समाचार

वंशवादमा कांग्रेस चल्दैन ः शेखर कोइराला

डा. शेखर कोइराला
नेतृत्वको सवालमा म, शशांक र सुजाताबीच बाहिर चर्चा भएजस्तो मनमुटाव भएकै छैन र भविष्यमा पनि हुनेछैन
कोइराला परिवारको भए पनि म वंशवाद वा वंश परम्परामा विश्वास गर्दिनँ । काममा विश्वास गर्छु । कसको छोरा वा कसको छोरी भन्ने आधारमा महाधिवेशनमा भोट दिन आउने कांग्रेसीले नेता मान्छन् भन्ने ठान्नु हुँदैन, अरूले पनि यस्तो आश नगरून् । आचरण, सक्रियता, अहिलेसम्म पार्टी र मुलुकका लागि गरेका कामको फेहरिस्त तथा आगामी दिनका लागि भिजन नहेरी अबको महाधिवेशनमा कसैलाई मतदान गर्ने अवस्थामा महाधिवेशन प्रतिनिधि आउनेछैनन् ।
कोइराला परिवारभित्र म, शशांक र सुजाता राजनीतिमा क्रियाशील छाैँ । तर, नेतृत्वको सवालमा हामी तीनबीच बाहिर चर्चा भएजस्तो मनमुटाव अहिलेसम्म भएकै छैन र भविष्यमा पनि हुनेछैन । पार्टी एकदम अप्ठ्यारो अवस्थामा छ, साथीहरू हतास–निराश हुनुहुन्छ । यस्तो अवस्थामा पार्टीका निम्ति हामी तीनैजना झन् प्रतिबद्ध भएर एकै ठाउँमा उभिनेछौँ । अब तीनजना मिले, कोइराला परिवारले नै सभापति ताक्यो, भन्नेचाहिँ होइन ।
पार्टीको १४औँ महाधिवेशनमा सभापति बन्न पार्टीका धेरै साथीहरू तयार भइसकेका छन् । सभापति बन्न कोइराला परिवारभन्दा बाहिर पार्टीका लागि योगदान गरेका वरिष्ठ र योग्य साथीहरू हुनुहुन्छ । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायत हामी नियमित भेटघाट र पार्टी सुधारका निम्ति छलफल गरिरहेका छौँ । अहिले नै सभापति को बन्ने भन्ने विषय गौण हो । उम्मेदवारी घोषणा गर्ने वेला भइसकेको छैन ।
सबैभन्दा ठूलो विषय संगठन हो । हामी यतिवेला नेतृत्व कसले गर्ने भन्दा पनि संगठन कसरी बलियो बनाउने र पार्टीलाई पुरानै अवस्थामा कसरी फर्काउने भन्ने विषयमा चिन्तित छौँ । अहिलेकोजस्तो नेतृत्वबाट अब पार्टी अगाडि बढ्न सक्दैन । यसबीचमा हामीले जनतालाई पार्टीसँग जोड्ने कार्यक्रम अगाडि लैजानुपर्छ । कांग्रेसको जनतासँग सम्बन्ध टुटेकै कारण हामीले तीनै तहका निर्वाचनमा पराजय व्यहोर्न पुग्याैँ । त्यसकारण अहिले हाम्रा अगाडि संगठन सुदृढ गर्नुपर्ने प्रमुख जिम्मेवारी छ ।
पहिला संगठन मजबुत बनाऔँ, त्यसपछि जसले आगामी दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गर्दै मुलुकमा आइपर्ने तमाम चुनौतीको सामना गर्न सक्छ, त्यसैलाई सभापतिमा उम्मेदवार बनाउँला । मेरो जिल्ला भ्रमणलाई आगामी महाधिवेशनमा उम्मेदवारीसँग जोडेर अनुमान गरिन्छ । तर, मैले कुनै निर्णय गरिसकेको छैन । देशैभरि घुम्ने साथीहरूसँग अन्तरक्रिया गर्ने गरिरहेको छु । साथीहरूको ‘रेस्पोन्स’ राम्रै छ । तर, यत्तिको भरमा त अहिल्यै निर्णय गर्न मिल्दैन ।

पार्टी एकदम अप्ठ्यारो अवस्थामा छ, साथीहरू हतास–निराश हुनुहुन्छ । यस्तो अवस्थामा पार्टीका निम्ति हामी तीनैजना झन् प्रतिबद्ध भएर एकै ठाउँमा उभिनेछौँ । अब तीनजना मिले, कोइराला परिवारले नै सभापति ताक्यो भन्नेचाहिँ होइन ।

