breakingविचार

बीपी र पुष्पलाल : देश बुझ्ने को ?

बीपी र पुष्पलाल : देश बुझ्ने को ?
author-image

सुजित मैनाली
फुर्सद

 ०५ साउन २०७५ ११:

बीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई मुख्य हस्ती हुन्। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछिको नेपाली राजनीतिलाई उनीहरूले डोहोर्‍याउँदै आएका छन्। उनीहरूको मृत्युपछि पनि नेपाली राजनीति उनीहरूकै विचारबाट आजपर्यन्त अनुप्राणित एवम् ध्रुवीकृत छ। नेपाली कांग्रेसका संस्थापक बीपीलाई उनको पार्टीसहित प्रजातन्त्रप्रति आस्था राख्ने दल, समूह र व्यक्तिले आदर्श मान्छन्। अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल नेपालको समग्र वाम आन्दोलनको आदर्श बनेका छन्।
बीपी र पुष्पलालको जन्मजयन्ती लगभग एकै समय पर्छ। यतिबेला पत्रपत्रिकामा उनीहरूको योगदानबारे चर्चा गर्दै टिप्पणीहरू छापिन्छन्। यो आलेखमा उनीहरूले पुर्‍याएको योगदानसम्बन्धी चर्चालाई थाती राख्दै उनीहरूको चिन्तनको क्रमिक परिस्कार कसरी भयो र नेपालसम्बन्धी उनीहरूको बुझाइमा कस्तो भिन्नता थियो भन्नेबारे चर्चा गरिनेछ।
बाल्यकाल र अध्ययन
बीपीको जन्म वि.सं. १९७१ सालमा ठेकेदार परिवारमा भएको थियो। चन्द्रशमशेरको शासनकालमा उनका बाबु कृष्णप्रसाद कोइरालाले तराईको चन्द्रगन्ज र इलामको गोर्खा भन्सार ठेक्कामा लिएका थिए। बीपीको जन्म वनारसमा भएको थिए। वनारसस्थित विश्वनाथ मन्दिरको महिमालाई ध्यानमा राखेर कृृष्णप्रसादले छोरोको नाम विश्वेश्वरप्रसाद राखिदिए, जो पछि गएर बीपी कोइरालाका नामले प्रसिद्ध भए। उनको न्वारनको नाम चूडामणि हो (विश्वेश्वरप्रसाद कोइराला, आफ्नो कथा, २०७०, पृ. ५७)।
बीपीभन्दा १० वर्ष कान्छा पुष्पलाल वि.सं. १९८१ मा काठमाडौंको नेवार परिवारमा जन्मिए। उनका बाबु भक्तलाल श्रेष्ठ राणा सरकारको राजस्व विभागका खरिदार थिए। जागिरको सिलसिलामा उनी रामेछापमा खटिएका थिए। भक्तलालकी श्रीमती तुलसीमायाको कोखबाट माइलो छोराको रूपमा पुष्पलालको जन्म भयो।
बीपीको जस्तो सम्पन्न घरमा जन्मिने सौभाग्य पुष्पलाललाई प्राप्त भएन। भक्तलालको काठमाडौंमा आफ्नै घर थिएन यद्यपि खानलाउनको समस्या थिएन। भक्तलालले अन्ततः घर बनाएपछि मात्रै पुष्पलालको परिवारको डेरा जीवन समाप्त भयो।
बीपीका बाबु कृष्णप्रसादले ठेकेदारीबाट राम्रो आम्दानी गरिरहेका थिए। अन्त्यमा कुमारीचोक अड्डाले उनको कारोबारमा बेरुजु देखायो। ठेकापट्टामा कसैले कुस्त कमायो भने उसको नाममा बेरुजु देखाउन लगाएर उनीहरूको भएभरको सम्पत्ति हडप्ने पात्र भनी चन्द्रशमशेर महाराजले दुर्नाम कमाएका थिए। जरिबानाबापत कृष्णप्रसादले निक्कै मोटो रकम तिर्नुपर्ने, नत्र जेलको हावा खानुपर्ने भयो। जेलको हावा खानुभन्दा भागेर भारत जानु उनले श्रेयष्कर ठाने (डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकाल (सं), जनकलाल शर्माका संस्मरण, २०६०, पृ. ३३–३४)। भाग्नुअघि उनले चन्द्रशमशेरका नाममा एकजना भरियाको टालेको भोटो, लगौंटी र घेरा मात्र बाँकी रहेको टोपी पार्सल गरेर पठाए। उनको यस्तो कदमलाई राणाहरूको स्वेच्छाचारी तथा विकासविरोधी शासनव्यवस्थाको विरुद्धमा कृष्णप्रसादले गरेको विद्रोह गरेको भनी उनका छोराहरूले पछि बढाइँचढाइँ गरे
(एमपी कोइराला, अ रोल इन रिभोल्युसन, सन् २००८, पृ. ९; भोला चटर्जी, पोट्रेट अफ रिभोल्युसनरी बीपी कोइराला, सन् १९८२, पृ. ६१; विश्वेश्वरप्रसाद कोइराला, आफ्नो कथा, २०७०, पृ. ६३; विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त, २०७४, पृ. ५ आदि)। चन्द्रशमशेरको मृत्युपछि जुद्धशमशेर श्री ३ महाराज बनेलगत्तै कृष्णप्रसाद नेपाल फर्किएर पुनः राणाशाहीको निकट रहेको यथार्थले चन्द्रशमशेरविरुद्ध उनको कदम व्यवस्थाप्रतिको नभई व्यक्तिप्रतिको रोष थियो भन्ने प्रस्ट हुन्छ।
