सभापति देउवामा दम्भ बढ्यो, महाधिवेशनबाट तोड्छौं अर्जुननरसिंह केसी, नेता (नेपाली कांग्रेस)
अर्जुननरसिंह केसी, नेता (नेपाली कांग्रेस)
- २०७५ कार्तिक २८
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवासमा कांग्रेसका प्रभावशाली ८ जना नेताहरुबीच भएको ‘लञ्च मिटिङ’ ले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरंगित बनेको छ ।
पार्टीभित्र यसलाई महासमिति बैठक र आगामी महाधिवेशनसँग जोडेर हेरिएको छ । बैठकमा सहभागी नेताहरुले पनि त्यसलाई स्वीकार गरेका छन् ।
उनीहरुबीच पार्टीको आगामी महाधिवेशनसम्म एकढिक्का भएर जाने, विवादरहित ढंगबाट आफ्नो समूहबाट उमेदवारी दिने र पार्टीको नेतृत्व लिने तयारी छ ।
पछिल्लो समय सभापति शेरबहादुर देउवाको कार्यशैलीले पार्टी कमजोर बनेको निष्कर्ष देउवा इतर समूहको छ । यिनै विषयमा केन्द्रित रहेर ‘लञ्च मिटिङ’मा सहभागी कांग्रेस नेता अर्जुननरसिंह केसीसँग बलराम पाण्डे र केशव सावदले गरेको कुराकानीको अंशः
तपाईँहरुको ‘लञ्च मिटिङ’ ले कांग्रेसभित्र तरंग पैदा गरेको छ । यो बैठकले दिन खोजेको सन्देश के हो ?
यसलाई बृहत् अर्थमा व्याख्या गर्न जरुरी मैले देख्दिन । किनभने यो साथी–साथीको बीचमा भएको छलफल हो । नेपाली कांग्रेसका जिम्मेवार व्यक्तिहरु जमघट हुँदा साधारणतया कौतूहलको विषय बन्नु स्वाभाविक हो । तर यसलाई मैले कसरी पनि लिएको छु भने दसैं, तिहार, नेपाल सम्वत् सकिएर छठको बेलामा शुभकामना आदानप्रदान र मिठो भोजन ग्रहण, सबै साथीहरुको बीचमा बसेर कुराकानी गरौं भनेर हो ।
सबै राजनीतिमा संलग्न व्यक्तिहरु हुँदा सामूहिक परिस्थिति, त्यसको विश्लेषण, त्यसको समीक्षा र भावी कार्यनीतिका साथ कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा छलफल हुनु स्वभाविक नै हो । कांग्रेस अहिले जुन खालको अप्ठ्यारो र चुनौतीपूर्ण स्थितिमा छ, एकातिर पार्टीभित्र आमूल सुधार नीतिगत रुपबाट पनि र नेतृत्वगत रुपबाट पनि आवश्यक छ । हामीले विधान निर्माण पनि गर्दैछौं । संरचनागत रुपबाट पनि र व्यवस्थापनको दृष्टिकोणबाट पनि सुधार गर्नुपर्ने अहिले देखिएका नीतिगत नेतृत्वको त्रुटिको बारेमा हामीले छलफल गर्यौं ।
अर्कोतिर सरकार गठन भएको साढे ८ महिना भैसक्यो । देश अव्यवस्था, अपारदर्शिता, अराजकता, बलात्कार, हत्या, महँगी, भ्रष्टाचार चरम सीमामा पुगेको अवस्थामा सिंगै राष्ट्र एउटा अपराधीहरुको साम्राज्यतर्फ विकसित भएको छ । कम्युनिष्ट सरकारका ज्यादतिविरुद्ध, निरंकुशताविरुद्ध लड्नु पर्नेछ भने अर्कोतिर पार्टी आमूल सुधारको निम्ति संघर्ष गर्नुपर्ने अवस्था छ । यिनै विषयमा छलफल भएको हो ।
पार्टीभित्रको पनि एउटा समूहको मात्रै शुभकामना आदानप्रदान हुन्छ त ? पार्टीले चियापान समारोह आयोजना गरेर शुभकामना आदान प्रदान गर्नुभएको होइन ? यो त गुटको मात्रै भेला भएन र ?