जिल्ला भ्रमण गरिरहेको हुँदा अध्यक्षमा मै उठ्ने अनुमान गरिएको हुन सक्छ । हिजोआज जिल्ला घुम्न यथेष्ट समय निकाल्न पाएको छु । हालै पश्चिमका केही जिल्ला घुमेर फर्किएँ । केही दिन काठमाडौंमा रहेपछि फेरि पूर्व हानिएँ । यसको मतलब म सभापतिमै उठ्न लागेको अनुमान नगरियोस् । म सांसद पनि छैन, काठमाडौं किन बसिरहुँ । बरु जिल्ला घुम्यो, साथीहरूको कुरा सुन्यो । पार्टीको परफरमेन्स र पारा देखेर हतास, निराश बनेका साथीहरूको हौसला बढाउन खोज्छु ।
जिल्ला घुम्दा कांग्रेसका साथीहरू पार्टीको गुट–उपगुटको राजनीतिबाट वाक्क भएको पाउँछु । चुनावमा पराजित भएपछि कांग्रेस कार्यकर्ता निराश छन् । कार्यकर्ताको मनोबल गिरेको छ, नर्भस भएका छन् । तैपनि कार्यक्रम ६, ७ घन्टा चल्दा पनि साथीहरू अन्तिमसम्म कार्यक्रममा सहभागिता जनाइरहेको पाउँछु । पार्टीले पाँच वर्षपछि पुनरागमन गर्नका लागि केही गरिरहेको छ कि भन्ने आशा र भरोसा रहेको पनि छ ।
अरू साथीहरू पनि जिल्ला–जिल्लामा गएर पार्टीका साथीहरूसँग अन्तरक्रिया गरे भने साथीहरू उत्साहित हुनेछन् । उनीहरू सत्ताबाहिर रहेको यही समयमा गुट–उपगुटको राजनीतिलाई त्यागेर नयाँ भिजनसहित नेतृत्व आइदिऊन् भन्ने चाहिरहेका छन् । गुट–उपगुटको राजनीतिबाट मुक्त भई नयाँ भिजनका साथ नेतृत्व प्रस्तुत भइदिए तल्लो तहसम्म ऊर्जावान् हुने विश्वास तिनको छ । यसपछि पाँच वर्षपछि हुने चुनावमा नेकपालाई धुलो चटाउन सकिन्छ भन्ने विश्वास तिनमा पाएको छु ।
मैले कार्यक्रमलाई पूर्ण अन्तरक्रियात्मक  बनाउने गरेको छु– धेरै फ्लोरका कुरा सुन्ने, आफूले थोरै बोल्ने । यस्ता अन्तरक्रिया मा पार्टीका कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक, मतदाताको पनि कुरा सुन्न पाइन्छ । पछिल्ला समयमा पार्टीको मनमुटाव, कम्युनिस्ट सरकारको क्रियाकलापमा शंका गरेर जिज्ञासा राख्छन् । साथै बिपीको प्रजातान्त्रिक समाजवादबारे प्रश्न गरिन थालेको छ । बिपीले भनेको प्रजातान्त्रिक समाजवादलाई समायानुकूल व्याख्या गरी पार्टीले सुस्पष्ट आर्थिक नीति बनाउन जरुरी छ ।
अहिलेको परिस्थितिबारे कांग्रेस कार्यकर्ता ज्यादै नै चिन्तित भएको पाइयो । ६–६ घन्टासम्मको कार्यक्रममा पनि उनीहरू हतार नगरी बसे । कांग्रेसका कार्यकर्ता अहिलेसम्म यति लामा कार्यक्रममा सबै बसेको कहिल्यै देखिएको थिएन । यसले अहिले पनि कांग्रेसप्रति मानिसमा विश्वास र आशा रहेको बुझ्न सकिन्छ ।
केहीअघि कैलालीको टीकापुरमा थिएँ । दुई समुदायबीचको तुष तीन वर्ष बित्दा पनि बाँकी रहेको पाएँ । दुवै समुदायका मान्छेसँग भेटघाट गरेँ, कुरा सुनेँ । जघन्य अपराधमा प्रत्यक्ष संलग्नले मुक्ति पाउनुपर्छ भन्ने माग थारू समुदायको थिएन । तर, हुलमुलमा धेरै निर्दोष फसेको तिनको गुनासो थियो । निर्दोषलाई छुटाउन पहल गरिदिनुस् भन्ने आग्रह मसँग गरे ।
मैंले दुई समुदायबीच तुष मेटाउन पहल गर्न स्थानीय साथीहरूलाई भनेँ । कांग्रेस कुनै पनि अतिवादबाट मुक्त पार्टी हो । कांग्रेसले समुदायबीचका विवादमा खेलेर कहिल्यै राजनीति गरेन, गर्नेछैन । तर, समाजमा यस्ता तुष मेटाउन पनि कांग्रेसले सक्रियता देखाउनुपर्छ ।
बर्दिया, कैलालीमा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेसमा बिलय भएपछि फोरमका तत्कालीन नेता–कार्यकर्ता आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्तित छन् । बिलय हुनुअघि फोरमसँग गरिएको सहमति कार्यान्वयन नभएको, आफूहरूले जिम्मेवारी नपाएको गुनासो तिनको छ ।