कृष्णप्रसाद सपरिवार नेपालबाट भारततिर लागेपछि बीपीको लालनपालन र अध्ययन वनारसमै भयो। वनारसका नामी शैक्षिक संस्थाहरूमा अध्ययन गर्ने र त्यहाँको राजनीतिक तथा विद्वत् जगत्का कहलिएका व्यक्तिहरूको सानिध्यमा रहने मौका उनले पाए। वनारस विश्वविद्यालयजस्तो त्यतिबेलाको प्रतिष्ठित शैक्षिक संस्थाबाट उनले अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरे। वाणिज्य अध्ययन गर्न भनेर उनी कलकत्ता गए तर कलकत्ता विश्वविद्यालयमा कानुनको पढाइ सुरु गरे। कानुनमा स्नातकोत्तर गर्ने धोको भए पनि विभिन्न कारणले उनले बीएलसम्म मात्र अध्ययन गर्न पाए (विश्वेश्वरप्रसाद कोइराला, मेरो जीवन असफल भएनः संस्मरणात्मक साक्षात्कार, २०७१, पृ. १८)।
अर्कोतर्फ पुष्पलालको बाल्यकाल र किशोरावस्थामा काठमाडौंमा बित्यो। बनारसको जस्तो उन्नत र उदार शैक्षिक वातावरण उनले पाएनन्। राणाहरूको कठोर निगरानीमा चल्ने दरबार हाइस्कुलबाट उनले एसएलसी उत्तीर्ण गरे। त्यतिबेलाको नेपालको शिक्षण अहिलेको भन्दा उन्नत भएकाले एसएलसीसम्मको पढाइले नै उनको बलियो शैक्षिक जग स्थापित गरिदियो।
औपचारिक शिक्षा कम लिएका पुष्पलालले त्यस्तो शिक्षा बढी लिएकाहरूको व्यवहारबाट एकाधपटक हीनता महसुस गर्नुपरेको थियो। पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसमा छँदा वनारसमा एकपटक उनले पार्टीका नेता डिल्लीरमण रेग्मीसँग नागरिक तथा राजनीतिक अधिकारबारे बोल्न केही बुँदा मागे। जवाफमा रेग्मीले भने, ‘यो बुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ, एमए, बीए गरेको हुनुपर्छ।’ रेग्मीको यस्तो जवाफबाट खिन्न भएर पुष्पलाल वनारसको हरिशचन्द्र कलेजमा आईए तहमा भर्ना भए तर पार्टीको काममा बढी व्यस्त हुनु परेकाले पढाइलाई निरन्तरता दिन सकेनन्। अन्ततः स्वाध्यायमा बढी जोड दिएर क्षतिपूर्ति गर्ने निश्चय गरी उनले औपचारिक शिक्षा सदाका लागि त्यागे (पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, २०५३, पृ. १९)।

यदि बीपीले सोचेझैं बेलायतको कृपामा नेपालको स्वतन्त्रता टिकेको थियो भने त्यस्तो ‘कृपा’ नेपाललाई मात्र किन प्राप्त भयो ? तिब्बत, सिक्किम र काश्मीर आज किन स्वतन्त्र छैनन् ? यस्ता प्रश्नले बीपीको नेपालको सार्वभौमसत्तासम्बन्धी बुझाइलाई फितलो साबित गरिदिएका छन्।

भारतको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेकोमा बीपीमा चाहिँ अभिमान थियो। २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बीपी प्रधानमन्त्री बन्ने पक्का भयो। त्यतिबेला प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले राजाको उपस्थितिमा शपथग्रहण गराउने चलन थियो। त्यतिबेलाका प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहले कानुन अध्ययन नगरेकाले साधारण ग्र्याजुयटको हातबाट शपथ ग्रहण गर्न कानुनको स्नातक आफूलाई असजिलो भएको गुनासो बीपीले राजा महेन्द्रसँग गरे। अर्कै व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन उनले आग्रह गरे। महेन्द्रले भगवतीप्रसाद सिंहलाई नयाँ प्रधानन्यायाधीश नियुक्त गरिदिए। उनकै हातबाट बीपीले शपथग्रहण गरे। बीपीको त्यस्तो व्यवहारबाट औपचारिक शिक्षा नलिएका महेन्द्रले पनि चोट महसुस गरेको हुन सक्ने जनकलाल शर्माले उल्लेख गरेका छन् (डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकाल (सं), जनकलाल शर्माका संस्मरण, २०६०, पृ. ३३–३४)।
राजनीतिक चेत
बीपी कोइरालाले राजनीतिक चेत परिवारिक विरासतका रूपमा ग्रहण गरेका थिए। उनका बाबु कृष्णप्रसाद कोइराला भारतीय राष्ट्रिय कांग्रेसका सदस्य थिए (विश्वेश्वरप्रसाद कोइराला, मेरो जीवन असफल भएनः संस्मरणात्मक साक्षात्कार, २०७१, पृ. ३)। अखिल भारतीय कांग्रेसको वार्षिक अधिवेशनमा भाग लिन एकपटक उनी भारतको गुवाहाटी पुगेका थिए (मातृकाप्रसाद कोइराला, कोसीको कथा, २०४६, पृ. ४२)। बाबुका क्रियाकलाप र भारतमै हासिल गरेको शिक्षादीक्षालगायतका कारण बीपी भारतीय राजनीतिप्रति बढी आकर्षित थिए। राणाहरूले आफ्नो परिवारको उठीबास लगाएको कुरा सुनेर हुर्किएका उनमा राणाशाहीप्रति चरम घृणा थियो।