यसलाई गुटको मात्रै भन्दा पनि कांग्रेसभित्रको अहिलेको अवस्थामा सुधारको आन्दोलन र पार्टीभित्र नै वैचारिक आन्दोलन अहिलेको आवश्यकता हो । त्यो आवश्यकताको परिवेशमा यो बैठक छ जना साथीहरुको बीचमा मैले नै संयोजन गरेर बसेको हो । त्यसपछि पनि हामी बसिरहेका थियौं । त्यसपछि अहिले सुजाताजीले ८ जना साथीहरु बोलाउनुभएको छ । त्यो एउटा उपलब्धिको फड्को हो भन्ने रुपमा मैले लिएको छु । यसलाई गुट–उपगुटन्दा पनि पार्टीभित्रको विधिविहीनता, प्रक्रियाविहीनता, मनपरितन्त्र, स्वेच्छाचारिता, निरंकुश प्रवृत्तिको विरुद्धमा नयाँ सुधारवादी सोचको सामूहिकता भनेर पनि लिए हुन्छ यसलाई ।
गुटको भेला होइन भनेर प्रष्टिकरण दिएपनि कांग्रेस कार्यकर्ताले यो गुटकै भेला भनेका छन् । पहिले तपाईँ स्वयम् सभापति देउवाकै समूहमा हुनुहुन्थ्यो, अहिले साथ छोड्नुभएको छ । यसलाई देउवाको यतिबेलाको कार्यशैली सही भएन अब अघि बढ्ने भन्ने रणनीति बनाउन भनेर छलफल गर्नुभएको हो ?
होइन, शेरबहादुरजीको पार्टी सञ्चालन नीति र कार्यशैली स्वेच्छाचारी भो । यसमा हामी सबैको साझा धारण रह्यो । अब यसको विकल्पमा पार्टी सुधार्न र सरकारका कामकारवाहीका विषयमा बसेर निरन्तर छलफल गरेर एउटा निश्चित र साझा रणनीति अगाडि बढाउनका निम्ति हाम्रो छलफललाई निरन्तरता दिने नै हाम्रो निष्कर्ष हो ।
अहिले पार्टीभित्र देखिएको खास समस्या के हो ? सभापतिले गर्नपर्ने के चाहिँ गरेनन् ? नगर्ने काम के भएको छ ?
हेर्नुस्, धेरै मुद्दाहरु छन् । त्यसलाई म नन–ईस्यु भन्छु, जुन सभापतिले गरिरहनुभएको छ ।
सबैभन्दा पहिला नेपाल विद्यार्थी संघको विधानकै कुरा गरौं । म झण्डै २०–२१ वर्ष केन्द्रीय समिति सदस्य भएँ । नेपाली कांग्रेसको नियमावलीले बडो स्पष्टसँग, अझ मलाई सम्झना भएसम्म धारा ३७ ले के भन्छ भने भ्रातृसंस्थाको विधान भ्रातृ संस्थाहरुले नै निर्माण गर्ने र पार्टीको केन्द्रीय कार्यसमितिबाट स्वीकृति लिनुपर्ने छ ।
स्वीकृत गर्ने र अन्तिम छिनोफानो लिने त केन्द्रीय कार्यसमिति नै हो तर विधान निर्माण गर्ने त सम्बन्धित भ्रातृ संगठन हो नि । नेविसंघको विधान एक महिनाभन्दा अघि नै सर्वसम्मतिले पार्टीमा पेश भैसक्या छ । त्यो विधानलाई प्रस्तुत नगरेर अर्कै विधान प्रस्तुत गरियो । त्यसलाई अध्ययन गरौं, भोलिका लागि राखौं भन्दा पनि सुनुवाई भएन । र, ३२ वर्षीय उमेरहदमा एउटा मात्रै निर्णय गरेर टुंग्याइयो ।
