नेपाली कांग्रेसविचार

कांग्रेसका कयौँ कमजोरी,समाधान : कठाेर समीक्षाशुक्रबार, १८ जेठ २०७५, १० : ११ |   ऋषिकेशजंग शाह

यो पंक्तिकारको गृह जिल्ला सल्यानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसले तेस्रो स्थान प्राप्त गरेको थियो । ‘वामपन्थी’ पार्टीको एकीकरणपछि यही शैलीमा हिँडे अब १० वर्ष कांग्रेसले सल्यानमा विजय हासिल गर्न कठिन छ ।

यो कथा सल्यानको मात्र नभई ताप्लेजुङदेखि दार्चुलासम्मको हो । तराईको अवस्था पनि योभन्दा फरक छैन भन्ने निर्वाचनबाट प्रमाणित भइसक्यो।अहिले चियापसलदेखि प्रमुख मिडियासम्म सुनिन–देखिन थालेको छ— अब कांग्रेसका दिन फर्किन गाह्रो छ । पहिलो र तेस्रो ठूलो दल मिलेपछि दोस्रो उसै सानो हुने सामान्य अंकगणित पनि नजानेर हो वा नजानेको जस्तो गरेर हो, विश्लेषणको भुलभुलैया बुझिनसक्नु छ । तर, यस लेखमा प्रश्न आफैँप्रति छन् । समस्या र समाधानको मुख्य सूत्र बाह्य होइन, आन्तरिक नै हो।

सबलाई थाहा भएकै कुरा दोहोर्याउनुको अर्थ त छैन तर यहाँ स्थापित र सिद्ध इतिहास पनि मेटिन थालेको, नयाँ पुस्ता दिग्भ्रमित भइरहेको देखिन्छ । जहानियाँ राणा शासनको अन्धकारतोडेर नेपाललाई उज्यालो युगमा प्रवेश गराउने ००७ सालको पहिलो क्रान्तिको नेतृत्व कांग्रेसकै हो । जनताकै विश्वास र साथ लिँदै ०४६ र ०६२÷६३ सालको आन्दोलनको नेतृत्व पनि कांग्रेसकै हो । राणा, पञ्चायत, राजतन्त्र र माओवाद, यी सबै अतिवादी थिए । यिनलाई साइजमा ल्याउने समन्वयकारी लोकतान्त्रिक पार्टी हो, कांग्रेस।

चरम गुटवाद र व्यक्तिवादको दलदलमा फस्नु कांग्रेसको सबैभन्दा ठूलो समस्या हो । गुटवाद र व्यक्तिवादमा फसेर संगठनभित्र चरम अराजकता सृजना भएको छ ।

हरेक ठूला क्रान्ति र आन्दोलनको नेतृत्व र व्यवस्थापन कांग्रेसले नै गर्यो। ०४६ पछि कांग्रेसकै नेतृत्वमा मुलुकले विकास र समृद्धिको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्यो। माओवादी द्वन्द्वबाट आक्रान्त समाजमा शान्ति स्थापना गरेर अत्यन्त जटिल संक्रमणकालको अन्त्य गर्दै देशलाई जनचाहना अनुरूपको संविधान निर्माण गरेर कार्यान्वयनको चरणमा कांग्रेसले नै पु¥यायो । अझ भनौँ, नेपालमा करिब सात दशक लामो लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले गर्यो।

तर त्यसलगत्तै भएको निर्वाचनमा कांग्रेस तुलनात्मक रूपमा पछि पर्यो, किन ? हरेक कांग्रेसी जनले आफैँलाई प्रश्न गर्नुपर्ने बेला भएको छ । र, लोकतान्त्रिक विचारमा आस्थावान् सबै नागरिकले कांग्रेसको,समग्रमा आफ्नै भलाइका लागि तथ्यपूर्ण आलोचना र सुझाव दिन जरुरी छ ।  लामो राजनैतिक उथलपुथलको कुशल व्यवस्थापन गरेर पनि पार्टीको कुशल व्यवस्थापन गर्न नसकेको आरोप छ, लाखौँ कार्यकर्ता र शुभचिन्तकहरूको ।

