वैदिक सनातन धर्ममा राजनीति

–डा.वासुदेव खनाल
१. धर्म र राजनीति
वैदिक सनातन हिन्दू धर्म विश्व प्रसिद्ध धर्म हो तथापि यसको निश्चित स्वरूपलाई जान्ने केही मात्र हाम्रो समाजमा उपलब्ध छन् । हुन त सनातनधर्म भन्ने वित्तिकै वैदिक र हिन्दू शब्दको आवश्यकता पर्दैन तथापि धर्मका सम्बन्धमा कुनै पनि ज्ञान नभएकाहरूलाई पनि ध्यानमा राखेर वैदिक र हिन्दू शब्दका सम्बन्धमा पनि यहाँ विचार–विमर्श गर्ने प्रयत्न गरिएको छ । वैदिक सनातन हिन्दू धर्ममा वैदिक, सनातन, हिन्दू र धर्म गरी चारवटा शब्द रहेका छन् । जसलाई जान्न र बुझ्नका लागि एक–एक शब्द अलग्याएर विचार विमर्श गर्नु उचित देखिन्छ । जहाँसम्म राजनीति शब्दको कुरा छ त्यो धर्म अन्तर्गत पर्ने भएको हुनाले राजनीति शब्दको अर्थ धर्म शब्दको व्याख्या र विश्लेषण गर्ने सन्दर्भमा स्पष्ट हुनेछ ।
१.१. वैदिक शब्दको अर्थ
वैदिक भन्ने वित्तिकै वेदसँग सम्बन्धित भन्ने बुझिन्छ । सनातन परम्परामा वेदलाई अनादि, अनन्त र अपौरुषेय मानिएको छ । त्यही अनादि, अनन्त र अपौरुषेय ज्ञानलाई वैदिक शब्दले बुझाउँछ ।
१.२. सनातन शब्दको अर्थ
सनातन शब्दको अर्थ नित्य, सधै रहिरहने, अनन्त, अजरामर, अविनाशी, चिरस्थायी, स्थिर, निश्चित, नियमबद्ध, प्रारम्भदेखि चलिआएको, प्राचीन आदि हो । यसबाट सनातनको अर्थ नित्य अर्थात् यो मानवको सृष्टिकालदेखि चलिआएको भन्ने हुन्छ ।
१.३.हिन्दू शब्दको अर्थ
हिन्दू शब्द सिन्धुबाट बनेको हो भन्ने इतिहासविदहरूको ठहर छ । पछिल्ला दिनमा विधर्मीहरूले सनातन धर्मावलम्बीहरू माथि आक्रमण गरेपछि धर्मप्राण हिन्दू दक्षिण विन्ध्याचलतर्फ अगाडि बढे भन्ने कुराको उल्लेख कालिका पुराणमा छ–
बलिना कलिनाच्छन्ने धर्मे कवलिते कलौ ।
यवनैरवनी क्रान्ता हिन्दवो विन्ध्यमाविशन् ।। कालिका पुराण, संस्कृति के चार अध्याय, पृ.१२ । यसैभावको आवृत्ति शाङर््गधर पद्धतिमा पनि पाइन्छ–
यवनैरवनी क्रान्ता हिन्दवो विन्ध्यमाविशन् ।
बलिना वेदमार्गोऽयं कलिना कवलीकृतः ।।
कतिपय कोषमा हिन्दू शब्दलाई यसरी प्रयोग गरिएको पनि देखिन्छ–
हिन्दु दुष्टो न भवति नानार्यो न विदूषक ।
सद्धर्मपालको विद्वान् श्रौतधर्मपरायण ।।
अर्थात् हिन्दु न त दुष्ट हुन्छ न विदूषक, न अनार्य । हिन्दू त सद्धर्मपालक, वैदिक धर्मलाई मान्ने विद्वान् हुन्छ । अद्भुत कोषमा हिन्दू शब्द वीरतालाई सङ्केत गर्ने अर्थमा प्रयोग भएको छ–
हिन्दुर्हिन्दूश्च प्रसिद्धो दुष्टानां च विधर्षणे ।
अर्थात् हिन्दु र हिन्दू यी दुबै शब्द दुष्टहरूलाई विधर्षित गर्ने अर्थमा प्रसिद्ध छन् । यस्तै प्राचीन वृद्धस्मृति नामक ग्रन्थमा जो सदाचारी, वैदिक मार्गमा चल्ने, प्रतिमापूजक र हिंसाप्रति दुःख मान्ने छन् तीे हिन्दू हुन् भनिएको छ–
हिंसया दूयते यश्च सदाचारणतत्पर ।
वेदगो प्रतिमासेवी स हिन्दुमुखशब्दभाक् ।।
शब्दकल्पद्रुम कोषमा ‘हीनं दूषयति इति हिन्दू’ अर्थात् जसले हीनतालाई स्वीकार गर्दैन त्यही नै हिन्दू हो भनिएको छ । यस्तै पारिजातहरण नामक एक प्राचीन नाटकमा जसले आफ्नो तपस्याको माध्यमबाट दैहिक पाप तथा चित्तलाई दूषित गर्ने खालका दोषहरूको नाश गर्दछ त्यही नै हिन्दू हो भनिएको छ–
हिनस्ति तपसा पापान् दैहिकान् दुष्टमानसान् ।
हेतिभि शत्रुवर्गश्च स हिन्दु अभिधीयते ।।
वास्तवमा वैदिक सनातन हिन्दूधर्ममा शास्त्रका साथसाथै शस्त्रमा पनि जोड दिएको देखिन्छ त्यसैले भनिएको छ– मुखमा सम्पूर्ण शास्त्र र पीठ्युमा बाणले युक्त धनु भएका ब्रह्मशक्ति र क्षात्रशक्तिलाई शापबाट र शरबाट पनि चिनिन्छ–
मुखे तु सकलं शास्त्रं पृष्ठे च सशरं धनुः ।
इदं ब्राह्मम् इदं क्षात्रं शापादपि शरादपि ।।
यस्तै बृहस्पति–आगममा एक श्लोक आएको छ । जसमा हिमालयदेखि इन्दुसरोवर(कन्याकुमारी)सम्मको देश देवताले बनाएको देश हो र त्यही देश नै हिन्दूहरूको स्थान हो भनिएको छ–
हिमालयं समारभ्य यावद् इन्दुसरोवरम् ।
तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।
यस्तै माधव दिग्विजयमा–
ॐकारमूल मन्त्राड्यः पुनर्जन्मदृढाशयः ।
गोभक्तो भारतगुरुः हिन्दुहिंसनदूषकः ।।
अर्थात् ॐ कार जसको मूल मन्त्र हो, पुनर्जन्ममा जसको दृढ आस्था छ, जो गोभक्त छन् भारतवर्षमा जसको प्रवर्तन भएको हो तथा हिंसालाई जसले निन्दा गर्दछ त्यही नै हिन्दू हो भनिएको छ ।
१.४. धर्म शब्दको अर्थ
धृञ् धातुबाट बनेको धर्म शब्दको अर्थ धारण गर्नु वा पालन गर्नु भन्ने हुन्छ । संसारमा रहेका प्राणीहरूको यथार्थ स्वभाव नै धर्म हो । निरुक्तमा धर्म शब्दको अर्थ ‘नियम’ गरिएको छ । जुन नियमबाट यो संसार चल्दछ त्यही नै धर्म हो ।
१.५. वैदिक सनातन हिन्दू धर्मको अर्थ
यसरी वैदिक, सनातन, हिन्दू र धर्म शब्दलाई अलग–अलग विश्लषण गर्दा जुन धर्म मनुष्यका साथ सदा रहन्छ र मानवको उत्पत्तिदेखि रहेको थियो त्यही धर्म नै वैदिक सनातन हिन्दू धर्म हो । अर्को शब्दमा भन्दा जुन धर्म देश, काल, जाति, अवस्था आदि मर्यादाभन्दा माथि उठेर मनुष्यमात्रका साथ सदा रहन्छ र जसले हिंसाको विरोध गर्दछ त्यही नै वैदिक सनातन हिन्दू धर्म हो । यसरी सबै देश, सबै काल, सबै जाति र सबै अवस्थामा मनुष्यका साथ रहने धर्म नै वैदिक सनातन हिन्दू धर्म हो ।
२.वर्तमान सन्दर्भमा धर्मको अर्थ
वर्तमानकालको कुरा गर्ने हो भने हाम्रो समाजमा धर्म शब्दलाई अत्यन्त सङ्कुचित गरिएको छ । जनसाधारणको कुरा छोडौं, सधै सत्ताका लागि मरिहत्ते गर्ने अधिकांश नेताहरूको बुझाइमा धर्म भनेको पूजा–पाठ, मन्दिर–दर्शन, जप–होम आदि मात्र हो । त्यसैले त नेपालको संविधान २०७२ मा धर्मनिरपेक्ष शब्द लादिएको छ । जुन कुरा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूका लागि मान्य छैन ।
३. धर्मशास्त्रीय परम्परामा धर्मको अर्थ
धर्मशास्त्रीय परम्परामा धर्मको अर्थ अत्यन्त व्यापक रहेको छ । धर्म शब्दले पूजा–पाठ, मन्दिर–दर्शन, जप–होम आदिलाई मात्र नजनाएर मानव जीवनका हरेक पक्षलाई समेटेको छ । धर्म शब्दभित्र मनुष्य जीवनका हरेक पक्ष मात्र समेटिएका छैनन् धर्मले मनुष्यको सम्पूर्ण जीवनलाई स्पर्श गर्दछ । वेद, स्मृति, पुराण, रामायण, महाभारत आदिमा वर्णित धर्मसम्बन्धी धारणा अत्यन्त व्यापक छ । वैदिक सनातन धर्मावलम्बीका व्यक्तिगत एवं सामाजिक जीवनका हरेक क्षेत्र जन्म–मरण, आहार–विहार, शिक्षा, विवाह, व्यवसाय, नीति आदि सबैमा धर्मको प्राधान्यता छ । हामीले चाल्ने पाइला–पाइला र हामीले गर्ने हरेक क्रियाकलापहरू धर्मबाट अलग रहन नसक्ने हाम्रो परम्परागत मान्यता छ । वेददेखि लिएर ब्राह्मण, आरण्यक, उपनिषद्, स्मृति, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरूमा धर्म सम्बन्धी प्रचुर सामग्री मात्र उपलब्ध छैन सबैले धर्मविमुख नहुन तथा धर्मको बाटो अवलम्बन गर्न प्रेरित गर्दछन् ।
धर्म के हो भन्ने सम्बन्धमा जान्न र बुझ्न हाम्रा ती ऋषिमहर्षिहरूको अन्तःहृदयबाट निस्केको वैदिक वाङ्मयको अध्ययन गर्नुपर्ने हुन्छ । सनातन वैदिक परम्परामा अपौरुषेय र पौरुषेय गरी दुई किसिमका वाङ्मय रहेका छन् । अपौरुषेय वाङ्मय भनेको वेद हो र जस अन्तर्गत ब्राह्मण, आरण्यक र उपनिषद् समेत पर्दछन् । पौरुषेय वाङ्मयको रूपमा चिनिने शिक्षा, कल्प, निरुक्त, व्याकरण, ज्योतिष र छन्द हुन् जसलाई वेदका अङ्गको रूपमा लिइएको छ । यिनै वेदवेदाङ्गबाट नै सम्पूर्ण वाङ्मयको विकास र विस्तार भएको हो । वेदका छवटा अङ्गमध्ये कल्पलाई वेदका हातको रूपमा लिइएको छ । कल्प अन्तर्गत श्रौतसूत्र, धर्मसूत्र, गृह्यसूत्र र शूल्वसूत्र पर्दछन् । यिनै कल्पसूत्रहरूबाट धर्मशास्त्रीय वाङ्मयको विकास र विस्तार भएको देखिन्छ ।
धर्मसूत्रमध्ये सबैभन्दा प्राचीन गौतमधर्मसूत्रमा(ई.पू.६००) वेदलाई धर्मको मूल मानिएको छ भने आपस्तम्ब धर्मसूत्र (ई.पू.६००) मा जो धर्मज्ञ छन् र जसले वेदलाई जान्दछन् उनीहरूको मत नै धर्मको प्रमाण हो भनिएको छ । वसिष्ठको पनि यस्तै कथन रहेको छ । मनुका अनुसार सम्पूर्ण वेद, वेदज्ञहरूको परम्परा एवं व्यवहार, सज्जनहरूको आचार तथा आत्मतुष्टि नै धर्म हो । याज्ञवल्क्यका अनुसार वेद, स्मृति, सदाचारका साथ आफूलाई प्रियलाग्ने तथा उचित सङ्कल्पबाट उत्पन्न इच्छा धर्मका मूल हुन् । वेदमा धर्मका सम्बन्धमा विशेष वर्णन नगरिए पनि वेदको अनुकरण गर्ने स्मृतिको वण्र्य विषय भनेको धर्म नै हो जसलाई धर्मशास्त्रका नामले जानिन्छ । यसरी धर्म तथा धर्मशास्त्रलाई जान्न तथा बुझ्नका लागि वेदका सम्बन्धमा जान्नु आवश्यक देखिन्छ ।
४. के हो वेद ?
