breakingअन्तर्वार्ता

डब्ल्यूएचओ नेपाल प्रमुख भन्छन् : क्वारेन्टिन सुधार नै उपयुक्त विकल्प हो

२०७७ जेठ ३२ गते

सिङ्गो संसार नै कोभिड-१९ महामारीसँग जुधिरहँदा संयुक्त राष्ट्र सङ्घअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आफ्ना सदस्य राष्ट्रका सरकारहरूले महामारी सामना रणनीतिलाई अझ सशक्त बनाउनुपर्ने बताउँदै आएको छ । नेपाल सरकारले पनि डब्ल्यूएचओसँग सम्पर्कमै रहेर आफ्नो कामलाई अगाडि बढाइरहेको छ । पछिल्ला दिनहरूमा नेपालमा सरकारको कोभिड-१९ परीक्षण प्रणाली गतिलो र प्रभावकारी नभएकोलगायतका मुद्दा उठाउँदै देशव्यापी आन्दोलन पनि सुरु भएको छ । उनीहरू मात्र होइन, विज्ञहरूले समेत सरकारले केही दिनअगाडि संशोधन गरेको परीक्षण निर्देशिकाबारे प्रश्न उठाएका छन् । यस विषयमा डब्ल्यूएचओले पनि सार्वजनिक रूपमा मुख खोलेको छैन ।
अनलाइनखबरसँगको अन्तर्वार्ताका क्रममा नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. जोस भान्देलारले पनि सरकारको खासै आलोचना गरेनन् । परीक्षण नीतिमा नेपालले गरेको परिवर्तनका पछाडि खास कारण रहेको बताउँदै उनले भाइरसलाई अझ फैलन नदिनका लागि आममानिस पनि उत्तिकै जिम्मेवार रहनुपर्ने सुझाव दिए ।

प्रस्तुत छ, भान्देलारसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको कुाकानीको सम्पादित अंश :

व्यक्तिगत कुराबाट हाम्रो संवाद सुरु गरौं । एक जना विदेशी नागरिकका रूपमा काठमाडौं बस्दा अहिले तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
म नेपाल बस्न थालेको पाँच वर्ष भयो, तर पछिल्ला महिनाहरूमा यस महामारीका कारण सबैथोक बदलिएको छ । नेपालले मलाई न्यानो स्वागत दिएको थियो र म रमाइरहेकै थिएँ । तर अचेल मान्छेहरू यस नयाँ रोगसँग डराएका छन् । त्यसैले मेरो अनुभव पनि बदलिएको छ । लकडाउनका कारण पनि धेरै कुरा बदलिएका छन् ।

