कर्मशील कांग्रेसको प्रश्न
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका १२ वर्षमध्ये सबैभन्दा बढी अर्थात् आठ वर्ष साम्यवादी दलको नेतृत्वले शासन गरिसकेको अवस्था छ । समय–समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेससँगको गठबन्धनमा समेत साम्यवादीहरू सरकारमा समावेश थिए । निर्दलीय पञ्चायतकालदेखि नै साम्यवादी दलहरूले कर्मशील कार्यकर्ताको अवधारणालाई निरन्तरता दिँदै आएका हुन् । उनीहरूको दोहोरो रणनीति थियो । एकथरी प्रत्यक्ष राजनीतिमा देखिन्थे र अर्कोथरी विद्यालय स्थापना र सञ्चालन, स्टेसनरी, शिक्षण, औषधालय, बन्द÷व्यापार, सरकारी सेवा, पत्रकारिता आदि विभिन्न आयआर्जनमा सक्रिय थिए । तिनीहरू अधिकांश भूमिगतरूपमा पार्टीका सदस्य हुन्थे । आवरणमा अनेक गुटमा विभाजित साम्यवादी दलहरूलाई निर्दलीयकालमा दोहोरो, तेहोरो रणनीति प्रयोग गर्नु सहज भयो । सर्वत्र उनीहरूको पकड जम्दै गयो।
उदारीकरण र निजीकरणको नीतिसहित सहकारी अभियानलाई नेपाली कांग्रेसले आरम्भ गरे पनि त्यसबाट सर्वाधिक लाभ लिने सामथ्र्य साम्यवादीहरूले देखाउनुलाई सामान्यरूपमा हेरिनु गलत हुनेछ।
बिपी कोइरालाले निर्वासन परित्यागको लगत्तै २०३३ पछि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको भाष्य गर्ने सन्दर्भमा डिएन अदितको सूत्रबारे त्यसै व्याख्या गरेका थिएनन् । इन्डोनेसियामा सत्ता र समाजका हरेक अवयवमा घुसेर कसरी साम्यवादीले सत्ता कब्जाको रणनीति बनाएका थिए भन्ने इतिहासको पाठलाई बिपीले नेपाली समाजमा पढाउने काम गरेका थिए । नेपाली साम्यवादीमा कर्मविरोधी विचार त माओवादी हिंसाले मात्र प्रवद्र्धन र विस्तार गरेको हो । माओवादी हिंसाकालमा अरुका भकारीको धानचामल, अरुका करेसाबारीको तिहुन्, अरुको कमाइको धन सम्पत्ति, अरुका पशुपक्षी, लुटेर, कुटेर, काटेर खान सिकाउने काम हुन पुग्यो । यद्यपि कतिपय किसानका जमिन लुट्ने र त्यसमा आफ्नो स्वामित्व स्थापना गर्न कृषिको नारा लगाइएको भए पनि त्यो सफल हुनसकेन । वस्तुतः माओवादी हिंसाले साम्यवादीहरूको ऊर्जाशील क्षमतालाई धराशायी बनाउँदै निरर्थक स्वप्नशील नयाँ सामन्ती वर्ग निर्माण गर्न पुग्यो।
२०६२ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनको परिणामले माओवादीलाई पनि क्रमशः उद्यमशील बनाउने क्रमसँग जोड्ने काम गरेको छ । तर माओवादीले २०५२ देखि देखाएको बाटोमा अझै पनि केही समूह सक्रिय देखिन्छन् । तिनीहरू पनि ढिलो/चाँडो मूलधारमा जोडिनु अनिवार्य छ । अहिले नेपालको शासकीय सत्तामा मात्र होइन, राज्यको विकासका आधरशीला मानिने हरेक क्षेत्रमा साम्यवादी कार्यकर्ताको पहुँच र पकड देखिएको छ । शिक्षा, उद्योग, व्यापार, निजी विद्यालय, निजी स्वास्थ्य संस्था, निजी सञ्चारमाध्यम, सहकारी, यातायात व्यवसाय, निर्माण व्यवसाय, वैदेशिक रोजगार , विद्युत् गृह, साहित्य र कलाको क्षेत्रमा समेत साम्यवादी विचार पक्षधरहरूको प्रभाव व्यापक छ । राष्ट्रको मूल आर्थिक आधारहरूलाई उनीहरूले यसरी आफ्नो पक्षमा गराउनुको मुख्य कारण भनेको उनीहरूको कर्मशील योजना र सक्रियता नै हो।