त्यही ३२ वर्षीय उमेरहद पुर्याउनुपर्छ भनेपनि डेमोक्रेसी भन्या त बहुमतले निर्णय गर्ने हो नि । प्रक्रियागत रुपबाट नेविसंघले प्रस्तुत गरेको विधान ल्याएको भए यसमा हामीले कुनै थपघट गर्न हुन्न भनिन्थ्यो होला । केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि त त्यो स्वतः लागु हुने र अधिवेशन हुने परिस्थिति बन्थ्यो । मैले त्यसलाई नन–ईस्यु भन्ठानेको छु, कुनै ईस्यु नै होइन । तर उहाँले जबरजस्ती गर्नुभयो ।
अर्को कुरा, विजय गच्छदारलाई उपसभापति बनाइयो । उहाँलाई उपसभापति बनाउनपर्छ भन्नेमा म सधैं सकारात्मक छु । सहमति कार्यान्वयन गरौं भन्ने पनि मै हुँ । त्यसलाई लागु गर्नका निमित्त एउटा समिति बनाएर त्यसको विशेष प्रतिवेदनको आधारमा नगर्ने भन्ने कुरै होइन । उहाँलाई उपसभापतिको रुपमा देख्न पाउँदा म पनि खुसी भएको छु । किनभने पार्टीभित्र नै काम गरेका, हाम्रो समकालीन, अझ हामी त एकेजेबी ग्रुप भएर पनि गिरिजाबाबुको पालामा हामीले धेरै महत्वपूर्ण कामहरु गरेका हौं ।
पछिल्लो केन्द्रीय कार्यसमितिमा पनि मैले भनें कि यसलाई बाधा अड्काउ फुकाउले मात्रैपनि मिल्दैन । समिति गठन गरौं, समितिले विशेष प्रस्ताव प्रस्तुत गरोस् । हामी संसद्मा पनि कुनै चिज चाँडो गर्नुपर्यो भने सहमतिले धाराहरु निलम्बन गर्छौं, त्यस्तै कांग्रेसको एक मात्रै उपसभापति हुने धारा छ, त्यसलाई निलम्बन गरौं, कांग्रेसको पदाधिकारी हुन केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्य हुनुपर्ने उल्लेख गरिएको विधानको धारा पनि निलम्बन गरौं । र, यसलाई महासमितिमा अनुमोदन हुने गरी उहाँलाई मनोनित गरौं तर आजको सट्टा भोलि गरौं । समिति बनाएर गरौं भनेको सभापतिले मान्नुभएन ।
उहाँमा निकै दम्भ देखियो । जुन कुरा मिल्छ, मिल्ने नै हो । लोकतन्त्र भनेको लक्ष्य प्राप्ति मात्रै होइन, लक्ष्यमा प्रक्रिया पनि हुन्छ, पद्धति पनि हुन्छ । त्यसलाई एकपछि अर्को बेवास्ता गरेर मनपरितन्त्रले जुन ढंगले गरियो । शायद उहाँमा मनसाय होला, हामीले विरोध गरिदेओस् त्यसकारणले गच्छदारलाई मैले मात्रै गरेको देखिन्छ र म सहयोग लिनसक्छु भन्ने आन्तरिक मनसाय होला । होइन भने हुने नै कुरालाई किन त्यसमा एक दिन पछि अथवा त्यही दिन गर्नुपर्थ्यो भने केही दिन अगाडि सानो मिटिङ गरेर समिति गठन गरेर यसका के उपायहरु छन्, कानुनी प्रक्रियागत भनेर गर्न सकिन्थ्यो नि ।
त्यस कारणले यो दम्भ, अहंकार, संवादविहीनता र मुद्दै नभएका कुराहरुलाई मुद्दा बनाएर अरु विवाद र तिक्तता सिर्जना गर्ने काम संस्थापन पक्षले नै गरिरहेको छ । यी दुइटै कुरामा मेरो मौलिक विभेद होइन, प्रक्रियागत मात्रै विभेद हो ।नेविसंघ र गच्छदारलाई मनोनित बाहेक देउवाले पार्टीलाई अहित हुने काम अरु के गरेका छन् त त्यसो भए ?