बीपीको राजनीतिक चेतना एकनासले निरन्तर विकसित भएन। वैचारिक अन्तरद्वन्द्वबाट गुज्रिँदै उनी अन्ततः प्रजातान्त्रिक समाजवादी विचारधारामा स्थिर हुन पुगे। एक समय उनी बेलायती उपनिवेशविरुद्ध सशस्त्र संघर्ष गर्ने राष्ट्रवादी भारतीयको सम्पर्कमा गई उनीहरूका क्रियाकलापमा संलग्नसमेत भए। बाल्यकालमै उनी महात्मा गान्धीको व्यक्तित्वबाट प्रभावित थिए। समयक्रममा उनलाई कार्ल माक्र्सले आकर्षित गरे। अन्ततः उनी माक्र्सलाई भन्दा गान्धीलाई बढी मौलिक र स्वतन्त्र चिन्तक मान्ने समाजवादी भए (भोला चटर्जी, पोट्रेट अफ र रिभोल्युसनरी बीपी कोइराला, सन् १९८२, पृ. ११४)। यस सवालमा उनी आफ्न वैचारिक गुरु भारतका समाजवादी नेता जयप्रकाश नारायणसरह बने (प्रदीप गिरी (सं), विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख, २०६६, पृ. १)।
पुष्पलालमा चाहिँ राजनीतिको चस्का भिन्न तरिकाले पस्यो। उनका बाबु खरिदार भएकाले बाबुमार्फत राज्यसंयन्त्र चियाइ यसभित्रका कमीकमजोरी थाहा पाउने मौका उनलाई मिल्यो। काठमाडौंवासी भएकोले राणाशाहीको असक्षमता बुझ्न उनलाई बढी सहज भयो। राजनीतिमा लाग्ने प्रेरणा चाहिँ उनले दाजु गंगालाल श्रेष्ठबाट पाएका थिए।
गंगालाल श्रेष्ठ राजनीतिप्रति आकृष्ट भएकाले साथीहरूसँग उनी देशविदेशका राजनीतिक घटनाक्रमबारे चर्चा गर्ने गर्थे। एकपटक गांगालालले साथीहरूसँग कुरा गर्दा ‘रुसमा ईश्वरको अस्तित्व छैन र त्यहाँ भोकानांगा छैनन्’ भनेको सुने। उनले रुसबारे पहिलोपटक दाजुकै मुखबाट सुने। दाजुको कुराले उनमा रुसी समाज तथा राजनीतिबारे कौतुहल जगायो (पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, २०५३, पृ. ८)। त्यसपछि उनी राजनीतिबारे चर्चा हुने छलफलमा भाग लिन थाले। त्यस्तै एउटा छलफलमा गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ललगायतबीच अन्तर्राष्ट्रिय राजनीतिबारे कुराकानी हुँदा रुसमा भएको भूमिसुधारको प्रसंग निस्कियो। यसले उनलाई रुसप्रति अझ आकर्षित बनायो। त्यसपछि उनले सूर्यबहादुर भारद्वाज नाम गरेका साथीबाट रुसी लेखक म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ हात पारी अद्योपान्त पढे (उही, पृ. ८)। यसरी उनी कम्युनिस्ट आन्दोलनप्रति आकर्षित भए।
वि.सं. १९९७ मा राणाशाहीले राजनीतिक स्वतन्त्रता र शासकहरूबाट जवाफदेहिता माग गर्ने चारजना युवकको हत्या गरे। हत्या हुनेमा पुष्पलालका दाजु गंगालाल पनि थिए। हत्या हुनुअघि सदर जेलमा राखिएका दाजु गंगालालसँग पुष्पलालले अन्तिम पटक भेट गरे। गंगालालले मैयाँ बहिनी भन्ने गरेका उनकी साथी कामक्षदेवीको साथ लागेर पुष्पलाल सदर जेल पुगेका थिए। गंगालालले कामक्षदेवीसमक्ष पान खाने चाहना व्यक्त गरेपछि पुष्पलालले दाजुका लागि पान किनेर ल्याइदिएका थिए (नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका–भाग १, २०६२, पृ. १७९–८०)।
त्यतिबेला गंगालाल २२ वर्षका लक्का जवान थिए। उनले माफी मागे ज्यानसजाय मिनाह गरिदिने वचन राणाशाहीले दिएको थियो। माफी माग्न उनलाई परिवारका सदस्यलगायतले दबाब पनि दिएका थिए तर उनले सहिद बन्न मञ्जुर गरे। राजनीतिक आस्थाप्रति दाजुको यस्तो दृढताले पुष्पलाललाई राजनीतिप्रति अझ दृढ भएर लाग्न र राणाशाहीको जरो उखेल्न प्रेरित गर्‍यो।
राजनीतिक खुड्किलो
२००७ को वरिपरि नेपाली राजनीतिमा निर्णायक प्रभाव पार्ने भारतमा हुर्कीबढी त्यहीँको भूमिमा रहेर राजनीति गर्नु बीपीका लागि लाभसिद्ध भयो। यसले उनको व्यक्तित्व निर्माणमा निर्णायक टेवा पुर्‍यायो।
कलकत्तामा पढ्न पस्दा सहपाठी राजेश्वरीप्रसादमार्फत बीपीले जयप्रकाश नारायणलाई पहिलोपटक भेटेका थिए। जयप्रकाश राजेश्वरीप्रसादका दाजु थिए। कलकत्तामा रहँदा डा. राममनोहर लोहियासँग पनि उनको भेट भयो (विश्वेश्वरप्रसाद कोइराला, मेरो जीवन असफल भएनः संस्मरणात्मक साक्षात्कार, २०७१, पृ. १८)। समयक्रममा उनी भारतको समाजवादी आन्दोलनका यी दुई शीर्ष नेताको अत्यन्तै निकट हुन पुगे। उनीहरूसँगको घनिष्टता बीपीका लागि ठूलो राजनीतिक पुँजी सिद्ध भयो। लोहिया र जयप्रकाशबाट बीपीले सक्रिय समर्थन पाए। उनीहरूमार्फत माहात्मा गान्धीको नैतिक समर्थन पनि हासिल गरे। जयप्रकाशको अनुयायी भएर उनी सन् १९३६ मा जयप्रकाशले नेतृत्व गरेको भारतको समाजवादी कांग्रेस पार्टीको सदस्य बने। पार्टीको विहार इकाइ सचिव भएर उनी संगठनमा क्रियाशील भए (उही, पृ. २१)। पार्टीको काममा लाग्दा उनी पटकपटक पक्राउ परेका थिए।
