पुरञ्जन आचार्य
अहिले कांग्रेस इतिहासमा पनि हराएको कारण वर्तमानमा सर्वत्र पराजय व्यहोर्दै छ र भविष्यका लागि पनि आशा र भरोसाको पुञ्ज बन्न सकेको छैन
शैलजा आचार्यसँग जीवनको उत्तरार्धमा देशको समसामयिक राजनीति र कांग्रेसको भविष्यबारे कुराकानी गरी म घन्टौँ समय बिताउँथेँ । उहाँसँग बिताएका समयको स्मरणले राजनीति कति कठोर र अमानवीय हुँदो रहेछ भनी मनमा त्रास उत्पन्न हुन्छ ।
‘कांग्रेसको औचित्य बाँकी छ भने हाम्रो पनि छ, होइन भने हामी पनि असान्दर्भिक भयौँ,’ जीवनको उत्तरार्धमा यो कुरा शैलजादी बारम्बार दोहोर्याउनुहुन्थ्यो ।
कहिले कांग्रेस अझै आन्दोलनमै छ भन्नुहुन्थ्यो, अनि कहिले कांग्रेसले अब आफ्नो मिसन पूरा गर्यो, अब यसलाई विघटन गरी नयाँ परिस्थितिमा नयाँ सोचको पार्टी बनाउनुपर्छ भन्नुहुन्थ्यो उहाँ । धेरैपटक त शैलजादीले गिरिजादाजुपछि कांग्रेस पार्टी हाँक्ने मै त हो नि भन्ने दाबी पनि ठोक्नुहुन्थ्यो ।
कांग्रेसको भविष्यलाई लिएर शैलजादी आश्वस्त हुनुहुन्नथ्यो । संशयमा उहाँका कुराहरू उठ्थे । र, फेरि उठेका कुरालाई चटक्क छोडेर उहाँ अराजनीतिक व्यक्तिझैँ आफ्नो जीवनशैली अगाडि बढाउनुहुन्थ्यो । शैलजादी मात्र होइन, प्रवासमा बस्ने कैयन् कांग्रेसीको यही मनोदशा मैले नगिचबाट हेर्ने र बुझ्ने अवसर पाएँ, पाइरहेकै छु ।
शैलजादी अहिले हामीबीच रहनुभएन । तर, उहाँले भनेजस्तो नेपाली समाजमा कांग्रेसको सान्दर्भिकता अझै छ कि छैन भन्न गाह्रो छ । धेरै पुराना र निष्ठावान् कांग्रेसीले अब यो पार्टीको सान्दर्भिकता छैन भनेर लामो प्रवचन दिएको मैले सुनेको छु ।
म जसको प्रेरणाबाट लोकतान्त्रिक आन्दोलनमा होमिएँ, तिनीहरू पनि यतिखेर कांग्रेसको भविष्य छैन भन्छन् । उनीहरूले यसो भन्नुपर्ने कारण पनि छन् । जुन मिसनबाट पुराना र निष्ठावान् कांग्रेसीले आफ्नो सम्पूर्ण जीवन र परिवारलाई संघर्षमा होमेका थिए, कांग्रेस सत्ता प्राप्तिपछि फेरियो ।
देश र नेपाली समाजको रूपान्तरणको अपेक्षा ती राख्थे, उनीहरूको त्याग र संघर्षको तुलनामा त्यसको निमेष परिणाम नआएकोमा ती खिन्न छन्, कांग्रेस दोषी देख्छन् ।
०४६ सालपछि सत्ता प्राप्तिसँगै कांग्रेसभित्र ईष्र्या र रिसका कारण गुट र उपगुट निर्माण भए । यस्ता गुट र उपगुट ०४६ पहिले पनि नभएका होइनन् । तर, ०४६ अघिको गुटमा राजनीतिक कार्यनीतिलाई लिएर नेताबीच मतभेद थियो ।
०४६ पछि ‘पार्टीसत्ता र राज्यसत्ता’ कसरी कब्जा गर्ने भन्ने एक मात्र ध्याउन्न रह्यो कांग्रेस नेताहरूमा । यसै प्रकरणमा कांग्रेस पार्टी मात्र होइन, यसका भ्रातृसंघ, शुभेच्छुक संघसंस्था, समर्थक र नेतृत्वपंक्ति पनि गुटमा बाँडियो ।
