संस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको दृष्टिकोण

१.विषयप्रवेशः
दरबारिया मोजमस्तीमा रहेका तत्कालीन राणा शासकलाई नेपाली जनताको स्थितिको बोध गराउने उद्देश्यले दुईजोर फाटेका कपडा पार्शल गरेर दरबारमा पठाएका कारण निर्वासित जीवन विताइरहेका आफ्ना पिता कृष्णप्रसाद कोइरालामा रहेको अदम्य साहस र उहाँमा अङ्कुराइरहेको राजनीतिक चेतनाको प्रभाव कोइरालाका सबैजसो छोराछोरीहरूमध्ये विश्वेश्वरप्रसाद कोइरालामा अझ बढी फष्टाएको देखिन्छ । यो राजनीतिक चेतनालाई मूर्त रूप दिनका लागि एक्लै संभव छैन भन्ने कुरा बुझेर राजनीतिक पार्टीको स्थापना गरी त्यसको माध्यमबाट राष्ट्रिय चेतना अभिवृद्धि गर्नुपर्दछ भन्ने उद्देश्यका साथ विश्वेश्वरप्रसाद कोइरालाले वि.सं.२००३ सालमा भारतको कलकत्तामा आफ्नो नेतृत्त्वमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामक राजीनीतिक पार्टीको स्थापना गर्नुभयो । यस्तै वि.सं. २००५ सालमा सुवर्णशमसेरको नेतृत्त्वमा भारतको कलकत्तामै ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ स्थापना भएको थियो । समान उद्देश्यले स्थापित दुई पार्टीलाई एकीकरण गरी वि.सं. २००६ सालमा ‘नेपाली काङ्ग्रेस’ नामक राजनीतिक पार्टीको स्थापना भएको हो । यसरी स्थापित नेपाली काङ्ग्रेस पार्टी आफ्नो उद्देश्य पूरा गर्न एकवर्ष भित्रै सफल भयो जसको फलस्वरूप नेपालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापना भएको धेरै समयसम्म पनि विभिन्न बहानामा निर्वाचन हुन नसकेको अवस्थामा नेपाली काङ्ग्रेसको सत्याग्रहको कारण निर्वाचनको घोषणा भयो । तत्कालीन समयमा नेपाली काङ्ग्रेसले संविधानसभाको निर्वाचन गराउनुपर्ने कुरामा जोड दिदै आएको थियो । यसैबीच निर्वाचनको घोषणा त भयो तर त्यो निर्वाचन संविधानसभाको हो कि संसदीय निर्वाचन हो भन्ने कुरामा स्पष्ट थिएन । अन्त्यमा राजा महेन्द्रले उक्त निर्वाचनको घोषणा संविधानसभाको नभएर संसदीय निर्वाचन रहेको घोषणा गरे । यसरी अन्योलका बीच भएको निर्वाचनमा दुईतिहाई बहुमतका साथ सरकारको नेतृत्त्व लिने मौकासमेत नेपाली काङ्ग्रेसले प्राप्त ग¥यो । देशमा प्रजातन्त्र स्थापना भएको एकदशकभित्रै दुईतिहाई बहुमत ल्याएको नेपाली काङ्ग्रेसको सरकारले काम गर्न थालेको डेढवर्ष पुग्दा नपुग्दै उक्त सरकारलाई अपदस्त गरी राजा महेन्द्रले देशमा निरङ्कुश पच्चायती व्यवस्थाको सूत्रपात गरे । जसका विरुद्ध नेपाली काङ्ग्रेसले प्रजातन्त्रको पुनस्थापनाका लागि संघर्ष गरिरह्यो र संघर्षकै क्रममा बीपी कोइरालाको निधन भयो ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको मृत्युपछि पनि नेपाली काङ्ग्रेस प्रजातन्त्रको पुनस्थापनाका लागि क्रियाशील रहिरह्यो । यही क्रममा केही वर्ष बीपीकै सिद्धान्त र अडानका साथ अगाडि बढेको काङ्ग्रेस प्रजातन्त्रको पुनस्थापनाका लागि बामपन्थीदलहरूसँग मिलेर संघर्ष गर्ने निर्णय ग¥यो जसको फलस्वरूप २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । वामपन्थीहरूका साथ संयुक्त रूपमा आन्दोलन गर्ने सन्दर्भमा बीपी कोइराला सहमत हुनुहुन्थेन भन्ने कुरा उहाँद्वारा लेखिएका र व्यक्त गरिएका धेरैजसो दस्तावेजहरूमा अहिले पनि पढ्न पाइन्छ । तथापि वामपन्थीहरूसँग सहकार्य गरेर प्रजातन्त्रको पुनस्थापनापछि भएको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस नै ठूलो दलको रूपमा स्थापित भयो र सरकारको नेतृत्त्व गर्ने जिम्मेवारी पनि प्राप्त ग¥यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका साथै आन्तरिक द्वन्द्वका कारण नेपाली काङ्ग्रेसको बहुमतको सरकार पनि पूर्ण अवधिसम्म टिक्न सकेन । यसपछिका दिनमा राजनीतिक अस्थिरतासँगै विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, राष्ट्रिय एकता र मेलमिलापलाई आफ्नो प्रमुख आदर्श बनाएको नेपाली काङ्ग्रेसले प्रजातन्त्रको पुनस्थापनापछिका दिनमा लामो समयसम्म सत्ताको वाग्डोर सम्हाल्ने जिम्मेवारी प्राप्त ग¥यो ।
आफू सत्तामा रहेको अवस्थामा बीपीले प्रतिपादन गर्नुभएको आर्थिक नीतिलाई विभिन्न कारणले गर्दा नेपाली काङ्ग्रेसले लागू गर्न सकेन । जननायक विश्वेश्वरप्रसाद कोइरालाको उद्घोष थियो– ‘नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूलभूत उद्देश्य बनाएर अगाडि बढेको अवस्थामा नेपाली जनताको अनुहारमा मुस्कान ल्याउन सकिन्छ’ । विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएका काङ्ग्रेसका मूलभूत सिद्धान्तको त के कुरा गरौं पछिल्लो समयमा त नेपाली काङ्ग्रेसले बीपीलाई पूर्ण रूपमै बिर्सिएको हो कि भन्ने आभास मिल्न थालेको छ ।
कुनै पनि राजनीतिक पार्टी क्षणिक स्वार्थका साथ अगाडि बढ्नुहुँदैन भन्ने धारणा बीपीमा थियो । त्यही कारणले बीपीले आफू जीवित हुँदासम्म आफूले लिएका अडानलाई राजाले स्वीकार नगरेसम्म कहिल्यै संझौता गर्नुभएन । यति मात्र होइन वामपन्थीहरूसँग एकता गरेर प्रजातन्त्र ल्याउने पक्षमा पनि बीपी हुनुहुन्थेन । पछिल्ला दिनमा नेपाली काङ्ग्रेसले वामपन्थीसँग सहकार्य गरेर अगाडि बढ्ने नीति मात्र लिएन वामपन्थी एवं अन्य विचारधारा भएका दलहरूको चुनाव चिìमा मत खसाल्ने निर्देश समेत पार्टीका सभापति स्वयंले दिए, जसका सम्बन्धमा पार्टीका अन्य शीर्षस्थ नेताहरूबाट पनि कुनै प्रतिक्रिया आएन । आफ्नो नीति, सिद्धान्त र आदर्शका विरुद्ध एक इन्च पनि नझुक्ने बरू जेल, नेल तथा यातनाका साथै मर्न परे पनि मर्न तयार हुने विश्वेश्वरप्रसाद कोइराला विलक्षण प्रतिभाले युक्त व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरा पछिल्ला दिनमा अझ प्रमाणित हुँदै गएको छ । तर उहाँद्वारा स्थापित नेपाली काङ्ग्रेस दिनानुदिन कमजोर बन्दै गएको छ । बीपीद्वारा प्रतिपादित सिद्धान्तलाई व्यवहारमा उतारी नेपाली जनताको अनुहारमा चमक ल्याउनुको सट्टा सिङ्गो पार्टी नै गन्तव्य र लक्ष्यहीन बन्दै गएको महसूस बीपीवादी नेताहरूले गरेका छन् । नेपाली काङ्ग्रेस बीपीको सिद्धान्त र आदर्श अनुसार नै चल्नुपर्दछ र मात्र नेपाली काङ्ग्रेसले बीपीप्रति न्याय गरेको ठहर्छ भन्ने दृढ विश्वास बीपी विचार राष्ट्रिय समाजको छ ।
१.१ बीपी विचार राष्ट्रिय समाज
नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको राजनीतिक सिद्धान्त, राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आत्मसात गर्दै मुलुकको समानुपातिक एवं सन्तुलित विकास र जनताको जीवनस्तर माथि उठाउनका लागि लिनुभएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने पवित्र उद्देश्यले यस ‘बीपी विचार राष्ट्रिय समाज’ को स्थापना भएको हो । आजको सन्दर्भमा पनि बीपीका विचारहरू त्यत्तिकै महत्त्वपूर्ण र सान्दिर्भिक हुँदा हुँदै बीपीद्वारा स्थापित नेपाली काङ्ग्रेस दिनानुदिन बीपीका विचारबाट टाढिदै गएको महसूस गरिएको छ । बीपीका विचारबाट काङ्ग्रेस जति टाढिदै जान्छ नेपाली जनताबाट पनि त्यति नै टाढिदै जाने ठहर बीपी विचार राष्ट्रिय समाजको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारहरूलाई राष्ट्रको शासनव्यवस्थामा लागू गरेर एउटा समुन्नत समाजवादी राष्ट्रको रूपमा नेपाललाई स्थापित गर्नुपर्दछ भन्ने मान्यता बीपी विचार राष्ट्रिय समाजले राख्दछ । नेपाली काङ्ग्रेस बीपीको विचारबाट कसरी टाढिदै गयो भन्ने सन्दर्भमा बीपीको देहावसान भएपछिको समयमा नेपाली काङ्ग्रेसले चालेका विभिन्न कदमका सन्दर्भमा विचार एवं विश्लेषण गरी निष्कर्षमा पुग्नु सान्दर्भिक नै ठहर्छ । नेपाली काङ्ग्रेस आफ्नो सिद्धान्त र आदर्शबाट टाढिदै गएको सन्दर्भमा बीपी विचार राष्ट्रिय समाजले विभिन्न पुस्तकहरू प्रकाशन गरेर, विभिन्न किसिमका विचार गोष्ठीहरू सञ्चालन गरेर तथा बीपीसँग संगत गरेका व्यक्तित्वहरूसँग अन्तर्वार्ता आदि लिएर बीपीका विचारहरू अहिले पनि त्यत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको निष्कर्ष निकाल्दै पार्टीलाई बीपीको विचारभन्दा अलग नरहन खबरदारी गर्दै आएको छ ।
२. के हो त बीपी विचार ?
बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र मेलमिलापलाई व्यवहारिक रूपमा देशमा लागू गर्नु नै बीपी विचार हो । नेपाली काङ्ग्रेसको भविष्य बीपीका विचारलाई व्यवहारमा लगाउँदा नै सुनिश्चित हुन्छ भन्ने ठहर बीपी विचार राष्ट्रिय समाजको छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र मेलमिलापका सम्बन्धमा बीपीले जुन स्पष्ट धारणा व्यक्त गर्नुभएको छ, त्यसलाई व्यवहारमा उतार्न सकेको अवस्थामा नेपाल समुन्नत राष्ट्रको रूपमा विश्वमा परिचित हुन्छ भन्ने कुरामा कसैको पनि दुईमत हुन सक्दैन । बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र मेलमिलापका सन्दर्भमा संक्षिप्त रूपमा यहाँ प्रकाश पारिएको छ । जसमा बीपी स्वयंमले विभिन्न स्थानमा व्यक्त गर्नुभएको धारणालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
२.१ राष्ट्रियता
देशको वर्तमान अवस्थाको कुरा गर्ने हो भने नेपाली काङ्ग्रेसको प्रमुख आदर्शको रूपमा रहेको राष्ट्रियता अहिले अत्यन्त कमजोर बन्न पुगेको छ । राष्ट्रियता कमजोर भएका कारण नेपाल अन्तराष्ट्रिय शक्तिकेन्द्रहरूको क्रीडास्थलको रूपमा परिणत भएको छ । देश, जनता, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद जस्ता कुरामा बीपीका स्पष्ट धारणा रहेका छन् । राष्ट्रियताका सम्बन्धमा बीपीद्वारा व्यक्त विचार नै प्रयाप्त छन् । यहाँ खाँचो भनेको बीपीका विचारको अध्ययन र विश्लेषणका साथ व्यवहारिकक प्रयोग मात्र हो । देश र जनताका सन्दर्भमा उहाँले भन्नुभएको छ– ‘मैले भन्न खोजेको के हो भने देश भन्नोस् चाहे राष्ट्र भन्नोस् त्यो भूगोल होइन, माटो होइन त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो । जनताको अधिकार हनन् देशको अधिकार हनन् हो । यदि नेपाल भूगोलबाट एक करोड नेपाली जनताको आवादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ । यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहने छ । जुन दिन अर्थात् ( १ पौष २०१७ ) देशवासीहरूले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक् स्वतन्त्रता, संगठन स्वतन्त्रता आदिदेखि जनता वञ्चित पारिए, जनप्रतिनिधिहरू थुनिए, संसद विघटित पारियो, फेला पर्न सकेका संसद सदस्य एकलाई पनि नछोडेर बन्दी बनाइयो, संसद अध्यक्ष थुनिए, निर्वाचित प्रधानमन्त्री, राजनीतिमा लागेका कोही पनि व्यक्ति त्यस राजाको दमनचक्रबाट जोेगिएनन् चाहे त्यो भूतपूर्व प्रधानमन्त्री हुन् या साधारण कार्यकर्ता । त्यस दिनपछि कसैले राजालाई राष्ट्रियताको समर्थक या प्रतीक मान्छ भने त्यो जस्तो ठूलो भ्रम नेपालको राजनीतिका सम्बन्धमा अर्काे कुनै हुन सक्दैन । त्यस दिन स्पष्टरूपबाट राजाले आफूलाई जनताभन्दा पृथक तत्व मात्र होइन, विरोधी तत्त्वको रूपमा प्रकट गरे’ । बीपीका यी विचारबाट राष्ट्र भन्दा वित्तिकै त्यो भूगोलभित्र बसोबास गर्ने जनता नै हुन् भन्ने कुरा अथ्र्याउनुभएको छ । जनताको मतको कदर नगर्ने राजाले आफूलाई जनताभन्दा पृथक विरोधी तत्त्वको रूपमा प्रकट गरेकाले राजा राष्ट्रियताको प्रतीक हुन नसक्ने कुरामा बीपीले जोड दिनुभएको छ ।
उहाँले अगाडि भन्नुभएको छ– ‘राष्ट्रियताबारे विचार गर्दा हामीले जनताको सन्दर्भमा सोच्ने बानी गर्नुपर्छ अनि मात्र त्यस सम्बन्धी सत्यका उपर प्रकाश पर्न सक्छ । नत्रभने एउटा भागको अर्थमा त्यसलाई लिन थाल्यो भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धुर्त तानाशाह या राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि र जनताको अधिकारलाई अपहरण गर्ने हतियार बनाउन सक्छ । यो कुरा राजाले गर्न थालेका छन् । आफ्नो तानाशाही व्यवस्था (हुकुमी शासन ) लाई टेवा दिनका लागि राष्ट्रियताको नारा प्रचारित भइरहेको छ । यस कुरालाई बुझ्नको निम्ति हामीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राष्ट्रियताको नारालाई प्रचार गरेर राणाशासकले आफ्नो हुकुमी राज्य कायम राख्ने प्रयत्नलाई विर्सनुहुन्न’ । तत्कालीन समयमा राणा शासकले राजा त्रिभुवनलाई समेत अराष्ट्रिय तत्त्व घोषणा गरी उनका नाती ज्ञानेन्द्रलाई राजगद्धिमा राखेर आफूहरूलाई ठूलो राष्ट्रवादी शक्तिको रूपमा प्रस्तुत गरेका थिए । राणाशाहीको त्यो राष्ट्रियता आफ्नो स्वार्थपूर्ति र जनताको अधिकार अपहरण गर्ने हतियार थियो बीपीको धारणा रहेको छ ।
राष्ट्रियताका सन्दर्भमा बीपीले भन्नुभएको छ– ‘राष्ट्रियताका विवेचनामा प्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो’ । उहाँले राष्ट्रियताको परिभाषित गर्दै उल्लेख गर्नुभएको छ– ‘राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन् । व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्काे शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू – १. जनता, २. तिनको अगाडि उपस्थित भएको समस्या, ३. त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्न र ४. त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ’ । यसरी बीपीको विचारमा राष्ट्रिय एकता नै राष्ट्रियता हो ।
उहाँले अगाडि भन्नुभएको छ–‘ राष्ट्रियताबारे विचार गर्दा हामीले जनताको सन्दर्भमा सोच्ने बानी गर्नुपर्छ अनिमात्र त्यस सम्बन्धी सत्यका उपर प्रकाश पर्न सक्छ । नत्रभने एउटा भागको अर्थमा त्यसलाई लिन थाल्यो भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धूर्त तानाशाह या राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि र जनताको अधिकारलाई अपहरण गर्ने हितयार बनाउन सक्छ । यो कुरा राजाले गर्न थालेका छन् । आफ्नो तानाशाही व्यवस्था (हुकुमी शासन ) लाई टेवा दिनका लागि राष्ट्रियताको नारा प्रचारित भइरहेको छ । यस कुरालाई बुझ्नको निम्ति हामीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राष्ट्रियताको नारालाई प्रचार गरेर राणाशासकले आफ्नो हुकुमी राज्य कायम राख्ने प्रयत्नलाई बिर्सनुहुन्न । यहाँसम्म कि वर्तमान राजा र उहाँका पितासम्मलाई पनि अराष्ट्रियतत्व घोषित गरी उहाँहरू सबैलाई राजच्यूत गर्ने काम राणाशासकले गरेको थियो ।
अहिलेको राजाबाट चालिएको राष्ट्रियताको प्रचार राणाहरूबाट चालिएका प्रचारको हुबहु अनुरूप हो । भाषामा भन्नुहोेस्, चाहे प्रचार प्रणालीमा । दुबैको उद्देश्य १. हुकुमी राज्यको स्थापना २. प्रजातन्त्रको बढ्दो मागका विरुद्द षड्यन्त्र । कार्यकारणले जब राजा जनताको पक्षमा गाभिन पुगेका थिए, त्यस बखतमा उनी तिनताकाको तानाशाहको दृष्टिमा अराष्ट्रिय तत्व ठहरिए र राजच्युत गरिए । आज तिनै राजा मोहनशमशेरकै हितयार प्रयोग गरेर प्रजातन्त्र पक्षीयहरूको दमन गर्दै राष्ट्रियताको प्रचार गराउदै हुनुहुन्छ । नेपालको राजनीतिको सबैभन्दा महत्वपूर्ण एउटा कुरा के छ भने नेपालका राजनीतिको केवल दुई पक्ष छन् । राजापक्ष (हुकुमी शासक), अर्को जनतापक्ष (प्रजातान्त्रिक पक्ष) । जो पनि तानाशाह हुन्छ या उसको पृष्ठपोषक हुन्छ, उसको हितयार सामरिक दृष्टिबाट होस् चाहे सैद्धान्तिक प्रचारात्मक दृष्टिबाट होस् एकै किसिमको हुन्छ, तानाशाह २००७ सालको मोहनशमशेर होस् चाहे २०१७ सालको श्री ५ महेन्द्र’ । बीपीले भन्नुभएको छ– ‘पाठकलाई राणापक्षबाट २००७ सालमा गरिएको प्रचारलाई एक पटक फेरि पढेर आफ्नो स्मृतिलाई ताजा पार्न म अनुरोध गर्दछु, किनभने त्यसबाट मैले भन्न खोजेको कुरा स्पष्ट हुन्छ र त्यसको प्रभाविकता सिद्ध हुन्छ’ ।
२.१.१ राष्ट्रियताको इतिहास
बीपीले भन्नुभएको छ– ‘राष्ट्रियतालाई अध्ययन गर्दा नेपालको इतिहासमाथि सानो दृष्टिपात गर्नु आवश्यक छ । इतिहासले यस सम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोर्खाको एउटा राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । १८ औं सदीमा हिन्दुस्तानको भू–भागमा अनेकौं राजा–महाराजा जागीरदार तथा साहसी सरदारहरू मुगल सम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति अस्थिरताको स्थितिको लाभ उठाउँदै आफ्नो–आफ्नो क्षेत्रको विस्तार र नयाँ–नयाँ राज्यहरूको गठनमा तँछाड कि मछाड भन्दै विजयको होडमा लागेका थिए । त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् । आफ्ना छिमेकका राजा रजवाडाहरू भन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशल थिए । पृथ्वीनारायण शाह तथा उनका तुरुन्तै उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरू केही थिएन । राष्ट्रिय एकताको अभियान त्यो थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना या कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एतिहासिक तत्व हो’ ।