भारतका प्रभावशाली नेताहरूको साथ र समर्थन प्राप्त भएकाले उनको कद नेपालका अन्य नेताहरूको भन्दा अग्लो हुन पुग्यो। राणाहरूले उनलाई जेलमा राख्दा भारतीय नेताहरूको दबाबकै कारण उनलाई मुक्त गर्न राणाशाही बाध्य भएको थियो। तर, नेपालका अन्य नेतालाई बीपीको जस्तो सुविधा हासिल भएन। त्यसैकारण राणाविरोधी क्रान्तिका मूल नेता टंकप्रसाद आचार्य १९९७ सालमा पक्राउ पर्दा रिहा हुन उनले वर्षौं पर्खनुपर्‍यो।
पुष्पलाललाई चाहिँ राजनीतिक जीवनमा हुर्किन र पल्लवित हुन दरिलो थाक्रो उपलब्ध भएन। उनीप्रति भारतका कम्युनिस्ट नेताहरूको सद्भाव थियो परन्तु त्यतिबेला भारतीय कम्युनिस्टहरूको प्रभाव अत्यन्तै न्यून रहेकाले उनीहरूसँगको सानिध्यबाट पुष्पलालले ठोस लाभ हासिल गर्न सकेनन्। बाबु सामान्य कर्मचारी भएकाले उनको परिवारको प्रभाव ठूलो थिएन। आफ्नै बलबुँतामा संघर्ष गर्दै उनले राजनीतिक जीवन अघि बढाए। १९९७ सालको काण्डपछि प्रेमबहादुर, सूर्यबहादुर र शम्भुरामसँग मिलेर समूह बनाई देशभित्रै राजनीतिक गतिविधिमा सरिक भए (पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, २०५३, पृ. ८)। कहिले नेपाल प्रजा परिषद्मा आबद्ध भएर त कहिले छुट्टै नेपाल प्रजातन्त्र संघ गठन गरी उनी राजनीतिमा निरन्तर क्रियाशील भए (उही, पृ. ८)।
राणाहरूको कठोर निगरानी रहेको ठाउँमा बसेर उनीहरूविरुद्ध संघर्ष गर्न नसकिने निष्कर्ष निकाली पुष्पलाल अन्ततः वनारसतिर लागे। डिल्लीरमण रेग्मीको निकट भएर उनी नेपाली राष्ट्रिय कांग्रेसको सदस्य बन्ने, जसको नेतृत्वपंक्तिमा बीपीसमेत थिए। प्रकारान्तरमा नेपाली राजनीतिका दुई विपरीत धार सिर्जना गर्ने दुई नेता एउटै दलमा आबद्ध हुनु नेपालको प्रजातान्त्रिक इतिहासकै सबैभन्दा रोचक संयोग थियो।
नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशनले निर्दिष्ट गरेको मार्गचित्रबमोजिम सन् १९४७ को अप्रिल १३ देखि काठमाडौंका विभिन्न स्थानमा आन्दोलन भए, जसमा पुष्पलाल पनि सहभागी थिए। आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई आन्दोलन स्थगन भएपछि जेलमुक्त गरियो। यसरी मुक्त हुनेहरूमध्ये पुष्पलाल पनि थिए। त्यसपछि उनी पार्टीको तेस्रो सम्मेलनमा काठमाडौंका प्रतिनिधि बनेर वनारस गए, जहाँ डिल्लीरमण रेग्मीसँग उनको पहिलोपटक भेट भयो। रेग्मी कम्युनिस्ट साहित्य अभिरुचिपूर्वक पढ्ने गर्थे। उनीमार्फत पुष्पलालले वनारसमा कम्युनिस्ट साहित्य बिक्री हुने पसल पत्ता लगाए। त्यहाँ आउने भारतीय कम्युनिस्टहरूसँगको निरन्तर भेटघाट र कुराकानीबाट पुष्पलालमा रहेको कम्युनिस्ट आस्था थप तिखारिँदै गयो। सोही सम्मेलनले डिल्लीरमण रेग्मीलाई पार्टी सभापति, प्रेमबहादुर कंसाकारलाई महामन्त्री तथा पुष्पलाललाई मन्त्री पदमा चुन्यो (उही, पृ. १७)। त्यतिबेला बीपी काठमाडौंमा जेलजीवन बिताइरहेकाले उनको अनुपस्थितिमा सभापति पदमा रेग्मी चुनिए।
सहिद गंगालालको भाइ हुनुले चाहिँ पुष्पलालको राजनीतिक जीवनमा लाभ पुर्‍यायो। गंगालालको भाइ भनी कसैले आफूलाई चिनाउँदा पार्टीका अन्य सदस्य तथा नेताहरूको ध्यान आफूप्रति आकर्षित हुने गरेको र उनीहरूले आफूसँग मन खोलेर कुरा गर्ने गरेको पुष्पलालले उल्लेख गरेका छन् (उही, पृ. १४)।
वनारसमा भएको नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो सम्मेलनमा डा. राममनोहर लोहिया पनि उपस्थित थिए। सम्मेलनको सर्वेसर्वा नेतासरह बनेका उनी सम्मेलनमा हावी भए। सम्मेलनमा सहभागी हुन आएका पुष्पलालको क्रियाशीलता र लोकप्रियता देखेपछि तथा उनी गंगालालका भाइसमेत हुन् भन्ने थाहा पाएपछि डा. लोहियाले पुष्पलाललाई बोलाई कुराकानी गरे। पुष्पलालसँग उनले भनेको कुराले नेपालमा उठ्ने राणाशाहीविरोधी आन्दोलनको लगाम बीपीको हातबाट नउम्कियोस् भन्नेमा भारतका समाजवादी नेताहरू कतिबिघ्न सचेत थिए भन्ने देखाउँछ। भारतका समाजवादी नेताहरूलाई नरुचाउने प्रधानमन्त्री जवाहरलाल नेहरूले अन्ततः बीपीको सट्टा उनका सौतेनी दाजु मातृकाप्रसादलाई राणाशाही विरोधी आन्दोलनको कमान्डर बनाएपछि बीपीलाई अघि बढाउने डा. लोहिया र जयप्रकाश नारायणको प्रयत्नमा पानी छ्यापिएको थियो।