कांग्रेसको कमजोरी
क) संगठन निर्माण र परिचालन :पार्टी जीवनमा पार्टीको मूलप्रवाह मस्तिष्कसहितको शरीर हो भने भ्रातृ तथा शुभेच्छुक संस्था त्यसका अंगहरू हुन् । मस्तिष्करूपी पार्टीले तयार गरेका विचारहरूलाई समाजमा सम्प्रेषण गर्न र नीति तथा कार्यक्रमलाई लागू गराउन र त्यसका लागि आवश्यक जनसमर्थन जुटाउन भ्रातृ संस्थाको निर्माण गरिएको हो । यो मूलमन्त्रलाई प्राप्त गर्ने सामूहिक भावना र उद्देश्यबाट विमुख हँुदै चरम गुटवाद र व्यक्तिवादको दलदलमा फस्नु कांग्रेसको सबैभन्दा ठूलो समस्या हो । पार्टीको तल्लो तह र शुभेच्छुक संस्थाहरूलाई निश्चित लक्ष्य र उद्देश्य प्रदान गरेर परिचालन गर्न नसक्दा पार्टी संगठन कुहिरोको काग जस्तो बनेको छ ।

गुटवाद र व्यक्तिवादमा फसेर संगठनभित्र चरम अराजकता सृजना भएको छ । ८–१० वर्षदेखि महाधिवेशन हुन सकेको छैन । पार्टी नेतृत्वमा देउवाको आगमनपछि महाधिवेशन त सम्पन्न भयो तर पार्टीले न त लक्ष्यसहितको निर्देशन प्रदान गर्यो, न त स्वयं तीभ्रातृ संस्थाले आफ्नो गन्तव्य पहिचान गर्न सके । फलस्वरूप या त निष्क्रियता, या त आन्तरिक किचलो र कलहमा रुमलिनु तिनको दिनचर्या बन्यो ।निर्वाचनमा पराजयपछि नेपाल तरुण दलले केन्द्र, सात प्रदेश र जिल्ला तहको प्रशिक्षण सम्पन्न गरेर अलिकति गति समातेको छ । अन्य भ्रातृ संस्थाको उपादेयतामाथि प्रश्न चिन्ह छ ।

पार्टीको सबैभन्दा शक्तिशाली र ठूलो भ्रातृ संस्था नेवि संघ प्रायः आन्तरिक द्वन्द्वमा फसेर पार्टी सशक्तीकरणको आशमा बसेका आम पार्टी पंक्ति र समाजमा आशा र परिवर्तनको आशा छर्नुपर्नेमा निराशा छर्न व्यस्त छ । समावेशिताका कारण नेतृत्व तहमा अत्यन्त ठूलो स्थान हासिल गर्न सफल आधा आकाश र जनसंख्या ओगट्ने महिला संघको अस्तित्व छ÷छैन, खोज्नुपर्ने अवस्था छ ।  देशको मेरुदण्डकारूपमा रहेको कृषि क्षेत्रमा आबद्ध जनसंख्यालाई प्रभावित गर्न सक्ने किसान संघ वर्षौंदेखि मूच्र्छित छ । जसका कारण ग्रामीण जनस्तरमा पार्टीको सम्बन्ध जोडिनबाट वञ्चित छ।

समृद्धिको आशामा वर्षौंदेखि पर्खाइमा रहेको गरिब र ग्रामीण किसान वर्ग आफ्नो हकहितमा कांग्रेसलाई उभिएको नपाउँदा कम्युनिस्ट कित्तामा पुग्यो । आफ्नो कलासंस्कृति हरेक जातजाति र समुदायलाई प्रिय छ । एउटा ठूलो उद्योगकारूपमा स्थापित मनोरञ्जन क्षेत्रको प्रतिनिधित्व गर्दै नयाँ पुस्ता र समाजलाई बाटो देखाउने उद्देश्यले स्थापित सांस्कृतिक संघको प्रभावकारी परिचालनतिर हाम्रो ध्यान छैन ।समग्रमा भन्नुपर्दा समाजको विभिन्न क्षेत्रमा प्रवेश गर्दै संगठन निर्माण गरेर त्यो क्षेत्रको उत्थानमा समर्पित हुने र त्यो क्षेत्रलाई पार्टीको पक्षमा उपयोग गर्ने रणनीति पूरा हुन पाएन।

