विचार

फेरिँदो विश्व राजनीति

प्रा. श्रीधर खत्री
१३ असार २०७५ काठमाडौ,   लामो समय दुई ध्रुवीय अवस्थामा रहेको विश्व व्यवस्था सोभियत संघको अवसानपछि एक ध्रुवीय भएको छ। अहिले एक ध्रुवीय विश्व पनि बहुध्रुवीय भइरहेको छ। नयाँनयाँ शक्ति राष्ट्र उदाइरहेका छन्। विश्व राजनीति निकै द्रूत गतिमा परिवर्तन भइरहेको छ। यो परिवर्तन यति द्रूत गतिमा छ, आम मानिसलाई के भइरहेछ भन्ने मेसो पाउन पनि गाह्रो भइरहेको छ। यो सिंगो मानव जाति र राष्ट्र–राज्यका लागि चुनौती हो। अहिले विश्व राजनीति एसियातिर सरिरहेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ यो परिवर्तनका मुख्य कारक हुन्। उनले विश्व समीकरणलाई निकै छिटो परिवर्तन गरिदिए। त्यसैले पनि विश्व राजनीतिलाई पूर्व तान्ने मुख्य शक्तिका रूपमा चीनलाई लिइन्छ। चीनको बढ्दो आर्थिक शक्तिले उसलाई विश्व राजनीतिकै निर्णायकका रूपमा उभ्याइदिएको हो।
विश्व राजनीतिलाई पूर्वमा ल्याउने अर्को कारक भारत पनि हो। साथसाथै दक्षिणपूर्वी एसिया र पूर्वीएसियाले मुख्य भूमिका खेलिरहेका छन्। व्यापार मात्रै हेर्न हो भने आन्ध्रपार व्यापार (क्रस एटलान्टिक ट्रेड) भन्दा प्रशान्तपार व्यापार (क्रस प्यासिफिक ट्रेड) बढी छ। ओबामाकै शासनकालमा पनि ‘एसिया पिभट पोलिसी’ (एसिया प्रधान नीति) थियो। एसिया–प्रशान्त क्षेत्रमा व्यापार असन्तुलन भयो भनेर त्यो नीति ल्याइएको थियो। त्यसैले विश्वको शक्ति परिवर्तन पहिल्यै स्विकारिसकेको छ।
बिल क्लिन्टनको समयदेखि नै अमेरिकाले भारतसँग सम्बन्ध बढाउन प्रयासरत थियो। जर्ज डब्लु बुसको समयमा पनि त्यत्तिकै जोड दिइएको थियो। बाराक ओबामाको पालामा पनि त्यस्तै जोड दिइएको थियो। अहिले आफ्नै गठबन्धनमा समस्या भए पनि अमेरिकाले भारतसँग सम्बन्ध बढाइरहेको छ। यसमा भारतको पनि स्वार्थ लुकेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य बन्न उसलाई अमेरिकाको समर्थन, प्रविधि र आर्थिक सहयोग चाहिन्छ। अमेरिकाले ती सबै उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको छ, यद्यपि यी सम्बन्ध प्रश्नविहीन छैनन्। पाकिस्तानसँगको अमेरिकी नीतिलाई लिएर भारतले कति सुरक्षित महसुस गर्छ भन्ने प्र्रश्न पनि यसैसँग जोडिएर आउँछ।
त्यस्तै भविष्यमा अमेरिका र चीनबीच दुस्मनी हुन सक्छ। त्यतिबेला भारतलाई अमेरिकासँग मित्रता कायम गरिराख्न कत्तिको सजिलो हुन्छ भन्ने अर्को प्रश्न पनि छ। चीनसँगको छिमेकी देश भएर उसको शत्रु बनेको देशसँग सम्बन्ध कायम गरिराख्न सहज हुने छैन। भारतको पहिलेदेखि नै सकेसम्म सन्तुलनमा कायम रहने र आफ्नो हितलाई पहिलो प्राथमिकतामा राख्ने विदेश नीति छ। त्यसैले डोक्लाम घटनामा चीनसँग केही तनाव भए पनि त्यसलाई थाँती राखेर दुवै देश अगाडि बढेका छन्। मोदी र सीले मिलेर अगाडि बढ्ने संकेत पनि दिएका छन्। भारत अमेरिकासँग नजिकिएर चीनसँग विवादमा जान चाहँदैन। तर ऊ अरू धेरै कारणले अमेरिकासँग साझेदारी भने गरिरहनेछ। यी सम्बन्धलाई परिवर्तन ल्याउने अन्य कारण नहुँदासम्म भारतले सबैबाट फाइदा लिने नीति जारी राख्नेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विश्व राजनीतिमा परिवर्तन ल्याउन उल्लेखनीय भूमिका खेलिरहेका छन्। खासगरी युरोपेली देशहरूसँगको सम्बन्धमा परिवर्तन ल्याउन मोदीले भूमिका खेलिरहेका छन्। हुन त ‘छिमेक पहिला’ भन्ने नीति अवलम्बन गरे पनि उनले खासै महत्वपूर्ण केही गर्न सकिरहेका छैनन्। बंगलादेशबाहेक अन्य छिमेकी देशहरूसँग भारतको सम्बन्ध खासै राम्रो छैन।

