breakingसमाचारविचारवी पी विचार

नेपालमा डेंगु संक्रमणको प्रकोप

२०७९ भदौ २० गते

२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् ।

डेंगुको संक्रमण ७२ जिल्लामा फैलिसकेको छ । एक जनाको मृत्यु भएको छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे नियन्त्रण गर्न भनेर प्रत्येक वर्ष लाखौं रुपैयाँ विनियोजन गर्दै आएको छ । तर, हरेक वर्ष डेंगु नियन्त्रण बाहिर जाने गरेको छ । गत असारदेखि फैलिन थालेको डेंगुले अस्पतालमा चाप बढ्दै गएको छ । ललितपुर, काठमाडौं र रुपदेन्हीमा डेंगु संक्रमणले उच्च गति लिइरहेको छ ।

डेंगुले महामारीको रूप लिइरहँदा नियन्त्रणको प्रमुख जिम्मेवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने हरेस खाएजसरी बसेको छ । डेंगुका कारण भएको मृत्यु तथा संक्रमितको तथ्यांक संकलनमा मात्रै केन्द्रित भएको देखिन्छ ।

वास्तवमा डेंगु के हो ? यसले कसरी महामारीको रूप लियो ? किन रोग अनियन्त्रित बन्ने अवस्था उत्पन्न भयो ? डेंगु संक्रमितमा के–कस्ता स्वास्थ्य समस्या आउँछन् ? यसबाट कसरी बच्ने ? यस्तै विषयमा आधारित भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

डेंगु के हो ?

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । डेंगु नेपालमा सन् २००४ मा देखिएको थियो । त्यसपछि हरेक वर्षजसो देखिंदै आएको छ । सन् २०१९ सबैभन्दा धेरै जनसंख्यालाई संक्रमित गराएको र अधिकांश जिल्लालाई प्रभावित पारेको थियो । लामखुट्टले टोकेर हुने भाइरल संक्रमण प्रत्येक वर्ष रोगको रूपमा रहने देखिन्छ ।

डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।

यसका लक्षण केके हुन् ?

१० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखापर्छन् । बाँकी ९ हजार मानिसमा डेंगुको खासै लक्षण बाहिर देखिँदैन । डेंगुको भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा अन्य लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एकपटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।

मानिसमा संक्रमण भएको चारदेखि १० दिनमा यसको लक्षण देखिन सुरू हुन्छ । विशेषगरी अत्यधिक ज्वरो आउनु, असाध्यै शरीरमा पीडा हुनु, आँखाको गेडी दुख्नु, ढाडको तत्लो भाग कट्कट खानु, खुट्टाको जोर्नी एकदमै दुख्नु, खान मन नलाग्नु, वान्ता हुनु जस्ता लक्षण देखिन्छन् । पछिल्लो समयमा केही मानिसमा दिसा पातलो जाने, धेरै पसिना आउने नयाँ लक्षण देखिएका छन् ।

समग्रमा भन्नुपर्दा डेंगु भनेकै अत्याधिक दुखाई हो । धेरै मानिसले अस्पताल आउँदा अत्याधिक पीडा भएको गुनासो गर्दै आएका छन् । उनीहरूले जीवनमै पहिलो पटक शरीर यसरी दुखेको भन्ने अनुभव सुनाउने गर्छन् । त्यसकारण, डेंगुलाई एकदमै शरीरिक पीडा दिने रोगको रूपमा लिन सकिन्छ ।

डेंगु भएका सबै मानिसमा लक्षण भने देखिँदैन । लक्षण नदेखिएका संक्रमित व्यक्तिले पनि डेंगु सारिरहेका हुन्छन् । लक्षण नभएका व्यक्तिलाई डेंगुले टोकेको खण्डमा ८ देखि १२ दिनसम्म अर्को व्यक्तिलाई भाइरस सार्नसक्ने क्षमता विकास गर्छ । अहिले हामीले दैनिक रूपमा डेंगुका बिरामी देखेका छौं, त्यसभन्दा कयौं गुणा संक्रमित भइसकेको अनुमान गर्न सकिन्छ । नेपालमा सामान्यतया अत्यधिक पीडा नभइ अस्पतालमा नपुग्ने गरेकाले परीक्षणको दायरामा टाढा छन् ।

कस्तो अवस्थामा स्वास्थ्य जटिल हुनसक्छ ?

अस्पताल आइपुगेका केही व्यक्ति पुनः डेंगुको संक्रमित भएका छन् । डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ मध्ये कुनै एक प्रजातिको इन्फेक्सन भएमा जीवनभर त्यहि प्रजातिको संक्रमण हुँदैन । तर, अन्य प्रजातिले भने संक्रमण गर्न सक्छ । किनभने एक प्रजातिको इन्फेक्सन भएको अवस्थामा जीवनभर शरीरमा त्यसप्रजाति विरुद्ध लड्न सक्ने क्षमता विकास भइसकेको छ, हुन्छ । केही व्यक्तिमा दोस्रो प्रजातिको डेंगु भाइरसबाट संक्रमण भएमा बढी जटिल हुन्छ ।

सन् २०१९ को धेरै मानिसलाई डेंगु २ प्रजातिले संक्रमण गरेको अध्ययनमा देखिएको छ । तर, यदि डेंगु २ बाहेक अन्य प्रजातिले संक्रमण गरेको छ भने लक्षण सहित जटिल भएर जान्छ । नेपालमा हाल फैलिरहेको डेंगुको कुन प्रजाति हो भन्ने सार्वजनिक भएको छैन । डेंगुसँगसँगै गर्मी महिना भएकाले टाइफाइड, स्क्रबटाइफस, आदिको इन्फेक्सन भएको खण्डमा डेंगु थप जटिल बन्न जान्छ ।

पछिल्लो समयमा डेंगुले कोरोनालाई पनि छायामा पारिरहेको छ । अहिले डेंगुमा भएका मानिसमा रगतमा देखिने उत्तरचढाव सामान्य देखिएको छ । परीक्षणको क्रममा डेंगु नेगेटिभ भएतापनि लक्षणहरू मिल्दोजुल्दो भएका छन् ।

nema
Show More

Related Articles

Back to top button