अहित हुने काम निरन्तर रुपबाट भएको छ । उहाँमा मैले जे गरे पनि हुन्छ भन्ने मानसिकता बन्यो । म नै कांग्रेस हुँ भन्ने दम्भ पलायो ।
पार्टीभित्र गुट–उपगुट हुन्छ, अहिलेपनि छ, हिजोपनि थियो । यो बीपी कोइरालाको पालामा पनि थियो । सुवर्ण शमशेरलाई मन पराउने एकथरी थिए, गणेमानजीलाई माया गर्नेहरु अर्कोथरी थिए । तर बीपीले ती सबैलाई कोर्डिनेट गरेर लैजानुहुन्थ्यो । त्यो गिरिजाबाबुको पालामा थियो, किशुनजीको पालामा पनि थियो ।
पहिला पहिला सभापतिहरु गुट र गिरोहले घेर्दाखेरी पनि कुम–कुमसम्म मात्रै आइपुग्थे । उनीहरुका कान र आँखा खुलै हुन्थे । सुन्थे पनि, हेर्थे पनि र बुझ्थे पनि । अहिले हाम्रो सभापतिका कान र आँखा चल्र्याम चुर्लुम गुट र गिरोहले डुबाइदिएको छ । अरु कसैसँग सल्लाहै हुन्न, संवादै हुन्न, कुराकानी नै हुँदैन ।
सभापतिमा दम्भ कसरी उत्पन्न भयो ? गिरोह पार्टीभित्रै छ कि पार्टीभन्दा बाहिर पनि छ ?
कहाँ–कहाँ छ, मलाई थाहा छैन तर पार्टी बाहिर त छैन । पार्टी बाहिर हेर्ने हो भने उहाँको छवि कस्तो छ, मैलेभन्दा तपाईँहरुले बुझ्नुहुन्छ । म त्यतातिर जान चाहन्न । यो पार्टीभित्रै हो ।
भनेपछि अब तपाईँहरुको यो गुट अर्थात् भेला देउवाविरुद्ध नै हो ?
मलाई लाग्छ, आगामी महाधिवेशन अगाडि हामी सबै एकै ठाउँमा आउँछौं । पार्टीलाई माया गरेर पार्टीलाई लोकतान्त्रिक बनाउनुपर्छ भन्नेहरु जति छौं, ती साथीहरु एकजुट हुनैपर्छ । हामीले आग्रह–पूर्वाग्रह बिर्सिनुपर्छ । हिजो कोसँग मेरो के मतभेद थियो भन्ने बिर्सिनुपर्छ । यि सबै बिर्सिएर एकै ठाउँमा आउनुपर्छ ।
त्यो सम्भावना देख्नुहुन्छ ?
मैले देखेको छु ।
कसरी देख्नुभयो ? रामचन्द्र पौडेल आफैँ सभापतिको उमेदवार, सशांक कोइराला उमेदवार, शेखर कोइराला उमेदवार, प्रकाशमान सिंह उमेदवार, अर्जुननरसिंह केसी उमेदवार । सबैले मै हो उमेदवार भनेर हिँड्नुभएको छ त ?
