समाचार

ओली नीतिः कांग्रेसलाई दपेट्ने, मधेसवादीलाई समेट्ने ! बालुवाटारमा किन सुनाए ओलीले खुट्टा खोच्याएर हिँडेको प्रसंग ?


१३ जेठ, काठमाडौं । पार्टी एकतापछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसलाई दपेट्ने खालका अभिव्यक्ति हरेक भाषणमा दिइरहेका छन् । संसदीय बेन्चमा प्रमुख प्रतिपक्ष तर, जनमत र शक्तिको हिसाबले निकै कमजोर विपक्षलाई शक्तिशाली प्रधानमन्त्रीले ‘एक डोज’ भने पनि प्रहार गरिरहेकै छन् ।
पार्टी एकता घोषणासभामा ओलीले भने–कांग्रेस अब हाम्रो प्रतिस्पर्धी रहेन, यो हाम्रो सहयोगी दलमात्र हो ।
यद्यपि हालै बालुवाटारमा भएको भेटमा कांग्रेस नेताहरुले आपत्ति जनाएपछि ओलीले आफूले कांग्रेसलाई सहयोगी नभनेर सहयात्री दल भनेको प्रष्टीकरण दिएका छन् । तर, नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टी कार्यालय अवलोकनका क्रममा पेरिसडाँडामा पनि कांग्रेसलाई दपेट्न छाडेनन् ।
कांग्रेस तंग्रिएको भन्ने समाचार पढेर आफूलाई अचम्म लागेको भन्दै उनले प्रश्न गरेका थिए–एक रातमै तंग्रिने गरी कांग्रेसलाई कसले खुवायो बर्नभिटा ?
ओलीले हरेक सार्वजनिक अभिव्यक्तिमा कांग्रेसलाई कुनै न कुनै रुपमा सम्बोधन गरेकै छन् । उनले कांग्रेसलाई नआत्तिन आग्रह गरेका छन् ।
कांग्रेसले कम्युनिस्ट पार्टी शक्तिशाली हुँदा अधिनायकवाद जन्मिनसक्ने चिन्ता गरिरहेका बेला ओलीले भनेका छन्, ‘कांग्रेस आत्तिनु पर्दैन, लोकतन्त्र हामीले ल्याएका हौं । यसलाई जोगाउने चिन्ता कांग्रेसलाई भन्दा हामीलाई नै धेरै छ ।’
उताका मोदी, यताका ओली !
यो संयोगमात्र हुनसक्छ तर भारतमा जसरी नरेन्द्र मोदीले जसरी विपक्षी कांग्रेसलाई देपिटरहेका छन्, नेपालमा ओलीले पनि कांग्रेसलाई त्यसैगरी दपेट्दै लगेका छन् । प्रधानमन्त्री ओली शुरुदेखि नै कांग्रेसलाई रक्षात्मक बनाउने ढंगले प्रस्तुत भइरहेका छन् ।
प्रमुख प्रतिपक्षको बेन्चमा बसेको कांग्रेसले ओलीको भारत भ्रमणलाई लम्पसारवाद भनेर टिप्पणी गर्‍यो। कुनै बेला एमालेले प्रयोग गरेको शब्द ओलीतिरै फर्काउँदा त्यससले कांग्रेसको ग्राफ बढाएन । सम्बन्ध सुधार हुनुपर्छ भन्ने आफ्नै अडान विपरितका अभिव्यक्तिले कांग्रेस नै रक्षामत्मक भयो ।
बरु ओलीले भारतसँगको सम्बन्ध सन्तुलित बनाएको र नेपालको आन्तरिक मामिला अब द्धिपक्षीय वार्ताको विषय बन्न नसक्ने बताएर आफू सफल भएको बताए । मोदीको भ्रमण गराएर ओलीले कूटनीतिक चातुर्य देखाए ।
जसरी भारतमा कुनैबेला दुई तिहाई जनमत बोक्ने कांग्रेस इतिहासमै कमजोर बनेको छ, नेपालमा पनि पटकपटक बहुमत र एकपटक दुई तिहाई जनमत पाएको कांग्रेस इतिहासमै कमजोर भएको छ । मोदी भारतका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनिरहदा ओली पनि त्यहि दिशामा अग्रसर छन् ।
मोदीले स्थिर नेपालका लागि बलियो र स्थायी सरकारलाई साथ दिने प्रष्ट संकेत गरेका छन् । उनले नेपाल भ्रमणका क्रममा भेटेका बिभिन्न दलका नेतासँग पनि भारतको मुख्य सरोकार नेपालको स्थायीत्व भएकाले बहुमतको वामपन्थी सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएर गए ।
