नेपाली कांग्रेसविचार

कांग्रेस सच्चिए देश सुध्रिने सम्भावना

कुलचन्द्र वाग्ले

‘देश बिग्रदै छ ।’ यो कुनै आग्रही वा पूर्वाग्रही भनाइ होइन । लाभ प्राप्त राजनीतिक कार्यकर्ताबाहेक गाउँघरका सामान्य व्यक्तिदेखि देश बुझ्ने सबैले व्यक्त गर्नथालेको चिन्ता हो । देश भनेको मूलतः जनता हुन् । देश बिग्रनु जनताको अवस्था बिग्रनु हो । जनजीवन अहिले र आगामी दिनको समेत कुनै उज्यालोप्रति विश्वस्त हुन नसक्नु नै देश बिग्रनु हो, स्थिति बिथोलिनु हो । किन देश बिग्रियो, स्थिति बिथोलियो ?जनता नभएको देश हँुदैन । देश नहुने जनता हुन्छन् । हिटलरी नाजी व्यवस्थाले मारेर बचेका यहुदी ‘इजरायली’ले  इजरायल देश बनाए । जनतापछि बल्ल माटो हो, भूखण्ड हो । जनता बिग्रिए असुरक्षित हुन्छन् र असुरक्षित नागरिकमा भूखण्डप्रतिको देशभक्ति बेवास्तामा पर्न थाल्छ । राष्ट्रवादको चर्को नाराले पनि बिथोलिएको देश समाल्न सकिँदैन ।

