प्रजातान्त्रिक समाजवाद, राजनीतिक अधिकार सहितको आर्थिक समानता
अत्यधिक उत्पादन अनि समान वितरण
‘सबै नेपालीको एउटा सानो घर होस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुने गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । स्वास्थ्य उपचार गर्न पाऊन् । यही हो नेपालको सन्दर्भमा समाजवाद ।’ बीपी कोइराला
स्वर्गीय जननायक बीपी कोइरालाले उठाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आज हरेकको आवश्यकता भएको छ । सबैले यही नारामा हातेमालो गरेका छन, चाहे त्यो काँग्रेस होस या कम्युनिष्ट । उनको सिद्धान्तले वाद भन्दापनि सर्वसाधारणलाई अधिकार सहितको सम्पन्नतालाई जोड दिनु नै तौलदार कार्यभित्र पर्दछ । आज साम्यवादी चरित्रपनि प्रजातन्त्रमा अँटाएर देश विकासका खाकामा हातेमालो गर्दै जानु बीपीकै सिद्धान्तको उपज हो ।
बीपी कोइरालाका अनुसार साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ । साम्यवाद र प्रजातन्त्रिक समाजवाद बीचको भिन्नता भनेकै प्रजातन्त्रको उपयोग हो । जबसम्म गाउँको विकास हुन सक्दैन तबसम्म देश विकास नहुने र गाउँलाई पाखा लगाएर गरिएको विकासले समृद्धि हासिल नहुने उनको कथन र व्यवहार थियो ।
साम्यवादको गन्तव्य निरकुंशता र सर्वसत्तावाद हो । समाजवादले पूँजीवादसँग सहकार्य गर्छ । पूँजीवादले उत्पादनमा वृद्धिमा जोड दिन्छ भने समाजवादले उत्पादनको न्यायोचित वितरणलाई प्राथमिकता दिन्छ । साम्यवादमा पनि पूँजीवादले स्थान पाएकै हुन्छ । यसकारण पूँजीवादलाई चाहे समाजवाद होस या साम्यवाद दुबैबाट छुट्याउन मिल्दैन । केवल फरक यतिमात्र हो समाजवादमा पूँजीको स्वामित्व व्यक्तिमा निहित हुन्छ भने साम्यवादमा सरकारको हुन्छ ।
यस्तै बीपीको अर्को मन्त्र राष्ट्रियता हो । जनताले आफ्ना अधिकारहरु राम्ररी प्रयोग गर्न अवसर पाउँदा राष्ट्रियता मजबुद हुने उनको धारणा थियो । राष्ट्रियताले जनता, भौगोलिक अखण्डता, सार्वभौमिकता सहित राष्ट्रको पहिचानमा उनी कटिवद्ध थिए ।
जबसम्म गाउँको विकास हुन सक्दैन तबसम्म देश विकास नहुने र गाउँलाई पाखा लगाएर गरिएको विकासले समृद्धि हासिल नहुने उनको कथन र व्यवहार थियो ।
उनले जोड दिएको समाजवाद माक्र्सवादी नभएर गान्धिवादी थियो । माक्र्सवादी ढाँचामा सबै चिज राज्यको नियन्त्रणमा हुने गान्धिवादी समाजवादमा बीपी लिन थिए । गान्धीवादी ढाँचामा सहकारीसँग आवद्ध भएका साना साना इकाइहरु हुने, परिवार उत्पादनको अंग हुने गर्छ । तसर्थ कुनै परिवारले उत्पादन गर्न सक्ने वस्तुको उत्पादनको लागि सरकारले सहयोग दिन्छ । अर्थात गाउँका बासिन्दाहरु विद्युत उत्पादन गर्न उत्सुक देखिए भने सरकारले प्रोत्साहन दिन्छ । यसकारण उनले समानतालाई हरेक पक्षबाट जोड दिए ।