अहिले कांग्रेसको विवाद चरमचुलीमा छ । विवादको विषय पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र उनको क्षमतालाई लिएर भइरहेको छ भनिन्छ । देउवाको कार्यशैली र क्षमताबारे अहिले मात्र प्रश्न उठेको होइन, धेरैपटक कांग्रेस पार्टी र यसका कार्यकर्ताले उनी र उनको अलोकतान्त्रिक कार्यपद्धतिलाई अभयदान दिएका छन् ।
तसर्थ, यतिखेर देउवाको कार्यशैली र क्षमताभन्दा पनि सबै कांग्रेस गुट र उपगुटको अर्जुनदृष्टि कांग्रेसको भावी महाधिवेशनतर्फ केन्द्रित देखिन्छ । पार्टीसत्ता अर्थात् कांग्रेसको सभापति पद कसरी जित्ने ? कांग्रेसभित्र यतिखेर यही एक मात्र मिसन सबै गुट–उपगुटले बोकेको प्रस्टै देखिन्छ ।
पार्टीसत्ता कब्जा गरेपछि मात्र राज्यसत्ता कब्जा गर्ने बाटो खुल्छ भन्ने दिव्यज्ञान कांग्रेसका सबै नेता र तिनका पछि लाग्ने अनुयायीमा नभएको होइन । तसर्थ, भावी महाधिवेशनपूर्व कांग्रेसभित्र मोर्चाबन्दी सुरु भएको छ, देशव्यापी रूपमा ।
यस्तो मोर्चाबन्दीका केही सैद्धान्तिक आवरण छन् । केही ऐतिहासिक धार छन् र केही आपसी द्वेष पनि छन् । यहाँ सैद्धान्तिक र ऐतिहासिक धारलाई अगाडि सारेर कांग्रेसको संक्षिप्त विवेचना गरिन्छ ।
कांग्रेसको पहिलो धार
कांग्रेसको पहिलो धारको राजनीतिक मुद्दाहरू निम्न छन् :
पहिलो : कांग्रेसले बिपी कोइरालाको सिद्धान्त र विचारधारा त्याग्यो ।
दोस्रो : नेपाली समाजको चाहनाविपरीत देशलाई धर्मनिरपेक्ष बनाएर बहुमत जनताको इच्छाविपरीत कांग्रेस गयो ।
तेस्रो : कम्युनिस्टसँग राजनीतिक सहकार्य गरेर कांग्रेसले आफ्ना सिद्धान्त, मूल्य पद्धति र राजनीतिक दर्शनसँग बेइमानी गर्यो ।
चौथो : नेपालजस्तो सानो देशमा संघीय पद्धति र प्रणालीलाई अपनाएर खर्चिलो र देशले धान्न नसक्ने मात्र होइन, देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई नै कांग्रेसले खतरामा पार्यो । कांग्रेसको प्रथम सनातनी धारले निरन्तर उठाइरहेका मूलभूत प्रश्न अहिले यिनै छन् ।
गणतान्त्रिक आन्दोलनले स्थापित गरेका माथिका सबै राजनीतिक मुद्दाविपरित कांग्रेसमा एउटा शक्तिशाली धार निर्माण भएको छ । डा. शशांक कोइरालाको नेतृत्वमा यस धारले कांग्रेसभित्रै आफ्नो भविष्य खोजी गर्दै छ ।
दोस्रो धार
कांग्रेसभित्र दोस्रो धार संस्थापन पक्ष अर्थात् अहिलेको परिप्रेक्ष्यमा सभापति शेरबहादुर देउवाको धारलाई भन्न सकिन्छ । यस धारले देशको राजनीतिक परिवर्तनका लागि कहिले कुनै चिन्तनमनन गरेन । कुनै सोच अगाडि ल्याएन ।
तर, गणतान्त्रिक नेपालको व्यवस्थापन गर्ने र कांग्रेसलाई नेतृत्व दिने अवसर भने यही दोस्रो धारले पायो । संविधान जारी गरेको श्रेय लिने सुशील कोइराला पनि यही धारभित्रै पर्छन् । सुशील कोइराला र शेरबहादुर देउवा दुवैले पार्टीभित्र शक्तिशाली गुट बनाएर नेतृत्व लिन सफल भए ।