वेद आर्य सभ्यताको मूलाधार र ज्ञान–विज्ञानको खानी हो । आर्यहरूको इतिहासमा जे जति रचना भएका छन् ती सबै रचनाहरूको प्राण नै वेद हो । वेदमा भक्तिरसकी मन्दाकिनी मात्र होइन गम्भीर विचारहरूको सङ्कलन रहेको छ । वेद ओज, तेज र वर्चस्वको भण्डार पनि हो । वेदमा दिग् दिगान्तरलाई पवित्र गर्ने उदात्त उपदेश मात्र होइन मानवता विरोधीहरूलाई ध्वस्त गर्ने आदेश पनि छ । अन्याय, अत्याचार र अनाचारका विरुद्धको शंखनाद मात्र होइन ब्रह्मास्त्र पनि रहेको छ जसको प्रयोगले सम्पूर्ण विश्वनै कम्पायमान हुन्छ । त्यसैले वेद मानवका उच्च गुणहरूको क्रीडास्थल मात्र होइन आदिभौतिक उन्नतिको पराकाष्ठा, आध्यात्मिक उन्नयनको चरम सीमा र आत्मिक उन्नतिको शिखर हो भन्ने ठहर पौरस्त्य विद्वान्हरूको छ ।
यही वेदको आधारमा सम्पूर्ण दर्शनशास्त्र, पुराण, निखिल धर्मशास्त्रका साथै सम्पूर्ण संस्कृत वाङ्मयमा निर्माण भएका विभिन्न विधाका ग्रन्थहरूको निर्माण भएको हो । उदाहरणको लागि ंकेवल चौवीस अक्षरको गायत्री मन्त्रको आधारमा चौवीस हजार श्लोक भएको वाल्मीकि रामायणको निर्माण भएको हो भनिन्छ । वेद ईश्वरको पवित्र वाणी हो र विश्वको उद्धारको लागि नै ब्रह्माबाट उपदेश भएको हो भन्ने विश्वास आर्यहरूमा रहेको छ । त्यसैले वेद पारिजात जस्तै सुगन्धित र स्फटिक जस्तै प्रकाशमान छ । वेदमा कुरुक्षेत्रका भैरव मात्र छैनन् वीरहरूका हुंकार पनि छन् । रणचण्डीको अट्टहास मात्र होइन समर भूमिका झंकार पनि छन् ।
वेदको कुनै एउटा मन्त्रको त के कुरा एउटा शब्दको पनि राम्ररी ज्ञान भयो भने यस लोकमा मात्र होइन परलोकको कामना पनि पूर्ण हुन्छ । यही नै वैदिक ज्ञानको रहस्य हो । वेदका प्रत्येक शब्द वाह्य तत्वबाट विमुक्त र योगको प्रक्रियाबाट विशुद्ध रहेका छन् । यही विशुद्धीकरणका कारण नै वेदका प्रत्येक शब्दमा दिव्य शक्ति रहेको छ । वेदका प्रत्येक शब्द तपःपूत योगीहरू र महर्षिहरूका विमल समाधिबाट निसृत अनन्त शक्तिशाली यन्त्र हुन् । वेदमा आदिदैविक र आध्यात्मिक उन्नतिको मात्र व्याख्या छैन आदिभौतिक उन्नतिको पनि पराकाष्ठा रहेको कुरा वेदको अध्ययन तथा अनुशीलनबाट थाहा पाउन सकिन्छ ।
आध्यात्मिक र आदिदैविक उन्नति विनाको आदिभौतिक उन्नति केवल विनाशको कारण बन्ने सङ्केत पनि वेदमा पाइन्छ । वैदिक सनातन धर्मावलम्बीहरूका हरेक विधाको सम्बन्ध वेदसँग जोडिएको हुनाले धर्मको सम्बन्ध पनि वेदसँगै जोडिएको छ । यसरी वैदिक सनातन परम्पराका आधारग्रन्थको रूपमा रहेका वेद, स्मृति, रामायण, महाभारत तथा पुराणादि ग्रन्थहरूमा धर्मको स्वरूपका सम्बन्धमा के कस्तो वर्णन गरिएको छ भन्ने सम्बन्धमा विचार–विमर्श गर्दा असान्दर्भिक हुने छैन । त्यसैले यहाँ धर्मशास्त्रीय ग्रन्थहरूलाई प्रमुख आधार बनाएर धर्मको स्वरूपका सम्बन्धमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
५. धर्मको स्वरूप
धर्म शब्द धारण गर्ने अर्थले युक्त धृधातुबाट बनेको हो । अतः ‘धार्यते इति धर्मः’ अर्थात् जसलाई धारण गरिन्छ त्यही नै धर्म हो । अर्को शब्दमा भन्दा लोक एवं परलोकको सुखको सिद्धिका लागि पवित्र गुण एवं कर्महरू धारण गर्नु तथा सेवन गर्नु नै धर्म हो । यसबाट यो पनि स्पष्ट हुन आउँछ मनुष्य जीवनलाई उच्च एवं पवित्र बनाउने ज्ञानानुकूल शुद्ध एवं सार्वजनिक जुन मर्यादा एवं पद्धति रहेको छ त्यही नै धर्म हो । महात्मा जैमिनिले मीमांसाशास्त्रको दोस्रो सूत्रमा धर्मको लक्षण ‘चोदना लक्षणोऽर्थो धर्म’ अर्थात् लोक एवं परलोकको सुखको सिद्धिका लागि गुण एवं कर्मकाप्रति प्रवृत्ति अर्थात् प्रेरणा नै धर्मको लक्षण हो भनेका छन् ।
वैदिक साहित्यमा ‘धर्म’ वस्तुको स्वाभाविक गुण तथा कर्तव्य अर्थमा आएको देखिन्छ । जसरी जलाउनु तथा प्रकाशित गर्नु अग्नि तथा तेजको धर्म हो त्यस्तै प्रजाको पालन गर्नु तथा रक्षण गर्नु राजा तथा शासकको धर्म हो । मनुले धृति, क्षमा, दम (मनलाई प्राकृतिक प्रलोभनमा फँस्नबाट रोक्नु), चोरी नगर्नु, शौच तथा पवित्रता, इन्द्रिय निग्रह, बुद्धि तथा ज्ञान, विद्या, सत्य र अक्रोधलाई धर्मको लक्षण बताएका छन् । मनुले एक अर्को स्थानमा सदाचार नै परम धर्म हो भनेका छन् । महाभारतमा ‘धारणात् धर्ममित्याहुः, धर्मो धारयते प्रजाः’ अर्थात् जसलाई धारण गरिन्छ र जसबाट प्रजा धारण गरिन्छन् त्यसैलाई धर्म भनिन्छ भनिएको छ ।
वैशेषिक दर्शनका निर्माता महर्षि कणादले धर्मको लक्षण गर्दै भनेका छन्– जसबाट अभ्युदय(लोकोन्नति) र निश्रेयस(मोक्ष)को सिद्धि हुन्छ त्यही नै धर्म हो । महर्षि दयानन्दले पनि पक्षपात रहित न्यायाचरण तथा सत्यभाषणादि सदाचार नै धर्म भएको उल्लेख गर्दै धर्म र मनुष्यत्वलाई पर्याय ठानेका छन् । यसरी ऋषिमहर्षिहरूले धर्मका सम्बन्धमा व्यक्त गरेका धारणा तथा विचारहरूलाई केलाउँदा धर्मलाई स्वरूपात्मक, क्रियात्मक र फलात्मक गरी तीन भागमा विभाजन गरेर विश्लेषण गर्न सकिन्छ ।
५.१. स्वरूपात्मक धर्म
महर्षि जैनिमिले धर्मको जुन लक्षण गरेका छन् । उनको त्यो धर्मको लक्षण स्वरूपात्मक रहेको छ । प्रकाशित गर्नु तथा पोल्नु अग्निको स्वभाव तथा धर्म हो । दुःख निवृत्ति तथा सुखप्राप्तिप्रति प्रेरित हुनु आत्माको स्वभाव तथा धर्म हो । जसलाई प्रत्येक मनुष्यले अनुभव गरिरहेका छौं ।
५.२. क्रियात्मक धर्म
मनु, याज्ञवल्क्य आदि महर्षिहरूले धर्मका सम्बन्धमा जुन लक्षण बताएका छन् ती सबै क्रियात्मक छन् । जस अनुसार आफूलाई ढाल्नु तथा सो अनुरूप आफूलाई परिवर्तित गर्नु क्रियात्मक धर्म हो । जहाँ मानवले गर्नुपर्ने कर्तव्यकर्मका सम्बन्धमा वर्णन गरिएको छ ।
५.३. फलात्मक धर्म
महर्षि कणादले गरेको धर्मको लक्षण फलात्मक रहेको छ । किनभने उनले गरेको धर्मलक्षणको फल अभ्युदय(लोकोन्नति) र मोक्षको सिद्धि हो ।
६.अध्ययनका दृष्टिले धर्म
समाजमा प्रचलित धर्मसम्बन्धी मान्यताबाट कोही पनि अलग हुँन सक्दैन । समाजमा प्रचलित प्रथा, मान्यता र जुन विधानहरू छन् ती सबैलाई लोकधर्म र वेद, स्मृति, रामायण, महाभारत तथा पुराणादि शास्त्रहरूमा वर्णित धर्मसम्बन्धी जुन व्यवस्था छ त्यसलाई शास्त्रधर्म गरी अध्ययनका दृष्टिले धर्मलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
६.१. लोकधर्म
अज्ञात तथा अदृश्य नियन्ताबाट वाञ्छित वस्तु प्राप्त हुन्छ भन्ने आश वा अदृश्य नियन्ता रिसाएको अवस्थामा दुःख प्राप्त हुन्छ भन्ने त्रासका कारण अदृश्य नियन्तालाई प्रसन्न बनाएर वाञ्छित वस्तुको प्राप्ति वा त्राणका लागि गरिने पूजा तथा आराधनाका लागि अपनाइने विधि तथा प्रक्रिया लोकधर्म हो । लोकधर्ममा लोकमा गरिने विभिन्न क्रियाकलापहरू पर्दछन् जहाँ तन्त्र, मन्त्र, जादु, टोना आदिको पनि प्रयोग हुने गर्दछ । एकवाक्यमा भन्दा आस वा त्रासका लागि अदृश्य नियन्तालाई गरिने पूजा तथा आराधना नै लोकधर्म हो ।
६.२. शास्त्रधर्म
वैदिक सनातन हिन्दू धर्मको उद्देश्य मनुष्यका विभिन्न धर्महरूको व्याख्या गर्दै मनुष्य मात्रलाई यो लोक र परलोक गरी दुबै लोकको सुख एवं शान्ति प्रदान गर्नु हो । जसमा निश्चित तत्त्वदर्शनका आधारमा लोक व्यवस्थापन गर्दै सोपानक्रमले मोक्षसम्म पु¥याउने क्रियाकलापको वर्णन गरिएको हुन्छ त्यही नै शास्त्रधर्म हो । धर्मशास्त्रकारहरूका अनुसार शास्त्रधर्म कुनै सम्प्रदाय या मतको द्योतक नभएर जीवन पद्धति तथा आचरण संहिता हो जसले समाजका सबै अङ्ग एवं व्यक्तिका रूपमा मनुष्यका कर्म तथा करणीय कृत्यलाई व्यवस्थित गर्दछ । शास्त्रधर्मलाई पनि श्रौत र स्मार्त गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
६.२.१. श्रौतधर्म
श्रौतधर्म त्यो धर्म हो जसमा ती कृत्य तथा संस्कारहरूलाई समाविष्ट गरिएको छ जसको प्रत्यक्ष सम्बन्ध वैदिक संहिता एवं ब्राह्मणग्रन्थहरूसँग रहेको छ । विशेष गरेर अग्निको प्रतिष्ठा, दर्शपौर्णमास एवं प्रतिपदा यज्ञ, सोमकृत्य आदि श्रुतिसँग सम्बन्धित भएकाले यी सबै श्रौतधर्म अन्तर्गत पर्दछन् । श्रौतयज्ञ सम्बन्धी प्राचीन परम्परामा अहिले शीथिलता आएको देखिन्छ । श्रौतयाग सम्बन्धी ज्ञानको अभावका कारण समाजमा श्रौतयज्ञहरू अत्यन्त कम हुने गरेका छन् । जसको प्रचार–प्रसारमा पनि कमी देखिन्छ ।
६.२.२. स्मार्तधर्म
स्मृतिशास्त्रमा वर्णित धर्म नै स्मार्त धर्म हो । याज्ञवल्क्यस्मृतिका व्याख्याकार विज्ञानेश्वरले आचाराध्यायको उपोद्धात प्रकरणमा स्मार्तधर्मका सन्दर्भमा वर्णधर्म, आश्रमधर्म, वर्णाश्रमधर्म, निमित्तधर्म, गुणधर्म र साधारणधर्म गरी स्मार्तधर्मलाई छ भागमा विभाजन गरी अध्ययन गर्न सकिने कुराको उल्लेख गरेका छन् । यिनै छप्रकारका स्मार्तधर्म अन्तर्गत रहेका वर्णधर्म, आश्रमधर्म, वर्णाश्रमधर्म र निमित्त धर्मका सम्बन्धमा अन्य कुनै प्रसङ्गमा चर्चा गरौंला गुणधर्म र साधारणधर्म नै आजको वण्र्य तथा चर्चाको विषय भएकाले आज यहाँ तिनै दुई विषयवस्तुहरूको सम्बन्धमा सङ्क्षिप्त रूपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