बीपीले विभिन्न राष्ट्रहरूमा विभिन्न समयमा भएका घटनावृत्तको उदाहरण दिदै भन्नुभएको छ– ‘बृटिस साम्राज्यको जग पनि त्यस समयमै बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्वीपको तत्कालीन राजनीतिक स्थिति, जसमा कि राजा रजवाडाहरूका बीच राज्य विस्तारको होड चलिरहेको थियो । फाइदा उठाएर बृटिस साम्राज्यको स्थापना गर्न सफल भए । बृटिस साम्राज्यको स्थापनाको प्रक्रियामा अंगे्रजहरूले आफ्नो बृहत्तर स्वार्थलाई ध्यानमा राखेर हिन्दुस्तानको अधिकांश आर्थिक दृष्टिले लोभनीय भागलाई त आफ्नो सोझो कब्जामा पारे, बाँकी रहेकालाई स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि सन् १८१६ मा सुगौलीको सन्धि भएको थियो । ती सन्धिहरू यस अर्थमा पनि असमान थिए कि ती सन्धिद्वारा देशी शासकहरूलाई धेरथोर ( कमबेश ) अधिकार प्राप्त थिए र तदनुरूप उनीहरूको सम्मान र प्रसस्ति तोपको सलामीको संख्या निर्धारित गरिएको थियो । बृटिसले यसरी श्रेणीबद्ध ढङ्गले भारतीय भूगोलमा परेका देशी राज्यहरूसँग एकएक गरेर युद्ध गर्दै भिन्न भिन्न प्रकारको सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । त्यस व्यवस्थामा उनीहरूले नेपाललाई सबभन्दा ठूलो र सम्मानीत स्थान दिएका थिए । अनि क्रमशं. निजाम, कश्मिर, बडौदा आदिको स्थान आउथ्यो । सुगौलीको सन्धिले गोरखा राज्य विस्तारको अभियान समाप्त पा¥यो । गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन । न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्ररित नै । न गोरखा राज्य विस्तारको यन्त्र, न गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोर्खाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन । जसले गर्दा विजित देशहरूका राजा प्रजाहरूसँग कोमल व्यउहार गरिएन । काठमाडौका नेवारी प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ’ ।
सोही प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘सुगौलीको सन्धिले नेपाल देशको भूगोल निर्धारित ग¥यो, राष्ट्रको निर्माण त्यसले गरेन । हो, त्यस दिनदेखि भविष्यको बृहत्तर नेपाल, नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भयो । एउटा देशको गठन भयो यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत जातिहरूको, विभिन्न धर्मावलम्बीहरूको, अनेक भाषभाषीहरूको, एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय अभियानको परिणाम स्वरूप र साथै बृटिस विदेशी विजेताहरूको त्यस्तै अभियानसँग जुध्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सुगौलिको सन्धि (सन् १८१६) बाट प्रारम्भ हुन्छ’ ।
बीपी अगाडि भन्नुहुन्छ– ‘त्यसपछि राष्ट्रियताको उदयका लागि सामग्री तयार भयो १. एउटै राजाको मातहत देशभरि एक किसिमको शासन व्यवस्था कायम भयो । २. देशभर व्याप्त शासनव्यवस्थाको संचालनको भाषा माध्यम नेपाली भाषा थियो । प्रशासकीय एकताको संदर्भमै नेपाली भाषाका उदयकोे इतिहासको अध्ययन हुनसक्ने हुनाले, राष्ट्रियताको उदयका लागि तयार भएका प्रारम्भिक सामग्रीहरूको चर्चा गर्दा प्रशासकीय एकताको अन्तर्गतमै नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ र त्यसरी दुई प्रकारका सामग्रीहरूको चर्चा गर्ने सट्टा एउटै मूल सामग्रीको चर्चा गरे पुग्छ । अर्थात् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोर्खा राजाहरूको विजय अभियानको एउटा प्रत्यासित सामग्री फेला पा¥यो । कुनै विजेताले पनि देशहरूको विजय गरिसकेपछि आफ्नो विजेताको लक्षण र गुणलाई नमानेर पनि विजित देशहरूका उपर आफ्नो प्रशासन यन्त्र कायम गर्नुपछ्र्र । शाह शासकले पनि त्यही काम गरे । तिनीहरूले विजीत नेपाली भूभागमा आफ्नो प्रशासनयन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले त्यही काम गरे, तर विजेताको आफ्नो लक्षण, गुण र दोषलाई कायमै राखे । २०० बर्षपछि आजसम्म पनि नेपालको राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेको छैन र जनतापक्षकाले प्रजाको अधिकारको चर्चा गर्दा या अधिकारका लागि आवाज उठाउँदा या राजा र प्रजाको प्रतिनीधिहरू एउटै थलोमा उभिनुपर्छ भन्ने कुरा गर्दा उनीहरूले राजाको दमनको शिकार हुनुपर्छ । कतिपय दरबारियाहरू जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोगलाई राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा हेपेर पनि गर्न सक्छन् । मानौ देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पति हो, मानौ राजमुकुट राष्ट्रिय प्रतिक नभएर राजाको व्यक्तिगत शिरशोभा हो जसलाई बहुमुल्य भएकाले हारजीतको दाउमा राख्ने अधिकार उनलाई प्राप्त छ’ ।
२.१.२ नेपाली राष्ट्रियता
एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– यदि शासकले नेपाली समाज र नेपाल देशको हितको ध्यान राखेको भए सबभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सृजना गर्नपट्टि लाग्ने थियो । नेपालको शासनव्यवस्थाको आधुनीकरण र नेपाली जनताको असहनीय दरिद्रताको निराकरण जनताको सामूहिक प्रयासको आधारमा गर्न सकिन्थ्यो । शासन यन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा, जनताको सामूहिक राष्ट्रिय अभियान दुबै साथ–साथ हुनसकेको भए नेपाल यति पिछडिएको देश रहने थिएन । गरिबी मेटाउनका लागि उपयुक्त तथा शासनयन्त्रमा सहयोगी जनतामा यत्रो ठूलो राष्ट्रिय शक्ति आउने थियो कि नेपालको आधुनिकीकरणको बाटो सरल भएर जाने थियो । शाह हुन् चाहे राणा हुन्, कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता एउटा ठूलो शक्ति हो । ऊर्जा हो भन्ने कुरापट्टि ध्यान गएन । ध्यान गएको भएपनि राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक संझेर त्यसको विकासको सारा बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिढोरा पिटेको सुहाउदैन’ ।
उहाँको भनाइ छ – ‘मैले भन्न खोेजेको के हो भने, १८१६ पछि नेपाल देश बन्यो नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो त्यसमा आतमा आउन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन भाँडो कुदियो तर त्यसभित्र राख्ने तत्व राखिएन । उपर्युक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा यो भन्न सकिन्छ कि जहिले पनि नेपालको एकतन्त्री शासन व्यवस्थाको विरुद्ध आवाज उठ्यो त्यो राष्ट्रियताको आवाज थियो । एकतन्त्री शासन हुकुमी राज्य नेपालको ऐतिहासिक सन्दर्भमा राष्ट्रियताको घातक हो । शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको वर्ग पनि उही एउटा मूलभूत सिद्धान्तमा टिक्छ । साथै राष्ट्रिय भावनाबाट प्ररित नेपाली जनता गरिबीको चुनौतिको सामूहिकरूपबाट मुकाविला गर्न सक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्द हुन पुगेका छन्’ ।
बीपीले अगाडि भन्नुभएको छ– ‘यस सन्दर्भमा राष्ट्रियताको विवेचना गर्दा २००७ सालको क्रान्तिको महत्व अत्यन्त ठूलो छ । नेपालको इतिहासमा शायद पहिलो पटक जनतातत्वबाट एउटा सामूहिकप्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराइ, पहाड र उपत्यकाका अनेक जाति, वर्ग, धर्मावलम्बीहरूले सम्मिलित आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो । राष्ट्रियताको उदय भयो । राष्ट्रियताको विकासमा यो भन्न सकिन्छ कि २००७ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो । के त्यसभन्दा पहिले देशव्यापी आधारमा नेपाली जनताले एउटा भावनामा बाधिएर कुनै कार्य सम्पादित ग¥यो ? २००७ सालको क्रान्तिको यस महत्वलाई बिर्सनु हुदैन । त्यसले शासन व्यवस्थामा मात्र परिवर्तन ल्याएन कि राष्ट्रियताको भावनाको उदय गरायो । शासन व्यवस्था त कोतपर्वले पनि परिवर्तन गरेको थियो । २००७ सालपछि राष्ट्रियतालाई विकसित हुने मौका प्राप्त भयो । जनतालाई प्रारम्भिक प्रजातान्त्रिक अधिकार प्राप्त भएकाले देहभरिमा राजनीतिक, सामाजिक पार्टीहरू स्थापित भए, जसमा धेरैजसो देशव्यापी थिए । प्रत्येक पार्टीले आफ्नो आफ्नो मञ्चबाट देशका कुना कुनामा आफ्नो देशव्यापी प्रोग्रामको घोषणा गरे । सामाजिक हुन् चाहे आर्थिक चाहे राजनीतिक, देशका जनताको आवाज बुलन्द हुन थाल्यो । २००७ सालको प्रजातान्त्रिक क्रान्तिले राणाहरूको एकतन्त्री शासन मात्र समाप्त गरेन नेपाल नेपाली जनता हो भन्ने भावना पनि ल्यायो र नेपाली भन्नाले धर्म, वर्ण, लिङ्गभेद रहित नेपाल राज्यभित्र बस्ने यावत नेपाली नागरीक परिलक्षित गर्ने भावना त्यसले सृजना ग¥यो’ ।
राष्ट्रियताका सन्दर्भमा बीपीको भनाइ छ– ‘२०१५ सालको आम चुनावले राष्ट्रियताको अभिवृद्धिमा मद्दत ग¥यो । संसद एउटा राष्ट्रिय सभा थियो । २०१७ सालमा राजाले राष्ट्रियताको बढ्दो गतिलाई आफ्नो सैनिक बलप्रयोगद्वारा एकै चोटि रोके । उनी १० सालको (२००७–२०१७) राष्ट्रियताको प्राप्तिलाई समाप्त गरेर पुन.ं विजेताको रूपमा प्रकट भए । २००७ सालमा मुकुट एउटा राष्ट्रिय प्रतिक जस्तो भएको थियो । मुकुटधारीको जे सुकै आन्तरिक इरादा भएपनि २०१७ सालमा त्यो मुकुट राष्ट्रिय प्रतिक नभएर एउटा विजेताको शिरशोभा हुन पुगेको छ । २०१७ साल पौष १ गतेको काण्ड यस दृष्टिबाट न केवल घोर अप्रजातान्त्रिक हो, त्यो घोर अराष्ट्रिय पनि हो । जनताको मौलिक अधिकारको हननलाई कुनै पनि अर्थमा राष्ट्रियताको कदम भन्न सकिन्न’ । यसरी राष्ट्रियताका सन्दर्भमा बीपीका विचार स्पष्ट छन् जसका सम्बन्धमा व्यापक विचार एवं विमर्श हुनुपर्दछ भन्ने धारणा बीपी विचार राष्ट्रिय समाजको रहेको छ ।
२.२ प्रजातन्त्र
विद्वान्हरूले प्रजातन्त्रको परिभाषा जनताका लागि जनताद्वारा जनताको सरकार भनी परिभाषित गरेका छन् । यसैबाट प्रजातन्त्रको पूरा भाव स्पष्ट हुन्छ । प्रजातन्त्रमा जनआवाज नै सबै हो । प्रत्येक नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रमा मात्र रहन्छ । प्रत्येक व्यक्तिले आफ्नो रीति–रिवाज, आचार–विचार तथा धर्म पालन गर्ने पूर्ण स्वतन्त्रता प्रजातन्त्रमा रहन्छ । जनताले आफ्नो प्रतिनिधि चयन गरेर उनीहरूको माध्यमबाट सरकार बनाउने पूर्ण अधिकार रहन्छ । प्रजातन्त्रमा जनप्रतिनिधिहरूको ठूलो जिम्मेवारी रहन्छ । जनप्रतिनिधिले आफूलाई जनसेवक संझनुपर्दछ । जनप्रतिनिधि सत्तामा रहेका होऊन् या बाहिर उनीहरूको माध्यमबाट जनताको आवाज नीतिनिर्माणको तहसम्म पुग्नुपर्ने हुन्छ ।