बीपीले समाजवादी चरित्रको सवालमा समाजवादमा आधारित विकासमा जोड दिएका थिए । आर्थिक योजना बनाउने सवालमा बीपीले योजना आयोगको बैठकमा भनेका थिए, ‘तपाइँहरु भित्तामा राजाको तस्विर राख्नुहोस र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झुपडी अगाडि उभिएको चित्रपनि राख्नुहोस र त्यसको अनुहार हेरेर योजना बनाउनुहोस र सोध्नुहोस् यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ? म आज पनि यहि प्रश्न सोच्छु ।’ उनको सँधैको जोड थियो, नेपाली माटो बुझेकाले योजना बनाउनुपर्छ ।
बीपीको प्रजातान्त्रिक समाजवाद राजनीतिक अधिकार सहितको आर्थिक समानतामा आधारित छ । गरिबका मित्र बीपीको प्रजातान्त्रिक समाजवादले पहिलो प्राथमिकता अत्यधिक उत्पादनमा र सो प्राप्तिपछि समान वितरणमा जोड दिएको छ । त्यसैले राष्ट्रिय अर्थतन्त्रमा उत्पादन वृद्धि भइ सकारात्मक नतिजा प्राप्त गरेपछि मात्र समाजवादको गन्तव्यमा पुग्न सकिने उनको निष्कर्श थियो ।
यहि मन्त्रलाई आत्मसात गरेर मरणोपरान्त प्रजातन्त्र र समाजवादको पथमा दत्तचित्त जननायक विश्वेश्वर प्रसाद कोइरालाको सपना ६५ वर्ष पछाडी उनकै बंश कार्यपालिका प्रमुख भएको बेला पुरा भएको थियो, २०७२ मा । यो उपलब्धि हासिल हुनुमा संविधान सभामा सम्मिलित सम्पूर्ण दलहरूलाई उत्तिकै जान्छ । यसमा पनि एनेकपा माओवादी जसले यो व्यवस्था ल्याउनमा हजारौँको ज्यान बलीदानी दिए । अन्य दलहरु जो अहिलेसम्म विभिन्न मुद्धामा लडिरहे । यसबाहेक जनआन्दोलन, मधेश, दलित, जनजाति, महिलालगायत समाजका सबै तप्काका दर्जनौँ आन्दोलन पनि स्मरणीय छन जसका कारण यो स्थिति आउन सक्यो ।
गरिबका मित्र बीपीको प्रजातान्त्रिक समाजवादले पहिलो प्राथमिकता अत्यधिक उत्पादनमा र सो प्राप्तिपछि समान वितरणमा जोड दिएको छ । त्यसैले राष्ट्रिय अर्थतन्त्रमा उत्पादन वृद्धि भइ सकारात्मक नतिजा प्राप्त गरेपछि मात्र समाजवादको गन्तव्यमा पुग्न सकिने उनको निष्कर्श थियो ।
जनताको हातबाट निर्मित संविधान, अर्थात संविधान सभाबाट संविधान जारी गर्ने प्रजातान्त्रिक योद्धा विपी कोइरालाको चाहना तत्कालीन समयमा त सम्भव भएन, तर ६५ वर्षमा चरणमा प्रवेश गर्न पायो, त्यसपछिका कामहरु त सुरु हुन सकेका छैनन् । उनको त्यो सपना र चाहनाले सानो आकार ढिलै भएपनि लिएको छ । त्यसैले नयाँ संविधान नेपालको संवैधानिक इतिहासको स्वर्णीम चरण थियो ।
विरगंज महाधिवेशनपछि नेपाली काँग्रेसले समाजवादलाई अंगीकार गरेको थियो । साम्यवादको कठोर र क्रुर तानाशाही र पुँजीपतिहरुको शासनबाट सम्पूर्ण जनतालाई मुक्त पार्न मध्यमार्गी बन्यो समाजवाद ।