अहिलेको चिन्ता देश बिग्रदै छ । केही भौतिक संरचना र कथित गौरवका आयोजना बखानेर बिग्रिएको छोपिँदैन । यस्ता संरचना विकासको ‘पूर्णाद् पूर्णमिदम्’ पनि होइनन् । समयक्रममा क्रमशः हुने काम हुन् । जहानियाँ भनिने राणा शासकले पनि अहिलेको देश बचाए । चन्द्र ज्योति (फर्पिड्.मा चन्द्र शम्शेरले बनाएको विद्युत् गृह ) निकाले । जुद्ध सडक बनेकै हो । त्रिचन्द्र कलेज वा भानु (दरबार) स्कूल बनेकै हुन् । राणाको नाम जोडिएर कैयन् स्कुल, पुस्तकालय बनाइएका थिए । तनहुँ बन्दीपुरको पद्म पुस्तकालयजस्ता ।
नब्बे सालको विध्वंशक भुइँचालोको बेला उद्धार, सहायता र पुनर्निर्माणमा राणा शासकले देखाएको कौशल अहिले पनि स्मरणीय छ । प्रजातन्त्र मासेर राजा महेन्द्रले ल्याएको निर्विकल्प भनिएको पञ्चायती व्यवस्थामा पनि केही भौतिक पूर्वाधारको काम भए । नेपाली जनता के यिनै पूर्वाधारलाई देखेर सन्तुष्ट भए वा यसलाई नै विकास ठाने ? त्यसो ठान्थे भने सम्भवतः अहिलेसम्म राणा नै शासक रहन्थे वा पञ्चायत फालिने थिएन ।
विकास नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । नागरिक आफ्नो जीवनको प्रभावसँग विकास जाँच्छ । विकास राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक न्यायसँग अविच्छिन्न छ । प्रत्येकको भौतिक र बौद्धिक उन्नयनसँग विकास जोडिन्छ । स्वतन्त्रता र सम्मान नागरिकको हक हो ।
केही भौतिक बनावटले नेपालीको चौतर्फी विकासको तीव्र मागलाई परिपूर्ति गर्न सम्भव छैन । विकासले यतिबेला कुनै छलाङ् मारेको पनि छैन, नयाँ चिन्तन पाएको पनि छैन । बिग्रिएको यस्तो बेला ‘आकाशको फल आँखा तरी मर’ भन्ने खालको विकासे गफको गुड्डी हाँकले कि मर्ममा चोट पार्छ कि हाँसो फुट्छ तर विकासको मूल फुट्दैन । नेपालको अहिलेको परिदृश्य यस्तै यस्तै छ ।
यस दुरवस्थाका लागि दोषी नेपाली कांग्रेस हो । यसको नेतृत्व हो । कांग्रेसले बाटो बिराउँथेन भने देश यति धेरै बिग्रने थिएन । चुनावको मुखमा आईजीपी (प्रहरी महानिरीक्षक) नियुक्ति विवाद । प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ताजस्ता ‘आवेगपूर्ण’ निर्णयले कांग्रेस समर्थक स्वतन्त्र जनमत निराश भयो र  ‘बिगारुहरु’लाई समर्थन गर्न पुगे, झुक्किए । बिगारुहरुको गठजोड मात्रै कांग्रेसको पराजयको कारण होइन ।
अहिलेको कम्युनिस्ट सरकार बिगारुहरुको झुन्ड साबित भएको छ । कथित युद्धको नाममा सत्ता लालसाले मच्चाइएको निहत्थाहरुको हत्या । राजनीतिक स्वतन्त्रतापेक्षीको हत्या वा नयाँसडकका रेलिङ र टेलिफोन बुथले बेहोरेको विध्वंशक व्यथा, बहत्तर सालको भुइँचालो भन्दापनि भयावह थियो । वर्षौं वा पुस्तौँपुस्तासम्म क्षतिपूर्ति हुन असम्भव मानवीय र भौतिक ध्वंश हो यो ।
अहिलेको सरकारलाई बिगारुको झुन्ड भन्दा साम्यवादको गीतमा लोभिएर कम्युनिस्ट समर्थक बनेका इमानदार कार्यकर्तालाई भनिएको होइन । उनीहरुको इमानप्रति कुनै गुनासो गर्नु छैन, सिबाय दुःख व्यक्तमात्र । विवेक बन्धक नभएका इमानदार कम्युनिस्ट कार्यकर्ताले सोचून् के तिनीहरुले देखेको साम्यवादको सपना यस्तै यात्रा थियो त ?
देशमा अहिलेको बेथिति । एकपछि अर्को नागरिक स्वतन्त्रता र गोपनीयता हरण गर्ने कानुन, विधेयक बनाउने सरकारी जमर्को । त्यसमाथि संस्थागत भ्रष्टाचार । कठिनाइमा अभिभावकीय दायित्व निर्वाह नगर्ने सरकार । गरिब, दुःखी, निमुखा र पहुँच बाहिरका असहाय नागरिकलाई बाँचे बाँच, मरे मर भन्ने सन्देश दिने सरकार के इमानी कम्युनिस्ट कार्यकर्ताको चाहनाअनुकूल हो ?