राजनीतिक र वैचारिक रूपमा बिपीसँग जोडिने अभियानको अभावमा ‘बिपीका डिएनएहरूले’ नेता हुने र कांग्रेस हाँक्ने दाबी गर्छन् । जसले कांग्रेसलाई रसातलमा पुर्याउनेछ ।
कोइरालाको अवसानसँगै उनको धार कमजोर मात्र भएन, छिन्नभिन्न नै भयो र अहिले फेरि कोइरालात्रयको नेतृत्वमा पुनर्जीवनको प्रयत्न गर्दै छ । वर्तमान सभापति देउवाको नेतृत्व समाप्त हुनासाथ उनको गुट पनि सुशीलको गुटभन्दा झनै छिन्नभिन्न हुने अनुमान अहिल्यै गर्न सकिन्छ । किनकि, त्यो गुटमा नेतृत्व दिने अर्को कुनै व्यक्ति नै देखिँदैन ।
माथिका दुई धारबीच वैचारिक रूपमा खासै भिन्नता छैन । दुवैको कार्यशैली पनि ‘कोठे बैठक’ भन्दा माथिको कहिल्यै रहेन । दुवै धार ‘गणेश प्रवृत्तिबाट’ निर्माण भएको थियो ।
कांग्रेसको पहिलो पुस्ताको आशीर्वाद र कृपाबाट माथिका दुवै धारका नेताले आ–आफ्नो राजनीतिक हैसियत र व्यक्तित्व निर्माण गरेका थिए । तैपनि स्वभावगत रूपमा र निष्ठाको राजनीतिमा सुशील कोइराला र देउवामा आकाश–जमिनको अन्तर थियो ।
यही भिन्नताले यिनीहरूबीच दुई कित्ता निर्माण भएको थियो । अन्यथा, यी दुवैले निर्माण गरेको गुट र तिनको आसपास क्रियाशील समूह सबै यथास्थितिवादी थिए, सनातनी थिए ।
तेस्रो धार
कांग्रेसको तेस्रो धारले मुखरित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अगाडि ल्यायो । पार्टीभित्र यस धारको नेतृत्व विगतमा चक्र बाँस्तोला, नरहरि आचार्य, गगन थापा, प्रदीप गिरिलगायत केही सीमित नेताले गरे ।
पार्टीबाहिरबाट लोकतन्त्रवादीको ठूलो समूहले यिनलाई समर्थन गर्यो । यो धारले लामो समयदेखि कांग्रेस र नेपालको राजतन्त्रबीच जोडिएको घाँटीको ‘सर्जरी’ गर्यो ।
गणतन्त्रको नारा सडकमा यही धारले घन्कायो । संविधानसभाको माग बिपी कोइरालाले पहिलोपल्ट उठाएको भनी आवाज बुलन्द गर्यो ।
पार्टीसत्ता र राज्यसत्ताको छेउ किनारामा बसेर कांग्रेसलाई मात्र होइन, बिपी कोइरालामाथि पनि ‘रिभिजिट’ गर्ने श्रेय यही समूहलाई जान्छ । बिपी कोइरालाको एकांकी व्यक्तित्वलाई बहुआयामिक बनाउने काम कांग्रेसभित्रको तेस्रो धारले गर्यो ।
कांग्रेसभित्रको बौद्धिक समूह र युवाऊर्जाबाट निर्मित यो नयाँ धारले पार्टीभित्र भन्दा पनि नेपाली समाजमा प्रसिद्धि कमायो र स्थापित भयो ।
विपरीत सोच, विपरीत परिणाम
संविधानसभाबाट संविधान निर्माण र जारी भएपछिको आमनिर्वाचनमा कांग्रेस चुक्यो, पराजित भयो । किन यस्तो भयो होला ? कांग्रेसले यो गम्भीर प्रश्नलाई अझै बुझ्न सकेको छैन ।
नेपाली समाजको नयाँ सोच, दृष्टिकोण र आयामलाई आँखा चिम्लेर कांग्रेस निर्वाचनमा गयो । कांग्रेस नेतामा संविधानमा संसदीय व्यवस्था कायम गर्न सकेकोमा प्रसन्नता थियो ।