आम मानिसहरू देश–देशबीचका सम्बन्धलाई सरल रूपमा बुझ्न खोज्छन्, तर अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै जटिलता हुन्छन्। त्यसलाई ध्यान दिनुपर्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्व व्यवस्थामा खल्बली ल्याउने एउटा मुख्य कारक बनिरहेका छन्। गठबन्धनसँगको सम्बन्ध कस्तो हो भन्नेमा उनी आफैं स्पष्ट छैनन्। पछिल्लोपटक सम्पन्न जी सेभेनको बैठकमा मात्र होइन, त्योभन्दा पहिला भएको नेटो देशहरूको बैठकमा जाँदा पनि उनी आफ्नो भूमिकाबारे स्पष्ट थिएनन्। उनले व्यापार युद्ध अगाडि सारिरहेका छन्। ट्रम्पको सन्दर्भमा केही रोचक विरोधाभास छन्।
एकातर्फ डोनाल्ड ट्रम्पले आफ्ना गठबन्धन देशसँगको सम्बन्ध बिगारिरहेका छन्। दोस्रो विश्वयुद्धपछि पहिलोपटक अमेरिकाको गठबन्धन देशसँगको सम्बन्ध कमजोर स्थितिमा छ। अर्कोतर्फ उनी उत्तर कोरियासँग सम्बन्ध सुधार गर्न सफल भएका छन्। रूससँग पनि सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्। अमेरिकी सञ्चारमाध्यमले अहिले यही अन्तरविरोधलाई प्रमुखताका साथ प्रकाशन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय संगठनहरूलाई बुझ्ने मामिलामा बेलाबेलामा विविध खाले असमझदारी देखा पर्ने गरेका छन्। संगठनहरूको अध्ययन गर्दा कसले बढी लगानी गरिरहेछ भन्नेमा ध्यान दिनुपर्छ। अमेरिकी उपस्थिति रहेका संगठनहरूमा प्रायः उसको लगानी बढी हुने गरेको छ। त्यसैले पनि उसको शक्ति बढी हुन्छ, तर अहिल्यै सबैथोक परिवर्तन भइसक्यो भन्न सकिँदैन।
आम मानिस देशदेशबीचका सम्बन्धलाई सरल रूपमा बुझ्न खोज्छन्, तर अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै जटिलता हुन्छन्, त्यसलाई ध्यान दिनुपर्छ। कहिलेकाहीं शक्तिराष्ट्रहरू वा राजनीतिज्ञहरूसमेत अन्तर्राष्ट्रिय सम्बन्धका जटिलतालाई सरल रूपमा प्रस्तुत गर्न खोज्छन्। त्यो निकै डरलाग्दो हुन्छ। जस्तै ट्रम्प प्रशासन, हरेक विषयमा ट्रम्प प्रशासनले सरल जवाफ दिने गर्छ, तर संसार त धेरै जटिल छ।
अहिले ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी कठोर नीतिहरू ल्याएर आफ्ना छिमेकी देशसँग सम्बन्ध बिगारिरहेको छ। अमेरिकाले मेक्सिको र क्यानडासँग शत्रुता मोलेर केही फाइदा पाउने भने देखिँदैन। ती देश उसलाई छिमेकी मित्रराष्ट्रका रूपमा चाहिन्छ। हो, दुवै देशका हितहरू बाझिन सक्छन्, तर आर्थिक विकास र सुरक्षा हिसाबले दुवैसँग मित्रता कायम गर्न अमेरिका सक्षम हुनुपर्छ।
