विचार

नेपाली कांग्रेस : नयाँ सन्दर्भमा

 पुरुषोत्तम दाहाल

नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसकै कतिपयले महासमितिका विषयमा प्रश्न उठाइरहेको र अरु क्षेत्रमा समेत पर्याप्तशंका रहेको हुनाले पनि महासमितिको मिति तय हुनासाथ एकप्रकारको राजनीतिक चासो उत्पन्न हुन पुगेको हो । खासगरी नेपालको संविधान जारी भएका तीन वर्ष पूरा हुँदै गर्दा र अरु राजनीतिक दलले आफ्नो विधानलाई राष्ट्रको मूल विधानअनुरूप परिमार्जन गरी लागु गरिसकेका अवस्थामा छ।

अहिले सत्ताको मियो भएको नेपाल कम्युनिस्ट पार्टीले पूर्वमाओवादी र एमालेलाई एकीकरण गर्दा राष्ट्रको मूल संवैधानिक संरचनाअनुरूप आफ्नो दलको ढाँचालाई व्यवस्थित गर्ने प्रयास गरिरहेको छ । एकतापछिको संगठनलाई ७ सय ५३ स्थानीय तह, ७ प्रदेश र केन्द्रमा समेत व्यवस्थित गर्नु सजिलो काम थिएन । तैपनि विवादहरूलाई समाधान गर्दै विशालकाय संगठन स्वरूप तय गर्न लागेको देखिन्छ । तर ७ दशकको राजनीतिक यात्रामापरिवर्तनको नायकत्व गरेको दलमा भने पुरानै विधान रहनु उपयुक्त थिएन । नेपाली कांग्रेसले आफ्नो विधानलाई यसअघिको महाधिवेशनमा नै परिमार्जन गर्नुपर्ने थियो।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली स्थापना गर्ने नेतृत्वले उदारतापूर्वक आफ्नो विधानलाई तेह्रौँ महाधिवेशनमा नै समयअनुकूल परिभाषित र प्रयोग गर्न सकेको भए शायद आजको जस्तो अवस्था नेपाली कांग्रेसको हुने थिएन । विधानलाई समयानुकूल बनाउने जाँगर त्यस समय देखिएन । दुई वर्षपहिले आएको नेतृत्वले समेत विधानका विषयमा अलि चासो दिएको अनुभव गर्न पाइएको थिएन । शायद राष्ट्रको मूल विषय ३ तहको निर्वाचन गरी मूल संविधानलाई कार्यरूप दिने प्रयास गर्दा नै आफ्नो दलको विधानप्रति ध्यान नपुगेको हुन सक्छ । ढिलै भए पनि विधान नयाँ बन्ने भएको छ र महासमिति नियत समयमा सम्पन्न हुँदेैन कि भन्ने शंका समाप्त भएको छ । प्रत्येक कांग्रेसजनकालागि यो सुखद हुनसक्छ ।

संगठनलाई सबल तुल्याउन विधानमात्र पर्याप्त हुँदेैन । विधानले सदस्यहरूलाई अनुशासित बनाउने, संगठनलाई व्यवस्थित गराउने र सबै तहको नेतृत्वलाई लोकतान्त्रिक मर्यादामा राख्ने काम गर्छ । विधान भएन भने उर्लँदो भेल बोकेर आउने खहरे जस्तो अराजक हुन्छ संगठन । नेपाली कांग्रेसका लागि अहिलेको ज्वलन्त प्रश्न हो अनुशासनको, सांगठनिक व्यवस्थापनको र मर्यादाको । विधान अक्षरमा जतिसुकै राम्ररी लेखिएको भए पनि प्रयोगमा अराजकता देखियो भने त्यो विधान कागजको खोस्टोसरह हुनेछ । संगठनको विधानलाई नेताहरू र सम्पूर्ण सदस्यले पालना गरेमा मात्र त्यसलाई औचित्यपूर्ण र जीवन्त मान्न सकिन्छ । अहिले परिमार्जन गर्ने भनेको संघीय ढाँचामा रूपान्तरित गर्नु हो । स्थानीय, क्षेत्रीय, प्रदेशगत र केन्द्रीय तहहरू निर्माण गर्दा योगदान, योग्यता र आवश्यकतालाई विशेष ध्यान दिँदै क्षेत्रीय, जातीय, लिंगीय सन्तुलनका साथ समाजमा पछाडि परेको सीमान्तकृत वर्ग, समुदाय र अतिरिक्त क्षमता भएकाहरूको समेत उचित प्रतिनिधित्वको व्यवस्था अनिवार्य छ।