मोरङमा मेरो क्षेत्रमा पनि गच्छदारजीको पार्टीको प्रभाव थियो, मैले समायोजन गरेँ । मैले संवाद गरी समायोजन गर्न भनेको छु । तर, यसमा पनि पार्टी नेतृत्वले पहल गर्नुपर्छ । नत्र, लोकतान्त्रिक फोरम बिलय हुनुको फाइदा कांग्रेसलाई हुँदैन । तत्कालीन फोरमबाट आएकाहरू यही अवस्थामा रहे पार्टी छाड्ने मनस्थितिमा देखिन्छन् ।

कांग्रेस अग्रगमनतिर जानुपर्नेमा पश्चगमन गरिरहेको छ कि जस्तो देखिन्छ । विधान मस्यौदा समिति गठन गर्नु छ, शेरबहादुर देउवाले रामचन्द्र पौडेलले बाधा पु-याए भन्नुहुन्छ, पौडेल देउवामाथि आरोप लगाउनुहुन्छ ।

सरकार दुईतिहाइको भएकाले कांग्रेस पाँच वर्षसम्म सत्ताबाहिर रहन्छ भन्नेमा कार्यकर्ता पंक्ति द्विविधामा छैन । पाँच वर्षसम्म संगठन मजबुत गराउनतर्फ लाग्नुपर्छ भन्ने जिल्लाका साथीहरूको अठोट छ । यस्तो अवस्थामा नेताले कम्युनिस्ट पार्टी फुट्छ, हामी चाँडै सत्तामा पुग्छौँ भनेर भन्नु हुँदैन । काठमाडौं र जिल्लाका साथीहरूको चिन्तन फरक छ । अहिलेको सरकारसँग जिल्ला–जिल्लामा साथीहरू भिड्न तयार छन् ।
हामीहरू उनीहरूलाई कसरी परिचालन गर्छौं भन्ने विषयले के गर्ने भन्ने निक्र्योल गर्छ । जिल्लामा कार्यक्रममा सहभागी भएर फर्केपछि कार्यकर्ता देखेर म उत्साहित भएको छु । कार्यकर्ता निरुत्साहित भएर कार्यक्रममा नआउने हुन कि भन्ने लागेको थियो, भयो त्यसको विपरीत । कैलालीको टीकापुरमा त राति नौ बजेसम्म कार्यक्रम गर्दा पनि कार्यकर्ता हलभरि खचाखच थिए ।
वकिल, शिक्षक आदिलाई पनि भेटेँ । दुईतिहाइको कम्युनिस्ट सरकारको छाँटकाँट हेर्दा लोकतन्त्र नै धरापमा पर्ने हो कि भन्ने आशंका व्यक्त गरे । तिनहरू दुईतिहाइको सरकारले स्थायित्व देओस्, राम्रो काम गरोस् भन्ने नै चाहने हुन् । तर, सरकारबाट चाँडै मोहभंग हुँदै गएको देखिन्छ । सरकारको अनुदार रबैयाले गर्दा ओली आधिनायक हुने त होइनन् भन्ने आशंका हुन थालेको छ ।
शेरबहादुर देउवा पार्टी सभापति, उहाँ दोहो-याउन चाहनुहुन्छ भने मचाहिँ नदोहो-याउनुस् भन्ने पक्षमा छैन । ‘मोस्ट वेलकम’ भन्छु । साथीहरूले रुचाउँछन्, रुचाउँदैनन् भन्ने त उहाँले बुझ्ने कुरा हो । परिस्थिति पहिलेको जस्तो छैन । साथीहरूको भनाइलाई आधार मान्ने हो भने गृहजिल्लामै असन्तुष्टि धेरै छ, उहाँको पक्षभन्दा विपक्षमा धेरै नेता–कार्यकर्ता छन् । पार्टी सभापतिले दोहो-याउन खोज्नु उहाँको अधिकार हो । तर, अरूलाई पनि सभापतिमा उठ्ने अधिकार हुन्छ नि । अरू साथीहरूले कसरी लिन्छन् भन्ने विषय मात्र हो ।