अन्तर्राष्ट्रिय सम्बन्धलाई सरल रूपमा बुझ्न खोजेजस्तै अर्को दोष पनि पाइन्छ। केही मानिसहरू विश्व राजनीतिलाई श्यामश्वेतमा बुझ्न खोज्छन्। विश्व राजनीतिलाई त्यसरी सहज रूपमा बुझ्न गाह्रो हुन्छ। सही र गलत, ठीक र बेठीकबीच मसिना रेखाहरू हुन्छन्। विदेश नीति श्यामश्वेत प्रणालीमा काम गर्दैन। त्यहाँ अनेकौं खैरा रङहरू पनि हुन्छन्।
अहिलेको विश्व एकअर्को देश अभूतपूर्व रूपमा जोडिएको छ। हामी एकदमै अन्तरनिर्भर संसारमा बाँचिरहेका छौं। कुनै पनि देश अर्को देशको स्वार्थ क्षेत्रबाट टाढा रहेर अलग्गै बस्न सक्दैन। युरोपेली देश र अमेरिका आर्थिक र सुरक्षा चासोले जोडिएका छन्। भारतको सुरक्षा चासो पनि कुनै न कुनै हिसाबले अमेरिकासँग जोडिएको छ। चीनलाई पनि सुरक्षा चासो उत्तिकै छ। ऊ आर्थिक रूपमा अगाडि बढ्न चाहन्छ भने ऊ सैन्य द्वन्द्वमा जान सक्दैन। किनभने युद्धले जहिल्यै ध्वंस मात्र निम्त्याउँछ। व्यापार र अन्य आर्थिक गतिविधिमा खलल भएपछि आर्थिक वृद्धि नै खल्बलिन्छ। आर्थिक वृद्धि खल्बलिएपछि लोककल्याणमा वाधा आउँछ।
हामीले दोस्रो विश्वयुद्धलगत्तैको युरोपेली देशको अवस्था बिर्सनु हुँदैन। दोस्रो विश्वयुद्धलगत्तै बेलायतमा जागिर पाउन गाह्रो हुन्थ्यो। त्यहाँ खानाको अभाव थियो। अमेरिकामा पनि त्यस्तै थियो। युद्धबाट कसैले पनि जित्दैन, तर कहिलेकाहीं युद्ध हुन्छ। प्रायजसो युद्ध दुर्घटनावश हुन्छ। खासगरी गलत गणनाले युद्ध निम्त्याउँछ। आर्थिक क्षेत्रमा विकास गर्दै जाँदा युद्ध टर्दै जान्छ।
सारमा सिंगो विश्व विभिन्न शक्ति राष्ट्रहरूको दाउपेच, हानथाप, सहकार्य र प्रतिस्पर्धाबाट गुज्रिरहेको छ। अहिले अन्तर्राष्ट्रिय सम्बन्ध झन्भन्दा झन् जटिल भइरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्धको यही जटिलतामै नेपालजस्तो सानो देशले पनि आफ्नो भूमिका सुनिश्चित गर्नुपर्छ। सानो देश भएकाले नेपालसँग शक्तिको खेल खेल्ने धेरै सुविधा छैन। त्यसैले यसले सावधानीपूर्वक चनाखो भई स्थितिको अध्ययन गर्नुपर्छ र आफ्नो भूमिका निर्धारण गर्नुपर्छ। विश्व परिवेशको गम्भीर अध्ययन नगर्ने हो भने र छिमेकी देशहरूको चासोलाई सम्बोधन नगर्ने हो भने हामीले गम्भीर क्षति व्यहोर्नुपर्छ।
अन्नपुर्ण बाट साभार गरिएको ।

nema
Show More

Related Articles

Back to top button