आमनागरिक संविधानमा व्यवस्था नभएको, तर व्यवहारमा स्वीकार्य राष्ट्रपतीय प्रणालीमा गइसकेका थिए । जतिसुकै संसदीय व्यवस्थाको नारा दिए पनि एक्काइसौँ शताब्दीको आमनिर्वाचन राष्ट्रपतीय शैलीमै हुन्छ ।
जनता आफ्नो मूल शासक को हो भन्ने सन्दर्भले मतदान गर्छन् । भारतमा आज नरेन्द्र मोदी प्रम छन् र सन् २०१९ को निर्वाचनबाट पनि उनले नै निरन्तरता पाउँछन् भने त्यसको पछाडि राष्ट्रपतीय प्रणालीमा हुने चुनावी शैली प्रमुख कारण छ ।
मिडियाले मात्र यसका लागि निर्णायक भूमिका खेल्ने होइन, जनचेतना पनि अब ‘प्रमुख कार्यकारी को हुन्छ’ भनी भोट हाल्ने मानसिकतामा पुगेका छन् । कांग्रेसको पहिलो र दोस्रो धारको ‘स्टक’मा प्रधानमन्त्री देखाउने र जनताले रुचाउने अनुहार छैन ।
विसं २०५६ को आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यो कांग्रेसले । किन ? किनकि, भट्टराईको इमेज ‘क्लिन’ थियो नागरिकबीच ।
भ्रष्टाचारको दाग नलागेको र विसंगति तथा विकृतिको प्रतीक नभएको व्यक्तित्व छैन भने अब आमनागरिकले मतदान गर्दैनन् ।
यो गाँठी कुरा कांग्रेसले भन्दा कांग्रेस कार्यकर्ताले जति छिटो बुझ्छन्, कांग्रेसको पुनर्जीवनको यात्रा त्यति नै छोटिनेछ । तर, नेताको अनुयायी बनेका कांग्रेस कार्यकर्ताले आफ्नो विवेक प्रयोग गर्लान् ? सन्देह छ ।
बिपीलाई ‘रिभिजिट’ गर
कांग्रेसभित्र बिपी कोइराला र नेपाली समाजको विकासक्रमलाई बुझ्ने विषयमा मतभिन्नता छ । कर्मकाण्डी बिपीलाई पहिलो र दोस्रो धारले हाइज्याक गरेर बसेको पृष्ठभूमिमा तेस्रो धारको नयाँ सोच र दृष्टिकोण कांग्रेस इतिहाससँग जोडिन सकेन ।
बिपी कोइरालासँग वैचारिक रूपमा कांग्रेसलाई नजोडी पुनर्जीवन दिन सम्भव छैन । राजनीतिक र वैचारिक रूपमा बिपीसँग जोडिने अभियानको अभावमा ‘बिपीका डिएनएहरूले’ नेता हुने र कांग्रेस हाँक्ने दाबी गर्छन् । जसले कांग्रेसलाई रसातलमा पुर्याउनेछ ।
कुनै पनि पार्टीको भविष्य तब मात्र आकर्षित हुन्छ जब उसको इतिहाससँग वैचारिक ‘लिंक’ जोडिन्छ । अहिले कांग्रेस इतिहासमा पनि हराएको छ, यही कारण वर्तमानमा सर्वत्र पराजय व्यहोर्दै छ र भविष्यका लागि पनि आशा र भरोसाको पुञ्ज बन्न सकेको छैन ।
हेक्का रहोस्, कांग्रेसको इतिहाससँगको निरन्तरता भनेको बिपीसँगको योग नै हो । यसको अभावमा कांग्रेसले ताजा अक्सिजन पाउन सम्भव छैन ।
भ्रष्टाचारको दाग नलागेको, विसंगति र विकृतिको प्रतीक नभएको व्यक्तित्व छैन भने अब आमनागरिकले मतदान गर्दैनन् । यो गाँठी कुरा कांग्रेसले भन्दा कांग्रेस कार्यकर्ताले जति छिटो बुझ्छन्, कांग्रेसको पुनर्जीवनको यात्रा त्यति नै छोटिनेछ ।
अब गर्ने के ?