पुष्पलालसँग डा. लोहियाले भने, ‘देखो भारत में बहुत पार्टीयां और नेताएं होते हुए भी महात्मा गान्धी एक सर्वमान्य राष्ट्रिय नेता है। उसी तरह नेपाल में भी एक एैसे ही राष्ट्रिय नेताकी आवश्यकता है वह विश्वेश्वरप्रसाद कोइराला हो सकते है (उही, पृ. १८)।’ भारतमा गान्धीलाई महामानव भनिएको कुराको सिको गर्दै कांग्रेसीहरूले बीपीलाई महामानव घोषणा गरेर उनलाई नेपालका गान्धी बनाउने डा. लोहियाको सपना अन्ततः पूरा गरे। जबकी बीपी कैयौं कमीकमजोरीसहित करिश्मायुक्त व्यक्तित्व भएका सबल नेताभन्दा बढ्ता थिएनन्। महामानव त धेरै परको कुरा, उनी गान्धी त के नेहरूसँग पनि तुलनायोग्य थिएनन्।
पुष्पलालले डा. लोहिया अथवा जयप्रकाशजस्तो भारतमा राष्ट्रिय व्यक्तित्व बनाएका व्यक्तिको धाप कहिल्यै पाएनन्। यसअर्थमा बीपीको भन्दा पुष्पलालको राजनीतिक जीवन अप्ठेरो, संघर्षशील र स्वतन्त्र थियो। आफ्नो बुँतामा उभिनुको विकल्प पुष्पलालसँग थिएन।
बीपी जेलबाट छुटेपछि उनले पुनः पार्टी सभापति पद दाबी गरे। रेग्मीले सभापति पद त्याग्न नमानेपछि नेपाली राष्ट्रिय कांग्रेस विभाजित भयो। पुष्पलाल रेग्मी गुटमा गएपछि बीपी र पुष्पलालको बाटो सदाका लागि अमिल्दो भयो। समयक्रममा पुष्पलालले रेग्मी गुटसमेत त्यागेर नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारीलगायसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी यसका सांगठनिक आधार तयार गरे।
आन्दोलनप्रतिको बुझाइ
बीपी कोइरालाको व्यक्तित्व निर्माण भारतीय भूमिमै भएकाले समग्र दक्षिण एसियामा हुने गतिविधिहरूलाई हेर्ने उनको आँखा भारतीय राजनीतिबाट निर्दिष्ट थियो। पहिलो विश्वयुद्धअघि भारतमा भाइसराय रहेका लर्ड कर्जनले तय गरेको भारतको चीन नीतिलाई नेहरूले प्रधानमन्त्री भएपछि ग्रहण गरेका थिए। कर्जन तिब्बतलाई चीन र भारतबीचको ‘बफर जोन’ मान्थे। भारत स्वतन्त्र हुने दिन नजिकिँदै गर्दा चीनमा कम्युनिस्ट सत्ता तीव्रसँग विस्तार भइरहेको थियो। चिनियाँ कम्युनिस्ट सत्ताको फैलावट तिब्बतसम्म हुने र चिनियाँ प्रभाव भारतको सीमासम्म आइपुग्ने निश्चितप्रायः थियो। त्यस्तो अवस्थामा समग्र दक्षिण एसियामा हुने कम्युनिस्ट गतिविधिलाई भारतीय नेताहरू चीनको छद्म चाल सम्झिन्थे र त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नु भारतको बृहत्तर स्वार्थमा छ भन्ने सोच्थे।
भारतका राष्ट्रवादी नेताहरूको यस्तो बुझाइलाई बीपीले समेत ग्रहण गरेका थिए। त्यसैले नेपालमा हुने कम्युनिस्ट गतिविधिलाई उनी देखी सहँदैन थिए। नेपालमा कम्युनिस्ट गतिविधि बढ्न नपाओस् भन्नेमा सचेत बीपीले पुष्पलालद्वारा नेपाली भाषामा अनुवाद गरिएको कम्युनिस्ट घोषणापत्रको एउटा प्रति भारतीय प्रधानमन्त्री नेहरूलाई पठाई उनलाई नेपालमा कम्युनिस्ट गतिविधि बढ्न सक्नेमा सजग गराएका थिए (अरविन्द रिमाल, १९९७ सालदेखि २०१७ सालसम्मः एक अवलोकन, २०६२, पृ. १०३)। साथै २००७ सालमा राणाशाहीविरुद्ध संघर्ष गर्न चाहने कम्युनिस्ट नेता÷कार्यकर्तालाई कांग्रेसको झन्डामातहत रहेर संघर्ष गर्ने सर्त मान्न बाध्य पारेका थिए। निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दाताका दिनमा पनि उनले कम्युनिस्टसँग सहकार्य गर्न अस्वीकार गरे। पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत कम्युनिस्टहरूको सट्टा बरु उनले राजासँग सहकार्यको हात बढाए। जयप्रकाश नारायणले इन्दिरा गान्धी नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दा भारतीय कम्युनिस्ट पार्टीबाहेकका सबै दललाई आफ्नो नेतृत्वमा भएको आन्दोलनमा समेटेका थिए (राजचन्द्र गुहा, इन्डिया आफ्टर गान्धी, सन् २००७ पृ. ४८२)। कम्युनिस्टसँग कुनै पनि हालतमा सहकार्य गर्नु हुँदैन भन्ने मान्यता बीपीले जयप्रकाशबाट ग्रहण गरेका थिए।