कोही पनि सभापतिको उमेदवार अहिले होइन । हामी सामूहिक रुपबाट अन्तिममा जिल्ला अधिवेशन समाप्त भएर अथवा प्रदेश अधिवेशनपछि हामीमध्ये जो पनि हुन सक्छ । कलेक्टिभ लिडरसिपको कन्सेप्टमा हामी जाने प्रतिवद्धता गर्नुपर्छ । जो भएपनि एकले अर्कोलाई सहयोग गर्ने स्थिति निर्माण गर्न सकिन्छ, सक्छु भन्ने मलाई नै विश्वास छ । त्यो बेला जो उपयुक्त हुन्छ त्यही नै उमेदवार हुन्छ । यहाँ उमेर समूह भन्ने पनि छैन । सिनियर र जुनियर भन्ने पनि छैन । जनमतमा आयो भने उसलाई स्वीकार गर्ने खुला दिल हामीमा हुनुपर्छ । त्यसमा युवाहरु मध्येपनि कसैलाई अगाडि बढाएर अलिकति कलेक्टिभ लिडरसिप हामीमा अघिल्तिर बढाउनुपर्ने होला या कोही होला । त्यसमा खुलापन र सहृदयता हुनुपर्छ र त्यही निर्माणको पक्षमा म छु ।
तपाईँकै भनाइलाई आधार मान्ने हो भने सभापतिमा दम्भ बढेको छ । त्यो दम्भ तपाईंहरुले कसरी तोड्न सक्नुहुन्छ ?
हामी तोड्छौं । म विश्वासका साथ भन्छु, आगामी महाधिवेशनट तोड्छौं ।
अझै पनि पार्टीभित्र र महाधिवेशनमा आउने प्रतिनिधि देउवासमूहकै बढी छन् भन्छन् …
तपाईँ कुन भ्रममा हुनुहुन्छ, त्यो तपाईँको कुरा हो । मैले के देख्या’छु भने आम कांग्रेसका कार्यकर्ता अहिलेको गतिविधिबाट वाक्क भइसकेका छन् । दम्भ होइन, गिरिजाप्रसाद आफैं पनि अहंकारी हुनुहुन्थ्यो । उहाँले पार्टी चुनाव हारेपछि संसदीय दलको नेता छाडिदिनुभयो नि, सभापति नछाडेर । कहीँ न कहीँ मिलेर जाउँ यसमा मेरो पनि कमजोरी भएको छ, मिलाएर जाउँ भन्ने थियो होला ।
मैले त सभापतिजीलाई सल्लाह नै दिएको हुँ । सल्लाहमात्रै दिएको होइन, यथास्थितिमा चल्दैन यसलाई सुधारवादी आन्दोलनका रुपमा लैजाउँ भनेर भनेको हुँ । सुधारवादी अभियानको नेतृत्व तपाईं गर्नुस्, तपाईंलाई मेरो साथ रहन्छ भनेर भनेकै हुँ केन्द्रीय समितिमा ।
सभापतिबाट राजीनामा दिनुस् भन्नुभएको हो ?
राजीनामा दिनुस् भनेर मैले भनिन । राजीनामाको पक्षमा पनि थिइन र मागिन पनि । किनभने म प्रक्रियामा विश्वास गर्छु । उहाँलाई मैले के भनेको थिएँ भने सामूहिक रुपबाट असल नियतले सबै गर्दागर्दै पनि निर्वाचनमा जुन परिणाम आयो म दुःखी छु, त्यसको नैतिक जिम्मेवारी म लिन्छु । पार्टीलाई पुरानै स्थानमा पुर्याउनका लागि निरन्तर रुपले लाग्छु, साथीहरुको साथ र सहयोग चाहिन्छ भन्नुस् भनेको हो, मान्नुभएन । उहाँलाई असल सल्लाह दिनेहरु त उहाँको नजिक टिक्नै सक्दैनन् ।
म पनि त मसँग भएको विवेक र अनुभवलाई प्रयोग गरेर शेरबहादुरजीसँगै बसेर पार्टी सुधार गर्नसक्छु भनेर म उहाँसँगै गएको हुँ नि । तर अब त्यो सक्दै नसकिने, उहाँ २–३ जनाभन्दा कसैको कुरा सुन्न इच्छुकै हुनुहुन्न ।
महाधिवेशनमा देउवा नै हाम्रो नेता भन्दै जानुभएको थियो । सम्बन्ध कसरी बिग्रियो त ?
देउवा आफैँपनि सुधारवादी मान्छे हुन् भनेर गएको हो । समकालीन साथी पनि भएका नाताले एउटै टिममा रहेर पार्टी सुधार गर्न सकिन्छ भनेर गएको हो ।
त्यसोभए कसरी तपाईंको चित्त दुखाइ भयो त ?