कांग्रेस संकटमा छ भनेर मात्र पुग्दैन । संकटबाट निस्कने उपाय पनि छन् भनी तिनको खोजी गर्नुपर्छ । उपायको खोजी कसरी गर्ने यो अहं प्रश्न छ । जब सबैतिरबाट बाटो देखिँदैन अनि इतिहासले बाटो देखाउँछ भन्ने मानिन्छ ।
कांग्रेसले ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादको’ मूल सिद्धान्तमा फर्कनुपर्छ । कांग्रेसको भविष्य कहीँ छ भने फेरि पनि यहीँ छ । राष्ट्रियताको अडानमा कमजोरी हुँदा हुने परिणामले गत निर्वाचनमा डडेल्धुरा र रसुवाका दुई सिट मात्र कांग्रेसलाई प्राप्त भयो पहाडमा ।
सम्पूर्ण पहाडी क्षेत्रमा उपत्यकाबाहेक भारतीय नाकाबन्दीका कारण कांग्रेस हार्यो । यो चेत कांग्रेसलाई हुनुपर्छ । यसको प्रायश्चित कांग्रेसले गर्नुपर्छ ।
अहिले राष्ट्रियता र देशभक्तिबीचको फरक बहस विश्वव्यापी रूपमा अगाडि आएको छ । नेपालमा कांग्रेसले यस बहसलाई अगाडि ल्याउने हिम्मत गर्नुपर्छ ।
बिपीले बिर्ता उन्मूलन, जंगलको राष्ट्रियकरण गरेका पुँजी मात्र खाएर अब समाजवादको रटान गर्नुको अर्थ छैन । तीन दशक अनेकपटक सत्तामा रहँदा बिपीपछिको पुस्ताले समाजवादका लागि एउटा इँटा पनि थपे त ? यो प्रश्न अहं छ ।
नवउदारवादले धेरै सेवा र सुविधा दियो होला, तर कसलाई भन्ने प्रश्न यतिखेर नेपालमा मात्र होइन, विश्वभरि उठिरहेको छ । पुँजीको वृद्धिसँगै सम्पूर्ण विश्व फेरि दुई धु्रवमा विभाजित भयो । एकथरी धेरै हुनेखाने भए, अर्काथरी अभाव र वञ्चनाबाट माथि उठ्न सकेनन् ।
नेपाली समाजको आधारभूत विभाजन पनि यही छ । शिक्षा र स्वास्थ्य क्षेत्र यसका उदाहरण हुन् । कांग्रेसले समाजवादको सान्दर्भिकता यहीँ खोज्नुपर्छ ।
त्यस्तै कृषक कसरी बाँच्ने ? कृषि कसरी सम्मानित पेसा बन्ने ? बिपीको समाजवाद कृषकसँग जोडिएको थिएन र ? किन कांग्रेस चुकेको किसानसँग जोडिन ?
यी प्रश्न उठाउँदा एउटा मूलभूत प्रश्न कांग्रेसको सिद्धान्तसामु आउँछ– ‘विचारधारा’का रूपमा कांग्रेस आज कहाँ छ र आफ्नो इतिहासको कुन पाटोमा कोसँग जोडिएको छ ? विचारधाराको यात्रा लामो हुन्छ, त्यसमा प्रत्येक पुस्ताले इँटा थप्ने काम गर्छन् ।
विगत ३० वर्षको समाजवादको यात्रामा कुनै पनि कांग्रेसीले कुन इँटा थप्यो ? यो प्रश्न भावी महासमितिमा किन नउठाउने ?
समय फेरिएको छ । सम्पूर्ण विश्व ज्ञान, विज्ञान र प्रविधिको युगबाट पनि माथि जाँदै छ । कांग्रेसको सोच र दृष्टिकोण पनि पश्चगमनतर्फ होइन, अग्रगमनतर्फको यात्रामा अगाडि बढ्नुपर्यो । यो अवसर हो– ‘क्लिन कांग्रेस’ निर्माण गरी अगाडि बढ्ने ।
अन्त्यमा, चार वर्षपछि आमनिर्वाचन हुन्छ नै । तर, कांग्रेस चार वर्षपछि के होला भन्न उसका आजका दिनले संकेत गर्छ । आगामी महासमिति बैठक कस्तो होला ?
नेविसंघ अब कसरी विद्यार्थी हकहितमा खडा होला, सही अर्थमा ? त्यस्तै भावी महाधिवेशनबाट कस्तो कांग्रेस नेतृत्व आउला ? यिनै प्रश्नको गर्भमा शैलजा आचार्यको उत्तर भेटिन्छ ।
कांग्रेस चार वर्ष फेरि आन्दोलनको पर्यायवाची हुनुपरेको छ, जनतासँग जोडिन रचनात्मक विपक्षीको भूमिकाबाट यो सम्भव छ ।
अन्यथा, शैलजादीले भन्ने गरेझैँ के कांग्रेसको नेपाली समाज रूपान्तरणमा अझै सान्दर्भिकता छ ? छैन भने विसर्जन गर्ने ? होइन । अहिले पर्खौं र हेरौँ ।
नयाँ पत्रिकाबाट साभार