अभि सुवेदी
केही समयदेखि नेपाली समय विम्बमा देखिने गरेको छ । समयलाई विम्बमा देख्नु साहित्यिक काल्पनिकी हो । अर्कोतिर विचारका महत्त्वपूर्ण छलफल पनि भएका छन् । यी सबै कुराले हल्लाएको छँदो म तिनै केही कुरा यो पत्रमा राख्दैछु । यस निम्ति केही किताब र अखबारलाई आधार मानेको छु । अखबारमा कान्तिपुर र नयाँ पत्रिकाका प्रसङ्ग छन् ।
‘सुन्दरीजलको माटो बोकेर कोइराला निवासको भुइँ ढोग्न पुगे कार्यकर्ता’ शीर्षकको एउटा सचित्र समाचारले बिहानै ध्यान खिच्यो । २०७६ असार २ को नयाँ पत्रिकाको मुखपृष्ठमा भावविभोर कांग्रेसजनहरू कुनै पवित्र मन्दिर अगाडि भक्तिभावमा प्लावित भए जस्तो अवस्थामा हात टेकेर शिरले कोइराला निवासको भूमि ढोगिरहेका छन् ।
झन् ठूलो अक्षरको उपशीर्षक बोल्छ, ‘तर निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले ।’ सँगै छापेको छ, अर्को चित्र । इन्सेटमा मातृकाप्रसाद कोइरालादेखि सुजातासम्म वा पछिका गरी ७ जनाका चित्र छन् । एउटा झुरुप्प चित्रमा बीपीका ३ पुत्रका चित्र पनि छन् । किञ्चित् पीडाको भावमा विराटनगरकी कवि सीमा आभास लेख्छिन्, ‘बीपीका तीनवटै छोरा प्रकाश, श्रीहर्ष र शशांकले उनीहरूको भागमा आएका जमिन व्यापारीलाई बेचे ।’ (२०७६ जेठ ३२) । समाचारले इन्सेटका सबै चित्रको व्याख्या गर्छ । यसले बीपी र अरु जस्ता राष्ट्रिय नेताका नाममा म्युजियमहरू कसरी राख्नुपर्छ र व्यवस्था गर्नुपर्छ भन्ने कुरा उठाउँदैन ।
संस्मरण जोडौं । अभिनारायण नामधारी मैले विराटनगरमा १९ सालतिर आएको विद्यार्थी हुँदा बाहिर ‘मानृड’ वा मातृकाको गुँड लेखिएको मातृका निवासमा केही समय बिताएको हुँ । मोरङ कलेजको एउटा संघर्ष समितिको सदस्य भएकाले अलिक पछि उग्र भएको ठानी पुलिसको धरपकड छल्न संघर्ष समितिका अध्यक्ष मातृकाका ज्येष्ठ पुत्र विमल कोइराला उर्फ विमल दाइको सल्लाहले त्यहाँ बसेको थिएँ ।
उतातिर अभयनारायण भन्ने मेरा अग्रवाल साथीलाई मेरो नाममा पक्रेर पुलिसले निकै पिटेछ । साथी पछिसम्म मैले तेरो नाममा पिटाइ खाएको छु पुलिसको, ‘अब के गर्छस् हँ ?’ भनेर मलाई सोध्थे । पुनरावृत्ति गर्न नमिल्ने कालक्रमको घटना भएकाले मैले मेरा अत्यन्त प्रिय साथीको मन बुझाउन केही गर्नसक्ने कुरै थिएन । कोइराला निवास त्यो बेला पनि मेरानिम्ति एउटा संघर्षशील अभिव्यञ्जना बोकेको थलो थियो ।
कोइराला निवासको भुइँ चुम्ने ती यात्रीहरूले त्यो दलमा कत्रो असर पार्न सक्छन् ? प्रश्न उठेको सुनेको छु । ‘महासमितिका सदस्यले भेला भएर पास गरेका प्रस्ताव त तिनीहरू घर पुगेपछि आफ्नो खुसी फेर्ने केन्द्रीय समितिले निवासको माटो चुम्ने अकिञ्चन कांग्रेसजनको सन्देश केको सुन्थे र सर !’ मेरा एकजना पोस्टग्राजुयट कांग्रेस मान्ने विद्यार्थीले भने ।
नेपाली कांग्रेसको पछिल्लो गतिहीन अवस्थामा आएका विचारमध्ये बाहिरतिर कांग्रेसी विचार फैलाउँदैहिंँड्ने एउटा सुझ देखियो । पार्टीको निर्णयमाठूलठूला खालका नेताको नेतृत्वमा देशका विभिन्न भागमा ती हिंँडे । अनि टीभी र अखबारले भने, जहाँ गयो त्यहीं एकअर्कालाई पाँडेगाली गरेर तिनका यात्रा असरल्ल भए ।