अहिले नेपालबाहेक अन्य कुनै देशमा भएको भए आफ्नो जीवन केही फरक हुन्थ्योजस्तो लाग्छ ?
महामारीले फरकफरक देशमा फरकफरक अवस्था सिर्जना गरेको छ । धेरै देशहरूमा लकडाउन लागु गरिएको छ, तर कार्यान्वयनका तरिकाहरू भिन्न छन् । लकडाउनप्रति मान्छेका धारणा र व्यवहार पनि भिन्न छन् । महामारी आफैँ फरकफरक देशमा फरकफरक तहमा छ । त्यसैले स्वाभाविक रूपमा म अन्यत्र भएको भए भिन्न अवस्थामा हुन्थेँ ।
नेपालमा कोभिड-१९को नियन्त्रणमा भएका प्रयासहरूलाई कसरी हेर्नुभएको छ । नेपालको सामना रणनीतिका सबल र दुर्बल पक्षअनि अवसर र चुनौतीहरू के-के होलान् ?
नेपालमा संक्रमणको पहिलो घटना जनवरीमै देखियो, तर त्यसपछि दुई महिनासम्म संक्रमण देखिएन । मार्चको अन्त्यतिर दोस्रो घटना बाहिर आयो, अनि त्यसलगत्तै लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि पनि समुदायको स्तरमा संक्रमण खासै फैलिएन । विशेषतः भारतबाट एकदमै धेरै मानिस फर्किए र उनीहरूलाई क्वारेन्टिनमा राखियो । तर तीमध्ये धेरैमा संक्रमण देखियो । आजसम्म जति मानिसमा संक्रमण फैलिएको पुष्टि भएको छ, त्यो सरकारको परीक्षण रणनीतिकै कारण हो ।
नेपालको अवस्था विशिष्ट छ । अन्य देशहरूमा लक्षण देखिने मानिसहरूको परीक्षण गरियो । नेपालमा त्यसो गर्न सम्भव भएन किनकि यहाँ लक्षण भएका मानिस खासै धेरै छैनन् । आजसम्म संक्रमण पुष्टि भएका जति मानिस छन्, प्रायः ती सधैं पूर्ण स्वस्थ देखिन्छन् । त्यसैले सरकारले पनि लक्षण देखिनेहरूलाई भन्दा उच्च जोखिममा रहनेहरूको परीक्षण गर्न थाल्यो । विशेषगरी भारतबाट फर्कनेहरूको परीक्षण बढाइयो, त्यसैले नै उनीहरूमा बढी संक्रमण देखियो । मलाई लाग्छ सरकारको रणनीतिले काम गरेको छ । त्यसैले अझैसम्म समुदायको स्तरमा संक्रमण फैलन पाएको छैन । अब समुदायमा संक्रमण फैलिँदैन भनेको होइन, तर आजसम्म छैन ।
तर छोटो समयमा धेरै मान्छेहरू भित्रनु आफैँमा समस्या भयो । आपसमा दुरी कायम गर्न सकिने गरी उनीहरूलाई क्वारेन्टिनमा राख्न कठिन भयो । क्वारेन्टिनमा सामान्य अवस्था सुनिश्चित गर्न पनि गाह्रो भयो ।
सरकारी नीतिले काम गरेको छ भन्नुभयोतर धेरै विज्ञ र सर्वसाधारणले पनि पछिल्लो संशोधनको विरोध गरेका छन् । क्वारेन्टिनमा राखिएका सबैको परीक्षण नगर्ने हो भने समुदायमा संक्रमण फैलने बाटो खुल्छ भन्ने उनीहरूको मत छ । तपाईंलाई नेपाल उल्टो बाटोमा हिँडेजस्तो लाग्दैन ?
नेपाल उल्टो बाटोमा हिँडेको होइन, आफ्नो रणनीति बदलेको मात्र हो । त्यसका पछाडि उचित कारण पनि छ । धेरै मानिस आइरहँदा तपाईंलाई सबैको परीक्षण गर्न मन लाग्यो, त्यो पनि क्वारेन्टिनमा बस्ने बेला, अनि दुई हप्तापछि पठाउने बेला गरेर दुई पटक भने तपाईंले एकदमै धेरै परीक्षण गर्नुपर्छ । तर हामीलाई थाहा छ नेपालको परीक्षण क्षमता आफैँमा सानो छ र यसले त्यति धेरै परीक्षण थेग्न सक्दैन । क्षमता बढ्दै छ, तर पनि एकै पटक हजारौंको परीक्षण गर्न सम्भव देखिँदैन ।
सँगसँगै हामीलाई थाहा छ, विश्वभरि नै परीक्षणका लागि आवश्यक सामग्रीको उपलब्धता सीमित भएको छ । तपाईँ आफूले चाहेजति पीसीआर टेस्ट किट माग गर्ने अवस्थामा हुनुहुन्न । तपाईं आफूले चाहेजति सबैकुरा पाउन सक्नुहुन्न ।
त्यसैले लक्षण भएका मानिसहरूमा केन्द्रित हुने नयाँ रणनीति उचित छ । यसले व्यावहारिक दृष्टिकोण लिएको छ– हामीसँग अहिले जे–जति स्रोतसाधन छ, त्यसले भ्याउने गरी ज–जसलाई सकिन्छ परीक्षण गर्दै जाऔं भन्ने सोचेजस्तो देखिन्छ ।