७.गुणधर्म (राजधर्म)
राष्ट्रको नाम, यश एवं कीर्ति बढाउनका लागि राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा विशेष गुण हुनु आवश्यक हुन्छ । यही गुणधर्म नै राजधर्म हो । जसरी व्यक्तिको व्यक्तिगत उन्नतिका लागि व्यक्तिधर्मको पालन आवश्यक हुन्छ त्यसैगरी राष्ट्रको उन्नतिका लागि राष्ट्रियधर्म तथा राजधर्मको पालन आवश्यक हुन्छ । जो राजनीतिमा सङ्लग्न छन्, जो राजनीतिमा सङ्लग्न हुन चाहन्छन् र जसले जनताको नेतृत्त्व लिन चाहन्छन्् ती सबैले राजधर्मका बारेमा जान्नु आवश्यक हुन्छ । राजधर्म के हो ? र त्यसको पालन कुन रीतिले हुनुपर्दछ भन्ने कुराको सामान्य ज्ञान त सबैमा हुनु आवश्यक छ नै । गुणधर्म(राजधर्म)का बारेमा बुझ्न र जान्नका लागि स्मृतिशास्त्रको अध्ययन आवश्यक हुन्छ । स्मृतिशास्त्रमा वर्णित छ प्रकारका स्मार्तधर्महरूमध्ये गुणधर्म(राजधर्म) नै स्मृति वाङ्मयमा राजनीतिका नामले जानिन्छ ।
धर्मशास्त्रीय ग्रन्थहरूमा गुणधर्म(राजधर्म) विषयक सामग्री यत्र–तत्र छरिएर रहेका छन् । स्मृतिकारहरूमध्येका सबैभन्दा प्राचीन मानिने मनु र याज्ञवल्क्यले पनि राजधर्मलाई विशेष महत्त्व र स्थान दिएका छन् । त्यहाँ राजाको उत्पत्तिदेखि लिएर राजाको आचरण, उसको उद्देश्यका साथै राजाले पालन गर्नुपर्ने विशेष धर्मका सम्बन्धमा पनि प्रकाश पारिएको छ । मनुले मनुष्यका रक्षकको रूपमा रहेका राजा कस्तो चरित्रले युक्त हुनुपर्दछ, राजाको उत्पत्ति कसरी भएको हो र राजाले कसरी काम गर्दा सफलता प्राप्त गर्न सक्दछ भन्ने राजधर्मका सम्बन्धमा बताउँछु भनी मनुस्मृतिको सातौं अध्याय सुरु गरेका छन् ।
एउटा राज्य राज्यको रूपमा स्थापित हुनका लागि राज्यका सातवटा अङ्गहरूको आवश्यकता हुने कुराको उल्लेख प्राचीन राजनीतिका विद्वान्हरूले गरेका छन् । जसका सम्बन्धमा वर्णन गर्न समयको अभाव भएका कारण यहाँ केवल सङ्केत मात्र गरिएको छ ।
८. राज्य र राज्यका सातवटा अङ्ग
वैदिक सनातन परम्परामा विशालाक्ष, महेन्द्र, शुक्राचार्य, भरद्वाज, गौरीशिरा आदि जगत् विख्यात राजशास्त्रका प्रणेता रहेको देखिन्छ । जसको वर्णन महाभारतको शान्तिपर्वमा गरिएको छ । राजशास्त्रसम्बन्धी सिद्धान्तका अनुयायी मनु पनि हुन् । मनुले यो जगत्को सृष्टि गर्ने क्रममा सावयव सिद्धान्तको आश्रय लिएका छन् भने राज्यको स्वरूपलाई प्रतिपादन गर्ने सन्दर्भमा पनि सावयव सिद्धान्त कै आश्रय लिएको देखिन्छ । मनुका अनुसार सृष्टि रचना गर्ने क्रममा विराट पुरुषको परिकल्पना गरिएको छ । उनका अनुसार सात पुरुष(तत्त्व)को संयोगबाट विराट पुरुषको उत्पत्ति भएको हो । यी सात तत्त्वहरू अहंकार, महत्तत्त्वका साथ पृथिवी, जल, तेज, वायु र आकाश रहेका छन् । यिनै सात पुरुषहरूको सूक्ष्म मूर्तमात्रा(अविनाशी)बाट नाशवान् जगत्को उत्पत्ति भएको हो । यही जगत्लाई मनीषिहरूले अविनाशी भगवान्को मूत्र्तरूप(विराट पुरुष) मानेका छन् । त्यही विराट् पुरुषले आफ्नो शरीरलाई दुईभागमा विभाजन गरेर एकभागबाट नारी र अर्को भागबाट पुरुषको उत्पत्ति भएको वर्णन पनि मनुस्मृतिमा गरिएको छ ।
त्यही विराट् पुरुषले लोकको वृद्धि(कल्याण)का लागि आफ्नो मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्रिय, उरु(तिघ्रा)बाट वैश्य र खुट्टाबाट शूद्रको उत्पत्ति गरेको उल्लेख पनि मनुस्मृतिमा गरिएको छ । जुन कुराको पुष्टि ऋग्वेद र यजुर्वेदले पनि गर्दछन् । मनुले जसरी जगत्को स्वरूपलाई सावयव मानेका छन् त्यसैगरी राज्यको स्वरूपलाई पनि सावयव मानेका छन् । जगत्को उत्पत्तिको सन्दर्भमा विराट् पुरुषका सात अवयव भएजस्तै राज्यका पनि सात अवयव मानेका छन् । मनुका अनुसार स्वामी(राजा), अमात्य(मन्त्री), सुहृद(मित्र), पुर, राष्ट्र, कोश, र दण्डलाई राज्यका सात अङ्ग रहेका छन् । मनुले राज्यका यी सातवटै अङ्गको महत्त्व समान रहेको उल्लेख गर्दै त्रिदण्डरूप आकृतिले कुनै वस्तुलाई स्थिर राख्न समर्थ भएजस्तै राज्यलाई धान्नका लागि पनि यी सातवटा अङ्ग समान रूपले आवश्यक हुन्छन् । मनुले राज्यका यी सातवटा अङ्गमध्ये कुनै पनि अङ्गलाई सानो–ठूलो ठान्दैनन् । जुन कुराको पुष्टि यजुर्वेदको यो मन्त्रबाट पनि स्पष्ट हुन्छ । त्यहाँ भनिएको छ– मेरो(विराट् पुरुषको) पीट्यू राष्ट्र हो, पेट, काँध, घाँटी, कम्मर, जाँङ, घूँडा आदि सबै मेरा अङ्ग प्रजा हुन् । महाभारतमा पनि राज्यका सातवटै अङ्गको उल्लेख गरिएको छ । कौटिल्यले पनि यही कुराको उल्लेख गरेका छन् । कौटिल्यले यी सातवटा प्रकृतिलाई अवयव भनेर पनि उल्लेख गरेका छन् । शुक्रले पनि राज्यका सातवटै अङ्गहरूको उल्लेख गर्दै त्यसमध्ये टाउको अर्थात् राजा श्रेष्ठ रहेको उल्लेख गरेका छन् ।
कामन्दकीय नीति सारमा पनि राज्यका सातवटै अङ्गको उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा राज्यको कल्पना मनुष्य शरीरसँग गरेर रोचक ढङ्गले प्रस्तुत गरिएको छ । त्यहाँ भनिएको छ– प्रज्ञा रूपी प्राकारले वेष्ठित यो देह रूपी नगरी रहेको छ । हाड त्यो नगरको स्तम्भ हो । त्यो नगरको छाला रूपी भित्ताले घेरिएको छ र मासु र रगत रूपी हिलोमा लतपतिएका नसाले चारैतिरबाट घेरिएको छ । त्यो पुरीमा ठूला–ठूला नौवटा ढोका रहेका छन् जसमा चैतन्य रूपी पुरुषले राज्य गर्दछ । मन र बुद्धि त्यसका दुई मन्त्री छन् जो आपसमा विरोधी छन् । काम, क्रोध, लोभ र मोह नाम गरेका राजाका चारवटा छोरा छन् जो राजाको विनाशका लागि सधै क्रियाशील रहन्छन् । यसरी राज्यका सातवटै अङ्ग आ–आफ्नो स्थानमा सबै ठूला र महत्त्वपूर्ण रहेकोले जुन अङ्गबाट जुन कार्य सिद्ध हुन्छ त्यो अङ्ग त्यो दृष्टिले अन्य अङ्गभन्दा आफ्नो क्षेत्रमा श्रेष्ठ मानिएको छ । यी अङ्गहरूलाई स्वाभाविक रूपमा राख्नका लागि अनेक उपाय एवं साधनहरूको अवलम्बन गरिएको छ जसको वर्णन राजनीतिपरक धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ ।
८.१. स्वामी तथा राजा(शासक)को आवश्यकता
नारदस्मृतिको प्रारम्भमा भनिएको छ– जुन समयमा मनु, प्रजापतिले राज्य गर्दथे त्यतिबेला यो पृथ्वीमा रहेका मानिसहरू धर्मनिष्ठ तथा सत्यवादी थिए । (त्यो समयमा द्वेष, मत्सर आदि नभएकोले विधि (व्यवहार)को आवश्यकता पनि हुँदैनथ्यो) । यसै प्रसङ्गमा अगाडि भनिएको छ– मनुष्यमा धर्म नष्ट भएपछि विधि(व्यवहार)को आवश्यकता प¥यो त्यही व्यवहारलाई दृष्टिगत गरी दण्डादण्डको व्यवस्था गर्नका लागि राजा(शासक)को आवश्यकताको महसूस गरिएको हो त्यसैले राजा(शासक)लाई दण्डधर भनिएको हो ।
नारदको यो वचनबाट प्राचीनकालमा पृथ्वीमा रहेका सबै मानिसहरू सत्यवादी थिए मानिस–मानिसका बीच ईष्र्या एवं द्वेषको भावना थिएन । सबै मानिसहरू न्यायपरायण, आचारवान्, उदार एवं शुद्ध व्यवहार गर्ने हुन्थे यस्तो अवस्थामा मुद्धामामलाको अस्तित्व हुने कुरै भएन । कुनै यस्तो समय पनि थियो जुन समयमा न अन्याय हुन्थ्यो न अन्यायका विरुद्ध विवाद तथा न मुद्धा, यस्तै न प्राड्विवाक थिए न न्यायाधीश, न न्यायालय न वादी–प्रतिवादी नै थिए । पछि मानिसमा धर्मकाप्रति आस्था घटेपछि राग, द्वेष, ईष्र्या, मात्सर्य तथा विरोधको भाव उत्पन्न भयो जसको परिणाम स्वरूप समर्थ पुरुषले असमर्थ पुरुषलाई दबाउने प्रवृत्ति अर्थात् मत्स्य न्यायको विकास भयो । समाजलाई कुनै न कुनै हदसम्म यसबाट मुक्त राख्नका लागि अर्थात् समाजमा रहेका यस्ता अराजकताको निवारण र सम्पूर्ण लोकको रक्षाका लागि राजा(शासक)को सृष्टि ब्रह्माले गरेको कुराको उल्लेख मनुस्मृतिमा गरिएको छ ।
हुन त मनुष्य–मनुष्यका बीच द्वेष, मात्सर्य तथा वैरभाव हुँदैन भन्ने कुरा अविश्वसनीय नै लाग्दछ । किनभने समाजसँग कुनै पनि सम्बन्ध नराख्ने तपोलीन एकान्तवासी मुनिका पनि प्रशंसक, निन्दक एवं उपेक्षक हुन्छन् भन्ने नीतिवचन झूठो ठहरिन्छ । मानव समाजमा हुने कुनै पनि कार्यप्रति वास्ता नराख्ने व्यक्तिका त प्रसंशक, निन्दक र उपेक्षक हुन्छन् भने सामाजिक न्यायका लागि क्रियाशील व्यक्तिका निन्दक तथा प्रशंसक नहुने कुरै भएन । जब समाजमा अराजकताको सृजना भयो त्यसलाई नियन्त्रणका लागि राजाको सृष्टिभएको हो भन्ने मनुको वचन सार्थक ठहछ ।
८.२.राजाको उत्पत्ति
मनु आदि स्मृतिशास्त्रका निर्माताहरूले राजाको उत्पत्ति दैवी उत्पत्तिको सिद्धान्तका आधारमा भएको उल्लेख गर्दै ईश्वरले समस्त संसारको रक्षाका लागि इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र एवं कुबेरको शाश्वत मात्रा अर्थात् सारभूत अंशलाई निकालेर राजाको सृष्टि गरेका हुन् । राजाले यी आठ प्रकारका विशेष देवताहरूको सारभूत अंशलाई ग्रहण गर्ने भएको हुनाले उल्लेखित आठवटा देवताभन्दा पनि श्रेष्ठ स्थान प्राप्त गर्ने कुराको उल्लेख मनुले गरेका छन् ।