प्रजातन्त्र र समाजवादी सिद्धान्तका पक्षधर बी.पी.ले सोसलिष्ट इन्टरनेसनलको संयोजकका रुपमा पनि अन्तर्राष्टिय क्षेत्रमा भूमिका निर्वाह गरेका थिए । वि.सं. २०३७ सालको जनमत् संग्रहमा प्रजातान्त्रिक व्यवस्थाका पक्षमा नेतृत्व गर्ने बी.पी.ले मृत्यु हुने समय अर्थात वि.सं. २०३९ सम्मै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । यसकारण पनि नेपाली कांग्रेस सदैब उनकै नाम, सिद्धान्त, कर्म र आकर्षणले अभिप्रेरित हुँदै आएको छ ।
राष्ट्रलाइ समृद्ध बनाउन सकिएन भने नेपालमा लोकतन्त्र अर्थहिन र राष्ट्रियता खोक्रो हुन्छ भन्ने बी.पी.को ठहर थियो । वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले जुन काण्ड गरे, त्यो राष्ट्रियताको दृष्टिले दूरगामी रुपमा हानिकारक थियो । जसले राजसँस्था प्रतिको जनविश्वासलाई अविश्वासमा परिणत गरेको थियो ।
डा. विपिन अधिकारीको शब्दमा भन्नुपर्दा नेपालमा त्यस बेला पनि राजनीति बुझ्ने र त्यसलाई ब्यक्त गर्न सक्ने क्रिटिकल मास नभएको होइन । तर, त्यो समूह सानो मात्र थिएन, अक्षम पनि थियो । नेपाली समाजको चेतनास्तर आज त यस्तो छ भने त्यस बेलाको स्थिति अन्दाज गर्न गाह्रो हुँदैन ।
जबसम्म देशको उत्पादनमा उल्लेख्य वृद्धि हुँदैन र समान वितरणलाई ध्यान दिइँदैन तबसम्म समाजवाद आएको भन्न मिल्दैन, हामीले चाहेको गान्धीवादी समाजवाद हो ।
बीपी कोइरालाको विकासको खाका मुख्य गरेर कृषिमा आधारित, मध्यम वर्गीय परिवार, नेपालीको खाना, नाना र छानाको व्यवस्था, एक हल गोरु, जमिन, दुहुनो गाई चाहन्थे । उनको प्रजातान्त्रिक समाजवाद मूलतः राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिव जनतालाई सामाजिक न्याय दिने खालको विकास थियो । यो दुइ पक्षबिना गरिबी उन्मुलन गर्छु भन्नु र स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो, उनी भन्थे ।
अहिले नेपालमा प्राय स्थानमा बाटोघाटो पुगेको छ तर धुलै र हिलै छ । पुल पुलेसा बनेका छन, बन्ने क्रममै छन् । पुल नभएर विद्यालय जान नसकेको, बजार जान नसकेको, बिरामीलाई अस्पताल लैजान नसकेको घटनाको प्रतिशतमा पनि खासै परिवर्तन आउन सकेको अवस्था छैन । प्रतिव्यक्ति आय बढेको छ तर सत्यतामा जीवनको तथ्यांक स्पष्ट छैन । फाटेका लुगा लगाउने जनसंख्यामा घटोत्तरी आएपनि समग्र गरिबीको प्रतिशत घटेको छैन ।
जाडोमा तातो लुगाको अभावमा मृत्युहुनेहरुको खबर बढ्दो छ । शिक्षा तथा यातायातमा खर्च बढी भएको देखाएपनि गाउँमा न गाडि नै छ न त शिक्षक नै छन् । यस्ता ब्याप्त समस्याहरुले बी.पी.को बिचार र उनले लिएको सिद्धान्तलाई अझ नजिक गरेर हरेक नेपालीले बुझ्नु जरुरी भइसकेको छ । जबसम्म देशको उत्पादनमा उल्लेख्य वृद्धि हुँदैन र समान वितरणलाई ध्यान दिइँदैन तबसम्म समाजवाद आएको भन्न मिल्दैन, हामीले चाहेको बीपीले भनेजस्तै गान्धीवादी समाजवाद नै हो ।