अर्जुननरसिंह केसी
पार्टी–जागरण मौसमी वा पटके हुँदैन । अविश्रान्त जागरण पार्टीहरूको अनिवार्यता हो । जीवन्त पार्टी जमिरहेको पोखरीजस्तो गतिहीन हुन्न, बगिरहेको नदीजस्तै चलायमान हुन्छ तथा आफ्नो गतिलाई चट्टान तोडेर पनि निरन्तरता दिन्छ । जागरण निरन्तर कर्मचेतनामा अनूदित हुनुपर्छ । जागरण अभियानका क्रममा म मकवानपुर र अन्य जिल्लाका कतिपय स्थानतिर गएँ । सबै कार्यक्रममा स्थानीय तहका कार्यकर्ताको पार्टीप्रति चिन्ता, निष्ठा र समर्पण उस्तै देखियो ।
नबिग्रेको जनाधार, नसुध्रेको नेतृत्व
कांग्रेसको एकमहिने राष्ट्रिय जागरण गत जेठ २५ मा सकियो । अभियानका सिलसिलामा देशैभरि नौ सयभन्दा बढी कार्यक्रम भए । कार्यकर्तामा सहज जागरण यथावत् पाइयो, नेतृत्वलाई सबैको साझा प्रश्न थियो, ‘जागरण, सुधार र गतिशीलता नेतृत्वमै, खास गरी केन्द्रमा देखिनुपर्छ ।
केन्द्रीय नेतृत्वमा रहनुभएका तपाईंहरूमा जागरण र एकता कहिले हुन्छ ? नेवि संघ, तरुण दल, किसान संघ, दलित संघजस्ता पार्टीको शक्ति–स्रोत मानिने महत्त्वपूर्ण भ्रातृसंस्थाहरूको अधिवेशन केले रोकेको छ ? पार्टीका विभाग, भ्रातृसंस्था र संगठनहरूलाई अस्तव्यस्त र अन्योलग्रस्त छाडेर जिल्लामा जागरण खोज्नु एकातिरको रोग अर्कोतिरको उपचारजस्तो औचित्यविहीन भएन र ?’
पार्टी भन्नु नै साझा विचार हो । देश, काल, परिस्थितिसँग भिजेर आफूलाई हरबखत ताजगीकरण गर्दै लक्ष्यप्रति कटिबद्ध रहने सहयात्रा हो । प्रतिक्रियात्मक (रियाक्टिभ) होइन, स्वतः सक्रियता (प्रोएक्टिभ), उपदेश होइन, उदाहरण बन्नु जागरणको अर्थ हो । कर्मकाण्डी होइन, ‘ड्राइभिङ फोर्स’ का रूपमा पार्टीलाई सबलीकरण गर्ने हुनुपर्छ यो । लोकतन्त्रविरोधी शासकीय गतिविधिमा अंकुश लगाउने र आन्तरिक सुधार अभियान सशक्त बनाउने हुनुपर्छ ।
कांग्रेसका लागि लोकतन्त्र पद्धति मात्र होइन, आत्मा हो । कांग्रेसजनको संस्कार र जीवन पद्धति हो । लोकतन्त्र आचरण र व्यवहारमा प्रदर्शित हुनुपर्छ । यसले सपनाको व्यापारका लागि झुटो विज्ञापन गर्दैन, जनजीवनलाई उपलब्धिमूलक बनाउँछ । त्यसैले लोकतन्त्र व्यवहार र विकाससँग गाँसिएको हुनुपर्छ । पार्टी नेतृत्वमा शान्ति, विकास र लोकतन्त्रलाई एकाकार गरेर लैजाने कौशल हुनुपर्छ ।
कांग्रेसले धेरै वटा संघर्ष वा आन्दोलन जित्यो, इतिहासमा विजयी भयो, सिद्धान्त जित्यो, जनाधार र जनमतमा जित्यो, तर मतगणनामा पराजित भयो । कम्युनिस्टहरूले लोकप्रियता बढाएर होइन, हाम्रै गल्ती र कमजोरीले गर्दा हामी हार्यौँ । जनताले केही समयका लागि हाम्रो भूमिका परिवर्तन गरिदिए ।