चित्त दुखाइको कुरै होइन । उहाँको कार्यशैली कहिले पनि राम्रो भएन । न सरकारमा हुँदा न पार्टीभित्रका निर्णय गर्दा । म महामन्त्रीको पदमा लडेको हुँ, म त उहाँपछि हारेपनि त्यो ग्रुपको सञ्चालक प्रमुखमध्येमा त हुनुपर्ने हो नि एउटा टिमको कुराले । तर उहाँले मेरो कुरा कहिल्यै सुन्नुभएन ।
म सरकारको सिनियर मन्त्री, एक नम्बरको उपप्रधानमन्त्री । शेरबहादुरजीले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउँदा छलफल गर्नुपर्ने मान्छेमध्ये म होइन ? मैले एकै चोटी प्रस्ताव पेस भइसकेपछि पत्रिका पढेर त्यसबारे थाहा पाएँ । योभन्दा दुःखद मेरो जीवनको इतिहासमा मैले कहिल्यै अनुभव गरिन ।
किनभने म त्यसको घोर विपक्षमा थिएँ । म स्वतन्त्र न्यायपालिकाको पक्षधर हो । अब मैले त्यसलाई खण्डन गरौं भन्न पनि खोज्या’ थिएँ तर त्यतिबेला स्थानीय तहको चुनाव शुरु भइसकेको थियो । साथीहरुले पनि नगरौं यसले स्थानीय तहको चुनावलाई असर गर्छ भन्नुभयो । पार्टीको बृहत् हितका लागि मैले छाडिदिएँ ।
यस्ता यति धेरै कुराहरु छन्, जुन कुरा उहाँले छलफल गरेको भए विवादमा पर्नु पर्दैनथ्यो । प्रहरी प्रमुख पनि चेन अफ कमान्ड नभत्काऔं भनेर भनेको थिएँ, मान्नुभएन ।
मैले प्रचण्डलाई भन्दा तपाईँको सभापतिलाई भन्नुस् भन्नुभयो, मेरो सभापतिले कुरै सुन्न चाहनुभएन । यसरी चल्दैन पार्टी । वादविदाद र संवादले चल्छ । लोकतन्त्रमा कुरा भन्न पनि सक्नुपर्छ र सुन्न पनि सक्नुपर्छ ।
भनेपछि अबको महाधिवेशनमा कांग्रेसका दुईजनामात्रै सभापतिको उमेदवार हुनेछन्, हो ?
उमेदवार जो पनि हुन सक्छन् म पनि हुन सक्छु, नयाँ मान्छे कोही हुन सक्छ । तर महाधिवेशनमा देउवाको दम्भ तोड्छौं । उहाँको दम्भ तोड्नेमा म विश्वस्त छु । होइन, उहाँ आफैं सुधारिन चाहनुभयो र अहिलेको वस्तुगत स्थिति सुधारेर जानुभयो भने विकल्पहरु खुला हुन्छन् । किनभने मेरो कुनै पूर्वाग्रह त शेरबहादुर देउवाजीसँग होइन नि ।
तपाईंहरुसँगै रहेका कति नेता देउवा समूहमा जाने हल्ला छ नि !
गएर लडे हुन्छ नि । म तपाईंलाई भनुँ ? अहिले देखिएको यथास्थिति होइन, भोलि महासमिति, महाधिवेशनमा आउने साथीहरुले जिल्लाका वरिष्ठतम नेतृत्व गर्ने साथीहरुले वस्तुस्थिति राम्रोसँग बुझ्छन्, बुझेरै आउँछन् । फेरि शेरबहादुरजीले जित्ने स्थिति हो भने पार्टी त कब्जा गर्नुहोला तर जनताबाट यो पार्टी कैयौं वर्ष पछि पर्छ । पार्टी सुध्रिँदैन र यसले नयाँ उर्जा प्राप्त गर्न सक्दैन भन्ने मलाई लाग्छ ।
प्रतिपक्ष खोजिरहेका थियौं, चियापानमा भेटियो भनेर सत्तापक्षले नै भन्नथाले । तपाईंहरु अहिले गुटको भेलामा मात्रै व्यस्त हो कि के गर्दै हुनुुहुन्छ ? कि यसमा पनि देउवामात्रै जिम्मेवार हुन् ?