जबकि पुष्पलालको मान्यता ठीक विपरीत थियो। उनी आन्दोलनकारी शक्तिहरूलाई राजतन्त्रविरुद्ध गोलबन्द गर्न चाहन्थे र यसका लागि मूलतः नेपालको वामशक्ति तथा प्रजातान्त्रिक शक्तिबीच कार्यगत एकता हुनुपर्छ भन्ने मान्यता राख्थे। तर कम्युनिस्टका अन्धविरोधी बीपीलाई पुष्पलालको प्रस्ताव स्विकार्य भएन जसकारण वाम र प्रजातान्त्रिक शक्तिलाई एकअर्काविरुद्ध प्रयोग गरेर पञ्चायती व्यवस्थाको आयु लम्ब्याउने मौका राजदरबारले पायो। बीपीको मृत्युपछि प्रजातान्त्रिक पक्षका गणेशमान सिंह तथा कम्युनिस्ट पक्षका मदन भण्डारीको अग्रसरतामा यी दुई शक्तिबीच कार्यगत एकता भयो र यसले नेपालमा प्रजातन्त्र पुनबर्हालीलाई सम्भव तुल्यायो। अन्ततः समयले पुष्पलालको मान्यतालाई सही साबित गरिदियो। कम्युनिस्टसँग सहकार्य नगर्ने बीपीको हठ शीतयुद्धको समाप्तिसँगै अव्यावहारिक ठहरियो।
चीनप्रतिको बीपीको हेराइ पनि भारतीय राजनेताको जस्तै थियो। नेपालको कम्युनिस्ट आन्दोलनको नाभी अन्ततः चीनमा गएर जोडिन्छ भन्ने सोचले सायद उनलाई चीनप्रति सशंकित बनाएको थियो।
प्रधानमन्त्रीका हैसियतले बीपी चीन जाँदा उनीसमक्ष चिनियाँ नेताहरूले ल्हासा–काठमाडौं सडक निर्माणमा ठूलो चासो देखाएका थिए तर बीपी त्यसमा सहमत भएनन्। चिनियाँहरूले सैन्य प्रयोजनका लागि कोदारी–काठमाडौं सडक बनाउन खोजेका हुन् भन्ने बीपीको बुझाइ थियो (विश्वेश्वरप्रसाद कोइराला, मेरो जीवन असफल भएनः संस्मरणात्मक साक्षात्कार, २०७१, पृ. १२०)। परिवर्तिन सन्दर्भमा नेपालको अस्तित्व सबल बनाउन चीनसँग यातायात सञ्जाल विस्तार गर्नुपर्छ भन्ने नेपाली सोचको बीपीमा सर्वथा अभाव थियो। जबकि उनीभन्दा अघि प्रधानमन्त्री भएका टंकप्रसाद आचार्यले बजेट छुट्ट्याएर चीनसँग जोड्ने सडकको ट्र्याक खोल्न आरम्भ गरेका थिए (लियो इ. रोज, नेपालः स्ट्राटेजी फर सर्भाइभल, सन् २०१०, पृ. २१३–१४)। बीपी नेतृत्वको सरकारविरुद्ध ‘कु’ गरेर शासनसत्ता हत्याएपछि राजा महेन्द्रले चीनसँग कोदारी राजमार्ग निर्माण गर्ने लिखित सम्झौता नै गरे। अहिले आएर बीपीको जतिसुकै कट्टर अनुयायीले पनि चीनसँग सडकमार्फत जोडिने सन्दर्भमा बीपीको सोचलाई भन्दा टंकप्रसाद अथवा महेन्द्रको सोचलाई बढी दूरगामी र इमानदार ठान्छ। बीपी चीनप्रति कतिसम्म नकारात्मक थिए भने प्रधानमन्त्री भएका बेला उनले नेहरूलाई यसो भनेर उकासेका थिए, ‘चिनियाँहरू पहिलेदेखि नै साम्राज्यवादी सोचमा छन्, उनीहरू आफूलाई विश्वको केन्द्र सम्झन्छन्। अब त्यहाँ कम्युनिस्टहरू सत्तामा आइसकेकाले चीनको विचारधारा आक्रमकसमेत छ। कम्युनिस्ट सत्ता चीनको पुरानो साम्राज्यवादी चिन्ता अँगालेर अगाडि बढ्न चाहन्छ। उनीहरू समस्या सिर्जना गर्न चाहन्छन्। अरू सबै असभ्य हुन् र उनीहरू मत्रै योग्य शासक हुन्, चिनियाँहरू आधारभूत रूपमै यस्तो सोच राख्छन् (उही, पृ. ११५)।’ साथै चीनले तिब्बतमाथि कब्जा जमाएपछि डा. लोहिया र जयप्रकाशसँग सल्लाह गरेर बीपीले पार्टीमार्फत चिनियाँ कदमविरुद्ध विरोध प्रस्ताव पारित गराएका थिए (उही, पृ. ११६)।
बीपी नेपाल र भारतलाई भिन्न देश मान्दैनथिए। सन् १९४७ को जनवरी २६ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘वास्तमा नेपाल र भारत दुई देश होइनन्। नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारत वर्षकै एउटा प्रमुख अंग रहेको देखिन्छ। आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र छ (प्रदीप गिरी (सं), विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख, २०६६, पृ. ३४२)।’ उसो त भारतीय नेताहरू पनि बीपीलाई धेरै हिसाबले भारतीय नै मान्थे। बीपी काठमाडौंको जेलमा रहँदा जयप्रकाश र डा. लोहियाले राणाहरूलाई ‘भारतीय नागरिकलाई नेपालले जेलमा राख्न पाउँदैन’ भनी धम्की दिएका थिए (डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकाल, जनकलाल शर्माका संस्मरण, २०६०, पृ. १६४)। नेपालप्रतिको बीपीको लगाव र नेपाल–भारत सम्बन्धप्रतिको उनको बुझाइ जीवनको उत्तरार्धतिर मात्रै परिपक्व भएको थियो।