राष्ट्रको मूल कानुनले जसरी सबै वर्गलाई समेट्ने प्रयास गरेको छ त्योभन्दा पनि अग्रगामी भएर नेपाली कांग्रेसले आफ्नो विधान तय गर्नुपर्छ ।समय र मागअनुसार संशोधन–परिमार्जन गर्नैपर्ने हुन्छ।

स्वीकार गरे वा नगरे पनि नेपालमा धेरै सरोकारवाला समूह र समुदायको जन्म भइसकेको छ । राजनीतिक परिवर्तनका सन्दर्भमा राजनीतिक संगठनहरूले नै आफ्नो सोच र चिन्तन फराक बनाएका हुन् ।  राष्ट्रको निर्णायक तहमा सबैको प्रतिनिधित्व हुनुपर्छ र परिवर्तनमाथि सबैले आफ्नो स्वामित्व रहेको विश्वास गर्न पाउनुपर्छ भन्ने मान्यता स्थापित भइसकेको छ । त्यसकै आधारमा राष्ट्रको मूल कानुन निर्माण भएको हो । राष्ट्रको मूल कानुनले जसरी सबै वर्गलाई समेट्ने प्रयास गरेको छ त्योभन्दा पनि अग्रगामी भएर नेपाली कांग्रेसले आफ्नो विधान तय गर्नुपर्छ । विधान सार्वकालीन हुँदेैन । समय र मागअनुसार संशोधन–परिमार्जन गर्नैपर्ने हुन्छ।

नेपाली कांग्रेसले आफ्नो विधान परिमार्जन गर्ने सन्दर्भमा कतिपयलाई लागिरहेको छ– आत्मकेन्द्रित सोचका आधारमा बहस भइरहेको छ, कतिपयलाई लाग्छ यो विधान कुनै पक्षको पोषणका लागि उपयुक्त बनाउने प्रयास भइरहेको छ, कतिपयले आउँदो महाधिवेशनलाई लक्ष्य बनाएर विधान र महासमितिको बैठक बस्न लागरिहेको छ । यी सबैभन्दा मूल र चुरो कुरा हो– यो विधानले नेपाली कांग्रेसलाई समयअनुकूल बनाउनेछ, संगठनलाई चुस्त बनाउन मद्दत मिल्नेछ, सदस्यहरूको भावना यसमा समेटिनेछ र स्थानीयदेखि केन्द्रसम्म उचित प्रतिनिधित्वकासाथ पुनर्जीवन दिन विधानले राजमार्ग खोल्नेछ।

विधान आफैँ चलायमान हुँदैेन । विधानले संगठनको आन्तरिक जीवनमा उचित वातावरण निर्माण गर्छ । महासमितिका सदस्यहरूले विधान परिमार्जन गर्दा गाउँ–टोलदेखि केन्द्रसम्म नेतृत्व विकासमा सहज वातावरण निर्माण गर्ने, पार्टीमा देखिएका अराजकता र विकृति अन्त्य गर्दै सही गन्तव्यमा पार्टी पंक्तिलाई निरन्तर हिँडाउने, राजनीतिक प्रतिपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने संगठन बनाउने र तद्नुरूप विचारले परिपूर्ण बनाउने लक्ष्य राख्नुपर्छ । त्योभन्दा पनि नेपाली कांग्रेससँग जनता र जनतासँग कांग्रेस कसरी जोड्न सकिन्छ विधानको स्वरूप त्यसमा केन्द्रित हुनुपर्छ । पार्टीमा कति संख्याका समिति रहने, कुन पदाधिकारीलाई कति अधिकार प्रदान गर्ने, निर्वाचन कि मनोनयन जस्ता प्राविधिक विषयहरू महत्वपूर्ण होइनन् । यदि असल मान्छे कांग्रेस छ भने, यदि असल लोकतन्त्रवादी कांग्रेसमा छ भने र यदि असल कांग्रेस संगठित छ भने कांग्रेसको जीवन कमजोर हुँदैन।