होइन, यसमा हामी सबै जिम्मेवार छौं । शुरुको दिनदेखि नै मैले भन्दै आएको छु, पार्टी अहिलेको अवस्थामा पुग्नुमा १ नम्बरमा पार्टी सभापति शेरबहादुर देउवा जिम्मेवार । २ नम्बरमा महामन्त्री शशांक कोइराला, ३ नम्बरमा पदाधिकारी प्लस वरिष्ठ नेताका नाताले रामचन्द्र पौडेल । म र मजस्ता संसदीय समितिमा रहेका नेताहरु चौथोमा पर्छौं । हामी जनु–जुन हैसियतमा बसेका छौं, आफ्ना गल्तीहरुलाई सार्वजनिक रुपमा बसेर कार्यकर्ता र जनतासँग आवश्यक परे माफी पनि माग्नुपर्छ लाज मान्नु हुन्न । गल्ती भएकै छ नि त । एकजनाको टाउकोमा थुपारेर दोषारोपाणको खेलमा अल्मिलिएर पार्टी सुध्रिदैन ।
प्रसंग बदलौं । तपार्इँले सरकारलाई अपराधिको साम्राज्य बनाउन लागेको भन्नुभएको छ, किन यति छिटै यस्तो आरोप लगाउनुपरेको ?
अब किन यस्तो भयो भने पहिलो दुईतिहाईको भारीले थिचिनुभएको छ ।
दोस्रो उहाँहरुमा यति बढी दम्भ प्रदर्शन भयो । तेस्रो कामभन्दा कुरा बढी भयो । गफैगफ हाँकेर अल्मलाउने काम गरिराख्नुभएको छ ।
तपाईँ आफैँ भन्नुस् यो अवधिमा के मौलिक सुधार भएको पाउनुभएको छ ? जे–जे उहाँहरुले बोल्नुभएको छ, एनजिओ कोर्डिनेसनको कुरा कहीँबाट निस्केको थिएन उहाँहरुले नै निकाल्नुभयो । सिण्डिकेट तोड्ने कुरा उहाँहरुले नै निकाल्नुभएको हो । बाटोघाटो बनाउने कुरा ठेकेदार भ्रष्टाचारलाई शून्य सहनशिलता भन्नुभएकै हो । प्रधानमन्त्री ओली र प्रचण्डजीले हुरीबतासझैँ कुरा गर्नुभयो तर भ्रष्टाचार के नियन्त्रण हुन्थ्यो ।
मैले धेरैचोटी भने ३३ किलो सुनकाण्ड कहाँ गएर थन्कियो ? सुन कहाँ छ ? जोसुकै पक्षका हुन सार्वजनकि गर्नुपर्दैन । जरोकिलो पत्तो लगाएर जनतालाई भन्नुपर्दैन ?
३३ किलो सुनकाण्डमा कांग्रेसकै कति नेता मुछिन्छन् भन्छन् नि !
मैले खुला रुपमा भनेको छु उहाँहरुभित्र होउन् या हामीभित्र होउन् अथवा कहीँ भित्र होस् । तर सरकारले सकिरहेको छैन । किनभने कांग्रेसभित्र त्यो गिरोह छैन । उनीहरुकै भित्र छ, त्यसकारण सार्वजनिक गर्न सकिरहेका छैनन् ।
यतिबेला प्रतिपक्षको उपस्थिति चाहिने हो कि होइन ? जनताको आड भरोसाका लागि । प्रतिपक्ष नै खोज्नुपर्ने अवस्था किन आएको छ त ?