उदारीकरण र निजीकरणको नीतिसहित सहकारी अभियानलाई नेपाली कांग्रेसले आरम्भ गरे पनि त्यसबाट सर्वाधिक लाभ लिने सामथ्र्य साम्यवादीहरूले देखाउनुलाई सामान्यरूपमा हेरिनु गलत हुनेछ । यस सत्यलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार गरेको देखिँदैन । कांग्रेस कहिले निर्दलीय पञ्चायतसँग कहिले राजासँग, कहिले साम्यवादीहरूसँग र पछिल्लो चरणमा आफूआफैँमा लड्नमा नै ब्यस्त रह्यो । २०७४ को आमनिर्वाचनपछि त नेपाली कांग्रेस कुहिरोमा हराएको कागजस्तो भएको छ । युद्धमा घाइते भएर पराजित हुन लागेको सेनापतिले हतास सैनिकहरूलाई पुनर्संगठित गराउने काम गर्छ । उसको प्रयत्न पुनः युद्ध जित्नमा हुनेछ । तर नेपाली कांग्रेसको नेतृत्वमा बसेका सबै तहका नेता अहिले आफ्ना घाइते कार्यकर्तालाई पन्छाउन सक्रिय देखिन्छन् । उनीहरून संगठित हुन प्रेरित गर्दैछन् न त योजनाबद्धरूपमा कर्मशील हुन सिकाउँदैछन् न कर्मशील हुने प्रयासहरूलाई उनीहरूको कुनै सहयोग, समर्थन र सहानुभूति नै देखिन्छ । आजको कांग्रेसको दुर्भाग्य यही नै हो । महात्मा गान्धीले आफूलाई निरन्तर कर्मशील बनाउन चर्खा चलाउने गर्थे भन्ने सत्यलाई कांग्रेसका नेता र पार्टीका सदस्यहरूले बुझिरहेका छैनन्।
गंगामाया र डा. गोविन्द केसीप्रतिको व्यवहारले सत्ताले विवेक गुमाएको अनभूत गराएको छ । यद्यपि डा. केसीका कतिपय कार्यशैली र मुद्दामा यो पंक्तिकारको स्पष्ट असहमति छ । तर उनको आफूलाई प्रस्तुत गर्ने अधिकारमाथि निषेध गर्नु मानव अधिकारविरुद्ध छ भन्नेमा कुनै द्विविधा छैन।
यतिखेर नेपाली कांग्रेस चुनौतीहरूको चाङमा बसेको छ । कांग्रेसका सामु असरल्ल काम छन् । प्रचण्ड बहुमतको सरकारले समाजवादको नारा दिन लागेको छ । लोकतन्त्रवादीहरूले खोजेको समाजवाद र साम्यवादीहरूले खोजेका समाजवादमा तात्विक फरक छ । साम्यवादीहरूको राजनीतिक समाजवाद हो भने लोकतन्त्रवादीहरूको आर्थिक–सामाजिक रूपान्तरणको विषय हो समाजवाद । प्रधानमन्त्रीले अहिले समाजवाद ल्याउने विचार प्रक्षेपण गर्दा नेपाली कांग्रेसले यस विषयलाई स्पष्ट गर्नु जरुरी छ । मानव अधिकारको प्रश्न गम्भीर भएर उठ्न लागको छ । गंगामाया र डा. गोविन्द केसीप्रतिको व्यवहारले सत्ताले विवेक गुमाएको अनभूत गराएको छ । यद्यपि डा. केसीका कतिपय कार्यशैली र मुद्दामा यो पंक्तिकारको स्पष्ट असहमति छ । तर उनको आफूलाई प्रस्तुत गर्ने अधिकारमाथि निषेध गर्नु मानव अधिकारविरुद्ध छ भन्नेमा कुनै द्विविधा छैन।
गंगामाया नेपाली शासनको विवेकहीनता र अलोकतान्त्रिक चरित्रले देखाएको निर्मम आचरणविरुद्ध मानक हुन पुगेकी छिन् । आन्दोलन वा विप्लवका समयमा संवेदनशील क्षेत्रहरूलाई सुरक्षित गर्न निषेधको वैधानिक आदेश हुने गर्छ । त्यसको पनि कार्यविधि हुन्छ । अहिले सरकार विरोध र असहमति रोक्न सर्वत्र निषेधको नियम बसाल्दैछ । लोकतन्त्रको मेरुदण्ड स्वतन्त्रता हो र स्वतन्त्रताको मेरुदण्ड अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रताको संयन्त्र स्वतन्त्र प्रेस हो । यसमाथि अंकुश लगाउन सरकार योजनाबद्ध सक्रिय देखिन्छ । उदार अर्थतन्त्रको प्रयोगमा अभ्यस्त समाजलाई नियन्त्रण गर्न खोज्दा अहिले सेयर बजारदेखि साग र आलु/काउलीमासम्म नकारात्मक प्रभाव परिरहेको छ । पानीजहाज र रेलका गफ सुनिरहेका राजधानीबासीहरू हिलाम्य सडक दहमा चोपलिँदै गन्तव्यमा उन्मुख हुन विवश छन् । विकासे सबै गफ हावामा परिणत हुँदैछन् । के नेपाली कांग्रेस यस्तो समयमा कर्महीन भएर बस्नु उचित हुन्छ? प्रमुख प्रतिपक्ष संख्या होइन, मान्यता र शक्ति हो । लोकतन्त्रमा प्रतिपक्ष सरकारसंँगै तर सरकारका विपक्षमा सक्रिय सिद्धान्त र आचरण हो । सत्ता लिने रणनीति र योजनाको खोजी कुनै समयमा प्रतिपक्षका निम्ति सही हुनसक्ला तर सदा त्यो सत्य हुँदैन । कांग्रेसका लागि अहिले सत्ताको खोजी सही हुँदैन तर सत्तालाई सुधार गर्ने र सही बाटो देखाउनु त उसकोे विपक्षीय धर्म नै हो । किन यता सक्रिय देखिँदैन कांग्रेस?