ओलीसँग भारतको बिग्रिएको सम्बन्धलाई कांग्रेसका नेताहरुले कुनै पनि बेला पुनःसत्तामा जाने आधारका रुपमा लिएका थिए । तर, ओलीले भारतसँग सम्बन्ध सुधारमात्र गरेनन्, प्रचण्डकै शब्दमा ‘ड्याम्मै’ पार्टी एकता गरेर कम्तिमा ५ वर्ष कांग्रेसको सत्तारोहणको सम्भावना अन्त्य गरिदिए ।
मोदी भारतमा जति शक्तिशाली बन्दैछन्, उनले कमजोर विपक्ष कांग्रेस आइमाथिको प्रहार भने तीव्र बनाइरहेका छन् । पछिल्लो पटक त उनले कांग्रेस नेताहरुलाई सम्हालिएर बोल्न चेतावनी दिँदै नत्र हिसाब किताब महँगा पर्ने भन्दै ‘यो मोदी हो’ भनेर औंला ठड्याए ।
मोदीबाट दपिटिएको कांग्रेसका नेताहरु गुहार माग्दै राष्ट्रपति भवन पुग्नु र ओलीबाट दपेटिएका कांग्रेस नेताहरु बालुवाटार पुगेर आपत्ति जनाउनु संयोगमात्र हुनसक्छ । तर, प्रचण्डसहितको उपस्थितिमा शेरवहादुर देउवासहितका कांग्रेस नेताहरुले ओलीको अभिव्यक्तिबारे प्रष्टिकरण मागेका थिए ।
कमजोर प्रतिपक्ष, सत्तालाई सजिलो
सत्तापक्षको रुपमा जति बलियो कम्युनिस्ट पार्टीको नेता ओली बनेका छन्, प्रतिपक्षको बेन्चमा उत्तिकै कमजोर कांग्रेस पाएका छन् । त्यसमा पनि शेरवहादुर देउवा विपक्षी दलको नेता हुनुले ओलीलाई झनै सजिलो बनाइदिएको छ ।
चारपटक प्रधानमन्त्री बनेका देउवाका प्रायः सबै कार्यकाल बिर्सनलायक छन् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा चुनाव सपन्न गराए बाहेक समकालीन शीर्ष नेतामा उनको ‘परफरमेन्स’ कमजोर रहेको छ । पछिल्लो समय पराजयको नैतिक जिम्मेवारी समेत लिन नमानेपछि कांग्रेसभित्रै उनी आलोच्य छन् ।
सिण्डिकेटमा सोत्तर कांग्रेसको साख
प्रमु्ख प्रतिपक्षका रुपमा कांग्रेस एक सय दिनमा सरकारको राम्रा कामको समर्थन र गलत कामको प्रतिवाद गर्नुपर्ने जिम्मेवारीमै चुकिसकेको छ ।
सरकारले गरेका राम्रा कामलाई राम्रो नभनी विरोधका नाममा विरोध गर्दा साख गिरेको पत्तै पाएनन् । यातायातको सिण्डिकेट, बैदेशिक रोजगारीमा जाने कामदारमाथि ब्रम्हलुट र काम नगर्ने ठेकेदारविरुद्ध कठोर भएर एक्सनमा उत्रिँदा जनताले तारिफ गरे तर, कांग्रेसले समर्थन त गरेन नै, व्यवसायीको पक्षमा विज्ञप्ति निकालेपछि आलोच्य बन्यो ।
ओलीबाट देपिटइरहेको कांग्रेसका लागि यी मुद्दामा पनि जनताबाट आलोचित बन्ने अवस्था आयो ।
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नु हुँदैन भन्ने अडानले कांग्रेसको साखलाई झनै सोत्तर बनाइदियो । जनमत एकातिर कांग्रेस अर्कोतिर जाँदा त्यसको फाइदा कम्युनिस्ट पार्टी र प्रधानमन्त्री ओलीले पाउने भए ।
बरालिएको कांग्रेस
नीति तथा कार्यक्रममाथि छलफल गर्दा कांग्रेसले कम्युनिस्ट पार्टीका नीति र योजनामाथि नै सैद्धान्तिक बिमति जनाएर गम्भिर बहस सिर्जना गर्न सकेन । बरु राष्ट्रपतिले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई किन ‘ज्यू’ भनिन् भन्ने प्राबिधिक र हल्का विषयमा संशोधन हाल्यो ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईकै शब्द सापटी लिने हो भने कांग्रेसले गतिला प्रश्न नउठाउँदा सत्तापक्ष अल्छी बन्ने अवस्था आएको छ ।