तर यहाँ अर्को महत्वपूर्ण कुरा छुटाउनु हुँदैन । त्यो के भने भारतबाट आउने सबैलाई क्वारेन्टिनमा भने राख्नैपर्छ । सबैलाई क्वारेन्टिनमा राखिनुपर्छ र क्वारेन्टिनमा आवश्यक मापदण्डहरूको पालना गरिनुपर्छ ता कि त्यहाँ एकअर्कामा संक्रमण नफैलियोस् । उच्च गुणस्तरको क्वारेन्टिन सुविधा तथा क्वारेन्टिन अवधिमा परीक्षणको संख्या घटाउने रणनीति सँगसँगै जानुपर्छ ।
तर पनि यदि संक्रमितहरू परीक्षणविना क्वारेन्टिनबाट घर पठाइए भने त समुदायमा संक्रमण पुगिहाल्छ नि । होइन र ?
एउटा दृष्टिकोणबाट तपाईं त्यसरी पनि व्याख्या गर्न सक्नुहुन्छ । तर ती मान्छे सुरुमा संक्रमित नै रहेछन् भने पनि दुई हप्ता क्वारेन्टिन बस्दा कुनै लक्षण नदेखाएको अवस्थामा भाइरस मरिसकेको हुन्छ ।  उनीहरूमा कुनै लक्षण देखिएको छैन भने परीक्षणविनै घर पठाउँदा पनि उनीहरूमा अब भाइरस बाँकी नरहेको तथा उनीहरूले अरूलाई संक्रमण सार्न नसक्ने कुरा सुनिश्चित गर्न सक्नुहुन्छ ।
लक्षण देखाउनेहरूको विषय छुट्टै भयो । उनीहरूलाई क्वारेन्टिनबाट बाहिर निकालेर परीक्षण गरिनुपर्छ र एक्लै (आइसोलेसनमा) राखिनुपर्छ । मलाई लाग्छ यो अभ्यास अहिले पनि भइरहेको छ ।
अर्को ध्यान दिनुपर्ने कुरा के हो भने क्वारेन्टिनमा फरकफरक समूहलाई मिसाउनु हुँदैन । मानौं कि एउटा समूह पहिल्यैदेखि क्वारेन्टिनमा बसिरहेको छ, भोलि नयाँ समूह पनि देशभित्र आयो भने तपाईंले दुवै समूहलाई एकै ठाउँमा क्वारेन्टिनमा राख्न मिल्दैन । यसरी उचित तवरले क्वारेन्टिन व्यवस्थापन गर्ने हो भने लक्षण नहुने व्यक्तिमा दुई हप्तापछि भाइरस हुने सम्भावना एकदमै न्यून हुन्छ ।
अर्थात् तपाईंको विचारमा नेपालले अब परीक्षण बढाउने होइन कि क्वारेन्टिनको अवस्थामा सुधार ल्याउनुपर्छ हो ?
हो, अबको कदम त्यही हुनुपर्छ भन्ने मलाई लाग्छ । यदि क्वारेन्टिन स्थल सुधारिएन भने आवश्यक पर्ने परीक्षणको मात्रा विचार गरेर, क्वारेन्टिनको बसाइँलाई गुणस्तरीय बनाउनु नै तार्किक विकल्प हुन सक्छ ।
क्वारेन्टिनको गुणस्तर कसरी कायम गर्न सकिएला त ?
दुई हप्तासम्म बस्न सकिने अवस्थाको क्वारेन्टिन सुविधा आवश्यक पर्छ । विशेषतः दुई ओछ्यानबीचमा पर्याप्त दुरी हुनुपर्छ भने यताउति हिँड्दा पनि आवश्यक भौतिक दुरी कायम हुने कुरा सुनिश्चित गर्नुपर्छ । क्वारेन्टिल स्थलहरूमा धेरै मान्छे हुने हुनाले पक्कै पनि सबैले मास्क लगाउनुपर्छ । खाना तथा पानीको वितरण, उचित सरसफाइको व्यवस्था, हात धुने सामग्री तथा ठाउँको उलब्धता एवं कोही बिरामी भए तत्काल उपचार गर्न सकिने गरी चिकित्सकीय सुपरीवेक्षण हुनु पनि महत्वपूर्ण छ ।
तर तपाईंलाई नेपालको अप्ठ्यारो पनि थाहा छ । हजारौँ मान्छे भित्रिएका छन्तर सरकारसँग सबैलाई तपाईंले भने जसरी क्वारेन्टिनमा राख्ने पैसा नै छैन । देशको आर्थिक अवस्था र स्वस्थ क्वारेन्टिनको आवश्यकताबीचमा सन्तुलन कायम गर्न के गर्नुपर्ला ?
यस्तो सन्तुलन कठिन छ भन्ने मलाई पनि थाहा छ, तर यसको समाधान के होला भनेर भन्न सक्ने अवस्थामा भने छैन । यो जनस्वास्थ्यको विषयमा मात्र भएन । तर पनि म के भन्न सक्छु भने अब हामीले क्वारेन्टिनमा राख्नुपर्ने मानिसको संख्या र क्वारेन्टिनका लागि उपलब्ध ओछ्यानको संख्यालाई कसरी सन्तुलित बनाउने भनेर सोच्नैपर्छ, जुन अहिले पनि सम्भव छ । यदि (क्षमताभन्दा) धेरै मान्छे भए भने स्वाभाविक हो कि तपाईं सबैलाई आवश्यक गुणस्तरसहितको क्वारेन्टिन सुविधा दिन सक्नुहुन्न ।
समग्रमा नेपाल र नेपाली जनताले हालसम्म कोभिड-१९को सामनाका लागि अपनाएका उपायमध्ये तीन वटा राम्रा कुरा र तीन वटा गल्ती पहिल्याउनुपर्‍यो भने के–के भन्नुहुन्छ ?
