समाचार

प्रधानसेनापति क्षत्री भारत जाँदै लगत्तै चीन जाने तयारी

चन्द्रशेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीन भ्रमणमा जाने तयारी भइरहेका बेला प्रधानसेनापति राजेन्द्र क्षत्री दक्षिणी छिमेकी भारत भ्रमणमा जाने भएका छन् ।

उनी ६ दिने औपचारिक भ्रमणका लागि बुधबार त्यसतर्फ लाग्दै छन् । प्रधानसेनापति भारतबाट फर्केको एक सातापछि नै प्रधानमन्त्री चीन भ्रमणमा जाने निश्चित भइसकेको छ ।
प्रधानमन्त्री चीनबाट फर्केको केही समयपछि प्रधानसेनापति क्षत्रीसमेत चीन जाने तयारी रहेको सेन्यस्रोतले जनायो । यद्यपि, उनको चीन भ्रमण कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ ।
प्रधानमन्त्री ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग क्षत्रीले सोमबार जंगीअड्डामा लामो छलफल गरेका थिए । पृतनापतिहरूको ‘ब्रिफिङ’ र त्यसको विश्लेषणपछि प्रधानसेनापति क्षत्रीले प्रधानमन्त्री र रक्षामन्त्रीसँग विशेष छलफल गरेका थिए । उक्त छलफलअघि नै मन्त्रिपरिषद्ले क्षत्रीको भारत भ्रमण स्वीकृत गरेको थियो ।
काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा भारतबाट फिर्ता ल्याएर तत्कालीन माओवादी नेतृत्व सरकारले सेनालाई दिएपछि सैन्य–सम्बन्धमा समेत केही आशंका उत्पन्न भएको अवस्थामा त्यसलाई सम्बोधन गर्न भ्रमण उपयोगी रहने दाबी सैन्य अधिकारीहरूको छ ।
भारतबाट विस्फोटक पदार्थ बनाउन आवश्यक कच्चा पदार्थ आइरहेकामा पछिल्लो समय अडकाउने काम भइरहेकाले क्षत्रीले भ्रमणका क्रममा त्यसबारे पनि छलफल गर्नेछन् ।
सेनाले भारतीय कम्पनीले तयार गरेको द्रुतमार्गको डीपीआर खरिद नगरेको विषय पनि छलफलमा आउने अधिकारीहरूले जनाए । नेपालले अन्य मुलुकबाट हतियार खरिद गरेको विषयदेखि दुईपक्षीय समग्र विषयमा छलफल हुने अधिकारीहरूको भनाइ छ ।
भारतीय सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा क्षत्री त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणको दौरानमा उनी भारतीय सेनाको देहरादूनस्थित इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार प्रशिक्षणको प्रमुख रिभ्यु अधिकृतका रूपमा प्रस्तुत हुनेछन् ।
भारतीय सेना प्रमुखले क्षत्रीकै कार्यकालमा तीन पटक नेपाल भ्रमण गरिसके पनि क्षत्रीको यो दोस्रो भ्रमण हो । उनले अमेरिका, क्यानडा, बेलायत र पाकिस्तानको भ्रमण गरिसकेका छन् । चीनलगायत केही मुलुकको भ्रमणमा भने प्रधानसेनापति नगई अन्यलाई पठाउने गरिएकोमा यस पटक आफैं जान लागेका हुन् ।
प्रधानसेनापति क्षत्रीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भ्रमणबारे जानकारी दिएका छन् । प्रधानसेनापतिले दिल्लीमा रक्षा, गृहलगायत मन्त्रीलाई भेट्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य राजनीतिज्ञसँगको भेटबारे पहल भइरहेको दिल्लीस्थित दूतावास स्रोतले जनायो । क्षत्रीेले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल र भारतीय समकक्षी रावतसँग छुट्टाछुट्टै दुईपक्षीय छलफल गर्नेछन् ।
प्रधानसेनापति क्षत्री २०७२ माघमा पहिलो भारत भ्रमणमा गएका थिए । जतिबेला नेपाल–भारत सम्बन्ध निकै बिग्रेको थियो । त्यतिबेला उनले त्यहाँको प्रधानसेनापति मानार्थका लागि भ्रमण गरे पनि दुईपक्षीय सम्बन्ध सुधारमा सैन्य कूटनीति उपयोगी भएको विश्लेषण छ । उनले भारतीय समकक्षीमार्फत नाकाबन्दी खुलाउन पहल गरेका थिए ।
‘यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास हाम्रो छ,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले भने ।
क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ १९:२

nema
Show More

Related Articles

Back to top button