भ्रमणका क्रममा भवितव्य कस्तो भयो भने म यताबाट घुम्दैघुम्दै धनगढी पुगेँ, प्रकाशमानसिंह दार्चुलाबाट घुम्दैघुम्दै त्यहीँ आइपुग्नुभयो । राति ११ बजे हाम्रो भेट भयो । धनगढीमा कांग्रेसका जिल्ला सभापतिको संयोजनमा हामीले सँगै खाना खायाैँ । नेताहरूलाई प-यो होला, यिनीहरू मिलेर घुमिरहेका छन् । तर, संयोग मात्र थियो । दुईजना एकैचोटि पुगेपछि जिल्लाले कार्यक्रम त एउटै गर्ने हो, दुईवटा कार्यक्रम गर्ने कुरा भएन । सबै केन्द्रीय पदाधिकारी, सदस्यहरू आफ्नो पहिचान बनाएर हिँडे भने कार्यकर्ताले जज गर्न पाउँछन्, को ठीक छ, को बेठीक छ भनेर ।
कांग्रेस अग्रगमनतिर जानुपर्नेमा पश्चगमन गरिरहेको छ कि जस्तो देखिन्छ । सबैभन्दा डरलाग्दो विषय हो यो । कांग्रेस पुनर्संरचनातिर जान सकिरहेकै छैन । विधान मस्यौदा समिति गठन गर्नु छ, शेरबहादुर देउवाले रामचन्द्र पौडेलले बाधा पु-याए भन्नुहुन्छ, पौडेल देउवामाथि आरोप लगाउनुहुन्छ ।
मस्यौदा समितिको विषयमा यो विवाद मलाई पाच्य छैन । जिम्मेवार सभापति हो, सभापतिले जवाफदेही भएर काम गर्नुपर्छ । कांग्रेसको विधानमा प्रदेशको संरचना भनेर एउटा धारणामा प्रदेशअन्तर्गतका महाधिवेशन प्रतिनिधिले भोट गरेर प्रदेश समिति बनाउने भन्ने उल्लेख छ । तर, सभापतिले तदर्थ समिति बनाउन खोजिरहनुभएको छ । त्यसको म विरोधी हुँ । तदर्थ समिति बनाएर नेतृत्व विकास हुन सक्दैन ।
अधिवेशनबाट मात्रै नेतृत्व विकास हुन्छ । शेरबहादुर देउवा पनि अधिवेशनमा निर्वाचित हुँदै आएर नेतृत्व विकास भएको हो । नेविसंघको निर्वाचन, कांग्रेसका पटक–पटकका निर्वाचन जितेर आउनुभएको हो, टीका लगाएर उहाँ यो स्थानमा पुग्नुभएको होइन । आफू नेता बन्न निर्वाचित भएर आउने, अहिले अर्कालाई टीका लगाएर नेता बनाउन खोज्ने, यो कत्ति पनि सुहाएन सभापतिलाई ।
यसमा दोष सभापतिको मात्रै छैन, रामचन्द्र पौडेलको पनि छ । उहाँ पनि टीका लगाएर नेता बनेको होइन, निर्वाचन जित्दै आएर नेता बनेको हो । तर, टीका लगाउने प्रथा जुन सुरु गर्न लागिएको छ, त्यसमा उहाँको सभापतिसँग चोचोमोचो मिलेको देखिन्छ । यो कांग्रेसका लागि घातक हो ।
कांग्रेस नेतृत्वको सरकारले १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन गराएको हो । तर, अहिले त्यही पार्टीले २४० निर्वाचन क्षेत्र मानेर पार्टीमातहतका निकायलाई सर्कुलर जारी गरेको छ, यसले सभापति कतातिर बढ्दै हुनुहुन्छ भन्ने देखाउँछ । स्थानीय निकायबाट स्थानीय तह बने, गाविस गाउँपालिकामा परिणत भए, तर गाविसलाई आधार मानेर काम गर्नेजस्ता अनुपयुक्त हर्कत भइरहेको छ ।
प्रादेशिक संरचना र स्थानीय तहका संरचना निर्माण त पार्टीको १४औँ महाधिवेशनका लागि पनि गर्न जरुरी छ । फेरि दुई वर्षमा अधिवेशन हुँदा केही बिग्रन्न । शेरबहादुरजीले टीका लगाएर गठन गर्ने प्रदेश समिति तीन वर्षका लागि हो भनेर बोल्नुभयो, तीन वर्ष त बाँकी नै छैन । यस्ता क्रियाकलापले कांग्रेस कार्यकर्ताको मनोबल खस्कन्छ ।
सभार ः नयाँपत्रिका

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button