प्रथमतः सरकारले जहाँ जोखिम महसुस गर्‍यो, त्यहाँ छिटै परीक्षण सुरु गर्‍यो । सुरुमा केही समुदायमा परीक्षण गर्‍यो र पछि भारतबाट फर्कने नागरिकमा केन्द्रित भयो । परीक्षण क्षमता पनि बिस्तारै बढाउँदै लग्यो । सुरुसुरुमा परीक्षण क्षमता कमजोर भए पनि समय बित्दै जाँदा यो बढेकै छ ।
दोस्रो कुरा, लकडाउनले पनि रोगको विस्तारलाई रोक्न सहयोग गरेको छ । हो हामी सबैले दुःख पायौं, कोहीकोहीले आफ्नो आय नै गुमायौं र अझ धेरै दुःख पायौं । तर पनि संक्रमण विस्तारको जुन (सुस्त) गति छ, त्यसमा लकडाउनको पनि योगदान छ ।
तेस्रो कुरा, लकडाउनको अवधिमै सरकारले केही तयारी गरेको छ । केही कोभिड-१९ अस्पतालहरू बनेका छन्, स्वास्थ्यकर्मीलाई पीपीई र अन्य सामग्री उपलब्ध गराइएको छ र अस्पतालका कर्मचारीलाई तालिम दिइएको छ ।
कमजोरीको पाटो हेर्नुपर्दा, मानिसहरूलाई अझै पनि भौतिक दुरी भनेको के हो थाहा छैन । यताउति हिँड्नुभयो भने थाहा पाउनुहुन्छ मान्छेहरू अझै समूहमा एकदमै नजिक भएर बसिरहेका वा हिँडिरहेका छन् । तर आफू बच्न र अरूलाई बचाउन तपाईंले आफ्नो योगदान त गर्नैपर्छ ।
अर्को कुरा, जति गरिएको छ, त्योभन्दा धेरै गर्न सकिन्थ्यो । मलाई थाहा छ, यसकै विषयमा धेरै आलोचना भइरहेको छ । तर नेपाल कुनै धनी देश होइन भन्ने हामीले बुझ्नुपर्छ । नेपालले जे गर्न सक्छ, त्यो निश्चय नै अन्य कुनै धनी देशको क्षमतासँग दाँज्न मिल्दैन । त्यसैले समस्याको सम्बोधन अझ छिटो हुनुपर्थ्यो भन्न त सकिन्छ, तर पनि केही तयारी भएको छ र केही हुँदैछ भन्ने विचार गर्नुपर्छ । मेरो आशा छ सबै कुरामा बिस्तारै सुधार हुनेछ र सबै संक्रमितका लागि पर्याप्त क्षमता हुनेछ ।
भाइरसको महामारीसँगै संसारभरि गलत सूचनाको महामारी आएको छ, भनिन्छ र नेपालमा पनि त्यसको प्रभाव छ । कतिपय मानिसहरू नेपालीको प्रतिरोधी क्षमता बढी भएको तर्क गर्छन् । यसले गर्दा पनि संकटमा केही प्रभाव परेको होला नि ?
सञ्चार परिदृश्यमा आएको परिवर्तनसँगै गलत सूचना सम्प्रेषण सुरु भएको हो । हाम्रो जीवनमा सामाजिक सञ्जालले पहिलेको भन्दा आज धेरै भूमिका खेल्छन् र परम्परागत सञ्चार माध्यम पनि नयाँ सन्दर्भअनुसार आफूलाई बदल्दैछन् । अचेल इन्टरनेटमा जे कुरा पनि राखिदिन सक्छ, कुनै प्रमाणविना । यो सबै देशमा हुन्छ ।
नेपालमा पनि हल्लाहरू छन् कि कोभिड-१९को उपचार छ वा यहाँको भाइरस अन्यत्रको भन्दा फरक छ वा मान्छेको क्षमता बढी छ । डब्ल्यूएचओले विश्वस्तरमा फेसबुकलगायत यस्ता सूचना प्रदान गर्ने माध्यमहरूसँग सम्पर्क विस्तार गरेको छ ता कि गलत सूचना जाँच्न र तिनलाई हटाउन सकियोस् । त्यसबाहेक हामीले सामाजिक सञ्जालकै लागि भनेर प्रामाणिक सन्देशहरू निर्माण गरेका छौं र कैयौं स्वयंसेवकहरूले तिनलाई सम्प्रेषण गर्दैछन् ।
यस सन्दर्भमा आगामी दिनमा नेपाललाई लक्षित गरी यहाँको कार्यालयले अझ सशक्त भूमिका निर्वाह गर्न सक्ला कि ?
हामी यसका लागि हाम्रा साझेदार निकायहरूसँग काम गर्छौं । उनीहरूले सामाजिक सञ्जालको अनुगमन गर्छन् र गलत सूचना सम्प्रेषणलाई कम गर्न आवश्यक काम गर्छन् ।
सरकारतपाईंहरू र सबैले प्रयास गर्दागर्दै नेपालमा संक्रमितको सङ्ख्या निरन्तर बढ्दो छ । यो बढ्ने क्रम कहिलेसम्म जाला नेपालको संक्रमण सर्वोच्चबिन्दुमा कहिलेसम्म पुग्ला ?
अहिल्यै भन्न सकिने कुरा होइन यो । नेपालमा संक्रमण बढ्दो त छ, तर प्रायः सबै संक्रमितहरू विदेशबाट आएकाहरू छन् । अर्थात् सरकारले भोलि नै विदेशबाट मान्छे आउने क्रम रोक्यो भने भोलि नै सङ्ख्या बढ्न रोकिन सक्छ । हामीले आजसम्म सामुदायिक संक्रमणको पर्याप्त प्रमाण भेटेका छैनौं ।