दण्डहीनता र भ्रष्टाचारको अन्त्य तथा सुशासनको सुनिश्चितता हुन् लोकतन्त्रको सार्थकता र सफलताका अनिवार्य आधार । नबिर्सौं, कांग्रेसको बाह्रौँ महाधिवेशन (२०६७ असोज) मा तालीको गडगडाहटका साथ पारित सर्वसम्मत प्रतिबद्धता थियो— भ्रष्टाचारविरुद्ध सिंगो पार्टीलाई जागरुक तथा परिचालन ।
जागरण अभियानका क्रममा भुइँतहका जनता र कार्यकर्ताबाट एकस्वरमा आएको जोडदार माग थियो— पार्टीले भ्रष्टाचारविरुद्ध सशक्त आवाज किन उठाउन सकेन ? ‘लाउडा काण्ड’ मा तत्कालीन एमालेले ५७ दिनसम्म संसद ठप्प बनाउँदै सडक आन्दोलन चलाउन सक्छ भने वाइडबडी जेट खरिदमा भएको त्यत्रो भ्रष्टाचारको विरोधमा ७ दिन संसद ठप्प बनाउन किन सकेन ? ३३ केजी सुन तस्करी, बूढीगण्डकी भ्रष्टाचार काण्ड, एनसेल भ्रष्टाचारजस्ता प्रकरणमा संसदमा फगत कर्मकाण्डी विरोध किन ? यस्ता विषयमा पार्टीले कसैसँग सम्झौता गर्नु हुँदैन, जोडदार आवाज उठाउनुपर्छ र अरूको आवाजलाई पनि समेट्न सक्नुपर्छ भन्नेमा साथीहरूको साझा आवाज रह्यो ।
सत्ताको पराजित मानसिकता
कम्युनिस्ट पार्टीहरू पनि लोकतन्त्रकै आवरणमा छन्, तर तिनको गन्तव्य फरक छ । कम्युनिस्ट मानसिकता र संस्कार धारण गरेर लोकतन्त्रको अभ्यास गर्नु गिर्जाघरमा बसेर गीतापाठ गरे जस्तै हो । चुनावअघि असम्भव आश्वासन बाँड्ने, चुनावपछि सबै बिर्सने प्रवृत्ति लोकतान्त्रिक होइन । लोकतन्त्रको रामनामी जपेर यसका आधारभूत विशेषतालाई नै ध्वस्त पार्न कानुन बनाउने हर्कतले सरकारको कम्युनिस्ट निरंकुशताको व्यूहरचनालाई उदाङ्ग पारेको छ ।
सत्तापक्ष भक्तजन, भ्रष्टजन र तस्करजनको अल्पबुद्धि र स्वार्थी गिरोहको बन्दी भएको छ । आशा नैराश्य र मोहभंगमा बदलिँदै छ । शासनमा निरंकुशताजन्य भोक जाग्नु लोकतन्त्रका निम्ति खतराको साइरन बज्नु हो । संसदीय लोकतन्त्रमा सर्वोच्च कार्यकारी भएका प्रधानमन्त्रीमा यसबारे पश्चात्ताप हुनु त कताकता, एकीकृत शासन, निरंकुशता र सर्वसत्तावादको सूत्रधार हुने उत्साह जागेको छ, जुन झन् खतरनाक हो ।
आफ्नो दम्भ र अभिमान नछोड्ने, पार्टीको स्वाभिमान गुमाउन तत्पर हुने कुनै नेतृत्व सफल हुँदैन । सुविधा अनुसारको सिद्धान्त र योग्यता अनुसारको व्याख्या बोकेरहिँड्दा पार्टी बन्दैन । सत्तापक्षहोओस् वा विपक्ष, जुनसुकै पार्टीले अपनाउनुपर्ने जागरुकता यिनै हुन् ।
निरंकुशता, भ्रष्टाचार र नीतिहीनताका जुन विशेषताविरुद्ध हामीले आजीवन संघर्ष गर्दै आयौँ, तिनै तत्त्व हाम्रो राजनीतिक बाटोका तगारा भएका छन् । आज नेकपाले सत्ता चलाउँदा देखिएको र हिजो हामीले चुनावमा पराजय बेहोरेको भोगाइ तथा अनुभवको तीतो यथार्थ यही हो । पार्टी व्यवस्थापनको पारदर्शिता, विधिसम्मत प्रक्रिया र सामूहिक नेतृत्वको शक्तिले मात्र लोकतान्त्रिक शासन सार्थक र सफल हुन्छ ।
जागरणको मार्गदर्शन
