झापा, भदौ २२ । देशैभरका बासिन्दाले धेरै बर्षदेखि खानेपानीको हाहाकार झेलिरहेको बेला खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालमा रहेको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्याएर बिक्री गर्ने बताएकी छिन ।
झापाको बिर्तामोडमा रहेको साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरेको पानी प्रशोधन उपकरण सञ्चालनको उद्घाटन गर्दै मन्त्री मगरले नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन सुरु गरिसकेको बताएकी हुन ।
उनले ‘एभरेष्ट वाटर’ को नामबाट त्यो पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर आएको रकम देशको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरिन् ।
पहाड र हिमालका केही बस्तीमा पानीको चरम अभाव रहेकोतर्फ आफू गम्भीर रहेको र समस्या समाधान गर्ने पहल भइरहेको जानकारीसमेत उनले दिइन् ।
पानी बिक्रि गरेर राष्ट्रिय आम्दानी गर्ने कुरा राम्रो भएपनि नेपाली जनताले शुद्ध पिउने पानी पाउने पहिलो प्राथमिकता हो । नेपालीलाई पहिले शुद्ध पिउने पानी उपलब्ध गराउनुको साटो हावादारी कुरा गरेको भन्दै कतिपयले उनको कुरा विश्वास गर्न नसकिने बताएका छन् ।
