नेपाली कांग्रेसविचार

कांग्रेसमा नेतृत्वबारे बहस

शुक्रबार, १५ असार २०७५, ०७ : ०१ |  बालकृष्ण अधिकारी  |

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयले कांग्रेसभित्र नयाँ नेतृत्व बहस सुरु भएको छ। निर्वाचनमा पार्टी हारको जिम्मेवारी कसले लिने विवादमै पार्टीका शीर्ष नेताहरू अहिलेसम्म अलमलिएका छन्। निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै सभापति शेरबहादुर देउवाले नेतृत्व छाड्नुपर्ने तर्क असन्तुष्ट पक्षले गर्दै आएको छ। सभापतिनिकटका नेताहरू सामूहिक रूपमा उम्मेदवार छनोट भएकाले हारको जिम्मेवारी पनि सबैले लिनुपर्ने बताउँदै आएका छन्। दुवै पक्ष आआफ्नो अडानमा कायम रहँदा कांग्रेसका नेता तथा कार्यकर्ता केन्द्रदेखि गाउँ तहसम्म पक्ष र विपक्षमा धु्रवीकृत छन्।

गुटगत रूपमा पार्टीका नेता तथा कार्यकर्ता विभाजित हुँदै जाँदा सभापति देउवामात्र होइन, समान उमेर समूहका अर्का नेता रामचन्द्र पौडेल पनि अब अभिभावक बन्नुपर्ने आवाज युवा नेताले उठाउन थालेका छन्। दुई कम्युनिस्ट पार्टी मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग कांग्रेसलाई प्रतिस्पर्धी बनाउन पुस्तान्तरण आवश्यक रहेको उनीहरूको तर्क छ। के सभापति देउवा र नेता पौडेल पार्टी नेतृत्व हस्तान्तरणका लागि तयार होलान्?

विधानले दिएको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने कांग्रेसको १४औं महाधिवेशन हुन अझै डेढ वर्ष बाँकी छ। निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिनुभन्दा एकअर्कामाथि दोष लगाएर आफूहरू असल रहेको प्रमाणीत गर्न दुवै पक्ष सक्रिय देखिन्छन्। विधानले दुई पटकसम्म पार्टी नेतृत्व लिन रोक नलगाएको सुनाउँदै देउवाले केही दिनअघि पार्टीको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनको उद्घाटनमा भनेका थिए, ‘९२ वर्र्षीय महाथीर महम्मद मलेसियाको प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका छन्, म त ७४ वर्ष त भएँ।’ कसैले छाड् भन्दैमा नेतृत्व नछाड्ने बताउँदै उनले आगामी महाधिवेशनमा नेतृत्वका लागि पुनः प्रतिस्पर्धा गर्ने स्पस्ट संकेत गरे।

त्यस्तै असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता पौडेल आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने दाउमा छन्। सभापति देउवाविरुद्ध एकजुट भए पनि विभिन्न उपगुटमा विभाजित असन्तुष्ट पक्षलाई समेटेर नतिजा उल्ट्याउने पौडेलको रणनीति छ। १३औं महाधिवेशनमा नेतृत्वका लागि आमनेसामने भएका दुवै नेता कुनै अस्वाभाविक परिस्थितिबाहेक नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन्।

यदि त्यस्तो अवस्था आयो भने कांग्रेस नेतृत्वमा को आउलान्? उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला वा अरू कोही? उनीहरूबाहेक कुलबहादुर गुरुङ, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठसहितका नेताले आफूलाई पार्टी नेतृत्व गर्ने दाबेदारी प्रस्तुत गर्दै आएका छन्।

पुरातन गुटगत संरचना कायम रहे देउवाको विकल्पमा गुटको नेतृत्व गर्दै निधि मैदान उत्रने स्वाभाविक भएको नेता निकट बताउँछन्। तर, त्यसबेला विजयकुमार गच्छदार, गोेपालमान श्रेष्ठ, पूर्णबहादुर खड्कासहितका नेताहरूको भूमिका अर्थपूर्ण हुनेछ।

पौडेलको विकल्पमा महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वका लागि बलियो दाबेदार हुन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सभापति देउवाविरुद्ध सिंह आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् । महामन्त्री कोइराला खुलेका छैनन्। महामन्त्री कोइराला पार्टी एकताको मात्र वकालत गर्न थालेपछि पौडेल, सिंहसहित असन्तुष्ट गुटकै नेताहरूले उनलाई शंकाको नजरले हेर्न थालेका छन्।