राजपद अत्यन्त पवित्र रहेको उल्लेख गर्दै यो पदमा जुन कुनै व्यक्ति आसीन हुन्छ त्यो परम देवताको रूपमा पूजित हुने भएकाले आफ्नो प्रभावका कारण अग्नि, वायु, सूर्य, चन्द्र, धर्मराज(यम), कुबेर, वरुण एवं इन्द्र पनि बन्दछ भन्ने कुराको उल्लेख पनि मनुस्मृतिमा गरिएको छ ।
मनुस्मृतिमा भनिएको छ–राजा(शासक) चाहे बालक नै किन नहोस्, यो मनुष्य नै हो भनेर अपमान गर्नु हुँदैन किनभने राजा(शासक)मा धेरै देवता मनुष्यको रूपमा बसेका हुन्छन् । धर्मशास्त्रीय ग्रन्थहरूमा मात्र होइन राजा(शासक)लाई सबैभन्दा प्राचीन मानिएको ऋग्वेदमा पनि वरुण एवं यमको नामले सम्बोधित गरिएको भेटिन्छ । यजुर्वेदमा पनि राजा(शासक)लाई यम, कुबेर, वरुण, इन्द्र आदि देवताका रूपमा आह्वान गरिएको छ ।
यस्तै अथर्ववेदमा पनि इन्द्र, सोम, वरुण, मित्र, यम, सूर्य आदि देवताहरूको अंशको रूपमा राजा(शासक)लाई लिइएको देखिन्छ । ऋग्यजुसाम वेदमा मात्र होइन ब्राह्मणग्रन्थहरूमा पनि राजा(शासक)को उत्पत्ति दैवी सिद्धान्तको आधारमा भएको देखिन्छ । यस्तै रामायण एवं महाभारतमा पनि राजा(शासक)लाई देवस्वरूप मानिएको छ ।
शुक्रनीतिमा पनि राजा(शासक)को निर्माण इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र एवं कुवेर गरी आठवटा देवताहरूको अंशबाट भएको कुराको उल्लेख गरिएको छ । यही प्रसङ्गमा एक अर्को स्थानमा राजा(शासक)लाई प्रजाकी माता, पिता, गुरु, भ्राता र मित्र मानिएको छ । साथै राजा(शासक)लाई यम र कुबेर समानका देवताको रूपमा पनि परिभाषित गरिएको छ ।
वैदिक साहित्यमा राजा(शासक)लाई साक्षात् देवताको अवतार नमानेर राजा(शासक)मा देवतामा रहेका कतिपय विभूतिहरू समावेश भएको मानिन्थ्यो भने स्मृतिशास्त्रको निर्माणको सन्दर्भमा त्यो विचारधारामा आमूल परिवर्तन भएको देखिन्छ । जसले गर्दा स्मृतिकालमा आइपुग्दा नपुग्दै राजा(शासक)लाई इन्द्र, वरुण, कुबेर आदि देवता समान सम्झन थालियो र राजा(शासक)लाई साक्षात् देवताकै अवतार मान्ने परम्पराको पनि विकास भएको देखिन्छ ।
८.३. शासक(राजा)मा देवत्त्वको आधान
मनुले चाहे शासक(राजा) बालक नै किन नहोस्, यो मनुष्य नै त हो भनेर अनादर नगर्न निर्देश गर्दै शासक(राजा)मा देवताहरू मानिसको रूपमा रहने बताएका छन् । महाभारतको पनि यस्तै मत रहेको छ । महाभारतमा एक अर्को प्रसङ्गमा शासक(राजा) र देवताका बीच अन्तर नभएको पनि उल्लेख गरिएको छ । शासक(राजा)को महत्त्वलाई अझ प्रष्ट्याउँदै त्यहाँ भनिएको छ– शासक(राजा)ले नेतृत्त्व प्राप्त गरेपछि यो पृथिवीमा विष्णुको रूप प्राप्त गर्दछ । पुराणहरूले पनि राजालाई दैवी उत्पत्तिको सिद्धान्तमा समर्थन गरिएको देखिन्छ ।
विष्णुपुराणमा राजा वेनको मुखबाट भनिएको छ– ब्रह्मा, विष्णु, महेश, इन्द्र, वायु, यम, सूर्य, वरुण, धाता, पूषा, पृथिवी र चन्द्रमा तथा अन्य जति पनि देवता श्राप दिनका लागि तथा कृपा गर्नका लागि समर्थ छन् ती सबै राजाको शरीरमा वास गर्दछन् यसर्थ राजालाई सर्वदेवमय भनिएको हो । शुक्रनीतिले पनि राजालाई दैवी उत्पत्तिको सिद्धान्त स्वीकार गरेको देखिन्छ । त्यहाँ भनिएको छ– राजाको निर्माण इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र र कुबेर गरी आठवटा देवताहरूको अंशबाट भएको हो । यही प्रसङ्गमा शुक्रनीतिको अन्य स्थानमा भनिएको छ– राजा प्रजाका माता, पिता, गुरु, दाजुभाइ र मित्र पनि भएको उल्लेख गर्दै राजालाई यम र कुबेर समान मानिएको छ । तथापि शुक्रले सबै राजामा त्यस्तो गुण हुन नसक्ने कुराको उल्लेख गर्दै सात्विक, राजसिक र तामसिक गरी तीन किसिमका राजा हुन सक्ने बताएका छन् ।
८.४. तीन प्रकारका राजा
सात्विक, राजसी र तामस भेदले राजा तीन प्रकारका हुन्छन् । जुन राजाले सत्त्व आदि गुणको अधीनमा रहेर राज्यव्यवस्था सञ्चालन गर्दछ त्यही राजा नै उत्तम राजा हो । यस्तै राजस गुणले युक्त भएर राज्यव्यवस्था सञ्चालन गर्ने राजा मध्यम र तामस गुणले युक्त भएर राज्यव्यवस्था सञ्चालन गर्ने राजा अधम राजा हो । जुन राजा(शासक) पाखण्डी, लोभी, भोगी, विलासी, ठग र शठ रहेको छ । जसले मन, वचन र कर्मलाई अलग–अलग राख्दछ, जसले सधै कलहलाई प्रिय ठान्दछ, जसले सधै नीच मनुष्यका साथ सम्बन्ध बनाउँछ, जो स्वेच्छाचारी तथा नीतिविरुद्ध चल्दछ र छलकपट गर्दछ त्यस्तो राजा अधम राजा हो । त्यस्तो अधम राजा मरेपछि पनि पशु तथा वृक्षादि स्थावर योनिमा जन्म लिन्छ । जुन राजा सात्विक गुणले युक्त हुन्छ त्यो राजा देवांशको भागी बन्दछ । जो तामसी छ त्यो राक्षसांशको भागी बन्दछ र जुन राजा राजसी छ त्यो मानवांशको भागी बन्दछ । यसर्थ राजाले सदा सात्विक गुणमा नै मन लगाउनुपर्दछ ।
८.५. धर्मानुसार शासन गर्ने राजाको वशमा देवता पनि
जुन राजा(शासक)ले नीतिपूर्वक दण्डको विधान गर्दछ, देवता पनि त्यस्तो राजाको वशमा हुन्छन् भने मनुष्यको त के नै कुरा रह्यो र ? महाभयजनक, समीचीन दण्डबाट धर्मात्मा राजाले सबैलाई आफ्नो वशमा पार्नुपर्दछ । इन्द्रियजयी राजाले नै प्रजालाई आफ्नो वशमा पार्न सक्दछ यसर्थ राजालाई दिन–रात आफ्ना इन्द्रियहरूलाई वशमा पार्नका लागि क्रियाशील हुन निर्देश शास्त्रकारहरूले गरेका छन् । जुन राजाले इन्द्रियहरूलाई जित्न सक्दछ त्यही राजाले प्रजालाई आफ्नो वशमा राख्न सक्दछ भन्ने मनुको पनि कथन छ ।
यसका लागि कामबाट उत्पन्न हुने दश(शिकार गर्नु, जुआ खेल्नु, दिनको समयमा सुत्नु, कसैको दोष वर्णन गर्न रमाउनु, नयाँ–नयाँ स्त्रीका साथ रमण गर्नु, सधै नशामा चूर हुनु, निरन्तर नृत्यादिमा रमाउनु, गीत मात्रै सुनिरहनु, वाद्यवादन सुन्नमा लागि रहनु र व्यर्थ भ्रमण गर्नु) र क्रोधबाट उत्पन्न हुने आठ(चुगलखोरी, अन्यायपूर्वक वधबन्धनादि कार्य गर्नु, अपकार, अर्काको गुणलाई सहन नसक्नु, अर्काको गुणमा पनि दोष देख्नु, अरू व्यसनलाई आफूबाट टाढा राख्नु) व्यसनबाट टाढा रहन पनि मनुले निर्देश गरेका छन् ।
राजाले राज्यमा सर्वप्रथम स्वतःस्फूर्तरूपमा स्वधर्म पालनका लागि अभिप्रेरित गर्नुपर्दछ । यदि सबैबाट स्वधर्म पालन भएन भने दण्डको प्रयोग गरेर भए पनि स्वधर्मको पालन गराउनुपर्दछ भन्ने शास्त्रको निर्देश छ ।
८.५.१.स्वधर्म पालन
धर्मशास्त्रीयग्रन्थहरूमा धर्मस्थापनाका लागि राजाको निर्माण गरिएको र त्यसका लागि राजाले जनतालाई अभिप्रेरित गर्नुपर्दछ । जगत्मा धर्मको स्थापनाका लागि स्वधर्म पालन अनिवार्य शर्त हो । तथापि मनुष्य समाज यस्तो समाज हो, जहाँ स्वधर्म परायण मनुष्य प्राप्त गर्न दुर्लभ हुन्छ । अभिषिक्त भएको होस् या नभएको राजा सदा धर्मपरायण हुनुपर्दछ । यदि राजाले आफ्नो दण्डधर्मलाई परित्याग गरिदिन्छ भने उसको तेज नष्ट हुन्छ । यो संसारमा प्रत्येक प्राणीले विधिविधान अनुसार जब आफ्नो धर्मको पालन गर्दछन् त्यो अवस्थामा जगत्मा सुख एवं शान्ति फैलिएको हुन्छ । जसले गर्दा प्रत्येक प्राणी सुखी एवं सन्तुष्ट रहेर आफ्नो जीवन व्यतीत गर्दै आफ्नो जीवनको परं ध्येय मोक्ष प्राप्त गर्न तल्लिन रहन्छन् ।
८.५.२.दण्ड
बुद्धि, बल, शौर्य र नीति अनुसार प्रजा पालन गर्ने राजाले उचित दण्डको प्रयोग गरेको अवस्थामा त्यो सदा अछिद्र रहन्छ अर्थात् शत्रुले पनि उसको कमजोरी पत्ता लगाउन सक्दैन । अधर्मपरायण(अशुचि) मनुष्यहरूलाई स्वधर्म पालनका लागि विवश गर्न उनीहरूलाई दण्डित गर्नु आवश्यक हुन्छ । यही उद्देश्यलाई प्राप्त गर्नका लागि मनुले दण्डको उत्पत्ति गरेको उल्लेख गर्दै प्राणी मात्रको रक्षक आत्माबाट उत्पन्न ब्रह्मतेजबाट निर्मित दण्डको सिर्जना ईश्वरले गरेको कुरा बताएका छन् । दण्डका कारण सम्पूर्ण स्थावर एवं जङ्गम प्राणीहरूले भोग प्राप्त गर्दछन् र आफ्नो धर्मबाट विचलित पनि हुँदैनन् । त्यो दण्ड नै राजा हो, त्यही पुरुष हो, त्यही नेता हो तथा शासित एवं चारै आश्रमका धर्मको प्रतिभू पनि हो । दण्डले नै सम्पूर्ण प्रजाको शासन गर्दछ, दण्डले नै उनीहरूको रक्षा गर्दछ, सबै सुतिसकेपछि पनि दण्ड जागिरहन्छ । त्यही दण्डको डरका कारण नै चोरले चोरी गर्दैनन् त्यसैले विद्वान्हरूले दण्डलाई नै धर्म मान्दछन् । दण्डको अभावमा सम्पूर्ण वर्ण दुष्टाचरणमा प्रवृत्त हुन्छन्, समस्त मर्यादा नष्ट हुन्छन् र समस्त लोक नै कर्तव्य विमूढ बन्दछ । यो लोकमा जसमा सम्पूर्ण अधिकार रहन्छन् त्यसैलाई दण्ड भनिन्छ भनी महाभारतमा पनि भनिएको छ । दण्डले नै यो संसारका प्राणी तथा अप्राणी जगत्लाई उनीहरूको स्वधर्म पालनका लागि विवश गर्ने क्षमता राख्दछ भन्ने धर्मशास्त्रीय मान्यता छ ।
दण्डको समुचित प्रयोग भएको अवस्थामा जगत्को कल्याण हुन्छ भने दण्डको अनुचित प्रयोग भएको अवस्थामा दण्डको प्रयोग गर्ने र दण्डित दुबै नाश हुने अवस्था पनि आउन सक्ने भएकाले दण्डको प्रयोगमा बडो सावधानी अपनाउनका लागि धर्मशास्त्रीय ग्रन्थहरूमा निर्देश गरिएको छ । त्यसैले मनुले भनेका छन्–सम्यक प्रकारले प्रयोग गरिएको दण्ड प्राणी मात्रको कल्याणको कारण बन्दछ भने त्यसको विपरीत प्रयोग गरिएको दण्ड प्राणीमात्रको नाशको कारण बन्दछ । त्यसैले मनुले देश, काल, शक्ति र विद्याको तत्त्वलाई राम्ररी विचार गरेर अन्यायी मनुष्यलाई अपराधानुसार दण्ड दिनका लागि निर्देश गरेका छन् ।
