breakingसमाचारविचारवी पी विचार

अपराधमा भारतीय गाडीको प्रयोग

 २०७९ पुष १९

अपराधमा प्रयोग भएको भारतीय नम्बरको कार।

नेपालगञ्ज- सीमावर्ती सहर नेपालगञ्जमा हुने अपराधमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग हुने गरेको छ। अपराधमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी कानुनी प्रक्रियासमेत पूरा नगरी भित्रिएको पाइएको छ।

आइतबार दिउँसो सवा एक बजे नेपालगञ्जको बीच बजारमा पर्ने गणेशपुरमा तीन जना युवालाई लखेटी-लखेटी खुकुरी प्रहार गरियो। खुकुरी हान्ने चारजना युपी ३२ इयु ८६१६ नम्बरको भारतीय कारमा थिए।

खुकुरी हानेपछि आक्रमणकारी सोही गाडीमा नाकातिर हुँइकिए। सबै नाकामा तैनाथ सुरक्षाकर्मीले डुडुवाको वनकट्टीबाट रामपुरुवा जाने कच्ची सडकको दक्षिणतर्फ गहुँ लगाएको खेतमा गाडी फेला पारे। त्यही नजिकै दासपुरुवाबाट आक्रमणकारीलाई समातियाे।

खुकुरी हान्ने चारैजना पूर्वी छोटी नाकाबाट भारत छिर्ने दाउमा थिए। भारतीय नम्बर प्लेटको गाडी भएकाले नाका पार गर्ने बित्तिकै उनीहरूलाई सहज हुन्थ्यो। नाका पार गर्न नपाउँदै उनीहरू पक्राउ परे।

नेपालगञ्ज र आसपासमा अपराध गर्नेले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्नुको मुख्य उद्देश्य नै अपराधपछि भारत भाग्न सजिलो हुने भएकाले हो। अपराधमा प्रयोग भएका भारतीय नम्बर प्लेटका गाडीको भन्सारसमेत हुँदैन। भन्सार भइहाले पनि केही दिनको लागि मात्रै हुने र त्योभन्दा धेरै दिन यतै बस्ने गरेको पाइएको छ।

युपी ३२ इयु ८६१६ नम्बरको भारतीय कारको पुस ५ देखि ८ गतेसम्म अनुमति लिइएको थियो। त्यसयता यो गाडी अवैध रुपमा नेपालगञ्जमा घुमिरहेको थियो। भारतीय नम्बर प्लेटका गाडी नेपाल आउँदा नजिकको सहरमा घुमेर फर्किने भए ‘चिट’ र अलिटाढा जानुपर्ने भए दिनको पाँच सय रुपैयाँ भन्सार तिरेर रसिद काट्नु पर्छ।

पुस ८ गतेसम्मका लागि चार दिनको रसिद काटेको यो गाडी १७ गतेसम्म नेपालगञ्जमा घुमिरहेको थियो। अपराध गर्ने ‘समय नमिल्दा’ यो गाडी अवैध रूपमा नेपालगञ्जमा घुमिरहेको देखिन्छ।

प्रहरी प्रशासनले कडा रूपमा नियमन गरेको भए यसरी अवैध रूपमा भारतीय नम्बर प्लेटको गाडी नेपालगञ्जमा बस्न पाउँदैनथ्यो।

हुन त पछिल्लो दिनमा नेपालगञ्ज सहरसँगै जिल्लाभरि नै भारतीय नम्बर प्लेटका सवारीसाधनको चाप देखिन्छ। नेपालगञ्जमा एक दिनका लागि भनेर भारतीय नम्बर प्लेटका गाडी भित्रिने र धेरै दिन बसेर जाने गरेको पाइन्छ।

भारतीय नम्बरको मोटरसाइकल अझ धेरै नेपालगञ्जमा देखिन्छ। भारतीय नम्बर प्लेटका सवारीसाधनलाई कडाइका साथ नियमन गर्न नसक्दा दुर्घटनासँगै अपराध बढेको छ।

भारतीयले यहाँ आएर जथाभावी सवारी चलाएको पाइन्छ। जस्तो, नेपालगञ्जमा हर्न निषेध गरिएको छ। त्यो थाहा नपाएका भारतीयले हर्न बजाउने मात्रै होइन, जथाभावी सडक काटिरहेका हुन्छन्।

लागुऔषधी ओसारपसारमा प्रायः भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग भएका हुन्छन्। अपराधमा प्रयोग हुँदा कानुनी प्रक्रिया पूरा गरेर आएको र अवैध रूपमा भित्रिएको सवारी साधनको हकमा फरक कानुनी कारबाही हुन्छ। अवैध रूपमा भित्रिएको सवारी साधनलाई प्रहरीले जफत गर्ने गर्दछ।

भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नजिकको बजारमा घुम्दा दिइने चिट र बस्ने गरी आएकालाई दिइने रसिदका विषयमा भन्सारले कडाइ गर्न जरुरी छ। चिट लगेको गाडी उही दिन फर्कियो कि फर्किएन, रसिद लगेको गाडीका विषयमा पनि दैनिक नै चासो लिन जरुरी छ।

copied from desh sanchar

nema
Show More

Related Articles

Check Also
Close
Back to top button