२.२.१ प्रजातन्त्रका सन्दर्भमा बीपीको दृष्टिकोण
प्रजातन्त्रका सम्बन्धमा बीपीको आफ्नै दृष्टिकोण रहेको छ । बीपीद्वारा प्रतिपादित नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शमा राजाले गल्ती गर्दैनन् भन्ने रहेको छ तथापि राजाले धेरै पटक गल्ती गरेका छन् । बीपी जीवित छँदा पनि राजा महेन्द्रले गल्ती गरेका थिए । जनताको दुईतिहाई बहुमत ल्याएको नेपाली काङ्ग्रेसको सरकारको प्रधानमन्त्री आफू स्वयंलाई जेलमा पु¥याउँदा पनि बीपीले नेपाली काङ्ग्रेसले आफ्नो आदर्श र सिद्धान्तलाई परिवर्तन गर्नुपर्दछ तथा पुनर्विचार गर्नुपर्दछ भन्ने कुरा सोच्नुसमेत भएन र बीपी आफ्नो आदर्शबाट त्यो अवस्थामा पनि विचलित भएको देखिदैन । गल्ती गर्ने व्यक्ति दण्डित हुनुपर्दछ तथापि यो विषय काङ्ग्रेसभित्र आम कार्यकर्ता बीच व्यापक वहसको विषय बनाउनुपर्दछ भन्ने धारणा बीपी विचार राष्ट्रिय समाजको छ ।
२.२.२ प्रजातन्त्रको प्राप्तिका लागि नेपाली काङ्ग्रेसले गरेको संघर्ष
नेपालको इतिहासमा प्रजातन्त्र प्राप्ति र त्यसको स्थायित्वका निम्ति भएका सङ्घर्षहरूमा नेपाली काङ्ग्रेसको योगदानलाई नजर अन्दाज गर्न मिल्दैन । प्रजातन्त्रको प्राप्ति र प्रजातन्त्रको प्राप्तिपछि प्रजातन्त्रको अपहरण भएपछि त्यसको पुनस्थापनाका लागि नेपाली काङ्ग्रेसले धेरै रगत र पसिना बगाएको छ । एक शताब्दीभन्दा लामो समयसम्म एकछत्र राज गर्ने राणाशासनको अन्त्य गर्ने देखि देशमा प्रजातन्त्रको पुनस्थापनाका साथै २०६२÷०६३ सम्मका विभिन्न आन्दोलनमा नेपाली काङ्ग्रेसले गरेको योगदानलाई कसैले विर्सन सक्दैन ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई खोतल्दै जानेहो भने विशेष गरेर चन्द्रशमशेरको समयदेखि स्वाभिमानी एवम् कर्मठ देशभक्तहरूले भित्रभित्रै परिवर्तनरूपी आन्दोलनको बीउलाई भुसको आगाको रूपमा रोपेको देखिन्छ । जसको अगुवाइ पिताजी कृष्णप्रसाद कोइरालाले गर्नुभएको थियो । उहाँको यो आन्दोलन सशस्त्र स्वरूपको नभएर प्रतिकात्मक थियो । श्री ३ चन्द्रशमशेरलाई जनताको आङ्का दुईजोर कपडा उपहारका रूपमा प्रेषित गरेर यसका माध्यमबाट उनले राणाहरूको एकतन्त्रीय शासनका विरुद्ध संघर्षको प्रारम्भ गरे । उनको यस किसिमको कार्यबाट प्रेरित भएर पछिल्ला अनुयायीहरूले साङ्गठनिक रूपमा आन्दोलनलाई गति दिए । कृष्णलाल अधिकारी, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथचन्द प्रभृति व्यक्तिहरूले कृष्णप्रसादले प्रत्यक्षतः आरम्भ र अप्रत्यक्षतः निर्देश गरेको अभियानलाई केही उचाइमा पुर्याए । यसर्थ पिताजी कृष्णप्रसाद कोइरालाले नै नेपालमा प्रजातन्त्रको बीजारोपण गरेका हुन् ।
नेपालको इतिहासमा राष्ट्रिय काङ्ग्रेस हँुदै नेपाली काङ्ग्रेसको वर्तमानसम्मको इतिहासको अन्वेषण गर्दा विभिन्न कालखण्डमा प्रजातन्त्रको स्थापना र त्यसको स्थायित्व एवम् सम्वद्र्घनका निम्ति भएका परिघटनाहरू नेपालको इतिहासमा स्वर्णाक्षरमा अङ्कित छन् । यसमा नेपाली काङ्ग्रेसको नेतृत्वदायी भूमिका सर्वोपरि रहेको छ । निरङ्कुश राणाशासन र एकदलीय पञ्चायती शासनका विरुद्ध नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका आन्दोलनका कारण आज नेपाली जनता स्वतन्त्र र सार्वभौम छन् । तत्कालीन राजा ज्ञानेन्द्रलाई सत्ताच्यूत गरी गणतन्त्रको घोषणा गर्ने विन्दूसम्म आइपुग्नु मात्र उसको अभीष्ट होइन, भत्काइएका र क्षतविक्षत तुल्याइएका वस्तुहरूको पुनः सृजनलाई समेत उसले आफ्नो दायित्वभित्र राखेको छ । त्यसैले संविधानसभाद्वारा संविधान निर्माण र घोषणा गर्ने कार्यका यावत् शृङ्खलाहरू काङ्गे्रसकै नेतृत्वमा सम्पन्न भएका हुन् । हुन पनि २००७, २०१७, २०४६ ÷ ४७ एवम् २०६२ ÷६३ का सबै आन्दोलनहरू काङ्गे्रसकै सक्रियतामा सम्भव भएका हुन् । जनताको आशा र भरोसाको एक मात्र उदाहरण भएकाले काङ्गे्रसले गरेको आन्दोलन सार्थक परिणतिमा नपुगी बीचैमा टुङ्गिएको अवस्था पनि कहिलै आएको देखिँदैन । जुनसुकै परिस्थितिमा पनि काङ्ग्रेसको नेतृत्व निर्णायक बनेका प्रशस्त उदाहरणहरू छन् । राणातन्त्र फाल्नका लागि विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्व, २०१७ मा स्थापित निरङ्कुश पञ्चायतको अवसानका लागि गणेशमानको नेतृत्व र २०६२÷६३ मा निरङ्कुश राजतन्त्रकोे अन्त्य र गणतन्त्रको स्थापनाका लागि गिरिजाप्रसाद. कोइरालाको नेतृत्व रहेको कुरा इतिहासमा हस्ताक्षरित भइसकेका विषय हुन् ।
यी सबै घटना शृङ्खलाहरूले आफूलाई वाञ्छित उपलब्धि हासिल गराएरै छाडेका छन् । यिनै ऐतिहासिक आन्दोलनका पछिल्लो कडीका रूपमा २०६२÷६३ को आन्दोलनलाई लिन सकिन्छ । तथापि आन्दोलन केवल आन्दोलनका निम्ति नभई राष्ट्रिय आवश्यकताको परिपूर्तिका निम्ति भयो भने त्यसको औचित्य रहन्छ । विश्वेश्वरप्रसाद कोइरालाको मृत्युपछि भएका विभिन्न आन्दोलनको नेतृत्त्व नेपाली काङ्ग्रेसले लिएका कारण ती आन्दोलन सफल भएका हुन् ।
२.२.३ काङ्ग्रेसको भूमिकालाई न्यूनिकरण गर्ने दुष्प्रयास
नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेसको नेतृत्त्वदायी भूमिका रहिआएको छ । नेपाली काङ्ग्रेसकै नेतृत्वका कारण नेपाल यो अवस्थामा आएको हो । नेपाली काङ्ग्रेसकै नेतृत्त्वमा नेपालमा भएका संघर्षका कारण नेतृत्वमा पुगेका राजनीतिक दलका नेताहरूले अहिले नेपाली काङ्ग्रेसको भूमिकालाई न्यूनीकरण गर्ने प्रयास गर्दै छन् । जसको सानो उदारहणको रूपमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिन सकिन्छ । ओलीले प्रधानमन्त्री हुँदा वित्तिकै वर्षौदेखि आफूभित्र रहेको कुण्ठा व्यक्त गर्दै अब नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्ष नभएर एउटा सहयोगी दलको रूपमा रहने छ भन्ने अभिव्यक्ति दिए । प्रधानमन्त्रीको दम्भयुक्त उक्त अभिव्यक्तिका विरुद्ध नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया दिएको देखिएन । संस्कृतमा एउटा भनाइ छ– ‘मौनं स्वीकृति लक्षणम्’ अर्थात् कुनै प्रतिक्रिया नदिएर मौन रहनु भनेको त्यसलाई सहज रूपमा स्वीकार गर्नु हो ।
यस्तै यसको अर्को उदाहरणको रूपमा हालै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्त गरेको भनाइलाई पनि लिन सकिन्छ । उनले हालै एक कार्यक्रममा भने– ‘अब काङ्ग्रेसको काम नै छैन त्यसलाई म्युजियममा थन्काइदिए हुन्छ’ । तिनै बाबुरामलाई भोट दिएर जिताउनका लागि आवहान गर्ने काङ्ग्रेस नेतृत्व बाबुरामको उक्त भनाइप्रति पनि मौन नै बसेको देखिन्छ । संस्कृतमा एक अर्को भनाइ रहेको छ– ‘पय पानं भुजङ्गानां केवलं विष वर्धनम्’ अर्थात् सर्पलाई दूध खुवाउनु भनेको केवल विष बढाउनु हो । नेपाली काङ्ग्रेसले संसदीय निर्वाचनको समयमा भोट समेत दिएर संसदमा पु¥यायो तर यसरी भोटसमेत दिएर डा. भट्टराईलाई खुवाएको दूध काङ्ग्रेसका विरुद्ध भट्टराईले आज विषको रूपमा ओकल्दै छन् तथापि नेपाली काङ्ग्रेसको नेतृत्त्व मौन छ । डा.बाबुरामले कम्युनिष्ट पार्टी छाडी नयाँ शक्ति नामक पार्टी बनाएर त्यसलाई पनि विसर्जन गरी समाजवादी पार्टीमा परिवर्तन गरे पनि उनमा कम्युनिष्टहरूमा हुने धङ्धङी यथावत देखिन्छ । काङ्ग्रेसीहरूले भोट हालेर संसदमा पु¥याएर उनको इज्ज्यत बचाउने काङ्ग्रेसलाई म्युजियममा पु¥याउने उनको यो कथनले उनको कृतघ्नता स्पष्ट हुन्छ । यस्ता धेरै उदाहरणहरू पाइन्छन् तथापि नेपाली काङ्ग्रेसको नेतृत्त्वले काङ्ग्रेस भएको जस्तो व्यवहार देखाउन सकिरहेको छैन । कम्युनिष्ट नेताहरूका यस्ता भनाइले पनि बीपीले वामपन्थीलगायतका दलहरूसँग सहकार्य गर्न नहुने कुरा किन गर्नुभएको रहेछ भनेर विश्लेषण तथा अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।
२.२.४ हरेक युगमा काङ्ग्रेसको नेतृत्वदायी भूमिका
हरेक युगले आफूभित्रको समस्याको निराकरणको जिम्मा पनि काङ्ग्रेसलाई नै सुम्पिएको बोध हुन्छ । हुन पनि नेपालको वर्तमानसम्मको राजनीतिक सङ्घर्ष र त्यसका उतारचढावहरूलाई अवलोकन गर्दा नेपालमा भएका जुनसुकै प्रकृतिकाः आन्दोलनलाई पनि सही दिशा प्रदान गर्न र त्यसलाई नियन्त्रणभित्र राख्न सक्ने खुबी काङ्गे्रसमा मात्रै रहेको देखिन्छ । तर वर्तमान नेतृत्वमा किन त्यस्तो सुझ बुझ देखिदैन आश्चर्य छ । जुन–जुन ऐतिहासिक कालखण्डमा सास्ती बेहोर्नु परेको अवस्था उत्पन्न भएको देखिएको छ, त्यहाँ–त्यहाँ परिस्थितिले काङ्ग्रेसको नेतृत्वदायी भूमिकायुक्त उपस्थितिको माग गरेको पाइन्छ । यसो भन्नुको तात्पर्य के हो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई संयुक्त रूपमा जीवनको मूल धमनीका रूपमा अङ्गीकार गरेर तदनुरूप जीवनलाई रूपान्तरण गर्ने अभीष्ट बोकेको हुनाले देशको युगानुकूल विकास र स्वाभिमानको संरक्षणका लागि आजसम्म काङ्गे्रस एक्लैले पहरेदारी गर्दै आएको देखिन्छ । यसबाट नेपाली काङ्ग्रेसको प्रयोगात्मक राष्ट्रवादी चरित्र स्वतः प्रकट भएको स्पष्ट हुन्छ ।
