समाचार

भाजपा र नेकपा, कांग्रेस–आई र कांग्रेसः किन दुरुस्तै ? कांग्रेसलाई होच्याउने र जिस्क्याउने मात्रै भयो ओलीको काम !

आइतबार, १३ जेठ २०७५ गते प्रकाशित

भाजपा र नेकपा, कांग्रेस–आई र कांग्रेसः किन दुरुस्तै ?


भारतको राजनीति जुन तरिकाले बढ्दैछ नेपालको राजनीतिक मूलधार लगभग त्यही यात्रामा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ सबका विकास’को नारालाई जसरी मन्त्र बनाउँदैछन्, त्यसकै अनुशरण हो केपी ओलीले भन्ने गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’
 
मूलतः मोदी र ओलीको अभिष्ठ उही हो । भारतमा लामो समय आफूलाई सत्तामा टिकाएको कांग्रेस आईलाई हराउँदै भारतीय जनता पार्टी (भाजपा) सत्तामा विराजमान छ ।
 
कांग्रेस आईले वर्षौँसम्म ‘डेमोक्रेसी’को नाममा भारतमा जारी राखेको शोषण र उत्पिडनको विकल्पको रुपमा भाजपालाई उनीहरुले जिताइदिए ।
 
फलस्वरुप कांग्रेस आई अहिले एजेन्डा बिहिन बनेको छ । संसदमा कांग्रेसका सांसदहरुले भाजपाको विरोध गरिरहँदा भाजपाका नेताहरु भने ‘आफ्नो पालामा के गरेका थियौ र ?, आफ्नो बिगत फर्केर हेर !’ भन्ने जवाफ दिन्छन् ।
 
जब संसद जस्तो निकायमा सांसदहरु तर्कहिन र सस्ता कुरामा बाझाबाझ गरिरहन्छन् भने स्वभाविक सुशासन हुँदैन । यसले प्रष्ट भयो कि, पहिले कांग्रेस आईको शोषण गर्ने पालो थियो अब भाजपाको पालो !


यो प्रसंग यहाँ कोट्याउनुको सन्दर्भ नेपालको राजनीतिलाई अवलोकन गर्न हो । बिगतमा बहुमत तथा दुई तिहाइ मत सहित लामो समय सत्तामा रहेको नेपाली कांग्रेस अहिले भारतको पुरानो पार्टी कांग्रेस आईकै हालतमा पुगेको छ ।
 
नेपालको तत्कालिन एमाले तथा अहिलेको नेकपा भारतकै सत्ताशिन दल भाजपाको हैसियतमा छ । जनमतका आधारमा भाजपा भन्दा शक्तिशाली भए पनि प्रबृत्तिगत रुपमा भाजपा र नेपालको नेकपा लगभग उस्तै मनोबृत्तिबाट गुज्रिएका छन् ।
 
भारतको संसदमा जसरी भाजपाका सांसदहरुले प्रतिपक्षीलाई जवाफ दिन्छन् नेपालमा उस्तै अवस्था छ । नेकपाका नेताहरुको अभिव्यक्ति त्यस्तै छ ।
 
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीका हरेक अभिव्यक्ति त नेपाली कांग्रेसलाई प्रतिपक्षीको रुपमा अस्विकार गर्ने किसिमका छन् । सत्ता स्वयं शक्तिशाली निकाय हो । शक्तिले अहंकारी बनाउँछ । भारतको भाजपा र नेपालको नेकपा आज यही मनोबृत्तिमा छन् ।
 
भारतमा कांग्रेस आई कमजोर र निरिह भइदँदा त्यहाँको सत्ता निरंकुश बन्दैगएको मोदीका हरेक गतिविधि र अभिव्यक्तिले पुष्टि गर्दैआएका छन् ।संविधानमा नलेखिए पनि नरेन्द्र मोदीले भारतलाई लगभग ‘हिन्दु राज्य’बनाइसके । उनका हरेक गतिविधि हिन्दु ‘हेजेमोनी’बाट प्रभावित छन्
 
यतिसम्म कि, सार्वजनिक सभामै उनी हिन्दु धार्मिक नारावाजी गरिरहेका हुन्छन् । उनको मिडिया ‘म्यानुपुलेशन’ अलोकतान्त्रिक मात्रै हैन अधिनायकवादी शैली नै छ ।


यता ओली लगभग मोदीकै राजनीतिक नारा नेपालीमा अनुवाद गरी उनकै जस्तो ‘गुजरात मोडल’ नेपालमा लाद्ध्न खोज्दै छन् । उनको पार्टी नेकपामा कुनै किसिमको सैद्धान्तिक बहस हुँदैन । बरु यसका नेताहरु समेत प्रतिपक्षीलाई कसरी खुइल्याउने भन्नेमै केन्द्रित छन् ।
 
कांग्रेसको निरिहतासँगै नेकपा पूर्णतः अहंकारी बन्दैगएको छ । जसले अन्ततः निरंकुश बनाउने छ । उनीहरुका हरेक अभिव्यक्ति कांग्रेसलाई होच्याउने, कोट्याउने वा तथ्य वा तर्कहिन सपना बाँड्ने भन्दा टाढा छैनन् ।
 
बलियो जनाधार बोकेको र सत्ताशिन पार्टी जिम्मेवार बन्नुपर्ने हो । प्रतिपक्षीका गुनासो सुन्ने र नागरिकलाई सुविधा दिने भन्दा अर्को विकल्प सत्ताशिन पार्टीसँग हुँदैन ।


यहाँ त प्रधानमन्त्री स्वयं चुटकिलाकै शैलीमा कसैलाई होच्याएर वा खिसीट्युरी गरेरै मजाक गरिरहेका छन् । यस्तोमा सत्ताशिन पार्टी नेकपालाई पनि जनताले भारतकै धार्मिक पार्टी भाजपा भन्दा भिन्न बुझेका छैनन् ।
त्यसो त नेकपाका नेताहरु स्वयं धार्मिक गतिविधिमा सक्रिय छन् । र उनीहरुका ती गतिविधि हिन्दु धर्मबाट प्रभावित र पूर्वाग्रही छन् । यसै गरी नागरिकका गुनासो सुनुवाइ नहुने एकलौटी अहंकार मात्रै ओकलिरहने हो भने नेकपालाई पनि जनताले कांग्रेस भन्दा कमजोर बनाइदिनेछन् ।

nema
Show More

Related Articles

Back to top button