पार्टी संगठनमा रहेर आत्मकेन्द्रित अराजक विचार प्रकट गर्ने, अव्यवस्थित समूह खडा गर्ने, स्वतन्त्र अनुशासन र संगठनात्मक अनुशासनको सीमा रेखालाई पृथक नगर्ने,विद्यमान विधिलाई पालना नगर्ने÷नगराउने,वर्तमान पुस्तालाई मात्र सर्वस्व ठान्ने र नयाँ पुस्ताको भर्तीका बाटा अवरुद्ध पार्ने, संगठनमा विरोध, विभाजन, गालीगलौजसहित नेतृत्वको तेजोवध गर्ने, असन्तोषको सन्देश मात्रलाई प्रवाहित गर्ने, आफूखुसी निर्णयहरू गर्ने, राजनीतिक नैतिकता र आचरणको खिल्ली उडाउने, आफ्ना दलका सदस्यको अपमान गर्ने र सामन्ती ढर्रा र ढाँचामा परिवर्तन गर्न नसक्ने कुनै पनि दलको राजनीतिक नेतृत्वले समयलाई सम्बोधन गर्न सक्दैन । त्यसरी हिँड्ने कुनै पनि नेताले, नेतृत्वले, नेतृत्व पुस्ताले आफ्नो दल वा समग्र राजनीतिको सिंगो मियो आफूलाई बनाउन किमार्थ असम्भव हुनेछ । यस सत्यलाई नेपाली कांग्रेसका नेता र सदस्यहरूले समग्ररूपमा आत्मसात् गरेको हुनुपर्छ । विधान माध्यममात्र हो र यसलाई सञ्चालन गर्ने सोच, सक्रियता र विवेक महत्वपूर्ण मानिन्छन् । पार्टीलाई जीवन्त गराउन विधान बाधक हुँदैन।

यो विधानले नेपाली कांग्रेसलाई समयअनुकूल बनाउनेछ, संगठनलाई चुस्त बनाउन मद्दत मिल्नेछ, सदस्यहरूको भावना यसमा समेटिनेछ र स्थानीयदेखि केन्द्रसम्म उचित प्रतिनिधित्वकासाथ पुनर्जीवन दिन विधानले राजमार्ग खोल्नेछ।

दलमा आबद्ध सदस्यहरूको र नेतृत्वको इच्छाशक्ति, क्रियाशीलता, विवेक, निष्ठा, आत्मविश्वास, एकअर्कामा भर र विश्वास, समयअनुरूप निर्णय गर्ने क्षमता, आन्तरिक व्यवस्थापन कुशलता,दूरदृष्टि, फराक चिन्तन र उदार हृदय, जनतालाई आकर्षित गर्न सक्ने कार्यक्रम, राष्ट्रलाई सम्बोधन गर्ने विचार आवश्यक पर्छ । यी गुण भएनन् भने जतिसुकै राम्रो विधान निर्माण गरिए पनि परिवर्तन हुनसक्दैेन । जीवन्त राजनीतिक दलहरूमा समूह हुन्छन् तर पार्टी जीवनलाई नै असर पार्ने खेलहरू घातक मानिन्छन् । त्यस्ता खेलहरूको पहिचान गरी रोक्न सक्ने, सामना गर्नसक्ने, समाधान दिन सक्ने सामथ्र्य प्रत्येक दलको नेतृत्वमा हुनुपर्छ।