नेपालको राजनैतिक इतिहासका उल्लेख्य घटना शृङ्खलामा २०६२÷६३ सँग सम्बद्ध घटनाले आजसम्मको पछिल्लो घटना सन्र्दभलाई जनाउँछ । यो घटनाको जग माओवादीहरूको भूमिगत हिंसात्मक आन्दोलनले उत्पन्न गराएको तात्कालिक परिस्थिति र २०६१ माघ १९ गतेको शाही कदमसँग जोडिएको छ । २०४६÷४७ को ऐतिहासिक जन आन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थालाई समाप्त पारेर बहुदलीय राजनीतिक व्यवस्थाको सूत्रपात गरायो । तर यसको जन्मताका नै नेपाल धर्तीको आकाशमा काला बादल मडारिने क्रम शुरू भयो । किनभने शिशु प्रजातन्त्रलाई नै धराशायी तुल्याउने लक्ष्यका साथ माओवादीले २०५२ देखि हिंसात्मक गतिविधि बढाउँदै लग्यो । त्यसले मुुलुकको शान्ति, सुरक्षा र सार्वभौमिक अखण्डतामाथि ठूलो प्रश्नचिन्ह खडा गरिदियो । यस स्थितिले काङ्ग्रेसको काँधमा झन् ठूलो जिम्मेवारी थपिदियो । सर्वजन हितायको राजनीति काङ्ग्रेसले अख्तियार गरेको बाटो थियो । तसर्थ माओवादी हिंसाले मुलुकको संवेदनशीलतामा पु¥याएको क्षतिबाट बचाउने दायित्वबाट पनि काङ्ग्रेस पन्छिन सक्दैनथ्यो । यस पटक पनि मुलुकलाई जोगाउने चुनौती काङ्ग्रेसकै काँधमा आउनु स्वाभाविकै थियो । नत्र त हिंसाले हिंसालाई नै प्रश्रय दिँदै जाँदा मुलुकको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुन सक्थ्यो । चन्दा आतङ्क तथा जागिरेबाट अनिवार्य लेबीका साथै जनसरकारका नाममा जग्गा किनबेच तथा रजिस्टे«सन लगायतका कुरा समेत माओवादीहरूले अख्तियार गरेपछि मुलुकमा एकातर्फ त्रासदीको स्थिति चरमोत्कर्षमै पुगेको अवस्था थियो भने अर्कातर्फ राजा ज्ञानेन्द्र त्यही अनुपातमा निरङ्कुश बन्दै जाने खतरा उत्पन्न भएको थियो । नभन्दै २०६१ माघ १९ गते ज्ञानेन्द्रले शेरबहादुर देउवाको मन्त्रिमण्डल विघटन गरी देशमा सङ्कट काल लागू गराए ।
जननिर्वाचित सरकारलाई हटाउनु ज्ञानेन्द्रको असंवैधानिक कदम थियो । उनले जन निर्वाचित शेरबहादुरको प्रधानमन्त्रित्वमा गठित मन्त्रिमण्डललाई आठ महिना नौ दिनमै कथित शाही घोषणाका बलमा बर्खास्त गरेका थिए । उनको भित्री उद्देश्य पनि संंसदवादी र माओवादी दुबै शक्तिलाई उपयोग गरेर तिनका बीचमा दीर्घकालीन दूरि कायम गराई राज्यसत्ता आफ्नै हातमा लिनु थियो । उनलाई यस किसिमको जोखिमपूर्ण कार्यमा हात हाल्ने प्रेरणा उनकै बाबु महेन्द्रबाट मिलेको हुनसक्छ । उनका तात्कालिक विविध खाले गतिविधिहरूले उक्त कदम मार्फत् २०१७ पुस १ गतेको घटनाको पुनरावृत्ति गर्न खोजेको बुझ्न सकिन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले समयको गतिलाई बुझ्न सकेनन् । २१ औँ शताब्दीका जनता हिजोका जस्ता अबुझ छैनन्, ती सचेत भइसकेका छन् भन्ने कुरा उनले बुझेनन् । गलत समयमा गलत स्थानमा कदम राख्न खोज्दा उनले प्रतिकूल परिणतिको सामना गर्नुपरेन राजगद्धि समेत छाड्नुपर्ने भयो ।
संसदवादी राजनीतिक दलहरूमा काङ्गेस बाहेक अरू शक्तिहरू समेत देखा परेका भए पनि संसदीय पद्धतिको मूल मर्म अनुरूप चल्ने पार्र्र्टी भनेको नेपाली काङ्गे्रस मात्र हो । हालको परिप्रेक्ष्यलाई दृष्टिगत गरेर हेर्ने हो भने पनि बहुदलीय राजनीतिक व्यवस्थालाई अन्तर्हृदयबाट ग्रहण गर्ने एक मात्र पार्टी काङ्ग्रेस देखिन्छ । तानाशाहीहरूले देशलाई घुमाइफिराई पुनः तानाशाहतर्फ डो¥याउँछन् भन्ने उदाहरण खोज्न अन्य कतै जानुपर्दैन हालै संसदमा पेश भएको मिडियासम्बन्धी विधेयकलाई हेरे पुग्दछ । यसका विरुद्ध नेपाली काङ्ग्रेस बोलेको छ तर कति टिक्ने हो र कति कुटनीतिक ढंगले प्रस्तुत हुने हो त्यो भने हेर्न बाँकी नै छ । सर्वहारको नेतृत्व स्थापित गर्ने नारा लिएर सत्तामा पुगेका वामपन्थीहरूले सत्तामा पुगेपछि गरेको सत्ताको दुरुपयोगलाई हेर्दा हेदा लाग्दछ उनीहरूको सर्वहाराको नारा केवल देखाउने दाँत हो । सत्ताका लागि उनीहरू कसरी मरिहत्ते गर्दथे भन्ने कुरा विगतमा पनि नदेखिएको होइन तर अहिले उनीहरूको नेपाली जनताबीच उदाङ्गिएका छन् ।
२.३ समाजवाद
समाजको सर्वाङ्गिण विकासका लागि समाज शब्दमा ‘वाद’ जोडेर ‘समाजवाद’ बनेको हो । नेपाली काङ्ग्रेस स्थापना भएको एकदशकको अन्तरालमा नेपाली काङ्ग्रेसले आफ्नो मूलभूत सिद्धान्तमा समाजवादलाई अङ्गिकार गरेको ६३ (त्रिसट्ठी) वर्ष पनि पूरा भइसकेका छन् । नेपाली काङ्ग्रेसले समाजवाद शब्दलाई नेपाली राजनीतिको जीवनधारा त बनाइदियो तर आफ्नो पार्टीलाई भने बीपीको सिद्धान्तबाट विचलित बनाएको देखिन्छ । नेपालको संविधान २०७२ ले नेपाललाई एक समाजवादी राष्ट्रको रूपमा स्थापित गरिदिएको छ । यो नेपाली काङ्ग्रेसले विगत छदशकको दौरानमा नेपालको राजनीतिमा समाजवादका सम्बन्धमा प्राप्त गरेको उपलब्धी नै हो । नेपाली काङ्ग्रेसले २०१२ सालमा समाजवादलाई अङ्गिकार गर्दै आफूलाई समाजवादी पार्टीको रूपमा स्थापित गरेको थियो । काङ्ग्रेसले समाजवादी नीति लिएको छदशकमा नेपाल संविधानतः समाजवादी राष्ट्रको रूपमा स्थापित भएको छ । जननायक बीपी कोइरालाले स्थापना गर्नुभएको नेपाली काङ्ग्रेसले अङ्गिकार गरेको ‘समाजवाद’ शब्दले उहाँको अवसान भएको ३३ वर्षपछि संविधानमै महत्त्वपूर्ण स्थान पाएको छ ।
समाजको कल्याणका लागि तथा समाजको हितका लागि कसलाई कस्तो काममा लगाउनुपर्दछ भन्ने सम्बन्धमा विचार पु¥याइएन भने संविधानमा ‘समाजवाद’ शब्द राख्दैमा कुनै अर्थ राख्दैन । आज संविधानमा ‘समाजवाद’ शब्द त परेको छ तर राज्यका सबैजसो निकाय सत्तारूढ पार्टीका सांगठनिक निकायको रूपमा भएको आभास मिल्न थालेको छ । नीतिमा भनिएको जस्तो–‘योग्यं योग्येन योजयेत्’ अर्थात् जो जुन काममा योग्य छ त्यसलाई त्यही काम नियुक्त गर्नुपर्नेमा त्यस्तो हुन सकिरहेको छैन । त्यसैले समाजवादको त के कुरा गरौं नेपाल एक सुसंगठित समाज पनि बन्न सकेको छैन । बीपीले समाजवादका सम्बन्धमा विभिन्न माध्यमबाट आफ्ना विचार व्यक्त गर्नुभएको छ ।
समाजवादका सन्दर्भमा बीपीले भन्नुभएको छ– ‘समाजवाद ’ एउटा रुढीगत वा सिद्धान्त मात्र होइन । यो विश्वव्यापी संगठन गरेर आर्थिक शोषण र त्यसबाट उत्पन्न तमाम सामाजिक विकृतिहरूको अन्त्य गरी पूर्ण स्वतन्त्रताको वातावरणमा मानव विकासको मार्ग विस्तृत गर्न हो । समाजको सामञ्जस्यपूर्ण संगठन गर्ने समाजवादी आन्दोलनका यस्ता केही आधारभूत सिद्धान्त समाजकोे संगठनका नियमको आधार समाजभन्दा बाहिर दैवीप्रेरणा वा शक्ति नभएर समाजमै निहित मानिसको नियन्त्रण कायम हुनसक्ने सामाजिक शक्तिहरू हुन् भन्ने हो । अर्थात् समाजका सम्बन्धमा यो समाजवादको भौतिकवादी सिद्धान्त हो । समाजवादले दैवीप्रेरणा वा शक्तिको अपेक्षा गर्दैन । समाजवादलार्ई यस दृष्टिले एउटा भौतिकवादी विचार शृङ्खला हो भन्न सकिन्छ’ ।
उहाँले अगाडि भन्नुभएको छ– ‘मानिस सामाजिक प्राणी हो भन्ने एउटा निर्विवाद सत्य हो । समाजको माध्यमबाट नै त्यसका यावत काम सम्भव हुन्छन् । मानिसलार्ई जन्मदेखि मुत्युपर्यन्त समाजमा आधारित कार्य गर्न कर लाग्दछ । मानवका मानसिक, बौदिक जीवन, आत्मासम्बन्धी उच्च भावना, कला, संस्कृति आदि विषयहरूलार्ई छाडिदिउँ, भोजन, वस्त्र, घर इत्यादिजस्ता दैनिक स्थूल आवश्यकताका लागि पनि ब्यक्ति पूर्ण रूपले समाजमा आश्रित हुन्छ । त्यसो हुनाले मानव हृदय एकातिर ब्यक्तिगत स्वार्थले उत्प्रेरित हुन्न भने अर्कोतिर आफ्नो ब्यक्तिगत स्वार्थको परिधिबाट बाहिर आएर सामूहिक स्वार्थको पनि चिन्तन गर्छ । ब्यक्ति नितान्त स्वार्थपरायण हुने मात्र होइन, उसमा प्रवल सामाजिक भावना पनि हुन्छ’ ।
यसै सन्दर्भमा उहाँले भन्नुभएको छ– ‘वर्तमान सामाजिक—आर्थिक व्यवस्थाभित्रको लुछाचुँडीले भरिएको सामाजिक संगठनहरूमा प्रबल रूपमा मानवमा स्वार्थको प्रवृति मात्र ब्यक्त भएको तर त्यसमा निहित सामाजिक प्रवृति भने नरहेको देखिन्छ । तर सामाजिक कारणले गर्दा मानवको यो चित्र विकृत भएको हो । समाजको गठनमा सुधार आएको खण्डमा मानवको सामाजिक प्रवृतिले स्वार्थी प्रवृतिमाथि विजय पाउन सक्छ । मानिस सामाजिक जीव भएकाले उसको स्वभाविक जीवनवृत्ति पनि सामाजिक छ । त्यसो हुनाले मानिसले आदिमकालदेखि नै व्यक्तिगत स्वार्थपूर्तिको प्रक्रियाबाट आफ्नो व्यक्तिगत जीवनको समस्याको समाधान गदै आए पनि बीच—बीचमा समाजका समस्या र समाजका सामूहिक स्वार्थपट्टि पनि त्यसको ध्यान गइरहेको छ । मानिसले आदिमकालदेखिनै सामूहिक समस्यामाथि घोरिएर आफ्नो चिन्तन र अनुभवलार्ई सिद्धान्त, मत वा धर्मको रूप दिँदै आइरहेको छ’ ।
समाजवादलाई परिभाषित गर्दै बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– ‘साम्यवादमा प्रजातन्त्र जोडिदिएपछि समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिएपछि साम्यवाद हुन्छ’ । बीपीले आफ्ना राजनीतिक विचारहरूको प्रवाह गर्ने सन्दर्भमा नैतिकताका प्रसङ्गहरूलाई पटक–पटक दोहो¥याउनुभएको छ तर अहिले नेपाली काङ्ग्रेस नेतृत्त्वमा नैतिकताको संकट छ । यसरी हरेक दृष्टिले बीपी कोइराला नेपाली राजनीतिमा नैतिक तथा आदर्शको प्रतिमूर्ति नै हुनुहुन्थ्यो । उहाँको आदर्शलाई व्यवहारमा उतारेर नेपाली काङ्ग्रेसलाई नेपाली जनताको प्रिय पार्टीको रूपमा पु¥याउनका लागि बीपी विचार राष्ट्रिय समाजले बेला बेलामा घच्घच्याउने गरेको छ ।
२.३.१ समाजवादी अर्थव्यवस्था