ओलीलाई थाहा छ, अर्को ५ वर्षपछि पनि कांग्रेस नै नेकपाको प्रतिस्पर्धी हो । त्यसैले उनी कांग्रेसलाई एक्सपोज गराउने र दपेट्ने लाइनमै जानसक्छन् । कांग्रेस आफैं कमजोर भएकाले उसलाई प्रहार नगर्न कतिपयले सुझाव दिए पनि ओलीले एक वाक्य भने पनि कांग्रेसमाथि व्यंग्य प्रहार गर्न नछाड्नु उनको रणनीतिक योजनानै हुन सक्छ ।
उनले संसदीय दलको बैठकमा बोल्ने क्रममा अब ५ वर्ष चुनाव नहुने भएकाले लोकप्रिय हुनका लागि काम गर्नेभन्दा पनि काम गरेर लोकप्रिय हुने बताइसकेका छन् ।
कांग्रेसलाई पनि उनले ४ वर्ष रचनात्मक प्रतिपक्षको भूमिकामा रहन आग्रह गरेका छन् । कांग्रेसले आफूभित्र व्यापक परिवर्तन गरेन भने प्रतिपक्षका रुपमा उसले सरकारका गलत कामको बिरोध गरेर शक्ति र जनसमर्थन आर्जन गर्न नसक्ने स्थिति आउन सक्छ । जनताको मन जित्ने खालका एक्सन सरकारले गर्ने, अनि कांग्रेसले त्यसको बिरोध गर्ने क्रम चलिरहनु हुँदैन भन्ने बहस कांग्रेसभित्र शुरु भइसकेको छ ।
मधेशवादीलाई ‘अन बोर्ड’ गर्दै
कांग्रेसलाई दपेट्ने ढंगले अघि बढेका ओली मधेसवादी दललाई भने आफूसँगै समेटेर लैजान खोज्दैछन् । संसदमा तेस्रो दल अब मधेसवादी बनेका छन् ।
७ मध्ये ६ प्रदेशमा नेकपाको सरकार चलिरहदा प्रदेश २ मा मधेशवादीले सरकार चलाइरहेका छन् । प्रदेश २ मा समेत नेकपा पहिलो दल बनेको छ ।
ओलीले मधेसवादी दल राजपा र संघीय समाजवादी फोरम दुवैलाई सरकारमा समेट्न चाहेका छन् । तर, उनी कुनै पनि शर्त वा लिखत गर्ने पक्षमा छैनन् । यहीँनिर ओली र मधेशवादी नेताहरुबीच कुरा मिल्न सकेको छैन ।
गत साता ओलीले राजपाका शीर्ष नेताहरुलाई बोलाएर सरकारमा सहभागी हुन आग्रह गरे । राजपाका केही नेता सरकारमा सहभागी हुन आतुर पनि देखिएका छन् ।
ओलीले उपेन्द्र यादवलाई पनि भनेका छन्–धेरै नाक बजाएर हिँड्नु पर्दैन, सरकारमा आउनुस् ।
सरकारको स्थायित्वका लागि अब मधेशवादी दललाई समेट्नु वा नसमेट्नुले कुनै फरक पर्दैन । नेकपासँग दुई तिहाई नजिकको अत्यधिक बहुमत छ । मधेशवादी दललाई प्रतिपक्षमै राखेर सरकार चलाउँदा पनि ओलीलाई समस्या छैन । तर, उनी, मधेशवादी दललाई ‘अन बोर्ड’ गर्न चाहन्छन् । पटक पटकको आन्दोलन र पछिल्लो नाकाबन्दीका कारण मधेशको अवस्था जर्जर भइसकेकाले पनि अब त्यहाँ अस्थिरता आउन दिनु हुँदैन भन्नेमा ओली संवेदनशील छन् । मधेशवादी दुवै दललाई समेटेर जाँदा हिमाल, पहाड र तराईमा समान ढंगले काम गर्न सकिन्छ भन्ने उनको बुझाइ छ ।
पछिल्लो पटक मोदीलाई भेटेका मधेशवादी नेताहरु पनि ओलीलाई साथ दिनुपर्ने अवस्थामा पुगेका छन् । मोदीले मधेशवादी नेताहरुलाई भनेछन्, ‘तपाईहरुका सानातिना माग ओलीबाटै सम्बोधन हुन्छन्, भारतको चासो नेपालमा स्थिर सरकार हुनुपर्छ, त्यसका लागि यो सरकारसँग सहकार्य गर्दैछौं ।
एमाले माओवादी एकीकरण र मधेश मामिलामा अलग्गै नबोल्ने मोदीको प्रष्ट संकेतपछि मधेशवादी नेता दबावमा छन् । उनीहरुका लागि संविधान संशोधनको फेस सेभिङ चाहिएको छ । ओली अझै पनिसंशोधनको लिखित सहमति गरेर मधेशवादीलाई सरकारमा ल्याउन चाहिरेका छैनन् ।
