समाचारनेपाली कांग्रेस

सरकारलाई देउवाको प्रश्नः खै त आगामी वर्षका कार्यक्रम ?


९ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा नीति रहेको तर, कार्यक्रम नआएको टिप्पणी गरेको छ । साथै अभूतपूर्व अनुकुलताको ऐतिहासिक अवसर सरकारले खेल फाल्ने त होइन भन्ने प्रश्न गरेको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता नदेखिएको बताए । ‘अब देशले स्थिरता र समुन्नतिको बाटो समातेको छ’ उनले भने, ‘विगत दुइवर्ष लगातार उच्च आर्थिक वृद्धि दर हासिल गरिएको छ । अहिलेको सरकारलाई अवसर थियो । तर, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता देखिएन । सरकारसँग दुरदृष्टि नभएर हो या नचाहेर हो ? यस्तो अभुतपुर्व अनुकुलताको ऐतिहासिक अवसर त्यसै खेर फालिने त होइन ? हामीलाई चिन्ता छ ।’
सरकारको नीति तथा कार्यक्रममा नीतिहरु रहेको तर, कार्यक्रम नभएको उनले बताए । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरै पढ्दा मेरो मनमा आएको मुख्य प्रश्न यही हो, खै त सरकारले गर्ने आगामी वर्षका कार्यक्रम ?’ उनले भनेका छन्, ‘अर्को वर्ष यो सम्मानित सदन फेरी बस्दा केको आधारमा यो सरकारलाई मुल्यांकन गर्ने ?’
एक वर्षमा यति गर्नेछु भन्ने नभएको र लक्ष्य छन् तर स्पष्ट रुपमा कार्यक्रम नआएको उनले बताए । योजना र कार्यक्रम विनाका सपना केवल मनोकामना मात्र हुने भन्दै देउवाले भनेका छन्, ‘सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफुलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठुला जोखिम मोल्नपर्छ । त्यो स्पीरिट म देख्दिन ।’
सरकारलाई शासन चलाउने मौका मिलेको भन्दै उनलेयसलाई हल्का रुपमा नलिन आग्रह गरे । ‘छ्यासमिसे र हावादारी कुराको टेकोमा मात्र अब हामी लोकतान्त्रिक, शान्तिपूर्ण, समन्यायिक र समृद्ध समाजको गन्तब्य पुग्न सक्दैनौं’ उनले भनेका छन् ।
संघीयता कार्यन्वयन र प्रशासनिक संरचनालाई क्रियाशील बनाउने स्पष्ट खाका नआएको उनको आरोप छ । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउने प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

२०७५ जेठ ९ गते १७:४२ मा प्रकाशित

nema
Show More

Related Articles

Check Also
Close
Back to top button