रामचन्द्र पौडेलले समयको चापलाई विस्तारो महसुस गर्दै कर्मशील कांग्रेसको सूत्र प्रस्तुत गरेका छन् । तर यो कर्मशील कांग्रेस कसरी निर्माण गर्ने त्यसको कुनै खाका भने देखिँदैन । नेपाली कांग्रेसमा झोला बोकेर चन्दा उठाउन हिँड्ने, बाटो खर्च वा पढाइ खर्च माग्दै नेताका घरमा पुग्ने, जुलुस र नारामा सीमित जमातलाई पार्टीको शक्ति मान्ने प्रचलन छ । अथवा झोला बोकेर नेताहरूको महलका ढोका कुर्ने र नेताहरूसमेतलाई आफ्नो महलमा स्वागत गर्नेहरूलाई बढी विश्वास गर्ने चलन छ । कर्मशील अध्यवसाय, व्यवसाय,व्यक्तिगत योगदान, क्षमता, र इमान्दारिताभन्दा पृथक चरित्रपात्र नातानाला र आनुवंशिक क्षमतालाई प्रश्रय दिने काम भएको छ । कर्मशीलहरूलाई सहयोग गर्नुको बदला अधिकांश समर्थ कांग्रेसकर्मीहरू मदिरामत्त हुनुमा गौरवबोध गरिरहेको देखिन्छ । उनीहरूका वैध/अवैध आयहरूको ठूलो हिस्सा स्वजनको उन्नति वा व्यक्तिगत विलासी जीवनमा प्रयोग भइरहेको छ । त्यस आयलाई अस्पताल, विद्यालय, कृषि विकास, उद्यमशीलता, विपन्न र सीमान्तकृतहरूको हित, पार्टी आबद्ध निम्छराहरूको उन्नति, साहित्यिक/सांस्कृतिक उत्थान, सञ्चार सम्बन्ध र समुदायकालागि विकास निर्माणमा लागेको त्यति देखिँदैन।
शिक्षा क्षेत्र, निर्माण व्यवसाय र स्वास्थ्य क्षेत्रमा अनि सञ्चार क्षेत्रमा केही आफ्नै क्षमतामा भर गर्ने लोकतन्त्रवादीहरू छन् । उनीहरूलाई कांग्रेसले उपयोगबाहेक केही गरिरहेको देखिँदैन । संस्थागतरूपमा ती कर्मशीलहरूलाई प्रोत्साहन गर्ने र संगठित गर्ने नीति कांग्रेसले बनाएको छैन, व्यवहार त परको कुरा हो । उद्यमशीलतालाई निकै वर्षअगाडिदेखि आन्दोलनका रूपमा विकास गरेका पर्वतका कांग्रेस नेता ऋषिकेश तिवारी एक्लो वृहस्पति जस्ता थिए । उनले कृषि उत्पादनलाई उद्योगमा परिणत गर्ने अभियाननै चलाएका छन् । निर्दलीय पञ्चायतकालमा स्वयं रामचन्द्र पौडेल पनि कफी खेती गर्दै थिए । सत्ताको धारमा उभिनासाथ त्यो त्यसै हराएको छ । के नेपाली कांग्रेसको युवापुस्ता नेतृत्वको सिँढी चढ्ने सपनासँग कर्मशीलतालाई आफ्नो आधार बनाउनसक्छ ? एकपटक युवा प्रतिभा गगन थापाले सुरु गरेको बाख्रा खेती कता हरायो ? त्यो राम्रो कामको निरन्तरता किन हुन सकेन ? अबका दिनमा कर्मशील कांग्रेसको विषयलाई प्रशिक्षणसँग जोड्नु जरुरी छ।
केही दिनपहिले उपसभापतिका रूपमा पदेन प्रशिक्षण प्रतिष्ठानको प्रमुखसमेत हुन पुगेका विमलेन्द्र निधीका लागि यो विषय महत्वको हुन सक्छ । बिग्रिएको पार्टी अनुशासन, कमजोेर प्रशिक्षण, समुदायमा भुसको आगो जस्तो भएर रहेको द्वेषका झिल्का र देशभर पुगेको गुटगत चिरालाई न्यून गर्नुमात्र होइन, कर्मशील कांग्रेस निर्माण गर्ने योजनासमेत प्रशिक्षणको प्रमुखका हैसियतमा निधीको जिम्मेवारीसँग जोडिएको देखिन्छ । तर सिंगो कांग्रेससँग दृष्टिकोण, दृढ इच्छाशक्ति र सामूहिक क्रियाशीलता भएन भने कर्मशील कांग्रेस क्षणिक नारामा सीमित हुनेछ