नेपालको कूटनीति पहिले भूक नीतिमा गज्र्यो र अन्ततः झुकनीतिमा रुपान्तरण गरियो । असंलग्नता शब्दमा छ, व्यवहारमा ‘पेन्डुलम’जस्तो कहिले यता कहिले उता । न जातीय, क्षेत्रीय न्यायका लागि काम भयो न महिला अधिकार सुरक्षित गरियो, न हिंसा रोक्ने तदारुकता देखियो । न्यायमा समान पहुँच पनि छैन । जनता दुःखेको समयमा समेत सत्ताधारी कम्युनिस्टहरुको भागबन्डे झगडा, तँछाडमछाड, संवेदनहीन अमानवीय निर्लज्जता । के यस्तै सरकार रोजेका हुन् नेपालीले ? यस्तैका लागि इमानी  कम्युनिस्ट कार्यकर्ताले भोट मागेका हुन् ?
देश बिग्रिएको छ, स्थिति बिथोलिएको छ । बिग्रनुको परिणाम हुन्छ के ? सरकारीले त बिग्रिएको स्वीकार गर्नेछैनन् । सबैतिर सत्ताको चस्माले हरियै देख्छन् । प्रशंसित पहिरनमा कपडा होइन,सम्राट नाङ्गै छन् भन्ने सत्यबोध दिने बाल विवेक चाहिएको छ । दमितको विवेक निमोठिन्छ तर बाल विवेकले दमित हुने समय भोगेकै थिएन र सत्य बोल्यो । कम्युनिस्ट कार्यकर्ताले नै अहिलेको कम्युनिस्ट सरकार नाङ्गै भएको बोल्दा बढी प्रभावदायी हुनसक्ला ।
यसपछि रह्यो नेपाली कांग्रेस । कांग्रेस नेतृत्वले बाटो बिराउँदा ठूला नारा दिने कम्युनिस्टले राम्रो गर्छन् कि भन्ने शंकाको सुविधाको समेत मृत्यु भइसकेको छ । अन्ततः नेपाली कांग्रेस सच्चिए देश सुध्रिन्छ कि भन्ने भाव अहिले बलियो हुँदैछ । दलीय प्रयोगशालामा केही दुकान खुले पनि ती चल्ने लक्षण छैन । प्रश्न कांग्रेस सच्चिने कसरी ? कांग्रेसको नेतृत्व सरकारजस्तै नाङ्गिएको भन्न नमिल्ने अहिले कुनै कारण छैन । निःसृत विचार वा लेखहरुको सारांश टिप्पणी र बोल यही हो ।
कोरोना महामारीले रोकिएको वा नेतृत्वको इच्छाशक्तिहीन कारण अनिश्चित भएपनि कांग्रेस चौधौं महाधिवेशनको सम्मुख चाहिँ छ । भातृ सस्थामात्रै होइनन् कांग्रेस केन्द्रीय समितिदेखि नेतृत्व सबै म्याद थप गरिएको तदर्थ अवस्थामा छन् । तोकिएको आगामी फागुनमा हुन नसके पनि पार्टी बचाउन विधि निर्धारित अवधिभित्र कांग्रेसको महाधिवेशन हुनैपर्नेछ ।
चारपटक प्रधानमन्त्री र नेपाली कांग्रेसबाट चोइटिएर बनाइएको कांग्रेस प्रजातान्त्रिकको र अहिले गरी दुईपटक सभापति पदमा आसीन शेरबहादुर देउवाले परीक्षण हुन बाँकी इच्छुक पुस्तालाई सभापति वा नेतृत्वको मैदान खाली गरिदिए सम्मानित निर्णय मानिनेछ । चोइटिएको यस कारण भनियो कांग्रेस प्रजातान्त्रिक अन्ततः नेपाली कांग्रेसमै मिसियो र यसैको तेह्रौं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भए  ।
चौधौं महाधिवेशनपछि सभापति देउवा सम्मानित वरिष्ठ नेताको अभिभावकीय दायित्वमा बस्दा हुन्छ । आगामी नेतृत्वले पनि नेता देउवालाई सम्मान र सुनुवाइ गर्न कंजुस्याँइ गर्नु हुँदैन । उहाँको अनुभव देश र जनताको लागि उपयोगी हुनसक्छ, उपयोग गर्नुपर्छ । अहिले हेर्दा नेपाली कांग्रेस सच्चिने आशा यही उपायमा छ । सभापति देउवाले आफ्नो नेतृत्वको भरपूर परीक्षण भएकोले बाँकी आकर्षण समाजले ग्रहण गर्न नमानेको बुझ्दा भलो हुन्छ ।
आगामी कांग्रेस नेतृत्व पनि कति सच्चिन्छ  ? कसैले ‘ग्यारेन्टी’ दिन सक्दैन । परीक्षणको कसीमा सक्कली सुन निस्कन्छ कि भन्ने अपेक्षा वा आउने नेतृत्वलाई शंकाको सुविधा चाहिँ छ । पार्टी संगठन प्रयोगशाला पनि त हो । नेपाली कांग्रेसले सच्चिने नेतृत्व पायो भने आगामी दिनमा देश यतिविघ्न बिग्रने शृंखला रोकिने थियो कि ? यतिमात्रै होइन, कांग्रेस नेतृत्वले सच्चिने प्रतिज्ञा गर्नैपर्छ र देशलाई बिग्रनुको जोखिमबाट बचाउनै पर्छ । अन्यथा स्वरुप जस्तो वा जत्रो होस्, अथवा राजनीतिक होस् वा अरू प्रकारको राष्ट्रिय दुर्घटना अवश्यंभावी देखिन्छ ।

nema
Show More

Related Articles

Back to top button