राजनीतिमा अभियान भन्ने एउटा पदावली छ । निकै समय लगाएर पछिपछि पर्दै गरिएको, अङ्ग्रेजीमा ‘लङ्ग मार्च’ नामले परिचित सन् १९३४–१९३५ को ३७० दिन लगाएर सम्पन्न ५ हजार ६ सय माइलको माओत्सेतुङहरूको यात्रा त्यसमा सबभन्दा प्रसिद्ध छ । अंग्रेजलाई थर्काउनुपर्यो कि लुरे खुट्टा भएका गान्धी लौरो टेकेर रवीन्द्रनाथ टेगोरको ‘आक्ला चलु आक्ला चलु’ वा एक्लै हिंँड् भाइ अब भन्ने कविता बोल्दै निस्कन्थे ।
गान्धीका अनेकौं विरोधको शैलीको अंग्रेज सामना गर्थे । तर ती लुरे महात्मा हिंँडेपछि अंग्रेजलाई पिनास हुन्थ्यो । साम्राज्यवादीको शक्ति भनेको यात्रा हो । इम्पेरियल आई (२००३ दोस्रो) भन्ने हामीले प्रयोग गर्ने मेरी लुई प्राटको किताबमा युरोपेलीहरूले कसरी अफ्रिका र ल्याटिन अमेरिकामा यात्रा गरेर शक्ति हात पारे भन्ने लेखिएको छ । त्यो किताब पढेपछि गान्धी किन अंग्रेजलाई तर्साउन हिंँड्थे भन्ने बुझिन्छ । गान्धीले अंग्रेजको त्यो कमजोरीको पाटो त्यही बेला बुझेको कुराले म चकित पर्छु ।
नेपाली राजनीतिमा यात्रा भएका छन्, तर तिनको खासै इतिहासबाट झिकेर अर्थ लगाउन मिल्ने चरित्र त्यति भेटिँदैनन् । नेपालको भूभागलाई पहाड, मैदान, जङ्गल र नदीहरूलाई प्रभावित पार्ने अत्यन्त चलायमान शक्ति भनेका यो दशका कमिनिष्ट हुन् । तर यिनका यात्राका गति र नक्साका आकार खासै निश्चित थिएनन् ।
माओवादी ‘जनयुद्ध’का यात्राका नक्सा र केही पश्चिमदेखि पूर्वतिर हुँदै बढ्ने पद्धति देखिए, तर ती खासै भूगोल र राजनीतिका सम्बन्ध देखाउने किसिमका थिएनन् । उनीहरूको यात्रा पछि गएर उनीहरूकै शब्दमा, राजधानी केन्द्रित भयो । त्यसले गर्दा सिद्धान्तको हिसाबले त्यो यात्राको नक्सा प्रस्ट भएन । जस्तो कि कमिनिष्टले यो देशका विपन्न र निमुखा मानिस, खासगरी गरिब किसानदेखि तिनको उद्धार गर्नेतिरको राजनीतिक यात्रा गरेको मानिनुपर्ने हो, तर तिनको सरकारका नीति र बजेटले त्यस्तो यात्रा देखाएन भन्ने आलोचना गर्नेमा कमिनिष्ट अर्थशास्त्री र पत्रकारहरू नै पर्छन् ।
वामपन्थी अर्थशास्त्री हरि रोकाका सरकारको नीति र बजेटको आलोचनाका नयाँ पत्रिकाका विस्तृत र सटिक लेखबाट कमिनिष्ट विचार यात्राका समस्या देखिन्छन् । त्यस्तै विचार पूर्व माओबादी नेता हरिबोल गजुरेलको ‘राजनीतिक आकाशमा कालो बादल’ शीर्षक (कान्तिपुर २०७६ असार ११) लेखमा भेट्न सकिन्छ । अहिले विचार र व्यवहारको अनौठो द्वन्द्व चलेको अवस्था छ, नेपालमा । यही कारणले गर्दा व्याप्त भ्रष्टाचारको संस्कृतिको निरुपण गर्ने तरिकाको अभावमा विचारको संकट देखिँदै गएको छ । दलाल पुँजीवाद यसको कारक हो ।
सुन्दरीजलको बीपी संग्रहालयका परशुराम पोखरेलको समूहले गरेको यो यात्राको कुराले मलाई तानेको प्रसङ्ग अर्को पनि छ । मैले बीपीका उपन्यास र संस्मरणमा आधारित नाटक ‘सान्दाजुको महाभारत’ लेखेंँ । त्यो बेला नाट्यकलाकारहरू र निर्देशकसँग म फेरि पनि भदौ २०७२ मा सुन्दरीजल पुगेँं । लेखेको छु, ‘आधीउधी भत्केको बन्दीगृहमा आफ्नो घर भत्केर यसो बसेका परशुराम पोखरेल, धरापजस्तो बन्दीगृहको संरचना अनि शक्तिलाई होर्डिङ गरेर क्षीण बनाउँदै गरेका सांसद र राजनीतिज्ञहरू, अनि देशैभरि… धनजनको नाश भइरहेको यो अवस्था…।’