तर कुनै न कुनै बिन्दुमा संक्रमण समुदायमा फैलिन्छ नै किनकि सबैतिर यस्तै भएको छ । आजसम्म संक्रमण क्वारेन्टिन स्थलमा सीमित छ, भोलि समुदायमा फैलन्छ किनकि त्यहाँ पनि प्रतिरोधी क्षमता त छैन । त्यस बेला साँच्चै नै नेपालको संक्रमण दर बढ्नेछ । त्यो कहिले आउला, कति टिक्ला, कति उचाइमा पुग्ला भन्नेचाहिँ अनुमान गर्न एकदमै गाह्रो छ ।
यसभन्दा अगाडि तपाईंले युनिसेफमाविशेष गरी बालबालिकाका लागि खोप कार्यक्रमका लागि, लामो समय काम गर्नुभयो । यो महामारीले बालबालिकामा कस्तो असर पार्ला ?
अचेल हामी प्रायः सधैं कोभिड-१९बारे मात्रै कुरा गर्छौं । हाम्रो दिमाग नै यसैले भरिएको छ । तर मानिसहरूलाई अरू रोग पनि लागिरहेकै छन् र तिनको रोकथाम पनि निरन्तर हुनु आवश्यक छ । हामीले बुझेसम्म खोप कार्यक्रमलगायतका अत्यावश्यक सेवा नेपालमा निरन्तर चलिरहेकै छन् । तर पनि तिनको मात्रा भने घटेको छ ।
नेपालको बालबालिका खोप कार्यक्रम सशक्त छ किनकि ९० प्रतिशतभन्दा बढी बालबालिकालाई यसले समेटेको छ । तर अहिलेको सन्दर्भमा मान्छेहरूको हिँडडुल बन्द छ, स्वास्थ्यकर्मी पनि उपलब्ध छैनन् र आमाबाबुलाई संक्रमणको डर छ । त्यसैले खोप पाउने बालबालिकाको सङ्ख्या निश्चय नै घटेको छ । यदि यो महामारी लामो समयसम्म, अझ गहिरो रूपमा भयो भने यसले दादुरालगायतका रोगहरू फैलने जोखिम बढाउँछ ।
तर यदि महामारी लम्बिएन भने खोप कार्यक्रम तुरुन्त पुनर्स्थापित हुन सक्छ । किनकि यो आफैंमा बलियो छ । विक्रमसंवत् २०७२को भूकम्पपछि पनि खोप कार्यक्रम अवरुद्ध भएको थियो, तर छिट्टै आफ्नो स्थानमा फर्कियो ।
कोभिड-१९कै जोखिमचाहिँ बालबालिकामा कत्तिको छ प्रायः मानिसहरू बालबालिका र युवामा कम जोखिम रहेको बताउँछन् । तर नेपालमा चाहिँ युवामै बढी संक्रमण छ ।
नेपालको सन्दर्भमा यो स्वाभाविक छ । प्राय:जसो संक्रमितहरू भारतबाट फर्किएका छन् र प्रायः भारत कामगर्न जाने भनेका १५देखि ४५ वर्षका युवा हुन् । यो कुनै नौलो कुरै भएन । तर यसलाई अरू देशसँग तुलना गर्नुभयो भनेचाहिँ बुझ्न गाह्रै हुन्छ । यहाँ महिलामा पनि संक्रमण कम छ किनकि कमै मात्र महिला भारतमा काम गर्न गएका थिए ।
युवामा बढी संक्रमण भएकै कारण नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको सङ्ख्या पनि तुलनात्मक कम छ ।
सरकारले भर्खरै लकडाउन खुकुल्याएको छ । धेरैको डर के छ भने अबचाहिँ साँच्चिकै नेपालमा संक्रमण तीव्र हुन्छ र समुदायमा फैलन्छ । यो डर कत्तिको जायज हो यसको समाधान के होला ?
कोभिड-१९लाई नियन्त्रणमा राख्न लकडाउन लागु गरिएको थियो । मलाई लाग्छ आफ्नो उद्देश्यमा लकडाउन सफल पनि भयो । तर संसारभरि नै निश्चित अवधिका लागि मात्र लकडाउन लगाइन्छ किनकि यसले अर्थतन्त्रमा एकदमै ठूलो प्रभाव पार्छ । संक्रमण जोखिम हुँदाहुँदै पनि नेपालले पनि लकडाउन खुकुल्याउन आवश्यक थियो, खुकुल्यायो । अब यसलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा केही उपायहरू अवलम्बन गर्नु आवश्यक छ ।
पहिलो त, लकडाउन एकै पटक पूर्णरूपमा खुला गर्नु भएन । चरणबद्ध रूपमा गर्नुपर्छ । नेपाल सरकारले पनि त्यही गरिरहेको छ । आज पनि केही रोकतोक कायमै छ । मान्छेको हिँडडुल बढेको छ, काम तथा व्यवसाय सुरु भएका छन् । तर सबै खुलेको चाहिँ छैन । अझै हामी केही सानातिना काम गर्न सक्छौं । जस्तै, एउटा पसलमा एक पटकमा कति जना जान पाइन्छ भन्ने तोकौं ।

