समाचार

माथिल्लो तामाकोसीको लागत ६० अर्ब, थपियो २४ अर्ब भार

सुदिल पोखरेल

फाइल फोटो

४५६ मेगावाट क्षमताको यो आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख अनुमान गरिएको थियो । तर, आगामी वैशाखमा निर्माण सम्पन्न हुँदा लागत ६० अर्ब हाराहारीमा पुग्ने देखिएको छ ।१८ जेठ, काठमाडौं । भूकम्प  र नाकाबन्दीसँगै ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोसीको लागत २४ अर्बले बढ्ने देखिएको छ ।
भूकम्प र नाकाबन्दीका कारण निर्माणमा विलम्ब भयो । अहिले डलरको भाउ बढ्नुका साथै भारतीय कम्पनी टेक्सम्याकाले समयमा काम अघि नबढाउँदा आयोजनाको लागत थप बढ्ने अवस्था आएको हो ।
सुरुमा आर्थिक वर्ष २०७३/०७४ भित्रै आयोजना सम्पन्न  गर्ने लक्ष्य थियो । तर, २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यही वर्ष असोजमा भारतले लगाएको नाकाबन्दीका कारण आयोजनाको काम प्रभावित भयो । त्यसपछि निर्माण सम्पन्न गर्ने नयाँ भाका तोकियो, २०७५ असार ।
तर, असार लाग्नै लाग्दा पनि काम सम्पन्न भएको छैन । अब २०७६ वैशाखमा उत्पादन थाल्ने लक्ष्य राखिएको छ ।
हालै मात्र आयोजनास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखसम्म उत्पादन थाल्न निर्देशन दिएका छन् । तर, भारतीय कम्पनी टेक्सम्याकाले काम गराई हेर्ने हो भने वैशाखमा पनि निर्माण सक्न कठिन छ ।
आयोजना निर्माण सम्पन्न गर्ने मिति जति लम्बिदै गएको छ, लागत पनि त्यति नै थपिँदै गएको छ । हालै प्रकाशित तामाकोशी  हाइड्रोपावर लिमिटेडको दशौं वाषिर्क प्रतिवेदन अनुसार सन् २०१७ को डिसेम्बरसम्म आयोजनाको खर्च ४९ अर्ब २९ करोड ५४ लाख पुग्ने अनुमान छ ।
तर, यो ब्याज बिनाको लागत हो ।
आयोजना निर्माणका लागि विभिन्न संस्थाबाट ल्याएको ऋणको ब्याज १० अर्ब ३४ करोड ४५ लाख पुगेको छ । यो जोड्दा आयोजनाको लागत ५९ अर्ब ६३ करोड पुग्ने देखिएको छ ।
भूकम्पपछि सुरु भएको थियो विलम्ब
भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो ।
लागत बढ्नुको मूख्य कारण यो पनि हो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुप‍र्‍यो । भूकम्पले बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।
साथै यसबीचमा आयोजनाले डिजाइन पनि परिवर्तन ग‍र्‍यो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नु परेको थियो ।
‘निर्माण अवधि २ वर्ष लम्बिदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेका छन्’ प्रतिवेदनमा भनिएको छ, ‘सुरुको लागत ५ अर्ब ४९ करोड अपुग भएकाले पुनरावलोकन समितिले -निर्माण अवधिको ब्याजबाहेक) लागत ४९ अर्ब २९ करोड पेश गरेको छ ।’
डलरको भाउ बढ्दा पनि बढ्यो खर्च

आयोजना निर्माणका लागि भएका सम्झौतामा केही भुक्तानी डलर र युरोमा गर्ने व्यवस्थाले पनि लागत बढाएको हो ।
२०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आंकलन गरिएको थियो । तर, अहिले १०८ भन्दा माथि पुगेको छ ।
माथिल्लो तामाकोसी आयोजना निर्माणका लागि चार वटा विदेशी कम्पनीले जिम्मा लिएका छन् ।
सिनो हाइड्रोले सुरुमा सिभिलको जिम्मा १३ अर्ब ३७ करोड १८ लाख रुपैयाँमा जिम्मा लिएको थियो । तर, अहिले यसको लागत २१ अर्ब ६९ करोड पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।  यसको भुक्तानी ६५  प्रतिशत अमेरिकी डलर र ३५ प्रतिशत नेपाली रुपैयाँमा गर्ने सम्झौता छ ।
त्यसैगरी हाइड्रो-मेकानिकल वक्र्सको जिम्मा लिएको टेक्सम्याका एण्ड इन्जिनियरिङसँग सुरुमा १ करोड ५ लाख ७४ हजार युरो र २९ करोड २१ लाख  नेपाली रुपैयाँमा ठेक्का दिइएको थियो । अहिले यसको लागत बढेर कुल २ अर्ब १८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
इलेक्ट्रो-मेकानिकलको जिम्मा एन्डि्रज हाइड्रोले लिएको छ । यो कम्पनीसँग आठ करोड ७२ लाख अमेरिकी डलर र ३३ करोड ४२ लाख नेपाली रुपैयाँमा सम्झौता भएको थियो । तर, अहिले लागत बढेर ७ अर्ब ११ करोड रुपैयाँ पुग्ने देखिएको छ ।
यस्तै प्रसारणलाइन तथा सबस्टेशन निर्माणको जिम्मा भारतको केइसी इन्टरनेसनलले लिएको छ । १ करोड ७९ लाख अमेरिकी डलर र ५३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएकोमा अहिले लागत बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
डलर र नेपालीमा रकम भुक्तानी गर्ने सम्झौता भएका कारण डलरको भाउ बढ्दा पनि आयोजनाको लागत बढेको हो ।
अहिले आयोजनामा १ सय ७४ जना कर्मचारी छन् । समयमै आयोजना  सम्पन्न नहुँदा प्रशासनिक खर्च पनि बढेको छ ।
यो आयोजना स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो । आयोजनामा कर्मचारी सञ्चयकोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय विमा संस्थानको दुई अर्ब लगानी छ । सरकारले ११ अर्ब आठ करोडसम्म लगानी गर्नेछ ।

२०७५ जेठ १८ गते १८:३४ मा प्रकाशित

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button