अर्कोतर्फ पुष्पलाल चाहिँ नेपाली स्वाभिमान र स्वतन्त्रताप्रति बढी नै भावुक थिए। अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने कम्युनिस्ट हुँदाहुँदै पनि उनी हरेक कम्युनिस्ट क्रान्तिकारीमा राष्ट्रिय चरित्र हुनुपर्छ भन्ने मान्यता राख्थे। ‘प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमतः राष्ट्रमुखी हुनु पर्दछ। त्यसै भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य निभाउन सक्नेछ। त्यही नै अन्तर्राष्ट्रिय भाइचारका निमित्त सबैभन्दा ठूलो क्रान्तिकारी हुन जान्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो राष्ट्र र राष्ट्रिय मानसम्मान बढाउँछ,’ उनले भनेका थिए (पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, २०५३, पृ. ३५)। बीपी चीनबाट नेपालसहित समग्र दक्षिण एसिया जोखिम उत्पन्न हुन सक्छ भन्ने ठान्थे भने यसको ठीक उल्टो पुष्पलाल चाहिँ भारतप्रति सजग हुनुपर्छ भन्थे। भारतीय नेताहरूको नेपालप्रतिको हेपाहा नीति र नेपालको स्वतन्त्र अस्तित्व नमान्ने भारतीय बुद्धिजीवीहरूको प्रवृत्तिको उनी प्रखर आलोचक थिए (उही, पृ. २६)। पृथ्वीनारायणको पालादेखिका घटना नियाल्दा भारत र चीनसम्बन्धी पुष्पलालको बुझाइ बीपीको भन्दा प्रौढ रहेको स्पष्ट हुन्छ।अध्ययनको दायरा

समग्र बौद्धिकतामा पुष्पलाल बीपीका एक छेउ पनि थिएनन् परन्तु नेपाल बुझ्ने सवालमा उनी बीपीभन्दा निक्कै अघि थिए।

अध्ययन तथा लेखन दुवैमा पुष्पलालको गहिरो अभिरुचि थियो। नेवारी, नेपाली, अंग्रेजी र हिन्दी भाषामा अध्ययन गर्न तथा लेख्न उनलाई सहज थियो। पार्टीका कार्यकर्ता तथा समर्थकहरूको प्रशिक्षणका लागि पुष्पलालले तयार पारेको ‘समाज विकास र शब्दार्थ’ शीर्षकको दस्तावेज अध्ययन गर्दा उनमा संस्कृत भाषा, किराँत धर्म, बौद्ध धर्मआदिको पनि ज्ञान थियो भन्ने देखिन्छ (पुष्पलाल, छानिएका रचना– भाग ४, २०५५, पृ. १३५–१८१)। उनी दर्शन, राजनीति, संस्कृतिलगायत विषयबारे लेखिएका किताब अभिरुचिपूर्वक पढ्ने गर्थे। उनको बढी रुचि चाहिँ कम्युनिस्ट साहित्यमा थियो। कम्युनिस्ट धारका विश्वविख्यात किताब पढ्ने र नेपाली सन्दर्भमा तिनको उपादयेताबारे चिन्तन गर्ने उनको स्वभाव थियो। एक ठाउँमा उनले काल माक्र्सले आफ्नो किताब ‘नोट्स अफ इन्डिया’मा जंगबहादुरलाई बेलायतको पाल्तु कुकुर भन्दाभन्दै पनि केही कम्युनिस्टहरू राजालाई राष्ट्रिय रक्षक साबित गर्न जंगबहादुरसम्मलाई नेपाली राष्ट्रियताको रक्षक साबित गर्न उद्यत् छन् भन्दै रोष व्यक्त गरेका छन् (उही, पृ. ५)। माक्र्स, एंगल्सलगायतले भनेको कुरालाई ब्रह्मवाक्यसरह अकाट्य मान्ने रुढता पुष्पलालमा थियो, जुन समग्र वाम आन्दोलनकै साझा चरित्र हो।
बीपीको अध्ययन तथा रुचीको दायरा अत्यन्तै विराट थियो। उनी लेखन र अध्ययन दुवैमा सिद्धहस्त थिए। नेपाली, हिन्दी र अंग्रेजी भाषामा उनको समान पकड थियो। बंगालीलगायत एकाध भाषाको आधारभूत ज्ञानसमेत उनलाई थियो।
विशेषगरी दर्शन र साहित्यमा उनी बढी अभिरुचि राख्ने गर्थे। विल डुरान्ट र एरियल डुरान्ट ( श्रीमान्– श्रीमती)ले मिलेर लेखेको ‘द स्टोरी अफ सिभिलाइजेसन’को एउटा बाहेक सबै ठेली उनले छिचोलेका थिए (भोला चटर्जी, पोट्रेट अफ रिभोल्युसनरी बीपी कोइराला, सन् १९८२, पृ. १३६)। विश्वभरिका सभ्यताको विकासक्रमलाई उनले यही किताबमार्फत चिहाएका थिए। साथै उनले बर्टेन्ड रसेलको ‘अ हिस्ट्री अफ वेस्टर्न फिलोसोफी’ पढेर पाश्चात्य दर्शन र विवेकानन्द आदिका किताब पढेर भारतीय दर्शनबारे बुझेका थिए (उही, पृ. १३६)। आफ्नो किताब ‘हिटलर र यहुदी’मा उनले गरेको युरोपको यात्रा वर्णनबाट पाश्चात्य दर्शनप्रतिको उनको बुझाइ अत्यन्तै परिस्कृत थियो भन्ने देखिन्छ। उनले युरोपका दार्शनिक माक्र्सलाई चाहिँ सोझै नपढी उनका लेखाइहरूको व्याख्या पढेका थिए। हिन्दी साहित्यकार प्रेमचन्दसँगको सानिध्यबाट उनले हिन्दी साहित्य पढ्ने प्रेरणा पाएका थिए। हिन्दीमा केही कथा लेखेर उनले प्रेमचन्दको सम्पादनमा निस्किने पत्रिका ‘हंश’मा छपाएका थिए (उही, पृ. १४२)।
उनले बालखै छँदा पठन संस्कार पाएका थिए। उनको घरमा हिन्दी भाषामा छापिने ‘बालक’ नामक बालपत्रिका आउँथ्यो, जुन उनी नियमित पढ्ने गर्थे। चाँद, माधुरी, सरस्वती, मतवालालगायत भारतीय पत्रपत्रिका पनि उनी नियमित पढ्ने गर्थे। भारतीय साहित्यमा उनले रवीन्द्रनाथ टेगोर, प्रेमचन्द, कौशिक, सुदर्शन, शरदचन्द्र चटर्जी, सुमित्रानन्दन पन्त, निराला, जयशंकर प्रसाद आदिलाई पढेका थिए। राजेन्द्रप्रसादको किताब ‘इन्डिया डिभाइडेड’ पनि उनले अभिरुचिपूर्वक पढेका थिए।