हामी कांग्रेसको इतिहासबाट गौरवान्वित हुन्छौँ । तर इतिहासतिर एकोहोरिँदै रमाएर बस्दा वर्तमानले छोडेर हिँडिसकेको हुन्छ । न इतिहास न विरासत नै निर्णायक हुन्छ भन्ने यथार्थ हालैको भारतीय निर्वाचन परिणामले पुष्टि गरेको छ । गल्ती र कमजोरीको निर्मम र कटु समीक्षा गर्दै खुला दिलले समाधानमूलक निष्कर्षमा पुग्नैपर्छ ।
आफ्ना कमी–कमजोरी र गल्तीउपर इमानदारीपूर्वक गवेषणा गर्न सकेनौँ भने माने हुन्छ— हामीले खोजेको जागरण पनि निरर्थक हुन सक्छ । जागरण अभियान प्रकारान्तरले सत्याग्रह नै हो, जसमा सत्याग्रहीले अरूलाई आज्ञापालनका लागि अह्राउँदैन । हामीले पनि सत्ताको जिम्मेवारी सम्हाल्दा धेरै गल्ती गरेका छौँ, तथापि जनताविरुद्ध बेइमानी गरेका छैनौँ ।
समाजवाद कांग्रेसले कसैको खल्तीबाट निकालेको चार लाइनको चिर्कटो वा लहडी प्रस्तावका आधारमा अंगीकार गरेको पार्टी–नीति होइन । छैटौँ महाधिवेशनमा जननायक बीपी कोइरालाद्वारा प्रतिपादित, पार्टी सभापति सुवर्ण शमशेरद्वारा प्रस्तावित दूरगामी, सविस्तार परिभाषित तथा व्यावहारिक प्रस्थापना थियो यो, जसको सार्थक थालनी, लोकप्रियता र सफलताका लागि सुवर्णजी लगायतका अग्रज नेताले व्यक्तिगत रूपमा समेत अतुलनीय योगदान र महँगो मूल्य चुकाउनुपरेको थियो ।
कांग्रेसमा सामाजिक न्याय, समानता र सुरक्षाको खोजी गर्ने विपन्न वर्ग र निमुखा समुदायको पहिलो आकर्षण नै लोकतान्त्रिक समाजवाद हो । यसलाई झिकिदिने हो भने समाजको अन्तिम वर्ग र समुदायमा कांग्रेसप्रति कुनै आकर्षण रहँदैन । जानी–नजानी हामीले त्यतातिर ध्यान दिन सकेनौँ ।
पार्टीमा लेख–पढ, चिन्तन तथा निष्कर्ष, वैचारिक पुनर्जागरण एवं ताजगीको अभ्यास मासिँदै गएको छ । निर्भीक विश्लेषण र पद्धतिको खोजीगर्ने उच्च विचारको कार्यकर्तालाई‘बढ्ता बाठो भएको’ ठान्ने प्रवृत्ति नेतृत्वमा बढ्दै गएको छ । यसै पनि कांग्रेसलाई ‘जिउँदा नेताले डुबाएको, मरेका नेताहरूले बचाएको’ भन्ने खोटबाट हामी बच्न सकेका छैनौँ ।
सबभन्दा प्रभावकारी जागरण त यथाशीघ्र पार्टीको चौधौँ महाधिवेशन गर्नु नै हो । महाधिवेशन समयमै नगर्नु र कार्यकाल लम्ब्याउनु पार्टीका निम्ति घातक हुन्छ । क्षणिक स्वार्थ हेरेर हामीले अधिवेशन टार्दै र कार्यकाल अनावश्यक लम्ब्याउँदै जाने हो भने आउँदो स्थानीय निर्वाचनको मुखैमा हामी महाधिवेशनमा लाग्नुपर्ने हुन्छ ।
त्यसको नतिजा के होला ? समयको अनुकूलतालाई हेक्का नराख्ने हो भने परिणाम फेरि पनि सुखद नहुन सक्छ । हालैको जागरण अभियानले दिएको निष्कर्ष र मार्गदर्शन यही हो । जागरण अभियानमा उठेका सवालहरूमा यथार्थपरक, निष्कर्ष र ठोस सम्बोधन नै हो, पार्टी एकताको मूलमन्त्र ! यही हो आन्तरिक लोकतन्त्र ।
लेखक नेपाली कांग्रेसकाकेन्द्रीय सदस्य हुन् ।
कान्तिपुरबाट साभार