उनले भनेका छन्, देश र जनताको हितमा आवश्यकता परे संविधान संशोधन गरिन्छ । संशोधन जनतालाई अधिकार सम्पन्न बनाउनका लागि गर्ने हो । कुन धाराले अधिकार दिएन भन्ने छलफल गरेपछि मात्र गर्न सकिन्छ ।’
तर, संशोधनलाई प्रमुख मुद्दा बनाएर चुनाव जितेका मधेशवादी दलका लागि सो विषयमा लिखित सहमति नगरी सरकारमा जान सजिलो छैन ।
बालुवाटारमा खुट्टा खोच्याउने कुरा
हालै बालुवाटारमा राजापा नेताहरु र प्रचण्ड सहितका नेकपाका नेताहरुबीच प्रधानमन्त्री ओलीले ‘खुट्टा खोज्याउने’ प्रसंग ल्याउँदैसंशोधनको एजेण्डाप्रति व्यंग गरे । उनले राजपा नेताहरुलाई खुट्टा खोच्याउने बानी छाड्न आग्रह गरे ।
ओलीले भनेको प्रसंग यस्तो रहेछः
धेरै वर्षअघि अगाडि ओलीलाई पैतालामा काँडा बिझेछ । काँडाले खिल पल्टाउन थालेपछि धेरै दुःख्यो भन्दै उनी विराटनगरको एक अस्पतालमा गएछन् । अस्पतालमा डाक्टरले जरैदेखि खिल उप्काएर उपचार गरिदिएछन् । तर, खिल निकालेको एक दुई दिनपछि पनि उनलाई पैताला पुरै टेकेर हिड्न डर लागेछ । विस्तारै उनलाई खुट्टा खोज्याउँदै हिड्दा बानी नै परेछ । एक वर्षसम्म खुट्ट खोच्याएर हिँडेका ओलीलाई खुट्टा नखोच्याई हिड्ने बानीमा फर्किन पनि अर्को एक वर्ष लाग्गेछ ।
ओलीले आफ्नो खुट्टा खोज्याउने बानीको प्रसंग झिक्दै मधेशवादी नेताहरुलाई संविधान संशोधनको एजेण्डा खुट्टा खोज्याएजस्तै हो भन्दा त्यहाँ हाँसो चलेको थियो । चुनाव जितेर कोही सांसद, कोही मुख्यन्त्री भइसकेको भन्दै उनले संविधान संशोधनलाई बानीका रुपमा प्रयोग गर्न सुझाव दिए ।
ओलीले भनेछन–अस्तिसम्म भन्दै आउनुभयो । अब संविधान संशोधन तपाईहरुको एजेण्डै होइन । चुनिएर आउनुभयो, सरकार पनि चलाइरहनु भएको छ । अब खुट्टा खोच्याउन छाड्नुस् । आवश्यक परे सहमतिमा गरौंला ।
लिखत र पञ्जाछाप नगर्ने ?
उपेन्द यादवको सत्तारोहण पनि ओलीले लिखित शर्तमा सहीछाप नगर्ने अडान लिएकै कारण रोकिएको हो । बिगतमा जस्तो शर्तमा जानुपर्ने बाध्यता नरहेकाले उनी मधेशवादीसँग शर्तमा बाँधिन चाहँदैनन् । यद्यपि दुई तिहाई बहुमतको सरकारमा मधेशवादीलाई समेट्न पनि चाहन्छन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालका अनुसार पनि राजापा र संघीय समाजवादी फोरमलाई ‘अन बोर्ड’ गर्ने नै छ । तर कुनै पनि शर्तनामा पन्जाछाप वा लिखत भने नगरिने उनले बताएका छन् ।
सामान्य राजनीतिक विषयमा हस्ताक्षर गरेर संशोधनमा सैद्धान्तिक सहमति गर्दै मधेशवादीलाई सरकारमा सामेल गराउने प्रचण्डको प्रयास मिलनविन्दू हुनसक्छ । यसो गर्दा प्रदेश २ मा कम्युनिस्ट पार्टी सरकारमा सहभागी हुनेछ ।
यदि नेकपाले मधेशवादीलाई पनि समेटेर सरकारमा लग्यो भने विपक्षमा कांग्रेस एक्लो हुनेछ । किनकी एक एक सिटवावला राप्रपा र राजमो यसअघि नै वाम गठबन्धनको डुंगा चढेर संसदमा आइपुगेका हुन् । बाबुराम भट्टराई र प्रेम सुवाल मुद्दा अनुसार चल्ने नेता भएकाले उनीहरु रचनात्मक प्रतिपक्षमात्र हुन् । तर, संशोधनको मुद्दामा सहमति हुन सकेन भने मधेसवादी दलहरु कांग्रेसँग गठबन्धन गर्न पुग्न बेर लाग्दैन ।

२०७५ जेठ १३ गते १०:०० मा प्रकाशित

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button