breakingनेपाली कांग्रेस

कांग्रेस सभापति देउवाले बोलाएको बैठकले निर्णय गर्न सकेन

काठमाडौं, चैत २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठक बिना निश्कर्ष टुगिंएको छ ।
सोमबार सभापति देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकमा कार्यसम्पादन समिति र गठन हुन बाँकी रहेका विभागका विषयमा छलफल भएपनि बिनानिष्कर्ष टुगिंएको हो ।
बैठकमा कार्यसम्पादन समिति गठनमा सहमति बन्न नसकेकाले तत्काललाई यो विषय थाती राखी विभागहरु गठन गर्ने प्रस्ताव सभापति देउवाले गरेका थिए ।
कांग्रेसको विधानमा २९ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने प्रावधान रहेको छ ।
सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफ्ना पक्षको नाम दिन आग्रह गरेका थिए । तर, पौडेलले भने त्यसमा निर्णय लिएनन् ।
सभापतिले नाम मागेपनि विभाग गठनका विषयमा निष्कर्ष निस्कन नसकेको बैठकपछि नेता पौडेलले बताए ।
गुटगत राजनीतिमा फसेको कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएका बेला बोलाइएको नेताहरुको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।
सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ६०÷ ४० प्रतिशतका आधारमा समिति बनाउन सहमति जुटेपनि अर्का नेता कृष्ण सिटौला विरोध गरेकाले यो विषय अनिर्णित भएको हो ।
सभापति देउवाले केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नुपूर्व सहमति खोज्न बोलाएको नेताहरुको बैठक पूर्वमहामन्त्री सिटौलाले भने बहिस्कार गरेका थिए ।
केन्द्रीय समितिपछिको शक्तिशाली निकाय कार्यसम्पादन समिति गठनमा आफ्ना मानिसहरु राख्न कांग्रेसमा नेताहरुबीच गुटैपिच्छेको स्वार्थ देखिन थालेको छ ।
सिटौलाले २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई सदस्य पाउनुपर्ने अडान राखेका छन् भने देउवा र पौडेल सिटौलालाईमात्रै राख्न सहमत भएका छन् ।

nema
Show More

Related Articles

Back to top button