नेपाली कांग्रेसका नेता र सदस्यहरू एकप्रकारले राज्यीय दायित्वभन्दा फरक भूमिकामा छन् । हिजो ३ दशकको समयमा करिब१५ वर्ष शासकीय दायित्व बोकेका कांग्रेसजनहरूले बिस्तारमा आत्मसमीक्षा गर्ने अवसर आएको छ ।हिजोका आदर्श, सिद्धान्त, कार्यक्रम, रणनीतिको सामयिक परिभाषा गर्ने, आजको परिवर्तनका तत्वहरूको विश्लेषण गर्ने, साम्यवादी विचारको नेतृत्वको सवलताका कारणहरू खोज्ने, लोकतान्त्रिक विकल्पहरूका सम्भावनाहरूमाथि बहस गर्ने, स्वस्थ लोकतान्त्रिक संस्कारको पालना गर्ने वातावरण बनाउने, राष्ट्रको विकास, जनताको समृद्धि र चेतना विस्तार गर्ने योजनाहरू निर्माण गर्दै निरन्तर सार्वजनिक गर्ने, आगामी महानिर्वाचनलाई केन्द्रमा राखी अहिलेदेखि नै संगठन निर्माण, नेतृत्व निरीक्षण, अनुसन्धान र अभिलेखीकरण थाल्नु अपरिहार्य छ । भनिन्छ–कुवामा खुट्टा तानातान गरीबसेका भ्यागुताहरूले सम्पूर्ण शक्ति लगाएर स्पेस बढाउन प्रयास गरे पनि तिनीहरूले समुद्र बनाउन र भेट्टाउन सक्दैनन् । देशको जीवन वा राजनीतिक दलको जीवन पनि यस्तै हो । आपसमा पालिएका असमाधेय अन्तरविरोधहरूको कुवामा बसेर जतिसुकै शक्ति लगाए पनि परिवर्तन आउन सक्देैन । व्यापकता भेट्नु असम्भव हुन्छ।

नेपाली कांग्रेससँग इतिहास छ । दर्शन छ । समयसापेक्ष मान्यता छन् । नेपाली कांग्रेसले अवलम्बन गर्ने सैद्धान्तिक आधारको राजनीतिक प्रणाली छ । सामाजिक आर्थिक रूपान्तरणकालागि नेपाली कांग्रेसले छ दशकदेखि प्रतिपादन गरेको कार्यक्रमिक नीति विद्यमान छ । तर पनि नेपाली कांग्रेसमा किन हो किन श्रीहीन आलस्यता देखिन्छ । आन्तरिक व्यवस्थापनलाई सवल, नियमित, मर्यादित बनाउँदै अघि बढ्ने जाँगर देखिँदैन । कुराको सगरमाथा सुनिन्छ, काम भीरमा झुण्डिरहेको अवस्था छ । यसलाई सही दिशा दिनसक्ने राजमार्ग कांग्रेसका लागि निर्माण हुनुपर्ने देखिन्छ।

प्रस्तावित विधान कुनरूपमा परिमार्जित भएर आउने हो त्यसले नै राजमार्ग निर्माण हुने हो कि भविष्यमा गोरेटोसमेत साँघुरिने हो भन्ने तय हुनेछ । नेतृत्वको हात बाँध्ने सोच बनाउनुभन्दा पनि सदस्यतालाई उदारतापूर्वक विस्तार गर्ने, सदस्यहरूको उचित मूल्यांकन गरी प्रोत्साहन गर्ने, आफ्नो र अर्काको नाउँमा पार्टीलाई क्षति गराउने हिजोसम्मको आचरणलाई रोक्न सक्ने, पार्टीमा आवश्यक जनशक्तिलाई उपयोग गर्न उपयुक्त स्पेस दिने खुला वातावरण विधानले बनाउन सक्नुपर्छ । योग्य सदस्य र शुभेच्छुकहरूलाई यथोचित जिम्मेवारी दिन विधानमा खुला व्यवस्था रहनुपर्छ । जसका कारण आजको परिवर्तनले संस्थागत संस्कृति निर्माण गर्ने ऊर्जा पाउनसकोस्।

                                             नागरिकबाट साभार गरिएको ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button