त्यही बेला परशुराम पोखरेल मलाई प्रचण्डका भावात्मक उद्गार देखाउँछन् । प्रचण्डले लेखेका छन्, ‘… विश्वेश्वरप्रसाद कोइरालाको यो संग्रहालयको अवलोकनले मलाई इतिहाससँग वर्तमानको वार्तालाप महसुस भयो । यथार्थमा मैले नयाँ ऊर्जा प्राप्त गरेको अनुभूत गरेंँ । अविस्मरणीय क्षण ।’ (कान्तिपुर २०७२ भदौ २१)
प्रचण्डलाई बीपीको संग्रहालय र बन्दीगृह देखेपछि इतिहाससँग वर्तमानको वार्तालाप महसुस भएको थियो । प्रचण्ड प्रधानमन्त्री भएको बेला किञ्चित निराश भएको अवस्थामा बीपीको त्यो संग्रहालयमा आएर दिनभरि बसेका थिए भनी सुनाए, परशुराम पोखरेलले ।
पोखरेलसँगै बीपीको निवास विराटनगर पुगेका कांग्रेसजनको इतिहाससँग कसरी वार्तालाप भयो, त्यो भन्ने आधार छैनन् । एउटा सुन्दरीजलको संग्रहालयको त त्यो हालत छ भने कोइराला निवासमा कस्तो संग्रहालय बन्ने होला भन्ने कल्पना गरिरहनु पर्दैन । तर त्यो थलोमा कवि सीमा आभासले लेखेजस्तो स्वतन्त्र नारीका कथा पनि जोडिएका छन् । कृष्णप्रसाद कोइरालादेखिका इतिहास छन् । नेपाली कांग्रेसका यी यात्री मनुवाहरूले यो मार्चबाट गान्धीको जस्तो शक्ति जन्माउने सोझो चाहना नराखे पनि यिनका केही चेतना जगाउने चाहना भने प्रस्ट देखिन्छन् ।
तर नेपाली कांग्रेसलाई हेर्दै जाँदा अहिले यी रूपकहरूले बुझाउने, भित्रबाट निःसृत हुने लोकतान्त्रिक सिर्जनशील शक्ति खोज्ने खासै क्रियाकलाप देखिएका छैनन् । अहिले सरकारसँग जनताका छलफल र मुद्दा अनि केही समाजवादी, मिडिया स्वतन्त्रता सम्बन्धी विषयमाथि आधारित छन् । युवा र जनतामा ती विषयका छलफल, लोकतान्त्रिक संस्कारका बहस, प्रकाशन र अति नै विकृत रूप लिंँदै गएका शैक्षिक संस्थाका ह्रास र विचलन रोक्ने विषयमा चेतना फैलाउने, तिनलाई दलका दलदलबाट बचाउने कुनै काममा पनि प्रतिपक्षी नेपाली कांग्रेसको शक्ति खर्च भएको देखिँंदैन ।
संसदमा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेलेकै छ, तर त्यो पनि त्यति प्रभावकारी छैन । पूर्व सभामुख दमननाथ ढुङ्गानाले त सभामुखले बोल्ने समय दिएका प्रधानमन्त्रीलाई बोल्न नदिएर डङ्क मच्चाउने नेपाली कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र आचारलाई मिल्ने संस्कार देखाएको थिएन भनी आलोचना गरे । निष्कर्ष हो, आक्रोशमात्र होइन, विवेकले काम गर्ने बेला हो, कांग्रेसले । त्यस्तो काम क्रान्तिभन्दा जटिल हुन्छ । कांग्रेसले बुझ्ने हो ।
नेपालमा अहिले कोही पनि यात्रा गर्दैनन्, न विचारमाथि न भूतलमाथि । अहिले अस्थायी थलाहरूमा सकेसम्म कसेर आफ्नो नाम र दाम राख्ने होड चलेको छ । त्यसैले यस देशका स्थापित संस्कृति, जीवनशैली र यथार्थ उपेक्षित हुँदै गएका हुन् । मैले बाल्यकालदेखि किसानको शक्ति, संस्कार र समय देखेंँ ।
भन्छौं, नेपालको यात्रा विपन्न किसान र निमुखा नरनारीको मुक्तिविना सम्पन्न हुँदैन । त्यसैले सुन्दरीजलदेखि समाजवादी कोइरालाको निवाससम्म पुगेर भूमि चुम्नेहरूको यात्रा प्रतीकात्मक हो, कविता हो, जसको सन्देश कांग्रेस पार्टीका मानिसले बुझुन् ।
कान्तिपुर दैनिकबाट साभार