ख) पार्टीको अर्थ व्यवस्थापनको समस्या : निश्चित उद्देश्य प्राप्त गर्न समान विचारका साथ संगठित जमात पार्टी हो । जब समाजको हितमा सामूहिक भावनाले परिचालित भइन्छ, त्यो लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने पारदर्शी अर्थ व्यवस्थापन पहिलो सर्त हो । कांग्रेस स्थापना कालमा पार्टीको अर्थ व्यवस्थापनमा नेता सुवर्ण शमशेरले योगदान गर्नुभएको थियो । त्यो पर्याप्त नभएर नै होला, कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ३० लाख भारुसहितको विमान अपहरण गरेर सरकारी पैसा लुटेको थियो । माओवादी विद्रोहीले देशभर बैंक लुटेको हिजो मात्र हो । त्यसैले त्यही शैलीले आधुनिक पार्टी परिचालन सम्भव छैन ।

आधुनिक पार्टी निर्माण र परिचालनका लागि बलियो र पारदर्शी कोष निर्माण गर्न नसक्नु ठूलो कमजोरी हो । कोषकै अभावका कारण वर्षौंदेखि पार्टीमा समर्पित भएर काम गरिरहेको इमानदार नेताको सट्टा निर्वाचन लडाउन पार्टीमा लगानी नभएको अनैतिक भए पनि पैसावाल खोज्नुपर्ने अवस्था छ । पार्टीको तर्फबाट उम्मेदवार बनेकालाई सानो रकम सहयोग गर्न पनि पैसावाल, भ्रष्ट, व्यापारी, दलाल र ठेकेदारलाई अवसर र टिकट दिनुपरेको कारण नेतृत्वले टिकट बेचेको आरोपसमेत खेप्नुपर्छ।

ग) आपसी बेमेल : कांग्रेस वृत्तमा अग्रजले देखाएको निष्ठाको बाटो हिँडेर जनताको हित र समृद्धिका लागि आपसी एकतासाथ प्रतिस्पर्धी पार्टीहरूसँग मुकाबिला गर्नुको साटो आपसी खिचातानी र स्वार्थमा अल्झिएर लक्ष्यविहीन बन्ने प्रवृत्ति हाबी भएको छ । हामी यदुवंशी बनेका छौँ। हामी आपसमा एकको अवसानमा अर्काको उदय देखिरहेका छौँ। कांग्रेसभित्र चरम अराजकता र गुटवाद हाबी भएको छ।

घ) निराश युवापुस्ता ः कांग्रेस पुरानो पार्टीहो, यहाँ धेरै पुस्ताको सम्मिश्रण छ तर पार्टीभित्र विधि, पद्धति कमजोर भएर गुटवाद हाबी हँुदा संगठनमा जवानी अर्पण र जीवन समर्पण गरेर समाजका लागि काम गर्छौं भन्ने अधिकांश युवाहरू निराश छन्। अन्य पार्टीभित्र काम गरेका समकालीन पुस्ता उपल्लो तह र जिम्मेवारीमा पुग्दा पनि नेतृत्व र संगठन समयानुकूल गतिशील नहँदा हजाराँै युवाहरू भूमिकाविहीन छन् भने समावेशी र समानुपातिकको न्यायोचित वितरण नहुँदा लोकलाज पचाएर कसैले पटक पटक अवसर उपयोग गर्ने, बाँकी चाहिँ निराश भएर बस्नुपर्ने अवस्था छ ।
अब के गर्ने ?

कांग्रेसभित्र मूल्यांकन पद्धति वैज्ञानिक छैन । गुटमा विभक्त हुँदा समर्पित र लगनशील कार्यकर्तालाई उपयुक्त जिम्मेवारी र अवसर दिनेभन्दा पनि गुट र आफ्नोलाई प्राथमिकता दिने प्रचलन छ । जसका कारण पार्टी संगठन निर्माण तथा परिचालनमा मात्र नभई समाजलाई पार्टी संगठनमा आकर्षण गर्ने विषयमा गम्भीर क्षति भइरहेको छ।

देश भ्रमण गर्दा नेताहरूले एकतर्फी भाषण गर्ने शैली गलत छ । भ्रमणमा जाँदा पार्टीका साथीहरूसँग अन्तर्क्रिया गरिनुपर्छ । आलोचना सुन्नुपर्छ । समीक्षा गर्नुपर्छ । मै मात्र जान्ने बुझ्ने हुँ, कार्यकर्ता राणाकालीन रैति हुन् भन्ने सोच त्याग्नुपर्छ । ‘आत्मीयतासहितको एकता र आत्मअनुशासनसहितको सहकार्य’को सूत्र बोकेर अघि बढ्नुको विकल्प छैन ।

(लेखक नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button