यो सरकार तथा नियामक निकायको कुरा भयो, व्यक्तिगत तहमा हामीले धेरै कुरा गर्न सक्छौं । दुरी कायम गरौं, मास्क लगाऔं, नियमित हात धोऔं । अनि  अरूलाई पर्नेगरी नखोकौं, बिरामी पर्दा जँचाउन जाऔं । तर मैले अघि पनि भनेँ कि नेपालमा यसलाई राम्रोसँग बुझिएको छैन । दुरी कायम गरिएको छैन भने कोहीकोही पूर्णतः मास्कमा भर परेका छन् । मास्क लगाएपछि ढुक्क भन्ने परेको छ, तर मास्क मात्र पर्याप्त छैन ।
भन्नाले संक्रमणले भोलि कुन बाटो लेला भन्ने निर्धारण गर्ने सरकारले होइन कि जनता आफैँले हो ?
दुवै हो । मान्छेको व्यवहारले भाइरसको विस्तार कस्तो हुन्छ भन्ने कुरामा निश्चय नै भूमिका खेल्छ । सरकारले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । परीक्षण गर्नुपर्छ, बिरामीको उपचार गर्नुपर्छ ।
अन्त्यमा डब्ल्यूएचओ र अमेरिकी सरकारको सम्बन्ध बिग्रिँदा यसले नेपाललगायतका देशमा तपाईंको संगठनले गर्ने काममा असर पर्छ भन्ने अनुमान छ । के यसको असर नेपालसम्म आइपुग्ला ?
यसको असर वास्तवमा के हुन्छ र कस्तो हुन्छ भन्ने विषयमा आजै कुरा गर्नु अलिक हतार हुन्छ । हाम्रो मुख्यालयले यस विषयमा अध्ययन गरिरहेको छ । यसैअन्तर्गत् नेपालमा पर्ने असर पनि अध्ययन भइरहेको छ ।
साभार अन लाइन खवर

nema
Show More

Related Articles

Back to top button