होइन, तपाईंलाई त्यस्तो लागेको हो । प्रतिपक्षमा संसदमा हाम्रा केही भूमिका कमजोर रहे । सार्वजनिक रुपबाट डा. गोविन्द केसीको आमरण अनशनका क्रममा हामीले देशव्यापी रुपमा कति कार्यकर्ता परिचालन गर्न सक्छौं भन्ने कुरा देखिसकिएको छ ।
अहिले २ वटा कुरा छन् । एउटा कांग्रेस भनेको त्यस्तो प्रतिपक्ष होइन जो उग्र हिंसा र आतंकमा विश्वास गर्छ । हामी लोकतन्त्रवादी हौं । लोकतान्त्रिक शक्तिलाई विश्वास गर्ने पार्टी हो । गिरिजाबाबुले सपथ ग्रहण गरेर संसदमा जानु अगाडि नै तत्कालिन एमालेका नेता मदन भण्डारीले मेरो दुईटा हातमा बम छन्– एउटा प्रशासन अर्को मजदुर । ३० दिनभित्र यो सरकार ढालिदिन्छु भन्या’ होइन ?
सय दिन त लोकतान्त्रिक धर्म हो, प्रतिक्षा गर्नुपर्छ भन्छन् । त्यही बेला नयाँ सडकका रेलिङदेखि रत्नपार्कमा टेलिफोन बुथ जलेको होइन ? त्यही बेला कर्मचारी आन्दोलनले प्रशासन क्षेत्रमा राजनीतिक ध्रुविकरण प्रारम्भ गर्यो । त्यस्तो हामी गर्दैनौं, त्यस्तो प्रतिपक्ष सोचेको हो भने त्यस्ता हामी होइनौं ।
तपाईँहरुलाई राम्रोसँग थाहा छ, अर्थमन्त्रीले बजेट पेस गर्न जाँदा ब्रिफकेस खोसेर पिट्ने प्रतिपक्षी पनि हामी होइनौं । मन्त्रीले विधेयक प्रस्तुत गर्न जाँदा विधेयक खोसेर मन्त्रीलाई नै पिट्ने प्रतिपक्ष पनि कांग्रेस होइन । हामी प्रतिपक्ष संयम, लोकतान्त्रिक, वैचारिक र सहमति खोज्ने प्रतिपक्ष हौं । त्यस कारण हामी अहिलेपनि सरकारलाई अग्निपरीक्षाका लागि केही समय दिएका छौं । हाम्रापनि केही कमजोरी छन्, मैले कमजोरी छैनन् भन्न खोजेको होइन ।
हामीले प्रतिपक्षको भूमिका जसरी निभाउनुपर्थ्यो, त्यसरी निभाउन भने सकेका छैनौं । तर कमजोरीका बाबजुदपनि हामी त्यसै चुपचाप लागेर बस्दैनौं । नेपाली कांग्रेस लोकतन्त्रको सम्बाहक, संरक्षक र भोलि पनि संरक्षण गर्ने एउटै पार्टी हो, नेपालमा त्यो मात्र नेपाली कांग्रेस हो ।
जतिसुकै ठूला कुरा गरेपनि साढे ४ वर्षपछि आउने सरकार कांग्रेसकै सरकार हो । यिनीहरु आफ्ना आफ्ना गफ, झुट, भ्रम र दम्भबाट आफैँ गाडिन्छन् ।
अहिले दुईतिहाइ छ, तपाईँहरु कसरी तल झार्न सक्नुहुन्छ र ?
त्यो जनताले झार्छन् नि । पहिलो संविधानसभामा कत्रो बहुमत दिएर पठाए माओवादीलाई दोस्रो संविधानसभामा के भयो ? हामीले २०५१ मा नि हारेकै हौं, २०६४ मा नि हारिएकै हो र अहिले २०७४ मा पनि हार्यौं । तर हरेक पटक हार पछि नेपाली कांग्रेसले जित्दै आएको छ । साढे ४ वर्षपछिको नेतृत्व नेपाली कांग्रेसकै हो, लोकतन्त्र नेपाली कांग्रेसको हातमा मात्रै सुरक्षित छ । कम्युनिष्टको हातमा लोकतन्त्रक सुरक्षित हुन सक्दैन ।