८.५.३. राजाका पञ्चमहायज्ञ
पञ्चमहायज्ञ प्रत्येक व्यक्तिले प्रत्यके दिन गर्नुपर्ने यज्ञ हुन् । ती पञ्चमहायज्ञ स्वाध्याय तथा अध्ययन÷अध्यापन, पितृयज्ञ तथा तर्पण, होम, बलि र अतिथिपूजन गरी पाँचवटा रहेका छन् । जुन गृहस्थले गृहस्थाश्रममा रहेर आफ्नो शक्ति र क्षमता अनुसार यी पाँचवटा यज्ञहरू प्रत्येक दिन गर्दछ त्यो गृहस्थ गृहस्थाश्रममा रहँदा रहँदै पनि गृहस्थाश्रममा उत्पन्न हुने सूना दोषमा लिप्त हुँदैन भन्ने कुराको उल्लेख मनुले गरेका छन् । यसरी प्रत्येक गृहस्थका पञ्चमहायज्ञहरू भएजस्तै राजा(शासक)का प्रत्येक दिन गर्ने पर्ने पञ्चमहायज्ञ भनेका दुष्टलाई दण्ड, सुजनको पूजा, न्यायपूर्वक धन आर्जन गरेर कोषको वृद्धि र दुष्ट राजाहरूबाट राष्ट्रको रक्षा गर्नु हुन् भनी महर्षि अत्रिले बताएका छन् ।
९. राष्ट्रको सर्वोपरि स्थानमा धर्म र दण्ड
वर्तमानमा राष्ट्रको सर्वोपरि संविधान भएजस्तै प्राचीनकालमा राष्ट्रको सर्वोपरि स्थान धर्म र दण्डको थियो । यसैले धर्मशास्त्रीय वाङ्मयमा विश्वकल्याणलाई दृष्टिगत गरेर यस्तो व्यक्तिको निर्माणको आवश्यकताको महसुस गरिएको छ जसले दण्डको प्रयोग सम्यक् प्रकारले गर्न सकोस् । धर्मशास्त्रीय वाङ्मयमा पहिलो स्थान धर्म र दण्डलाई दिइएको छ । हरेक व्यक्तिमा दण्डको प्रयोग गर्ने क्षमता हुँदैन त्यसैले जुनसुकै व्यक्तिलाई राजा(शासक) बनाउन सकिदैन । यस्तो दण्डको धारण गर्ने अधिकारक त्यस्तो व्यक्तिलाई मात्र छ जो सत्यवादी, समीक्षापरायण(गुण–दोषलाई सम्यक् प्रकारले समीक्षा गर्न सक्ने) बुद्धिमान, धर्म, अर्थ र कामको वास्तविक रहस्यलाई जानेको होस् ।
९.१. धर्म र दण्डको प्रयोग राजाबाट
स्मृतिहरूमध्येको सबैभन्दा पुरानो मानिने मनुस्मृतिमा अराजकताका कारण लोकमा डर त्रासको सिर्जना भएपछि लोकको रक्षाका निम्ति अर्थात् धर्म र दण्डको प्रयोगका लागि ईश्वरबाट शासक(राजा)को सिर्जना भएको कुराको उल्लेख गरिएको छ । दण्डलाई युक्तियुक्त प्रयोग गर्नका लागि जुन पुरुषको निर्माण गरियो जसलाई राजा(शासक)का नामले सम्बोधित गरियो । जसले प्रजालाई रञ्जन(प्रसन्न) बनाउँछ त्यही नै राजा हो अर्थात् त्यस्तो व्यक्तिलाई राजाको नामले चिनिन थालिएको हो । धर्मशास्त्रीय वाङ्मयमा वर्णन गरिएको राजाको स्थान सर्वोपरि नभएर दोस्रो हो । धर्मशास्त्रीय मान्यता अनुसार दण्डमा रहेको तेजलाई शास्त्रोक्त संस्कारले रहित राजाले धारण गर्न सक्दैन । राजधर्म विपरीत आचरण गर्ने व्यक्तिले दण्ड धारण गरेको अवस्थामा बन्धुवान्धाव सहित त्यो राजा नाश हुन्छ भन्ने शास्त्रको निर्देश छ ।
यस्तो दण्डको प्रयोग कस्तो राजाले गर्न सक्दछ भन्ने सम्बन्धमा पनि धर्मशास्त्रीय वाङ्मयमा निर्देश गरिएको छ । जस अनुसार शुचि(पवित्र), सत्यप्रतिज्ञ, शास्त्रानुसार आचरण गर्ने, सहयोगी पनि त्यस्तै आचरणले युक्त र बुद्धिमान् राजाले दण्डको प्रयोग गर्न सक्दछ । यसबाट स्पष्ट हुन्छ दण्डको धारण र त्यसको प्रयोग गर्ने अधिकार त्यही राजा(शासक)लाई मात्र हुन्छ जो धर्मपरायण छ । यसरी लोकमा धर्मस्थापनाका लागि दण्डको निर्माण भएको स्पष्ट हुन्छ ।
राजाले दण्ड धारण गरेर प्रत्येक प्राणीलाई आफ्नो धर्मको पालनका लागि विवश गर्नुपर्दछ । यसका लागि राजाले आफूलाई सधै योग्य बनाइराख्नुपर्दछ । जनतालाई विश्वासमा पारेर धन लुट्ने, चाटुकार, तस्कर, जबरजस्ती लुट्ने लुटेरा र कायस्थ लेखक तथा गणक आदिबाट जनताको विशेष रक्षा गर्नु शासकको परं कर्तव्य हो । राजाले दण्डको प्रयोग गर्दा मनोमानी नगरेर दण्डनीतिलाई सर्वोपरि बनाउनुपर्दछ । दण्डनीति राजा आफैले नबनाएर ब्रह्मशक्तिलाई बनाउन दिनुपर्ने कुराको उल्लेख शास्त्रकारहरूले गरेका छन् ।
९.२. दण्डनीतिको निर्माता ब्रह्मशक्ति
राष्ट्रमा दण्डको समुचित प्रयोगका लागि दण्डनीति आवश्यक हुन्छ । जसको निर्माणका लागि राजाले ब्रह्मशक्तिको आश्रय लिनुपर्दछ भन्ने धर्मशास्त्रीय मान्यता छ । वैदिक सनातन हिन्दू परम्परामा ब्रह्मशक्ति रूपी निधि ब्राह्मण वर्गमा रहेकोले दण्डनीतिको निर्माण पनि यही ब्रह्मशक्तिबाट भएको देखिन्छ । राजालाई ब्रह्मशक्तिबाट निर्मित दण्डनीतिको समुचित प्रयोग गर्ने मात्र अधिकार रहेको छ । समाजमा कसैले स्वधर्म पालन गरेन तथा आफ्नो धर्मबाट विचलित भयो भने त्यसलाई दण्डित गरेर आफ्नो धर्म पालनका लागि विवश गर्नु राजाको कर्तव्य हो । यसरी क्षात्रशक्तिलाई ब्रह्मशक्तिले सदा निर्देेश गरेको देखिन्छ ।
ब्रह्मशक्तिबाट गरिएको पथप्रदर्शन अनुसार शासन गर्नु राजाको कर्तव्य र दायित्त्व पनि हो । त्यसैले मनुले भनेका छन्– जसरी ब्राह्मण रहित क्षत्रियले वृद्धि प्राप्त गर्न सक्दैन त्यसैगरी क्षत्रिय रहित ब्राह्मणले पनि वृद्धि प्राप्त गर्न सक्दैन । यसै कारणले गर्दा ब्राह्मण एवं क्षत्रियले एकले अर्कोलाई सहयोग गरेर यसलोक र परलोक दुबैमा वृद्धि प्राप्त गर्न सक्दछन् ।
यसरी मनुले क्षात्रशक्तिलाई ब्रह्मशक्तिको अधीनमा रहेर लोककल्याण गर्न निर्देश गरेको देखिन्छ । मनुका अनुसार राजा राज्यको सम्प्रभु नभएर सुव्यवस्था गर्ने व्यवस्थापक मात्र हो । यस विषयमा राजालाई स्वामित्वको अधिकारबाट निषेध गर्दै मनुले भनेका छन्–ब्राह्मण(ब्रह्मशक्ति) प्राणी मात्रको धर्मरूपी कोशको रक्षाको कारण रहेकाले ब्राह्मण(ब्रह्मशक्ति) सबैका स्वामी हुन् । तर दण्ड प्रयोगको क्षेत्रमा ब्राह्मण(ब्रह्मशक्ति) पनि राजाको अधीनमा रहन निर्देश गरिएको छ । यसै प्रसङ्गमा मनुले अगाडि भनेका छन्– ब्राह्मण धर्मको मूल हो भने राजा अग्रणि नेता हो ।
९.३. ब्रह्मशक्ति र क्षात्रशक्तिको समन्वय
श्रुति(वेद)स्मृति(धर्मशास्त्र)को ज्ञान ब्राह्मणका लागि अनिवार्य रहेको शास्त्रकारको निर्देश छ– किनभने श्रुति र स्मृति ब्राह्मणका दुईवटा आँखा हुन् । श्रुति र स्मृतिमध्ये एउटाको ज्ञान नभएको अवस्थामा कानो हुन्छ भने दुबै नभएको ब्राह्मण अन्धो हो । असती नपढेका ब्राह्मण भिक्षाटनका लागि कुनै गाउँमा जान्छन् भने त्यस्ता ब्राह्मणलाई भिक्षा समेत नदिनका लागि स्मृतिकारले निर्देश गरेका छन् । यदि कुनै गाउँले त्यस्ता ब्राह्मणलाई भिक्षा दिन्छ भने त्यो गाउँलाई नै दण्डित गर्न निर्देश पराशर र अत्रिले पनि दिएका छन् । शङ्खलिखितस्मृतिमा वृक्ष र त्यसको जराको सम्बन्ध जस्तै ब्राह्मण र राजाको सम्बन्ध भएको उल्लेख गर्दै भनिएको छ–वृक्षको माथिल्लो भाग राजा हो भने वृक्षको मूलभाग ब्राह्मण हुन् मूल नष्ट भएको अवस्थामा वृक्षको अग्रभाग रहन सक्दैन । यस्तै शङ्खलिखितले वृक्षको फल राजा हुन् भने फूल ब्राह्मण हुन् फूलबाट नै फल लाग्ने भएकाले फल लाग्नुभन्दा पहिल्यै फूल न निमोठ्न निर्देश गरेका छन् । तीन लोक, तीन वेद, तीन आश्रम र तीन अग्निको रक्षाका लागि ब्रह्माले ब्राह्मणको सृष्टि गरेका हुन् । यसर्थ राष्ट्रले विद्वान्हरूको यथोचित सम्मान गर्नुपर्दछ । जुन राष्ट्रमा विद्वान् पुग्नुपर्ने स्थानमा अविद्वान्लाई पु¥याइन्छ त्यो राष्टमा अनावृष्टि वा अन्य कुनै ठूलो आपत आइलाग्दछ भन्ने अत्रिको मत रहेको छ ।
धर्मशास्त्रमा वर्णित ब्रह्मशक्ति र क्षात्रशक्तिको सामञ्जस्य एवं ब्रह्मशक्तिको अधीनमा क्षात्र शक्ति रहेको अवस्थामा प्राणीमात्रको कल्याण हुन्छ भन्ने कुराको ज्ञान धर्मशास्त्रीय वाङ्मयको अध्ययनबाट हुन्छ । यो सिद्धान्तको स्थापना यजुर्वेदमा पनि गरिएको छ । यजुर्वेदमा त्यो राष्ट्रलाई सर्वसुख सम्पन्न मानिएको छ जहाँ ब्रह्मशक्ति र क्षात्रशक्ति दुबै एक–अर्कोसँग मिलेर विचरण गर्दछन् तथा जहाँ विद्वान्(ब्राह्मण) अग्र नायकलाई सहयोग गर्दछन् त्यो राष्ट्रलाई मैले पुण्य(सर्व सुख सम्पन्न) सम्झन्छु । यसकारण राजा आफ्नो कर्तव्य पालनका लागि ब्रह्मशक्तिको अधीनमा रहनुपर्दछ । ब्रह्मशक्तिद्वारा धर्मको जुन व्याख्या गरिन्छ त्यसैको सीमामा रहेर राजालाई दण्डको सम्यक प्रयोग गर्न निर्देश शास्त्रकारले गरेका छन् । यही कारणले धर्मशास्त्रीय परम्परामा आदर्श राजाको परिकल्पना गरिएको छ र उसको राजपद स्वच्छन्द होइन कतिपय प्रतिबन्धले प्रतिबन्धित भएका कारण सीमित अधिकारले युक्त रहेको छ ।
१०. राजप्रतिनिधि
कार्य व्यस्तताका कारण शासका(राज स्वयंले व्यवहार हेर्न नभ्याएमा सभासद्हरूका साथ सम्पूर्ण धर्म जानेको ब्राह्मणलाई नियुक्त गर्नुपर्ने कुराको उल्लेख योगीश्वर याज्ञवल्क्यले गरेका छन् । वेदधर्म जानेका त्रिवेदी चारजनाको परिषद् वा अथवा अध्यात्मलाई जानेको एउटा भए पनि जे बोल्दछ त्यही नै धर्म हो भन्ने याज्ञवल्क्यको वचन छ । शासकले धर्मशास्त्रअनुसार क्रोध र लोभले विवर्जित भएर विद्वान् ब्राह्मणहरूका साथ व्यवहारहरू हेर्न निर्देश योगीश्वर याज्ञवल्क्यले गरेका छन् । मन्त्री र ब्राह्मणहरूको सल्लाहको आधारमा आफ्नो बुद्धि र विवेक प्रयोग गरेर राजाले राज्यव्यवस्था सञ्चालन गर्नुपर्दछ ।
