दबाब महसुस भयो । मानव जीवनको दुई भाग हुन्छ, आत्मिय र बाहिरी । बाहिरको भागको दिनचर्या साविक बमोजिमको छ । शुभचिन्तकहरू विमर्शको चाहनामा भेट्न आउनु हुन्छ, विद्यार्थीहरू उत्सुकता लिएर अनि विभिन्न दलका नेता तथा कार्यकर्ताहरू विचार सुन्न अनि सल्लाह लिन आउनुहुन्छ । समय कसरी बित्छ, पत्तै हुँदैन । सदुपयोग भयो कि खेर गयो भनेर घोरिन्छु । आत्मिक पक्ष भने आफ्नो विश्वासको दबाब र अनुभवका आधारमा परिस्थितिको मूल्यांकन गर्ने अनि उत्साहले ल्याउने जाँगर वा निराशाको भेलले हुत्याउने छट्पटीसँग जोडिएको छ । छोटकरीमा यो प्रश्नको उत्तर उदासीनता र मुस्कान मिश्रित छ । आँखा उघ्रिदा अभिप्रेरित र चिम्लिदा अलिकति सन्तोष अनि अलिकति विरक्तता नै सक्रिय जीवनको वास्तविकता हो ।
सामाजिक सञ्जालमा निक्कै सक्रिय देखिनु हुन्छ । यसको रमाइलो पक्ष के हो ?
म सामाजिक सञ्जालमा ५२ हजारभन्दा बढीसँग जोडिएको छु । आफ्नो विचार सुनाउन पाउने, जनताको प्रतिक्रिया जान्न पाइने, प्रत्यक्ष सम्पर्क नभएकाहरूको पनि स्नेह अनुभूति हुने, सुझाव पाइने सामाजिक सञ्जाल मलाई मन पर्छ ।
तपाईंको अध्ययन र अनुभवका आधारमा जीवन यात्राको इन्धन के हो ?
आँखा खोलेर, चेतनाको आडमा दिउँसै देखेको सपना नै जीवन यात्राको इन्धन हो । यसले नै मानिसलाई मसानसम्मको लामो यात्रा गराउँछ । यात्रा अघि बढ्दै जाँदा सपना बिपनामा परिणत हुँदै जान्छ, चाहना पूरा गर्ने सीप परिमार्जित हुँदै जान्छ, अभिप्रेरणा गहिरिँदै जान्छ । जीवन मृत्युतर्फ निर्देसित यात्रा हो । यो यात्रा नटुङ्गिदै सपना पूरा गर्ने चाहना हुन्छ । मानिसैपिच्छे फरक–फरक सपना हुन्छन्, तर देशलाई फाइदा हुने सपना देख्नुपर्छ । मरेपछि पनि जीवितै रहने प्रयास गर्नुपर्छ ।
तपाईंको पछिल्लो पुस्तक कूटनीति र राजनीतिले बजारमा नयाँ कीर्तिमान बनाएपछि पुस्तक लेखनबाट विश्राम लिनुभएको हो ? 
होइन, विश्राम भन्ने शब्द त मेरो शब्दकोशमै छैन । पाठकहरूबाट पाएको अपार स्वीकृतिकै कारण ‘कूटनीति र राजनीति’ ले बजारमा नयाँ कीर्तिमान बनाउन सकेको हो । काठमाडौं र बाहिरका जिल्लाहरूमा आयोजित समारोहहरूमा भाग लिन जाँदा पाठकहरू, विशेष गरी गुरु, विद्यार्थी र युवाहरूले देखाएको उत्साहयुक्त सहभागिता एवं पुस्तकको मूल्यांकनले मेरो जाँगर बढाएको छ । दोस्रो पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशनको तयारी हुँदैछ । आजको आवश्यकता सुहाउँदो र भविष्यका लागि उपयुक्त शासन व्यवस्थाको खोजीमा नेपालले गरेका क्रान्ति र भोगेका प्रतिक्रान्तिहरू अनि प्रतीक्षा गरेको वा हठात आएको अर्को क्रान्ति अनि त्यसलाई पच्छ्याइरहेको प्रतिक्रान्तिको अटुट श्रृंखला यो नयाँ पुस्तकको विषय हो । बीपी कोइरालाले सुन्दरीजल सैनिक जेलबाट मलाई लेख्नुभएको हस्तलिखित चिठीहरू पनि यो पुस्तकमा समावेश हुनेछन् ।
बीपीका चिठीहरू कुन विषयमा केन्द्रित छन् ? 
विभिन्न विषयहरू समेटिएका छन्– राजनीति, क्रान्ति र प्रतिक्रान्ति, धर्म र साहित्य । उहाँका नेपाली र भारतीय मित्रहरूका बारेमा । बीपीको राष्ट्रिय मेलमिलापको मन्त्र अहिले पनि जपिन्छ तर कसले उहाँलाई यो मन्त्र दियो ? उहाँका सबै पुस्तक जेलमै लेखिएका थिए । ती पुस्तक लेख्न कसले उहाँलाई दबाब दियो ? त्यतिबेला कम्प्युटर थिएन, निश्चय नै कलमले लेख्नुभयो । कहाँ छ त्यो कलम ? बीपीमा मानवीय संवेदनशीलता कस्तो थियो ? बीपीका सोखहरू, बलिया र कमजोर पक्ष, बानी बेहोरा, अध्ययन आदि धेरै विषय यसले समेटेको छ । सबैभन्दा ठूलो कुरा बीपीका विचारहरूको आधिकारिक दस्तावेज हुनेछन्–
यी चिठीहरू ।
लेखनमा आउन चाहने युवाहरूलाई सल्लाह
दैनिक डायरी लेख्नुहोस्, नयाँ र पुराना पुस्तकहरू पढ्नुहोस् अनि सिर्जनासँग प्रेम गर्नुहोस् । ब्युँझिएकै बेला सपना देख्नुहोस्, त्यसलाई अध्ययन र अनुभवका आधारमा लिपिबद्ध गर्ने बानी बसाल्नुहोस् अनि आफ्नो लेखनलाइ आफैं परिमार्जित गर्नुहोस् । अरूको नक्कल नगर्नुहोस् ।

प्रकाशित :असार १४, २०७५

 

nema
Show More

Related Articles

Back to top button