१३औं महाधिवेशनमै तत्कालीन संस्थापन पक्षसँग विद्रोह गर्दै शेरबहादुर देउवाको सहयोगी समूहका रूपमा सभापतिको प्रत्यासी बनेका नेता कृष्णप्रसाद सिटौलाको भूमिका त्यतिबेला कहाँ र के रहन्छन् त्यसले पनि नयाँ नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

कांग्रेसका पुराना नेता रामचन्द्र पोखरेलले विवाद र विभाजनले पार्टी संगठन बलियो हुन नसक्ने बताए। ‘कांग्रेसमा आशाका केन्द्र र पार्टी धान्ने यिनै नेताहरू हुन्,’ पोखरेलले भने, ‘फलानोले नेतृत्व गरे मुलुक र पार्टी बन्छ भन्ने सिंगल व्यक्ति कोही छैनन्। मिलेरै पार्टीलाई अघि बढाउनुपर्छ।’ व्यक्तिगत स्वार्थलाई अघि नसारे नेताहरूका बीचमा एकता सम्भव रहेको सुनाउँदै पोखरेलले उनीहरूले राम्रो गरेनन् भनेर अर्को आउने सम्भावना नरहेको उनले दाबी गरे।

कांग्रेस नेता होमनाथ दाहाल यस कुरालाई स्वीकार गर्न तयार छैनन्। पार्टी सभापति देउवा, नेता पौडेलसहितका नेताहरूले अब पार्टी नेतृत्व छाड्नुपर्ने उनी बताउँछन्। नयाँ ढंगबाट पार्टीलाई अघि बढाउन युवाको हातमा नेतृत्व पुग्नुपर्ने तर्क गर्दै दाहाल विगत २५ वर्षदेखि निरन्तर परीक्षित हुँदै आएका नेताबाट कांग्रेसले अबको चुनौती सामना गर्न नसक्ने टिप्पणी गरे।

२०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केकै ठाउँबाट कांग्रेसले संगठन निर्माण र सैद्धान्तिक विचलनमा सुधार थाल्नुपर्ने उनको तर्क छ। कमल थापा नेतृत्वको प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर अघि बढ्दा कुनै पनि केन्द्रीय सदस्य त्यसविरुद्ध नबोलेको सुनाउँदै उनले भने, ‘पार्टी क्राइसिसमा परेका बेला खै त लिगेसी बोकेका नेताहरूको उपस्थिति? अब लिगेसी बोकेकाबाट पार्टी चल्दैन।’

दक्षिण एसियाको राजनीतिमा लिगेसीको ठूलो अर्थ र महत्व रहेको सुनाउँदै उनी पार्टी शीर्ष नेताका छोरा वा छोरीमा अवगुण भए पनि उनीहरूलाई जोगाउने काम हुँदै आएको बताउँछन्। लामो इतिहास र लिगेसी बोकेको कांग्रेसमा त्यसलाई नकारेर जाने अवस्था नरहेको बताउँदै पोखरेल आम नेताकार्यकर्ता लिगेसी र व्यक्तित्वलाई बचाएर नयाँ नेतृत्व छनोटको पक्षमा रहेको सुनाउँछन्।

धेरै व्यक्तिको योगदान र लगानीबाट अहिलेको कांग्रेस पार्टी निर्माण भएको सुनाउँदै पोखरेलले पार्टीभित्र कोइराला हाउस, देउवा हाउस, पौडेल हाउस र सिंह हाउसलाई जबर्जस्ती स्वीकार गर्नुपर्ने अवस्था रहेको औंल्याए। बिपी कोइरालाले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच विवाद र झगडा भएका दिन कांग्रेस कमजोर हुने बताएको स्मरण गर्दै उनले भने, ‘सबैको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्नुपर्छ। विज्ञताले मात्र पार्टी चल्दैन।’

गुटउपगुटले पार्टी कमजोर बन्दै गएको निष्कर्षमा पुगेको कांग्रेसमा नेताकार्यकर्ताको नजर नेतापुत्रमाथि छ। बिपी पुत्र शशांक, गणेशमान पुत्र प्रकाश र महेन्द्रनारायण पुत्र विमलेन्द्र एकै ठाउँमा उभिए गुटबन्दी अन्त्य हुने र संगठन मजबुत हुने धेरैको अपेक्षा छ। तर, आफैं चरम गुटबन्दीमा रहेका उनीहरूबाट आम कार्यकर्ताको भावना सम्बोधन होला? पोखरेल भन्छन्, ‘व्यक्तिगत स्वार्थ टाढा राखेर मुलुक र पार्टीको हितमा समर्पण गर्ने हो भने तीनजनाकाबीच मात्र होइन, सिंगो पार्टीभित्र एकता सम्भव छ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button