मन, वचन र कर्मले यत्नपूर्वक धर्मको आचरण गर्न, जुन धर्म स्वर्गका लागि बाधक र लोक निन्दित छ त्यो त्याग्नका लागि निर्देश पनि योगीश्वर याज्ञवल्क्यले गरेका छन् । वेदविद्यामा पारङ्गत चार वा तीन होऊन् तिनीहरू जे बोल्दछन् त्यो धर्म हो तर अन्य हजार नै किन नहोऊन् उनीहरूले बोलेको धर्म हुनसक्दैन भन्ने कुरालाई मनन गर्दै जसले मन्त्र जानेको छैन, जो व्रती छैनन्, जसले आफ्नो वर्णोचित कर्म गर्दैनन् त्यस्ता हजार नै किन नहोऊन् तिनीहरूको परिषद् बन्न सक्दैन भन्ने वसिष्ठको मतलाई दृष्टिगत गरी त्यस्ता व्यक्तिहरूलाई राजकाजका कुनै पनि कार्यमा लगाउनुहुँदैन भन्ने शास्त्रको निर्देश छ ।
१०.१. सभासद र सभासदको योग्यता
वेदाध्ययनले सम्पन्न, धर्म जानेका, सत्यवादी जसका लागि शत्रु र मित्र समान रहेका छन् यस्तालाई शासकले सभासद बनाउनुपर्दछ । चारै वर्णका लागि आचार नै धर्मको पालक हो, आचार भ्रष्ट धर्मबाट टाढा रहने भएको हुनाले आचारले युक्त व्यक्तिलाई मात्र राजकाजमा सङ्लग्न गराउन निर्देश शास्त्रकारहरूले गरेका छन् । त्यस्ता सभासदहरू स्थीर, प्राज्ञ, दृढ, द्विजोत्तम, धर्मशास्त्र जानेका र अर्थशास्त्रमा विशारद पनि हुनुपर्दछ भन्ने कुराको उल्लेख कात्यायनले गरेका छन् ।
१०.२. मन्त्रिपरिषद्
धर्मशास्त्रमा ब्राह्मणलाई ब्रह्माको ज्येष्ठ एवं श्रेष्ठ पुत्र मानिएको छ । मनुले पनि ब्राह्मणलाई ब्रह्माको उत्तम अङ्गबाट उत्पन्न भएका कारण तथा ब्रह्माको जेठो पुत्र भएका कारण यो जगत्को स्वामी भएको कुरा उल्लेख गरेका छन् । मनुले भनेका छन्– यो जगत्मा जे छ त्यो सबै ब्राह्मणकै हो । ब्रह्माको श्रेष्ठ अङ्गबाट उत्पन्न भएका कारण ब्राह्मण सबै ग्रहण गर्ने अधिकारी हो । ब्राह्मण उत्पन्न हुँदै यो पृथिवीमा श्रेष्ठ हुन्छ किनभने विश्वका समस्त प्राणिहरूको धर्म रूपी कोशको रक्षकको रूपमा ब्रह्माले ब्राह्मणलाई नै नियुक्त गरेका हुन् । यसरी मनुले यो जगत्मा ब्राह्मणलाई यो जगत्को शासन गर्ने अधिकार प्राप्त भएको उल्लेख गर्दै ब्राह्मण धर्मसम्बन्धी विशेष ज्ञान प्राप्त गरेका कारण तथा तदनुसार आचरण गर्नका लागि क्रियाशील भएका कारण आफूभन्दा कान्छो भाई क्षत्रियलाई शासनको भार सुम्पेर त्यसको रेख–देख गर्ने कार्यको जिम्मेवारी आफूले लिएको देखिन्छ । यसरी ब्राह्मण भएका कारण ब्राह्मणको कर्तव्य क्षत्रिय तथा प्राणीमात्रलाई विभिन्न धर्मको वोध गराउनु रहेको छ भने दतनुसार आचरण धारण गर्नका लागि विवश गर्नु क्षत्रियको कत्र्तव्य हुन आउँछ । यसरी ब्राह्मण र क्षत्रिय एक–अर्काका परिपूरक रहेको देखिन्छ । यसैले ब्राह्मण र क्षत्रियले पारस्परिक सहयोग र आश्रय लिएर वृद्धि प्राप्त गर्दछन् भन्ने मनुको धारणा छ ।
राजाले धर्मानुरूप राज्यव्यवस्था सञ्चालन गर्नका लागि उसमा राजकाजसम्बन्धी आवश्यक ज्ञान चाहिन्छ । कुन कार्य धम्र्य हो र कुन अधम्र्य हो भन्ने सबै कुराको ज्ञान राजामा नहुन पनि सक्दछ । यस्तो विषयमा सम्यक् ज्ञान ब्राह्मण(ब्रह्मशक्ति)ले मात्र राजालाई गराउन सक्दछ । यसर्थ राजाले आफ्नो कर्तव्यको पालनका लागि ब्राह्मणबाट परामर्श लिनु शास्त्रानुसार अनिवार्य हुन्छ । यही सिद्धान्तको आधारमा राजाले राज्यव्यवस्थामा सुशासन स्थापनाका लागि ब्राह्मण मन्त्री राख्नु आवश्यक देखिन्छ । मनुले ब्राह्मण मन्त्रीले दिएको मन्त्रणा अनुसार राजाले कार्य गर्नुपर्ने निर्देश गरेका छन् । त्रयी विद्या(ऋग्यजुसाम)का ज्ञाता ब्राह्मणको उपासना प्रातः उठेर राजाले गर्नुपर्दछ र उनको शासन मान्नुपर्दछ यस्तो आदेश मनुले राजालाई दिएका छन् ।
मनुको कथन छ– सजिलो कार्य भए पनि एक्लो मनुष्यले गर्न सक्दैन भने एक्लो राजाले कसैको सहायता विना महान् फल प्राप्त हुने राज्यसम्बन्धी कर्तव्यलाई गर्न सक्दैन । यही कुरा शुक्रले पनि उल्लेख गरेका छन् । यसकारण राज्यको विधिवत् सञ्चालनका लागि राजाले अनेक पुरुषको सहायता लिनु आवश्यक हुन्छ । अर्को कुरा एउटा व्यक्ति सबै कुरामा परिपूर्ण हुन सक्दैन । चाहे राजा सर्वविद्या सम्पन्न र मन्त्रणाका लागि पनि योग्य होस् तथापि मन्त्रीहरू विना एक्लै कुनै पनि मन्त्रणाका सम्बन्धमा विचार नगरोस् भन्ने शुक्रको मत रहेको छ ।
भिन्न–भिन्न प्रकारका व्यक्तिमा भिन्न–भिन्न प्रकारको बुद्धि एवं वैभव देखिन्छ । यसकारण राज्यसम्बन्धी कार्य सञ्चालन गर्ने कार्यमा राजाले एउटा व्यक्तिबाट मात्र परामर्श लिनु उपयुक्त देखिदैन यसर्थ राजाले राज्यव्यवस्थासम्बन्धी मन्त्रणाका लागि विभिन्न विषयका विशेषज्ञहरूको सहायता लिनु आवश्यक देखिन्छ । यसर्थ राजाले भिन्न–भिन्न क्षेत्रका विशेषज्ञहरूलाई चयन गरेर मन्त्रिपरिषद्को निर्माण गर्नुपर्ने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ ।
१०.३. मन्त्रीको योग्यता, नियुक्ति र सङ्ख्या
शासकले यस्ता मन्त्रीहरू बनाउनुपर्दछ जो हिताहितविवेक कुशल, वंशपरम्पराबाट आएका, हर्षबाट न मात्तिने र विषादबाट नआत्तिने होऊन् । त्यस्ता किसिमका मन्त्री राजाले मन्त्रिपरिषद्मा कति जना राख्ने भन्ने कुराका सम्बन्धमा सबै स्मृतिकारहरूको एकै खालको धारणा पाइदैन । मनुले एक प्रसङ्गमा सात वा आठजना मन्त्रीहरू नियुक्त गर्न निर्देश गरेका छन् भने एक अर्को प्रसङ्गमा राजाले आलस्य रहित, चतुर, बुद्धिमान् त्यति मन्त्रीहरू नियुक्त गर्नु पर्दछ जसको माध्यमद्वारा शासनकार्य विधिवत् रूपमा सञ्चालन हुन सकोस् ।
यही विषयमा कौटिल्यले भनेका छन्– मनुका अनुयायीहरूले १२ जना मन्त्रीहरूको मन्त्रिपरिपद् बनाउन भनेका छन् भने बृहस्पतिका अनुयायीहरूले सोह्र, शुक्राचार्यका अनुयायीहरूले बीस जना हुनुपर्ने बताएका छन् भने आफ्नो मतमा आवश्यकता अनुसार मन्त्रीहरूको सङ्ख्या हुनुपर्दछ । यसरी देश, काल परिस्थिति अनुसार मन्त्रीहरूको सङ्ख्या निर्धारण गरिन सकिने कुराको उल्लेख विभिन्न राजशास्त्रसम्बन्धी ग्रन्थहरूमा भएको देखिन्छ ।
१०.४. पुरोहितको नियुक्ति
१०.५. राजदूतको नियुक्ति
शासकले यस्ता दूत नियुक्त गर्नुपर्दछ जो सम्पूर्ण शास्त्र जानेका, हावभावबाट सबै कुरा बुझ्ने, पवित्र, दक्ष र कुलीन छन् ।
१०.६. असहायको बल राजा(शासक)
विद्वान्, विधवा, बालक, अल्पसंख्यक जातिहरूको बल भनेको शासक भएकाले तिनीहरूको यत्नपूर्वक रक्षा गर्नु शासकको कर्तव्य हो । अनाथको नाथ, रक्षा गर्ने व्यक्ति(पति) नभएका नारीको रक्षक, खान नपाउनेहरूको पोषक एवं यस्ता व्यक्तिहरूको साथी पनि शासक नै हो । देशमा जे जस्ता असहायहरू छन् ती सबैको बल शासक भएकाले राजा(शासक)ले यत्नपूर्वक रक्षा गर्नुपर्दछ ।
१०.७. घुस खानेलाई देश निकाला र विद्वान्लाई सम्मान
शासकले घुस खानेहरूको पहिचान गरी सर्वस्वहरण गरेर देश निकाला गर्नुपर्दछ भने विद्वान् श्रोत्रियहरूलाई दान, मान र सत्कारका साथ देशमा बस्ने व्यवस्था मिलाइदिनुपर्दछ् ।
११. वृद्धहरूको सेवा
राजा(शासक)ले शुद्ध हृदयले युक्त वेद जानेका वृद्ध ब्राह्मणहरूको सेवा सधै गरिरहनुपर्दछ । किनभने वृद्धहरूको सेवा गर्ने मनुष्य राक्षसहरूद्वारा पनि सदाकाल पूजित तथा सम्मानीत हुन्छ । त्यसैले नारदले भनेका छन्–त्यो सभा सभा होइन, जहाँ वृद्धहरू छैनन् र ती वृद्ध वृद्ध होइनन् जसले धर्म बोल्दैनन् । मनुले कपाल फुल्दैमा कोही बूढो मान्न सकिदैन, युवा हुँदा हुँदै पनि जो वेदाध्ययनले सम्पन्न छ, त्यसलाई देवताले वृद्ध मानेको कुरा उल्लेख गरेका छन् ।
११.१. वृद्ध, बालक, नारी र रोगी आधा प्रायश्चित्तका भागी
असीवर्ष पुगेको र सोह्रवर्ष ननाघेकालाई प्रायश्चित्त गराउँदा अन्य मानिसलाई लाग्ने प्रायश्चित्तको आधा प्रायश्चित्त गराउन शास्त्रले निर्देश गरेको छ । यस्तै नारी र रोगीका लागि पनि आधा प्रायश्चित्तको व्यवस्था गरिएको छ ।
१२. दुईगुणा दण्डित गर्नुपर्ने अवस्था
हाम्रा शास्त्रकारहरूले दोषीलाई मात्र दण्डित गर्न निर्देश गरेका छैनन् । जुन न्यायाधिकारीले जो अपराधी तथा दोषी हैनन् उनीहरूलाई दोषी तथा अपराधी बनाएर जसले अपराध गरेका छन् तथा जो दोशी छन् । त्यस्ता व्यक्तिलाई निर्दोष बनाएको अवस्थामा अपराधीलाई अपराध गरे वापत लाग्ने दण्डको दुईगुणा दण्डले दण्डित गर्न निर्देश गरेका छन् । राग, लोभ, भय आदिका कारण जसले स्मृति विरुद्ध निर्णय दिन्छ त्यस्ता सभासद्हरूलाई पराजय निमित्त पाउने दण्डको दुई गुणा दण्ड दिनुपर्ने कुराको उल्लेख योगीश्वर याज्ञवल्क्यले गरेका छन् । यसरी दण्डित हुने व्यक्ति त दण्डित हुन्छ नै । जुन न्यायाधिकारीले दण्डितलाई दण्ड नदिएर निर्दोषलाई दण्ड गरेको अवस्थामा त्यस्तालाई दुईगुणा दण्ड गर्नुपर्ने व्यवस्था गरेर न्यायाधिकारीलाई पनि सचेत हुन निर्देश गरेको देखिन्छ ।
१३. राज्यबाट रक्षित देश
जुन देशमा पुरुष बिना नारीहरू सबै किसिमका गहना लगाएर निःसंकोच हिड्न सक्दछन् त्यो देश राज्यबाट रक्षित छ भन्ने बुझ्नु पर्दछ ।