बीपीका अनुसार नेपाली काङ्ग्रेसले समाजवादी अर्थव्यवस्थालाई अङ्गिकार गर्नुपर्दछ । बीपीले समाजवादी अर्थ व्यवस्थालाई व्यवहारमा उतार्नको लागि उत्पादनमा अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– ‘एक माना दूध सयजनालाई समान वितरण गर्नु समाजवाद होइन, उत्पादन बढाएर सबैलाई यथेष्ट दूधको व्यवस्था गर्नु नै समाजवाद हो’ । बीपीले सोही प्रसङ्गमा भन्नुभएको छ – ‘समाजवादको कुनै एउटा असंलग्न परम्परा छैन । मानव विकासको सभ्यता र संस्कृतिको बहुमुखी आन्दोलन तथा अभिव्यक्तिबाट परम्पराको कुनै एउटा पातलो धागो झिकेर त्यसमा समाजवादलार्ई झुन्ड्याउन खोज्नु समाजवादलार्ई अत्यन्त सङ्कुचित पार्ने प्रयास गर्नु हो । आफ्नो लामो यात्रामा मानवले उपलव्धी हासिल ग¥यो । ती उपलव्धीहरूको सामूहिक संज्ञा नै सभ्यता हो । समाजवाद भनेको त्यस सभ्यताको चरम सीमा हो । तसर्थ ती उपलव्धीहरूलार्ई त्यागेर समाजवाद स्थापित हुनै सक्दैन । समाजवाद त्यस्तो व्यवस्था हो, जसले सभ्यताको यावत् उपलव्धीहरूलार्ई ग्रहण गर्छ र मानवले अहिलेसम्म प्राप्त गरेको सामथ्र्य र अनुभवको आधारमा अतीतका विजयहरूलार्ई मेटाएर भविष्यका अझै ठूला—ठूला विजयहरूका लागि मानवको राजपथ झन् विस्तार गर्ने मानव संगठनको परिकल्पना गर्छ । मानव जीवनमा नैतिक भावना र आदर्शका कुराहरूलार्ई व्यवहारिक रूप दिनु समाजवादको उदेश्य हो’ । यसरी बीपीका अनुसार समाजवाद संकुचित होइन दिनानुदिन फराकिलो बन्दै जानुपर्दछ । यसरी बीपीको समाजवादी दर्शनको अध्यययन गर्दा देशलाई आत्मनिर्भरतर्फ अग्रसारित गर्नुपर्दछ र मात्र बीपीको समाजवाद व्यवहारमा लागू भएको महसूस गर्न सकिन्छ ।
२.४ राष्ट्रिय मेलमिलाप
दक्षिण एशियाली मुलुकहरूमा २०३० सालपछि उथलपुथलको नयाँ वातारवरण देखा परेपछि सिक्किमको स्वतन्त्र अस्तित्वसमेत समाप्त भयो । परिवर्तित यो सन्दर्भबाट उत्पन्न हुनसक्ने अनिष्टलाई ध्यानमा राखेर बीपीले राष्ट्रिय अस्तित्वमा नै प्रश्न चिन्ह लाग्नसक्ने अवस्थालाई दृष्टिगत गरी २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसको अध्यक्षको हैसियतले एउटा अपिल प्रकाशित गरी मुलुकका सबै राजनीतिक शक्तिका बीच ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आवहान गर्नुभयो । सोही दिन बीपी, गणेशमान लगायतका भारतमा निर्वासनमा रहेका नेपाली काङ्ग्रेसका थुप्रै नेता र कार्यकर्ताहरू नेपाल प्रवेश गर्नु भएको थियो । बीपी लगायतका नेताहरूको स्वदेश आगमन नै तानाशाहीका निम्ति एउटा क्रान्ति नै भइदियो । सो क्रममा बीपी र गणेशमान सिंहलाई विमानस्थलबाटै गिरफ्तार गरेर अनेकौं संगीन मुद्धाहरू लगाइयो । बीपीको मेलमिलाप नीति परिस्थितिले निर्धारण गरेको संघर्षकै अर्को रूप थियो । तत्कालीन कानूनअनुसार मृत्युदण्ड पनि हुनसक्ने प्रकृतिका अनेकौं मुद्धालगाई पञ्चायती सरकारले अदालतमा उभ्याउँदा बीपी कोइरालाले जुन आत्मविश्वास र इमानदारिताका साथ बयान दिनुभयो त्यो राष्ट्रिय एकताका निम्ति अमूल्य दस्तावेज बनेर रहेको छ । यही क्रममा बीपी र गणेशमान आफू विरुद्ध लगाइएका अनेकौं राजनीतिक मुद्धाहरूलाई खेप्दै नेपालको जेलमा बस्दा मुलुकभित्रै प्रजातान्त्रिक आन्दोलनले अनुकूल र उपयुक्त मनोवैज्ञानिक आधार बन्यो जसले गर्दा राजा निर्वाचनको माध्यमबाट बहुदल रोज्ने कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा जनमत संग्रह गराउन बाध्य भए । जनमत संग्रहको परिणाम जे जस्तो भए पनि यसले प्रजातन्त्रको पुनस्थापनका निम्ति महत्त्वपूर्ण मार्गदर्शन गरेको देखिन्छ ।
३. कहाँदेखि चुक्यो त नेपाली काङ्ग्रेस
नेपाली काङ्ग्रेसको आफ्नै सिद्धान्त र दृष्टिकोण रहेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाले नेपाली काङ्ग्रेसलाई स्पष्ट सिद्धान्त र दृष्टिकोण दिएर जानुभएको छ । बीपीले आफ्नो भौतिक शरीर नरहेको अवस्थामा नेपाली काङ्ग्रेसमा आफ्ना दृष्टिकोणका सम्बन्धमा पर्न सक्ने भ्रमका सम्बन्धमा पनि प्रष्ट पार्नुभएको थियो । जुन कुरा आजको दिनसम्म आइपुग्दा प्रमाणित पनि भइसकेको छ । पछिल्ला दिनमा बीपीको सिद्धान्त र दृष्टिकोण ओझेलमा परेको छ । जसले गर्दा आज नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिमा कमजोर अवस्थामा आएको हो भन्ने ठहर बीपी विचार राष्ट्रिय समाजको छ । जुन पार्टीको सिद्धान्त र दृष्टिकोण स्पष्ट हुँदैन त्यो पार्टी जनताको नजरबाट ओझेलमा पर्दै जान्छ । आज नेपाली काङ्ग्रेस आफ्नो सिद्धान्त र दृष्टिकोण मै अलमलिएको हुनाले यो जनताको नजरबाट ओझेलमा पर्दै गएको हो । वि.सं.२०४६ सालको जनआन्दोलन देखि लिएर २०६२÷६३ सम्मका सबै आन्दोलनमा नेपाली काङ्ग्रेसकै नेतृत्वमा सफल भए तथापि बीपीको विचारलाई काङ्ग्रेसले कहाँदेखि विर्सियो स्वयं काङ्ग्रेस अनभिज्ञ रहेको छ । कहाँदेखि चुक्यो त नेपाली काङ्ग्रेस भन्ने सम्बन्धमा यहाँ संक्षिप्त रूपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ
३.१ वामपन्थीहरूसँगको सहकार्य
जुन दिन २०४६ सालको जनआन्दोलनमा नेपाली काङ्ग्रेसले वामपन्थीहरूसँग सहकार्य गर्ने निर्णय ग¥यो त्यही निर्णयदेखि नै नेपाली काङ्ग्रेस बीपीको विचारबाट अलगिन थालेको धारणा कतिपय बीपीसँग संगत गर्ने तथा बीपीका राजनीतिक दस्तावेजहरूलाई राम्रोसँग अध्ययन गर्ने बीपीवादी नेताहरूको छ । महामानव विश्वेश्वरप्रसाद कोइरालाले कठिनभन्दा कठिन परिस्थितिमा पनि वामपन्थीहरूसँग सहकार्य गर्ने पक्षमा हुनुहुन्थेन भन्ने कुरा स्वयं बीपीद्वारा तयार पारिएका अनेक दस्तावेजहरूमा पाइन्छन् । यति हुँदाहुँदै पनि २०४६ सालमा पार्टीले कम्युनिष्टहरूसँग सहकार्य गर्ने निर्णय ग¥यो । जसको परिणामस्वरूप देशमा प्रजातन्त्रको पुनस्थापना त भयो तर त्यसको केही वर्षमै वामपन्थीहरूकै एउटा घटकबाट माओवादी जनयुद्धको प्रारम्भ भयो जसका कारण देशमा खडाभएका विकासका पूर्वाधारहरू ध्वस्त भए । त्यसपछिका दिनमा एकपछि अर्को गर्दै विकृति र विसङ्गतिहरू भित्रिए । अन्ततः संविधानसभाको निर्वाचन गर्ने निर्णय गरियो र संविधान सभाको निर्वाचन पनि गरियो तर पहिलो संविधानसभाले संविधानसमेत दिन सकेन नेपाली काङ्ग्रेस कमजोर प्रतिपक्षको रूपमा स्थापित भयो । दोस्रो संविधान सभामा नेपाली काङ्ग्रेसले बहुमत ल्याएपछि संविधान त दिन सक्यो तर त्यसपछिको निर्वाचनमा आफू पुनः कमजोर प्रतिपक्षको रूपमा स्थापित भएको छ ।
प्रजातन्त्रको पुनस्थापनापछिका ३० वर्षमा नेपाली काङ्ग्रेसले सत्ताका लागि आफ्नो पहिचान के हो भन्ने कुरालाई बिर्सेर जुन अपवित्र गठबन्धनमा सामेल भयो त्यो तत्कालीन नेताहरूको क्षणिक स्वार्थपूर्तिका लागि फाइदाजनक भए पनि समग्रमा नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्श विपरीत थियो भन्ने कुरा स्वीकार गर्न पनि कतिपय नेताहरू अहिले पनि तयार छैनन् । यति मात्र होइन पछिल्लो स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा वामपन्थी र पूर्वपञ्चहरूका पार्टीहरूसँग भएको सहकार्यमा विभिन्न पार्टीका निर्वाचन चिन्हमा भोट खसाल्न समेत नेपाली काङ्ग्रेसको नेतृत्त्वले निर्देशन समेत दियो । यो कुरा पनि बीपीद्वारा प्रतिपादित सिद्धान्त र आदर्श विपरीत थियो । जसले गर्दा नेपाली काङ्ग्रेस कमजोर प्रतिपक्षको रूप खुम्चिन बाध्य भयो । यति हुँदा हुँदै पनि पार्टी बीपीको सिद्धान्त र आदर्शभन्दा बाहिर पुगिसकेको छ भन्ने कुरामा काङ्ग्रेस नेतृत्त्व अनभिज्ञ भएजस्तो देखिन्छ ।
बीपीले जहिले पनि नेपाली काङ्ग्रेस जनताको पक्षपोषणका लागि क्रियाशील रहनुपर्ने कुरामा जोड दिदै सत्ताका लागि मरिहत्ते नगर्न निर्देशन दिनुभएका दस्तावेजहरू अहिले पनि यथावत छन् तथापि प्रजातन्त्रको पुनस्थापना पछिका दिनमा नेपाली काङ्ग्रेस सत्ताका लागि कति लालायित भयो भन्ने कुरा यहाँ दोहो¥याइरहनु नपर्ला ।
३.२ लादिएको धर्मनिरपेक्षता
धर्मनिरपेक्षता शब्द ‘धर्म’ र ‘निरपेक्षता’ गरी दुई शब्दको योगबाट बनेको हो । नेपाल राजकीय प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहद् शब्दकोशमा धर्म शब्दको अर्थ १.व्यक्ति वा वस्तुमा सधै रहने गुण वा मूल प्रवृत्ति, प्रकृति, स्वभाव । २.स्वभाविक गुण, सहज वृत्ति । ३.स्वर्ग प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्य कार्य, पुण्य कर्म । ४.कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य (जस्तो मानवधर्म, नारीधर्म, युगधर्म इ.) । ५.असल आचरण, सदाचार, नियम । ६.पुण्य, सत्कर्म । ७. ईश्वर अथवा सद् गतिको प्राप्तिका लागि गरिने शास्त्र विहित कर्म । ८.कुनै महापुरुषले चलाएको मत, सम्प्रदाय । यस्तै निरपेक्षता शब्दलाई पनि उक्त शब्दकोशमा यसरी प्रष्ट्याइएको छ । त्यहाँ निरपेक्षताको अर्थ १.कुनै कुराको वास्ता नराख्ने, अपेक्षा नभएको, वास्ता नगर्ने । २.कुनै चासो नराखिएको, उपेक्षित । ३. असम्बन्धित, सम्बन्धदेखि मुक्त भन्ने अर्थ लगाइएको छ । यी दुई शब्दरूको अर्थलाई छुट्टा–छुट्टै केलाउँदा धर्मनिरपेक्षताको अर्थ स्पष्ट हुन आउँछ । सामान्यतया यी दुई शब्दलाई जोडेर हेर्दा धर्मप्रति कुनै वास्ता नराख्ने, व्यक्ति वा वस्तुमा सधै रहने गुण वा मूल प्रवृत्ति, प्रकृति एवं स्वभावप्रतिको वेवास्ता, स्वभाविक गुण एवं सहज वृत्ति आदिप्रति कुनै वास्ता नराख्ने भन्ने बुझिन्छ । सारांशमा भन्दा धर्मको सोझो अर्थ जीवन पद्धति हुन आउँछ भने निरपेक्षताको सोझो अर्थ वेवास्ता हुन आउँछ । जनजीवन तथा जीवन पद्धतिप्रति वेवास्ता गर्ने कस्तो राज्य निर्माण गर्न खोजिएको हो यो जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको कुनै पनि राजनीतिक सिद्धान्त र आदर्शभित्र पर्दैन । नेपाली काङ्ग्रेस जनमतमा विश्वास राख्ने पार्टी हो । अधिकांश नेपाली जनताको मत जे हुन्छ नेपाली काङ्ग्रेस पनि त्यो जनमतबाट टाढा रहन सक्दैन । अधिकांश नेपाली जनताले वैदिक सनातन धर्ममा विश्वास राख्दछन् । वैदिक सनातन धर्मावलम्बीहरूले नेपालमा बसोबास गर्ने नेपाली जनताले मान्दै आएका अन्य विभिन्न धर्मावलम्बीहरूको आफ्नो आस्था र विश्वासलाई प्राचीनकालदेखिनै सम्मान गर्दै आएका छन् । जसले गर्दा परापूर्वकालदेखिनै नेपालमा धार्मिक सहिष्णुता कायम भइरहेको अवस्थामा एकाएक देशमा धर्मनिरपेक्षता लाद्ने कार्य नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले ग¥यो त्यो पनि बीपीको आदर्श र सिद्धान्त विपरीत हो भन्ने ठहर पनि बीपी विचार राष्ट्रिय समाजको छ ।
३.२.१ धर्मका सम्बन्धमा नेपाली काङ्ग्रेसको घोषणापत्र २०१५
नेपाली काङ्गे्रसको चुनावको घोषणापत्र २०१५, जसलाई लिएर नेपाली काङ्ग्रेस जनताको घरदैलोमा मत माग्नका लागि नेपाली जनतासमक्ष पुगेको थियो उक्त घोषणा पत्रमा धर्मका सम्बन्धमा भनिएको छ– ‘धर्मको सम्बन्धमा हाम्रो नीति प्रष्ट छ । देशमा धेरै थरिका धर्म मान्ने मानिस छन् । नेपाली काङ्गे्रस उनीहरूको साझा सरकार हुनेछ । अतः सरकारले प्रत्येक धर्म मान्ने मानिसलार्ई आफ्नो अन्तरआत्माको विश्वासको धर्म एवम् विधिविधान मान्ने र त्यसअनुसार उपासना गर्न पूर्ण स्वतन्त्रता दिनुपर्दछ । नेपाली काङ्ग्रेसले सबै धर्मावलम्बीहरूलार्ई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधिविधान मान्ने र त्यसमा हिड्न दिने ग्यारेन्टी दिनेछ । कसैले कसैको धर्ममा बाधा दिन खोज्यो भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पूर्ण शक्ति लगाउने विश्वास दिलाउँछ । नेपाली काङ्गे्रसलार्ई आफ्नो संस्कृति प्यारो छ र हाम्रो महान् संस्कृतिको आधारशिलामा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहान्छौैँ’ । यसरी नेपाली काङ्ग्रेस धर्मका सम्बन्धमा विगत देखि नै स्पष्ट रहँदै आएको देखिन्छ ।
३.२.२ धर्मका सम्बन्धमा बीपीको धारणा
धर्मका सम्बन्धमा बीपी प्रष्ट हुनुहुन्थ्यो भन्ने कुरा बीपीले विभिन्न स्थानमा व्यक्तगर्नुभएको धारणाबाट पनि बुझ्न सकिन्छ । बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– मानिसले आदिमकालदेखिनै सामूहिक समस्यामाथि घोरिएर आफ्नो चिन्तन र अनुभवलार्ई सिद्धान्त, मत वा धर्मको रूप दिँदै आइरहेको छ । भगवान् बुद्धको जीवनी, हाम्रो देशमा सामाजिक भावना वा व्यक्तिगत स्वार्थको भावनामाथि विजय प्राप्त गरेर उठ्न सकेको भावनाको एउटा दृष्टान्त हो । उनी यशस्वी र राज्याधिकारी थिए । उनलार्ई आफ्ना कुनै पनि आवश्यकताको आपूर्ति नहुने भय थिएन । उनी त्यस्तो सुखमय जीवनबाट किन हठात् विमुख भए, उनलार्ई त्यसको सुखको अनुभव किन हुन सकेन ? आफूलार्ई जुन ज्ञान प्राप्त हुन सकेको छ र उनी जुन ज्ञानद्धारा जीवनका सुखःदुखबाट मुक्त हुनसक्ने भएका छन् । त्यो ज्ञान समाजका प्रत्येक प्राणीलार्ई प्राप्त हुनुपर्छ भन्ने उनले निश्चय गरे । उनको यो निश्चयबाट संसारमा धर्मचक्र प्रवर्तित भयो’ ।
यहुदी तथा इसाईधर्मको उत्पत्तिका सन्दर्भमा एक प्रसङ्गमा भन्नुभएको छ– यहुदी धर्मका प्रारम्भिक चिन्तक र मनिसहरूले शोषण र अत्याचारका विरुद्ध आवाज उठाए र उनीहरूले यहुदी जातिलार्ई अत्याचारबाट मानव जातिको कल्याण हुँदैन भन्ने चेतावनी दिए । ईशाले दुई हजार बर्ष पहिले अर्को धर्मको प्रतिपादन गरे । त्यो समाजका विकृति, असमानता, अत्याचारका विरुद्ध उनको धार्मिक घोषणा र आन्दोलन थियो । उनले विशेष रूपले दलित, शोषित र आशाहीन गरिबहरूका लागि धर्मको बाटो उघारे । उनले भने— हे दलित शोषित जनता ! तिम्रा लागि स्वर्गको द्वार उघ्रिएको छ । धनीहरूलार्ई स्वर्गद्वारबाट छिर्न त्यतिनै असम्भव छ, जति ऊँट सियोको प्वालबाट छिर्न असम्भव छ । यो घोषणा विद्रोहको स्पष्ट घोषणा थियो । तर त्यसबखत उनलार्ई उनका अनुयायीहरूलार्ई शासकवर्गले बडो क्रूर यातनाका साथ फाँसीमा झुन्ड्याएर मारे । उनीहरूमाथि नाना किसिमका अत्याचार भयो । तर उनको आन्दोलनले गरिब जनताको हृदयलार्ई जितेको थियो । त्यसलार्ई जतिसुकै अत्याचारद्वारा दमने गर्ने प्रयत्न भए पनि त्यो मर्न सकेन’ । यस्तै इस्लामधर्मको सन्दर्भमा उहाँले भन्नुभएको छ– इस्लाम धर्मका प्रवर्तक मुहम्मद पनि सामाजिक भावनाबाट प्रेरित एउटा महान् व्यक्ति थिए । धर्मको प्रारम्भिक पे्ररणाको स्रोत मानव हृदयमा उठ्ने सामाजिक चैतन्यमा विद्यमान थियो ।’ यस्तै कन्फुसियन धर्मका सम्बन्धमा उहाँले भन्नुभएको छ– ‘चीनका कन्फुसियस त झन् स्पष्ट रूपले आचारवादी र व्यवहारवादी महात्मा थिए’ ।
यसै प्रसङ्गमा वैदिक सनातन हिन्दू धर्मका सम्बन्धमा भन्नुभएको छ– ’हिन्दूधर्म भनेको बुद्ध, इस्लाम वा इसाई धर्मजस्तो संगठित धर्म होइन । त्यसो हुनाले हिन्दूधर्मलार्ई एउटा सामाजिक संगठनको आधारको रूपमा र त्यसका नियमहरूमा सामाजिक नियमहरू सादृश्य भएको हामी पाउँछौ । यसका वेद, उपनिषद, रामायण, महाभारत, पुराण, मनुस्मृति इत्यादि धार्मिक ग्रन्थहरू शुद्ध सामाजिक दृष्टिकोणबाट लेखिएका ग्रन्थ हुन्’ । धार्मिक व्यवस्था र अध्यात्मका सम्बन्धमा बीपीले भन्नुभएको छ– ‘धार्मिक व्यवस्था वा धर्मका आध्यात्मिक र नैतिक दुईवटा उदेश्य हुन्छन् । आध्यात्मिक उदेश्यको सम्बन्ध व्यक्ति, आत्मा र ईश्वरसंग हुन्छ भने नैतिक उदेश्य मानव सम्बन्ध वा सामाजिक सम्बन्धको विषय हो । जुनसुकै धार्मिक व्यवस्थामा पनि आध्यात्मिक र नैतिक आधार अविच्छिन्न रूपबाट संलग्न हुन्छन् । धर्मले ईश्वर र आत्माका सम्बन्धमा सूक्ष्म विवेचना गरेर एकातिर रहस्यवाद, व्यक्तिको एकान्तता र सामूहिक नभएर व्यक्तिगत मोक्षको प्रयासमाथि जोड दिएको छ भने त्यसले अर्कोतिर, पवित्र पारस्परिक जीवन, मानव सम्बन्धमा निःस्वार्थपन, त्याग, पवित्रता, प्रेम, विश्वास इत्यादि शुद्ध सामाजिक भावनाहरूमा पनि उत्तिकै जोड दिएको छ । ती भावनाहरूको विवेचना नैतिक विषय हो । यिनीहरू सामाजिक आदर्शलार्ई लक्षित गर्ने भावना हुन् । एउटा अनैतिक प्राणीलार्ई ईश्वर अप्राप्त छ । यस प्रकार धर्मले चारित्रिक गुणलार्ई प्रधानता दिएको छ’ । बीपीले भन्नुभएको छ– असल र खरावको विचारले पनि ईश्वरसँग सम्बन्ध राख्दैन । बरू यसको सम्बन्ध समाजको उदेश्यसँग छ । ईश्वर, कतै—कतै त शुद्ध नैतिकताको आधारको सृष्टि गर्न रचिएको अस्तित्वसमेत बनेको छ । मानव जीवनबाट ईश्वर र उसको न्यायको आधार लोप हुन लाग्यो भने मानिस अनैतिक र उच्छृङ्खल भएर सामाजिक संगठनाई विध्वंस गर्न लाग्छ भन्ने पनि कतिपयको भनाई छ । त्यसो हुनाले यस कुरालार्ई लक्षित गरेर कुनै दार्शनिकले भनेका छन—‘वास्तवमा ईश्वरको अस्तित्व नभए पनि हामीहरूले त्यसको निर्माण गर्नुपर्छ । ’
एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– ‘मानव चेतनाले पशुअस्तित्वको अन्धकारबाट निस्केर जब पहिलोपटक आँखा उघा¥यो, त्यसले आफ्नो अस्तित्वलार्ई ‘प्रकृति’ र त्यसको रहस्यमय दुनियाँ र आफूजस्ता अरू मानवगणको सहयोग विना आफ्नो जीवनको अस्तित्व सम्भव नभएको देख्यो होला । सर्वप्रथम उसलार्ई प्रकृतिको रूप अमैत्रीपूर्ण लाग्यो होला । यो चराचर जगत्मा आफ्नो स्थान के हो भन्ने प्रश्न उसले ग¥यो होला । यस प्रकारको प्रश्नले नै आध्यात्मिक शृङ्खलाको सूत्रपात ग¥यो । मानिसले आध्यात्मिक दृष्टिकोणबाट सामाजिक प्राणीको रूपमा आफ्नो विवेचना गर्दैन । आफ्नो स्थान त्यो चराचर जगत्को विराटतामा खोज्न चाहन्छ । मानिस विराट विश्वको सानो कण मात्र हो । यस प्रकारको चिन्तन गर्दा मानवदृष्टि अन्तर्मुखी हुन पुग्दछ’ । उहाँले अगाडि भन्नुभएको छ– ‘यस प्रकारको आध्यात्मिक भावनाबाट हाम्रो हिन्दू विचारधाराको पूर्वीय विचार अनुप्राणित छ । पूर्वीय विचारअनुसार सङ्गठनमा आदिभौतिकताको प्रधानता छ । यहाँको सभ्यता पनि विशेष रूपले यस्तै चिन्तनमा आधारित छ । वेद चराचर जगत्का विभिन्न दृश्यावली र त्यसले उत्पन्न गरेको मानव अनुभूतिको कवितामय अभिव्यक्ति हो । वेद, सूर्यस्तवनको कविहृदयबाट फुटेर निस्केको गीतधार जस्तो छ । उपनिषद् मानव चिन्तनको झन् परिपक्क फल हो । वेद र उपनिषद् दुवै साहित्य, प्रकृति र त्यसको रहस्यमय जगत्ले कुतकुत्याएको मानव चेतनाको एउटै उत्तेजनाबाट उत्पन्न भएका हुन् । त्यसपछिका ग्रन्थहरूमा कमवेश वेद र उपनिषद्का विचारको असर पाइन्छ । हिन्दू विचारधाराको तात्विक मूल रहस्य प्रकृतिले मानव मस्तिष्कमा पारेको असर हो । महाभारत र रामायणलार्ई एउटा सामाजिक चित्र उपस्थित गर्ने काव्यको रूपमा लिइए पनि दुबै ग्रन्थ आध्यात्मिकताले अनुप्रेरित छन् । महाभारतको गीता शुद्ध आध्यात्मिक ग्रन्थ हो । यस प्रकारको चिन्तनले आत्मदर्शनलार्ई विशेष प्रोत्साहन दिन्छ । यसै प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘मेरो भनाइको तात्पर्य हिन्दू विचार प्रणालीमा आध्यात्मिक भावना बाहेक अरू सामाजिक तथा दैहिक भावनाहरू छैनन् भन्ने होइन । त्यसको तात्पर्य त केवल, हिन्दू विचार प्रणालीमा आध्यात्मवादको पक्ष अरू पक्षभन्दा धेरै बलवान् छ र अध्यात्मवाद हिन्दूसभ्यता र संस्कृतिको प्रेरणा—मुल हो भन्ने मात्र हो । मानव चिन्तनको एक पक्षमा मात्र कुनै पनि सभ्यताको जग आधारित हुँदैन । तर , त्यो सभ्यतामा कुन पक्षको प्राधान्य छ भन्ने कुरा कला, साहित्य, दर्शन इत्यादिको अभिव्यक्ति र पक्षको प्रकट गर्छ । हिन्दूसभ्यतामा कला, साहित्य, दर्शन इत्यादिमा अध्यात्मवादको प्रधानता रहेको घोषणा गर्दछन्’ ।
४. के हो त धर्म ?