१४.करसम्बन्धी धर्मशास्त्रीय व्यवस्था
धर्मशास्त्रीय वाङ्मयको अनुशीलन गर्दै जाँदा राज्यले जनताबाट कर लिने अवधारणा वैदिककालदेखि हुँदै आएको देखिन्छ । त्यो समयमा अपनाइएको करसम्बन्धी व्यवस्थाालाई हेर्दा आधुनिक अर्थशास्त्रीहरू पनि आश्चर्य चकित हुन्छन् । आधुनिक इतिहासकारहरूका अनुसार यी धर्मसूत्रहरूको काल ई.पू. सातौं शताब्दीदेखि ई.पू द्वितीय शताब्दीसम्म मानिन्छ । आपस्तम्बकै समयमा राज्यव्यवस्थासम्बन्धी नियमहरू अत्यन्त समावेशी देखिन्छन् । जसको उदाहरणको रूपमा तत्कालीन समयमा भएको करसम्बन्धी व्यवस्थालाई लिन सकिन्छ । आपस्तम्बधर्मसूत्रका अनुसार श्रोत्रियलाई कर लाग्दैन । सबै वर्णका नारीहरूलाई कर लाग्दैन ।
बालकहरू जसको दाह्रीजुँगा आएको छैन तिनीहरूलाई कर लाग्दैन । विद्यार्जनका लागि गुरुकूलमा बसेका विद्यार्थीहरूका लागि पनि कर लाग्दैन । धर्मार्थका लागि तपस्यामा बसेकाहरू पनि करमुक्त हुन्छन् । ती शूद्रहरू पनि कर मुक्त हुन्छन् जो ब्राह्मणादि तीन वर्णको सेवामा रहेका छन् । अन्धा, लाटा, बहिरा र दीर्घरोगीहरू पनि कर मुक्त हुन्छन् । ती सन्यासीहरू जसले द्रव्यपरिग्रह व्यर्थ ठान्दछन् त्यस्ता पनि करमुक्त हुन्छन् । आजभन्दा करिव २६ सय वर्षअघि सामाजिक सुरक्षाको क्षेत्रमा हाम्रा ती पूर्वजहरूले अवलम्बन गरेको त्यो व्यवस्था अहिलेको व्यवस्थाभन्दा धेरै तथा कैयौं गुणा माथि देखिन्छ । जसको तुलना वर्तमान राज्यव्यवस्थासँग हुनै सक्दैन ।
१५. साधारणधर्म
साधारणधर्म भनेको मानवजातिले अपनाउनुपर्ने धर्म हो । यो धर्म सार्वभौमिक रहेको छ अर्थात् सबै देशका सबै मानव जातिका लागि मान्य रहेको छ । जब व्यक्तिले धर्मको उल्लङ्घन गर्दछ समाज नष्ट हुन्छ, जब धर्मको रक्षा हुन्छ धर्मले समाजको रक्षा गर्दछ । यदि हामीले धर्मलाई नष्ट गर्दछौं भने धर्मले हामीलाई नष्ट गर्दछ । मनुले धारणा, क्षमा, इन्द्रियहरूको दमन, चोरी नगर्नु, पवित्रता, इन्द्रियहरूको निग्रह, धैर्य, विद्या, सत्य र अक्रोध गरी धर्मका दश लक्षण बताएका छन् ।
यी सबै साधारण धर्म हुन् र यी धर्म सबैले समान रूपले पालन गर्नुपर्दछ । यसैगरी मनुले अन्य एक स्थानमा अहिंसा(अन्यलाई कुनै प्रकारको दुःख तथा कष्ट नदिनु), सत्य, अस्तेय(न सोधिकन कुनै प्रकारको वस्तु नलिनु) पवित्रता(आन्तरिक तथा मानसिक र शारीरिक पवित्रता) र इन्द्रियनिग्रह(इन्द्रियहरूलाई तिनीहरूको विषयहरूबाट रोक्नु) लाई चारै वर्णको धर्म मानेका छन् ।
मनुले एक अर्को स्थानमा भनेका छन्– मानिस मरिसकेपछि न माता, न पिता, न पत्नी, न छोराछोरी, परलोकमा साथ दिन्छन् केवल धर्म र सदाचारले नै उसलाई साथ दिन्छन् । दाजुभाई तथा इष्टमित्रहरू त केवल मसानघाटसम्म पुग्छन् र काठ दाउरालाई छोडेजस्तै छोेडेर फर्कन्छन् मृतकको साथमा त केवल धर्ममात्र जान्छ । यति मात्र होइन जुन कर्म गर्नाले अन्तरात्मा खुसी हुन्छ त्यही कर्म गर्नका लागि मनुले अभिप्रेरित गरेका छन् । रामायणका अनुसार चरित्र नै सर्वोत्कृष्ट धर्म हो त्यसैले चरित्रवान् रामलाई धर्मको मूर्त रूपमा लिइएको छ ।
यही चरित्रद्वारा नै संयम, इन्द्रियहरूको नियन्त्रण र कर्तव्यपालनसम्बन्धी भावनाको विकास हुन्छ । अरुका प्रति आफ्नो दायित्वबोध गर्नु, लोकजीवनको मर्यादाको रक्षा गर्नु, समाजमा सुव्यवस्था कायम गर्ने कार्यमा योगदान पु¥याउनु नै धर्म हो भन्ने भावनाको विकास रामायणले गराएको छ । यसैगरी महाभारत पनि लोकधर्मका निमित्त अमूल्य ग्रन्थ हो । लोक धर्मका सम्बन्धमा महाभारतमा भनिएको छ– क्रोध नगर्नु, सत्य बोल्नु, न्यायप्रियता, आफ्नी विवाहिता पत्नीमा सन्तान उत्पादन गर्नु, सदाचारमा रहनु, व्यर्थको झगडाबाट टाढा रहनु, सरलता तथा सेवक तथा आश्रितहरूको पालन–पोषण गर्नु चारै वर्णका व्यक्तिहरूको कर्तव्य हो । महाभारतमा यो पनि भनिएको छ अरुका साथ त्यस्तो व्यवहार न गर्नु जुन व्यवहार आफ्ना लागि अनुकूल हुँदैन ।
यी सबै साधारण धर्म हुन् र यी धर्मको अभ्यासमा सबै मानवजाति क्रियाशील हुनुपर्दछ । अन्यथा व्यक्ति–व्यक्तिबीच, समाज–समाजबीच र राष्ट्र–राष्ट्रबीच वैमनस्यता भइनै रहन्छ । सबै मानवजातिका लागि उपयुक्त यी साधारणधर्मलाई संसारमा रहेका सबै मानव समुदायले आत्मसात गर्ने हो भनें सबै प्रकारका विद्वेष, वैमनस्य, हिंसा, अन्याय, चोरी आदि जे जति अपराध तथा पापहरू छन् लोप भई सर्वत्र सुख–समृद्धि फैलिनुको साथै संसारमा भइरहेको धार्मिक विद्वेष, वैमनस्य, फूट आदिको अन्त्य भई सबैतर्फ शान्ति फैलिने थियो । यी साधारण धर्मलाई सर्वोपरि ठानेको खण्डमा अनेकताका बीच एकता कायम भई संसारका सबै प्राणीहरू एउटै ईश्वरका सन्तान हौं भन्ने भावना फैलिई विश्वमानव जगतलाई एकताको सूत्रमा बाध्नका लागि महत्त्वपूर्ण योगदान मिल्नसक्दछ ।
अरूको दुःखलाई आफ्नो दुःख संझेर अरूको सुखलाई आफ्नो सुख संझी अगाडि बढेको खण्डमा निश्चय पनि विश्ववन्धुत्वको भावना फैलिन्छ । योगीश्वर याज्ञवल्क्यले आश्रम धर्मको कारण होइन, जे गरिन्छ त्यो नै धर्म हो र जुन कुरा अरूले गर्दा आफूलाई नराम्रो लाग्दछ आफूले अरूका लागि गर्दा पनि दुःख लाग्ने भएको हुनाले त्यस्तो किसिमको आचरण कसैले कसैका लागि पनि गर्नुहुँदैन भनेका छन् । मन, वचन र शरीरले कुनै पनि प्राणीलाई कुनै किसिमको कष्ट नदिनु अहिंसा, सत्य बोल्नु, अन्यायबाट अरुको धनपैसा न लिनु, पवित्रता र इन्द्रियहरूको निग्रह यी साधारण धर्म हुन् र यी साधारण धर्म मनुले सबै वर्णका लागि विधान गरेका हुन् । सबै वर्णका लागि विधान गरिएका यी साधारण धर्मलाई महर्षि पतञ्जलीले योगका आठ अंगमध्येको एक ‘यम’ अन्तर्गत राखेका छन् । जसरी योगानुष्ठान विश्वव्यापी र सार्वजनीन रहेको छ त्यसैगरी धर्म पनि विश्वव्यापी र सार्वजनीन छ ।
योगका विभिन्न अङ्गहरूको अनुष्ठानबाट अपवित्रताको नाश भई अन्तरहृदयदेखि ज्ञान प्रदीप्त हुन्छ जसका कारण मानिसमा विवेकको आविर्भाव हुन्छ । योगसूत्रमा बताएको लक्ष्यमा पुग्नका लागि पहिले शरीर र मनलाई संयमित गर्नु आवश्यक हुन्छ तब मात्र हामीले त्यो लक्ष्य हासिल गर्न सक्दछौं । त्यो लक्ष्य प्राप्तिको लागि विभिन्न साधन आवश्यक हुन्छन् । ती साधन भनेका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ प्रकारका रहेका छन् जसलाई ‘अष्टांग योग’ पनि भनिन्छ । यी अष्टांग योग जाति, देश, काल र समयमा नबाँधिएका हुनाले यिनहरूलाई सार्वभौम महाव्रत पनि भनिन्छ ।
योगसँग सम्बद्ध यी कुराहरूलाई अन्य कुनै प्रसङ्गमा चर्चा गरौंला । जब धर्मको वृद्धि हुन्छ समाजमा उन्नति हुन्छ, जब अधर्मको वृद्धि हुन्छ समाजको पतन हुन्छ । धर्मको कारण नै विश्व जीवित रहेको छ किनभने धर्मका कारण सबै वर्णका व्यक्तिले आ–आफ्नो कर्तव्य पालन गरेका हुन्छन् । जब व्यक्तिले धर्म पालन गर्दैन समाजमा अव्यवस्था फैलिन्छ । यसरी धर्मशास्त्रीय ग्रन्थहरूमा मनुष्यको कर्तव्यलाई जोड दिइएको छ । यदि प्रत्येक मानिसले आ–आफ्नो कर्तव्य पूरा गर्दछ भने व्यक्तिलाई ऐहिक एवं पारलौकिक सुख मिल्दछ भने समाजमा सुव्यवस्था स्थापित हुन्छ ।
१६. निष्कर्ष
वैदिक सनातन हिन्दू परम्परामा राजनीतिलाई धर्मबाट अलग गरिएको देखिदैन । स्मृतिशास्त्रमा उल्लेखित छवटा स्मार्तधर्ममध्ये राजनीतिलाई गुणधर्म अन्तर्गत राखिएको देखिन्छ । स्मृतिशास्त्र वेदमा आश्रित हुँदा हुँदै समकालीन लोकाचार एवं सामाजिक मर्यादालाई पनि स्मृतिले सुव्यवस्थित गरेको देखिन्छ । जसले गर्दा एकातिर स्मृतिशास्त्रमा लोकपरम्परा तथा सामाजिक रीति–रिवाज, आचार–व्यवहारको समन्वय पाइन्छ भने अर्कोतिर श्रुतिपरम्पराको परम्परा पनि जीवित देखिन्छ । तत्त्ववेत्ता ऋषिमहर्षिहरू जसले वेदविरुद्ध नहुने गरी समाजलाई नियमन गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । देश, काल र परिस्थितिअनुसार समाजलाई व्यवस्थित गर्नु तात्कालीक समाजनियन्ताहरूका लागि ठूलो समस्या देखिए तापनि त्यसको समाधानका लागि स्मृतिकारहरूले मानवकल्याणको भावनालाई सर्वोपरि राखेर सत्यमा आधारित नैतिक विधानको परिकल्पना गरे जसले गर्दा तत्कालीन समयमा समाजव्यवस्था सुव्यवस्थित र सुदृढ थियो ।
भारतवर्षमा प्राचीनकालदेखि नै श्रुतिस्मृति निर्देशित न्याय व्यवस्थाको प्रधानता थियो भन्ने कुरामा कसैको दुईमत छैन । तथापि मानिस काम, क्रोध, लोभ एवं मोहका कारण वशीभूत भएर धर्मको उल्लङ्घन तथा व्यक्तिहरूलाई हानि पु¥याउने गरेका कारण यदा–कदा समाजमा कलह तथा द्वेष भावनाको सिर्जना भएको देखिन्छ । त्यही कलह तथा द्वेष भावनालाई रोक्नका लागि नै श्रुति तथा स्मृति निर्देशित न्यायव्यवस्थाको विधान गरिएको हो । प्राचीनकालमा राजालाई न्यायको स्रोत मानिन्थ्यो तसर्थ निष्पक्ष न्यायका साथ अपराधीलाई दण्ड दिनु राजाको प्रमुख कर्तव्य थियो । जसले गर्दा न्यायव्यवस्थालाई चुस्त र दुरुस्त राख्नका लागि व्यवस्थित न्यायालय प्रणाली थियो । यसरी न्यायको व्यवस्थापन गर्दा निश्चित कार्यविधिको अनुसरण गरिन्थ्यो । जसअनुसार अपराधीलाई अपराध अनुसार दण्डको व्यवस्था गरिन्थ्यो । धर्मको रक्षा गर्ने दायित्त्व पूर्णतया राजाको हुन्थ्यो जसका लागि राजाले यथोचित दण्डको व्यवस्था गर्नुपर्दथ्यो ।
राजाको महत्त्व त्यतिवेला मात्र सार्थक हुन्थ्यो जतिबेला राजाले लोकरक्षण, प्रजानुरञ्जन गर्दथ्यो । यसका लागि राजाले धर्मको नियमहरू एवं आदर्शहरूको परिपालन गर्नुपर्दथ्यो जसका कारण ऊ शक्तिसम्पन्न बन्दथे । राजा ब्राह्मणहरू बाहेक अरू सबैको शासक तथा स्वामी हुन्थे भन्ने कुरा श्रुति तथा स्मृतिको अनुशीलनबाट स्पष्ट हुन आउँछ । गुणवान् राजाको सिंहासन विद्वान् ब्राह्मण बाहेक अन्य सबैको भन्दा उच्च हुन्थ्यो । विद्वान् बाह्मणद्वारा पनि राजा आशीर्वाद आदिबाट सम्माननीय हुन्थे । स्मृतिकारहरूले गुणवान् राजाको प्रशंसा गरेका छन् । स्मृतिकारका अनुसार राजा शास्त्रानुकूल आचरण गर्ने, सत्य एवं निष्पक्ष बोल्ने हुनुपर्दछ । राजा वेदका साथ आन्विक्षिकी आदि शास्त्रको पनि ज्ञाता हुनुपर्दछ ।
राजाले यी विद्याहरूको अध्ययन नियमपूर्वक गुरुहरूबाट लिएको हुनुपर्दछ । जसले गर्दा राजा मन एवं शरीरले पनि पवित्र होस् । सबै प्रकारका वर्णाश्रमधर्मको रक्षा, प्रजा एवं राज्यमाथि हुनसक्ने वाह्य एवं आन्तरिक आपत्तिबाट बचाउनु, प्रजाहितका लागि प्रशासनिक कार्य, देशमा अपराध हुन नदिनु नै राजाको परं कर्तव्य हो । यदि अपराध भइहाल्यो भने अपराधीलाई समुचित दण्डको व्यवस्था गर्नु, आर्थिक व्यवस्थाका साथै प्रजाको सम्पत्तिको सुरक्षा एवं नियमपूर्वक करग्रहण गर्नु, प्रजाको आध्यात्मिक उन्नतिका लागि प्रोत्साहित गर्नु लगायतका कर्म गर्नु राजाको प्रमुख कर्तव्य एवं दायित्त्व थियो । राज्यको शासनव्यवस्थामा पुरोहितको महत्त्वपूर्ण स्थान रहेको थियो । वास्तवमा पुरोहित एक प्रकारको मूर्तिमान संविधानको रूप थियो जुन धार्मिक, राजनीतिक, सामाजिक एवं आर्थिक विषयको विवादको विषयमा विश्वसनीय प्रमाण हुन्थ्यो ।
राजाले सबै प्रकारका विवादमा पुरोहितको राय लिनुको साथै समृद्धि एवं देशमा सुखशान्तिका लागि पुरोहितले बताएका उपायहरू कार्यान्वयन गर्दथे । यसरी महत्त्वपूर्ण उत्तरदायित्त्व निर्वाह गर्ने पुरोहित सबै विषयको ज्ञाता, विद्वान्, व्यवहारकुशल, सदाचारी र सर्वगुणसम्पन्न हुुनुपर्दथ्यो । तथापि न्यायव्यवस्थाको सर्वोच्च अधिकारी राजा नै हुन्थ्यो । न्यायपूर्वक दण्ड दिनु राजाको प्रधान कर्तव्य हो । राजाका लागि न्याय र अन्यायका बीच संसय भएको अवस्थामा तथा स्वयं निर्णय गर्नं कठिन भएको अवस्थामा वेदविद्यामा निपुण विद्वान्हरूको परामर्श लिएर निर्णय गर्नका लागि स्मृतिकारहरूले राजालाई निर्देश गरेका छन् ।
यसरी स्मृतिकारहरूले समाजलाई सदा अप्रदूषित तथा सदाचारी बनाउनका लागि विभिन्न दण्डविधानको व्यवस्था गरेको पाइन्छ जसको माध्यमबाट समाज सुसङ्गठित ढङ्गले व्यवस्थित बन्दछ भन्ने स्मृतिकारको धारणा रहेको छ । समाजका प्रत्येक वर्गका प्रत्येक व्यक्तिको व्यवहार एवं आचरण पवित्र, नैतिक तथा नियमानुकूल धार्मिकताले पूर्ण रहेको अवस्थामा मात्र समाज सुव्यवस्थित बन्दछ भन्ने स्मृतिकारहरूको दृढविश्वास छ । स्मृतिकारहरूले तत्कालीन व्यवस्थालाई सुदृढ गर्नका लागि बनाएका नियमहरू वर्तमान न्यायव्यवस्थाको सुदृढीकरणका लागि पनि मार्गदर्शक बन्ने निश्चित छ । तपोपूत ऋषिमहर्षिहरूको हजारौं हजारवर्षको तपस्याको फलको रूपमा रहेका स्मृतिशास्त्रमा निर्देशित विषयवस्तुलाई समयोचित परिमार्जनका साथ उपयोग गर्नु आजको आवश्यकता हो ।
सन्दर्भग्रन्थसूची
अथर्ववेद. (सन् १९८५). जयदेव शम्र्मा (भाष्यकार). अजमेर ः आर्य साहित्य मण्डल ।
अमरसिंह, अमरकोश. (सन् १९९५). द्वितीय संस्करण. भानुजिदीक्षित रामाश्रमी व्याख्या. संस्कर्ता शिवदत्तदाधिमथ. वासुदेव लक्ष्मणशास्त्री (संशोधक). वाराणसी ः चौखम्बा संस्कृत प्रतिष्ठान ।
अष्टादशस्मृति .(वि.सं. १९६९). श्यामसुन्दरलाल त्रिपाठी (अनु.). बम्बै ः खेमराज श्रीकृष्णदास ।
ऋक्संहिता. (सन् १९२९). स्कन्दस्वामी (भाष्यकार). वाराणसी ः राजकीय मुद्रणयन्त्रालय ।
कणाद, वैशेषिकसूत्रम्. (वि.सं.२०४१).षडदर्शनसूत्रसंग्रह. द्वारिकादास शास्त्री (सम्पा.). वाराणसी ः सुधीप्रकाशनम् ।
काणे, पाण्डुरंग वामन (सन् १९९२). चतुर्थ संस्करण, धर्मंशास्त्र का इतिहास. अनुवादक, अर्जुन चौवे काश्यप, उत्तरप्रदेश ः हिन्दी संस्थान ।
कात्यायन, (वि.सं.२०२९). द्वितीयसंस्करणम् कात्यायनश्रौतसूत्रम्.चौखम्बा संस्कृत सीरीज वाराणसी ।
कालिदास, (सन् १९२५). नवमं संस्करणम् , रघुवंशम्. (मल्लिनाथकृतसंंजीवनीसमेतम्) (काशीनाथ पाण्डुरङ्ग परब वासुदेव लक्ष्मणशास्त्री पणशीकर इत्येताभ्यां संशोधितम्) पाण्डुरङ्ग जावजी मुम्बय्याम् ।
कौटिल्य, अर्थशास्त्रम्. (सन् १९२४). (गणपतिशास्त्रिणा विरचितया श्रीमूलाख्यया व्याख्यया समुपेतम्) वाराणसी ः राजकीय मुद्रणालय ।
खनाल, डा.वासुदेव (वि.सं.२०७८) अष्टादशविद्या, श्रीमती शारदा खनाल, तारकेश्वर–४ काठमाडौं ।
खनाल, डा.वासुदेव (वि.सं.२०७६) स्मृतिवाङ्मय(धर्मशास्त्र) विद्यार्थी पुस्तक भण्डार, कमलपोखरी÷भोटाहिटी, काठमाडौं ।
गैरोला, वाचस्पति (वि.सं.२०१७). संस्कृत साहित्य का इतिहास. वाराणसी– १ ः चौखम्बा विद्याभवन ।
नारद, (वि.संं२०७८ ). नारदस्मृति. सम्पादक÷अनुवादक डा.वासुदेव खनाल. विद्यार्थी पुस्तक भण्डार, काठमाडौ ।
पराशर, (वि.सं. २०७८). पराशरस्मृति. सम्पादक÷अनुवादक डा.वासुदेव खनाल प्रकाशिका शारदा खनाल, काठमाडौ ।
पारस्कर, (सन् १९८०). पारस्करगृहसूत्रम्. टीकाकार हरिहर, वाराणसी ः चौखम्बा अमरभारती प्रकाशन ।
मनु, (सन् १९८३).मनुस्मृति. (श्रीकुल्लुकभट्टविरचितया मन्वर्थ मुत्तावल्या व्याख्यया समुपेता), दिल्ली ः मोतीलाल बनारसीदास पब्लिशर्स प्रा.लि. ।
महाभारतम्. (सन् १९२९). (नीलकण्ठकृतया भारतभावदीपाख्यया टीकया समेतम्) ः नरहर जोशी ।
मिश्रमित्र, (सन् १८७५). वीरमित्रोदय. राजनीतिप्रकाश. (श्रीजीवानन्द विद्यासागर भट्टाचार्येण संस्कृत) कलिकातानगरे ः सुचारुयन्त्रे मुद्रित ।
याज्ञवल्क्य, (वि.सं. २०७६). याज्ञवल्क्यस्मृति. आचाराध्याय डा.वासुदेव खनाल (नेपाली अनुवाद सहित लीलावती व्याख्या), रत्नपुस्तक भण्डार, काठमाडौ ।
याज्ञवल्क्य, (वि.सं. २०७७). याज्ञवल्क्यस्मृति. व्यवहाराध्याय. डा.वासुदेव खनाल (नेपाली अनुवाद सहित लीलावती व्याख्या), रत्नपुस्तक भण्डार, काठमाडौ ।
याज्ञवल्क्य, (वि.सं. २०७७). याज्ञवल्क्यस्मृति. प्रायश्चित्ताध्याय. डा.वासुदेव खनाल (नेपाली अनुवाद सहित लीलावती व्याख्या), रत्नपुस्तक भण्डार, काठमाडौ ।
याज्ञवल्क्यादि शिक्षासंग्रह. (वि.सं.२०४६). संकलक एवं सम्पा. रामप्रसाद त्रिपाठी, हरिश्चन्द्रमणि त्रिपाठी, वाराणसी ः सम्पूर्णानन्दसंस्कृत विश्वविद्यालय ।
विष्णु, (वि.सं.२०१८). विष्णुस्मृति. (नन्दपण्डितविरचितसंक्षिप्त वैजयन्ती व्याख्योपेता) वाराणसी ः चौखम्बा संस्कृत सीरीज आपिस ।
विष्णुगुप्त, (वि.सं.२०४८). कौटलीयार्थशास्त्रम्. वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
विष्णुसंहिता. (सन् १९२५). संशोधक गणपति शास्त्री, सेतुलक्ष्मीमहाराज्ञीशासनेन भारत ः राजकीयमुद्रणयन्त्रालय ।
शतपथब्राह्मणम् (शुक्लयजुर्वेदस्य माध्यन्दिनशाखीयम्). (सन् १९०८)(श्रीमत्सायणाचार्यकृतवेदार्थप्रकाशनामभाष्येण सहितम्, सामश्रमीत्युपनामाचार्यसत्यव्रतशर्मणा यथामति संशोध्य सण्टीक्य च सम्पादितम्) बंगाल ः एसियाटिक सोसाइटी ।
शर्मा, विष्णु (वि.सं. १९९७). पञ्चतन्त्रम्. तृतीयसंस्करण, (अभिनवराजलक्ष्मी टीकया विराजितम्) टीकाकार श्रीगुरूप्रसादशास्त्री, काशी ः भार्गव पुस्तकालय गायघाट ।
शिक्षासंग्रह. (वि.सं.२०४६). (सङ्कलयिता सम्पादकश्च आचार्य रामप्रसादत्रिपाठी) वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
श्रीदुर्गासप्तशती,(वि.सं.२०७१) सहप्रा.स्थानेश्वर पौडेल, सहप्रा.वासुदेव खनाल आस्था प्रकाशन, काठमाडौ ।
शुक्लयजुर्वेदसंहिता. (सन् १९२९). द्वितीयावृत्ति, (उवटाचार्यविरचित मन्त्रभाष्य, महिधरविरचित वेददीपाख्य भाष्य) पाण्डुरङ्ग जावजी, निर्णय बम्बै ः सागर प्रेस ।
शुक्र, (वि.सं. २०२९). शुक्रनीति. टीकाकार डमरुबल्लभ पौडेल, काठमाडौ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
शौनक, (सन् १९३८). चरणव्यूहसूत्रम्. (वैदिकशिरोमणि आचार्यमहिदासकृत भाष्यसहितम्) जयकृष्णदास हरिदास गुप्ता, वाराणसी ः चौखम्बा संस्कृत सिरिज ।
हेमाद्रि, (वि.सं.१९५९).चतुवर्गचिन्तमणि. (षट्प्रकरणात्मक प्रथमो भाग).सम्पा.शिवाचार्यदीक्षित, वाराणसी ः प्रभाकरी कम्पनी मेडिकलहाल ।
त्रिपाठी, कृष्णमणि (सन् १९८०).अष्टादशपुराणपरिचय. सम्पादक श्रीपति अवस्थी, वाराणसी ः चौखम्बा संस्कृत भवन ।