धर्मको तात्पर्य ती सत्यात्मक नियमहरूको धारणसँग रहेको छ जसको धारण व्यक्ति एवं समाजले गर्दछ । जसअनुरूप यो नियम कर्तव्यको रूपमा परिवारका प्रत्येक सदस्य, समाज हुँदै राष्ट्रव्यापी मात्र होइन विश्वव्यापी बन्न पुग्दछ । माता, पिता, पुत्र, बधू, बन्धु आदिको परिवारसँग जेजस्तो नाता हुन्छ ती सबै कर्तव्यबोधबाट बाँधिएका हुन्छन् । जहाँ कर्तव्य हुन्छ त्यहाँ विरोधको स्थिति पनि रहँदैन । मानव कर्तव्यले मानिसलाई व्यक्तिगत विचार तथा कर्मको तनावबाट माथि उठाइदिन्छ । यही कर्तव्यले नै मानिसलाई सेवातर्फ अग्रसर गराउँछ यही नै ‘धर्म’ हो र यही सेवा भावनाको अर्को नाम ‘यज्ञ’ पनि हो । यज्ञ यस्तो चिज हो जसले अर्काका लागि स्वार्थ तथा सुखको त्याग गर्र्दै अर्काको सेवाको लागि युक्ति प्राप्त गर्दछ त्यही जीवन पद्धति नै ‘यज्ञीय पद्धति’ हो । वैदिक सनातन धर्ममा विश्वास गर्ने परिवारको व्यवहारिक स्थिति यही भावनाको बलमा नै टिकेको छ । यसरी प्रेममय वातावरणमा परिवारका प्रत्येक सदस्यले आफ्नो कर्तव्यको पहिचान गरी त्यसको पालन गर्दछन् । अर्काको कुनै वस्तुप्रति आँखा नलगाउनु तथा त्यस्तो दुस्कर्मप्रति कुनै पनि भावना मनमा नआउनु नै पारिवारिक जीवनको रस हो जसलाई नै स्वर्गीय जीवनको संज्ञा दिइएको छ । प्रत्येक व्यक्तिमा एक–अर्काको सहयोगको भावना आउने आदर्श नै ‘स्वर्ग’ हो । यसको विपरित प्रत्येक वस्तुलाई आफ्नै स्वार्थको दृष्टिले हेर्नु, अधिकारको कुरा गरेर केवल प्राप्त गर्ने इच्छा राख्ने विचारले संघर्ष तथा विरोधको स्थितिको सिर्जना गर्दछ । जसलाई धर्मशास्त्रीय भाषामा ‘नरक’ भनिन्छ । प्रत्येक कुलको प्रत्येक सदस्यले यो कुरा सोच्नुपर्दछ कि मेरा कारणले परम्परा विच्छिन्न हुन नपाओस् मेरा कारण यो पारिवारिक तन्तु टुट्न नपाओस् । यस्तो भावना कर्तव्यबोधका माध्यमबाट आउँछ । यही कर्तव्यबोध नै ‘धर्म’ हो जुन संस्कारको माध्यमबाट एक पुस्ताबाट अर्को पुस्तामा, एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरित हुन्छ । महामानव विश्वेश्वरप्रसाद कोइराला पनि धर्म, संस्कार र आध्यात्मबादका सम्बन्धमा यही भावनाबाट अभिप्रेरित रहेर यावच्जीवन समाज तथा देशकोे सम्बद्र्धनका लागि क्रियाशील रहेको देखिन्छ । विश्वेश्वरप्रसाद कोइरालाले धर्म, संस्कार र आध्यात्मवादका सम्बन्धमा व्यक्त गरेका विचारलाई संक्षिप्त रूपमा एक–एक गरी यहाँ यसरी विश्लेषण गरिएको छ ।
धर्मका सम्बन्धमा बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– ‘धर्मको विरुद्धमा त म पटक्कै छैन, छँदै छैन । तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन’ । विश्वेश्वरप्रसाद कोइरालाको उल्लेखित वचनबाट उहाँ धर्मको विरुद्ध नभएको मात्र होइन ‘पटक्कै छैन, छँदै छैन’ भन्ने कुराबाट उहाँ धर्मका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ । धर्म भनेको जीवन पद्धति हो, प्राकृतिक नियम हो जसको विरुद्धमा कोही पनि जान सक्दैन भने महान् नेता विश्वेश्वरप्रसाद कोइराला जाने कुरै भएन तथापि उहाँले स्पष्ट शब्दमा भन्नुभएको छ ‘म धर्मको अभ्यास गर्दिन’ । यसको तात्पर्य धर्मका सम्बन्धमा विशेष प्रकारले जान्ने प्रयत्न उहाँले नगरेको देखिन्छ । कुनै पनि कुरालाई विशेष प्रकारले जान्नका लागि अभ्यासको खाँचो पर्दछ त्यसैमा समर्पित हुनुपर्दछ भन्ने गीताको वचन छ । तथापि मानिसमा रहेको धार्मिक विश्वासको कदर भने बीपीले गर्ने गरेको कुरा विभिन्न स्थानमा छरिएर रहेका उहाँका विचारबाट थाहा पाउन सकिन्छ । एक अर्को प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘एक जनाले साईं बाबाको विभूति मेरो जहानलाई दिएको रहेछ–यो लगाइदिनु भनेर । मलाई लगाई दिइन् । मलाई विभूति दिने व्यक्ति वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरो पत्नीको भावनालाई म असाध्य कदर गर्दछु’ । यसरी विश्वेश्वरप्रसाद कोइरालाले हरेक व्यक्तिको भावनालाई यसरी कदर गरेको देखिन्छ । अर्काको भावनाको कदर गर्नु नै धर्मको पालन गर्नु हो । मन्दिर जाँदैमा र मूर्तिको पूजा गर्दैमा धर्म हुँदैन । धर्म त भावनामा रहेको छ जुन भावनाको कदर कोइरालाले गरेको देखिन्छ । कोइरालाले एक प्रसङ्गमा भन्नुभएको छ– ‘सूर्यको उदयले गुलाफ पक्रेको कुराले तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष त सुकेको रहेछ । तपाईंले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन, रोमाञ्चित हुनु भएन भने । हो, रोमाञ्च जसले उत्पन्न गर्दछ त्यही ठाउँमा धर्म पनि बसेको हुन्छ’ । वास्तवमा मानिसलाई जागृत बनाउन सक्नु, अभिप्रेरित गर्नु नै धर्म हो । धर्म भनेको अनुभूतिको विषय हो र जसको अनुभूति विश्वेश्वरप्रसाद कोइरालाले गरेको देखिन्छ ।
उपनिषद् वेदको अन्तिम भाग हो जसलाई अध्यात्मविद्या तथा ब्रह्मविद्याको नामले चिनिन्छ । वेदको अन्तिम भाग भएका कारण उपनिषद्लाई वेदान्तको नामले पनि चिनिन्छ । उपनिषद् वेदको ज्ञानकाण्ड होे जुन ज्ञानको आदि श्रोत, विद्याको अक्षय भण्डार र वेदविद्याको चरम सिद्धान्त हो । यसले संसारका प्राणीमात्र आफ्नो बन्धुमात्र होइन आफ्नै स्वरूप नै संझन्छ । उपनिषद्ले मानवजातिलाई अल्पज्ञानबाट अनन्तज्ञानतर्फ, जन्ममृत्युरूपी बन्धनबाट अनन्त स्वातन्त्रमय शाश्वत शान्तितर्फ लैजान्छ । जसमा रहेको अनन्त ज्ञानमध्ये ईश्वरको सम्बन्धमा व्याख्या गर्दै बीपी कोइरालाले भन्नुभएको छ– ‘ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नुहुन्न । भौतिक आधारमा ख्याख्या गर्न सक्नुहुन्न । ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो’ । यसरी उहाँले ईश्वर दृश्य बस्तु नभएर अनुभूतिको विषय भएको बताउनुभएको छ । उहाँले एक अर्को प्रसँगमा भन्नुभएको छ– ‘मानिसको जुन संकट छ– मानसिक होस् वा आध्यात्मिक, त्यसको निवारण उसको आत्मबलमा छ । सानो एउटा संकटले कतिलाई छटपटाएर मारिदिन्छ । कोही मान्छे त्यो संकटमाथि विजय प्राप्त गर्दछ ।….. दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ’ । वास्तवमा ईश्वर भनेको कोइरालाले भनेजस्तै आध्यात्मिक अनुभव नै हो । उपनिषद्मा पनि त्यागपूर्वक सम्पत्तिको उपभोग गर्न र कसैको धनसम्पत्तिमाथि लोभ नगर्न निर्देशित गरिएको छ । प्रतिदिन बलिवैश्वदेव गरेर मात्र भोजन गर्नु यही त्यागवृत्तिको प्रतीक हो । तपस्याबाट नै मानिसले आफूलाई पवित्रिकृत गर्दछ । विना तपस्या त्यागको भावना आँउदैन अर्थात् तपस्याका लागि त्यागभावना हुनु अतिआवश्यक छ । जसका लागि आध्यात्मिक अनुभवको माध्यमबाट ईश्वरलाई चिन्नुपर्ने कुरामा कोइरालाले जोड दिएको देखिन्छ । जसमा आत्मबल हुन्छ त्यसले ठूलो संकटलाई पनि पार गर्न सक्ने भएकोले आध्यात्मिक अनुभूतिका माध्यमबाट आत्मबल तथा दैवी शक्ति प्राप्त गरेर जीवनमा आउने संकटमाथि विजय प्राप्त गर्नुपर्ने कुरामा कोइरालाले जोड दिएको देखिन्छ । यसरी अध्यात्मका सम्बन्धमा पनि कोइराला स्पष्ट हुनुहुन्थ्यो ।
५. उपसंहार
नेपालमा प्रजातन्त्रको स्थापना गरी नेपाली जनतालाई सुख, समृद्धिका साथ नेपालको विकास गर्ने महान् लक्ष्यका साथ वि.सं. २००३ सालमा स्थापना भएको नेपाली काङ्ग्रेस विगत सातदशकको अवधिमा अनेकौं प्रकारका उकाली–ओराली, भञ्ज्याङ र चौतारीहरू पार गर्दै आएको छ । खास लक्ष्य र सिद्धान्तका साथ हिडेको पार्टीको यात्रा कहिल्यै पनि पूर्ण हुँदैन । मुस्किलले कुनै लक्ष्यमा पुगियो भने फेरि अर्को पहाड आइपुग्दछ र त्यसलाई छिचोल्नका लागि नयाँ योजनाहरू बनाउनुपर्ने हुन्छ । नेपालका अन्य राजनीतिक दलहरूको भन्दा नेपाली काङ्ग्रेसको यात्रा भिन्न छ र हुनु पनि पर्दछ । विगतमा भएका कमी कमजोरीहरूबाट पाठ सिकेर नेपाली काङ्ग्रेसले आफ्नो लक्ष्य निर्धारण गर्न ढिला भइसकेको छ । पार्टी नेतृत्वले गरेका कमी–कमजोरीका सम्बन्धमा पार्टीभित्र खुल्ला बहस चलाइनुपर्दछ र गरेको गल्तीलाई गल्ती हो रहेछ भन्ने कुरा महसूस पनि गर्नुपर्दछ । विगतमा भएका गल्तीहरूका सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्दछ । ती सबै गल्तीहरूको समीक्षा नगरेसम्म नेपाली काङ्ग्रेसलाई निश्चित गन्तव्यसम्म पु¥याउन सकिदैन । नेपाली काङ्ग्रेसले वर्तमान अवस्थामा अबलम्बन गरेको सिद्धान्त र व्यवहारका सम्बन्धमा व्यापक विचार विमर्श गरी नेपाली काङ्ग्रेसलाई नेपाली जनताको प्रिय पार्टी बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने महान् उद्देश्य लिएर बीपी विचार राष्ट्रिय समाज क्रियाशील रहेको छ ।
विगत ३० वर्षको अन्तरालमा विशेष गरेर वामपन्थी दलहरूले नेपाली काङ्ग्रेसलाई कसरी प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न सफल भए भन्ने कुराको उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन विगतको स्थानीय निर्वाचनलाई हेरे पुग्दछ । स्थानीय निर्वाचन अघि सक्किनै लागेको माओवादीको अस्तित्व नेपाली काङ्ग्रेसले बचाइदियो त्यसको प्रतिफल काङ्ग्रेसले के पायो ? भन्ने सम्बन्धमा विश्लेषण गर्दा काङ्ग्रेसले पाउनु भन्दा गुमाएको देखिन्छ । माओवादीसँग सहकार्य नगरेर काङ्ग्रेस एक्लै लडेको भए स्थानीय निर्वाचनमा जति स्थान काङ्ग्रेसले ल्याएको थियो त्योभन्दा बढी स्थान आउने थियो । स्थानीय निर्वाचनमा आफ्नो नीति, सिद्धान्त र आदर्शभन्दा बाहिर गएर माओवादी लगायतका दलहरूसँग सहकार्य गरेका कारण संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले यो परिणाम भोग्नु परेको हो भन्ने बुझ्नुपर्दछ । यति हुँदा हुँदै पनि विगतमा भएका कमी कमजोरीका सम्बन्धमा विश्लेषण गरी एकवर्ष अघि भएको संसदीय निर्वाचनले नेपाली काङ्ग्रेसलाई नेपाली जनताले संसदीय पद्धतिको रक्षाका लागि प्रमुख प्रतिपक्षको भूमिका दिएका छन् । यो भूमिकालाई नेपाली काङ्ग्रेसले जिम्मेवारीका साथ निर्वाह गरेको अवस्थामा नेपाली जनताले प्रजातन्त्रको रक्षक भनेको एक मात्र नेपाली काङ्ग्रेस हो अन्य कुनै पनि पार्टी हुन सक्दैनन् भन्ने कुरा बुझ्ने छन् । नेपाली काङ्ग्रेस सत्तामा जाओस् या प्रतिपक्षको भूमिकामा रहोस् ऊ सधै जनताको पक्षमा रहनुपर्दछ र जनताको आवाजलाई सिङ्गो काङ्ग्रेसको आवाज बनाएर अगाडि बढ्नुपर्दछ । यसैमा नै नेपाली काङ्ग्रेस र नेपाली जनताको हित छ । अस्तु ।
सन्दर्भसामग्री
१.जेलजर्नल, विश्वेश्वरप्रसाद कोइराला, जगदम्बा प्रकाशन, दोस्रो संस्करण, २०५४ ।
२. विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, संकलन गणेशराज शर्मा, दोस्रो संस्करण, २०५५ ।
३.राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला, सम्पादन÷संयोजन लोकेश ढकाल, प्रकाशक, बीपी विचार राष्ट्रिय समाज, प्रथम संस्करण, २०७२ ।
४.राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग २, सम्पादक डा.वासुदेव खनाल, प्रकाशक बीपी विचार राष्ट्रिय समाज, प्रथम संस्करण, २०७५ ।
५.नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण, सम्पादक डा.वासुदेव खनाल, प्रकाशक बीपी विचार राष्ट्रिय समाज, प्रथम संस्करण, २०७५ ।
प्रस्तोता
डा.वासुदेव खनाल
संयोजक
प्राज्ञ विभाग, बीपी विचार राष्ट्रिय समाज

nema
Show More

Related Articles

Back to top button