फ्रेन्च साहित्यमा अन्द्रे मालरु, रोमेन रोलेन्ड, एनातोल फ्रान्स, मोपासा, आन्द्रे जिदे, अल्वेयर कामु आदि; अंग्रेजी साहित्यमा क्रिस्टोफर मार्लो, विलियम शेक्सपियर, जोन किट्स, बाइरन, पी.बी. शेली र चाल्स डिकेन्स; अमेरिकी साहित्यमा जोन स्टाइनबिक, इयुजिन ओ निल, जर्ज बर्नाड श, अर्नेस्ट हेमिङवे र टेनिसि विलियम्स; रुसी साहित्यमा एलेक्सेन्डर पुस्किन, फ्योदोर दोस्तोयभ्स्की, लियो टाल्सटाय, आन्तोन चेखोव, इभान तुर्गेनेभ र मेक्सिम गोर्की; नेपाली भाषामा बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा उनले सर्वाधिक रुचाएका साहित्यकार थिए। उनको गैरराजनीतिक लेखाइको वैचारिक पक्ष मनोवेत्ता सिग्मन्ड फ्रायडबाट प्रभावित थियो। उनी राजनीतिमा समाजवाद र साहित्यमा अराजकतावादका उपासक थिए।
संगीतमा पनि उनको गहिरो अभिरुचि थियो। जर्मन संगीतकार बिथोबिन, अस्ट्रियन संगीतकार मोजार्ट र पोलिस संगीतकार फ्रेडरिक सोपिनलाई उनी रुचाउँथे। भारतीय शास्त्रीय संगीत, रवीन्द्र संगीत, मराठाहरूमाझ प्रचलित संगीत र अमेरिकी लोकगायिका जोन बेजका प्रस्तुतिलाई पनि उनी रुचाउँथे।
नृत्य उनको अर्को अभिरुचिको क्षेत्र थियो। उनकी श्रीमती सुशीला कोइराला पनि नृत्य अभ्यास गर्थिन्। भारतमा प्रचलित भरत नाट्यम र कथ्थकली तथा ओडिसीको नृत्य ढाँचा उनी रुचाउँथे। भारतीय नर्तक उदय शंकरको नृत्य देखेर उनमा यसप्रति अभिरुचि जागेको थियो।
फिल्ममा चाहिँ बीपीको त्यति रुचि थिएन। तर, पनि उनले जर्मन अभिनेता इमिल जेनिंग्स, स्विडिस अभिनेत्री ग्रेटा गार्बो, फ्रेन्च अभिनेता चाल्र्स बोयरआदिका फिल्म रुचिपूर्वक हेरेका थिए। युद्धसम्बन्धी चर्चित फिल्म ‘ब्रिज अन द रिभर क्वाई’ उनले औधी मन पराएका थिए। भारतमा सत्यजित रेका फिल्महरू पनि हेरेका थिए र यसमध्ये ‘पाथिर पाञ्चाली’लाई बढ्ता रुचाएका थिए। हिन्दी फिल्म बढी व्यावसायिक भएकाले तीप्रति चाहिँ उनमा रत्तिभर रुचि थिएन।
नेपालसम्बन्धी बुझाइ
बीपी र पुष्पलाल दुवैको नेपालसम्बन्धी बुझाइमा केही समानता छन्। सामन्ती तानाशाही व्यवस्थाले नेपालको हित गर्दैन र यस्तो व्यवस्थाको विरोधमा हुने आन्दोलनलाई जातीय रङ किमार्थ दिनु हुँदैन भन्ने दुवैको स्पष्ट मत थियो।
पुष्पलाल नेपालमा हुर्केबढेकाले यहाँको समाज, संस्कृति र समग्र परिवेशलाई उनले बढी बुझ्न पाएका थिए। प्रजा परिषद्को विद्रोह आँखैले देखेकाले र प्रजा परिषद्मा संलग्नसमेत भएर काम गरेकाले नेपाली राजनीतिको मौलिक चरित्रलाई उनले बढी बुझेका थिए। बीपीको नेपालसम्बन्धी बुझाइमा नेपाली दृष्टिकोण कम झल्किएको पाइन्छ।
नेहरूको बहुमुखी व्यक्तित्वबाट बीपी प्रभावित थिए परन्तु उपन्यास, डायरी र आत्मवृत्तान्तका विभिन्न ठेली लेखिरहँदा उनले नेपाली समाजबारे एउटै किताब पनि लेखेनन्। जबकी नेहरूले भारत स्वतन्त्र हुनुअगावै ‘डिस्कभरी अफ इन्डिया’ लेखेर भारतसम्बन्धी आफ्नो सघन बुझाइ सार्वजनिक गरेका थिए। बीपीले नेपालसम्बन्धी किताब असाध्यै कम पढेका थिए। नेपालका अत्यन्तै थोरै ठाउँ घुमेका थिए। अधिकांश समय उनले भारतमा बसी भारत तथा समग्र विश्वको सभ्यता र दर्शनको अध्ययन गरेर, भारतीय नेताहरूसँग संगत गरी त्यहाँको राजनीतिक गतिविधिमा सरिक भएर बिताएका थिए। त्यसैले नेपाली समाजको सुक्ष्म चाल बुझ्ने इन्द्रियको उनमा अभाव थियो। उनी नेपाललाई भारतको बृहत्तर सांस्कृतिक, राजनीतिक र फौजी ‘प्यारामिटर’ अन्तर्गतको अंश ठान्ने गर्थे। नेपालबारे पर्याप्त ज्ञान नभएको व्यक्तिको हातमा २००७ सालपछिको आन्दोलनको लगाम पुग्नु दुर्भाग्यपूर्ण थियो। नेपाल बुझ्ने सवालमा बीपीभन्दा उनका सौतेनी दाजु मातृकाप्रसाद कोइराला अग्रणी थिए भन्ने कुरा ‘कोसीको कथा’ शीर्षकको किताबमा संग्रीहृत उनका लेखरचना हेर्दा स्पष्ट हुन्छ।
बीपीका एकाध लेखाइमा नेपालसम्बन्धी बुझाइ झल्किएका छन् परन्तु उनको बुझाइ ‘सत्री’हरूको लेखानबाट बढी प्रभावित थियो। नेपालसम्बन्धी लेख्ने विदेशीलाई इतिहासकार नयराज पन्त ‘सत्री’ भन्ने गर्थे। कौटिल्यले सत्री शब्दलाई विद्वानको भेषमा हिँडेको राजकाजी व्यक्ति भनि अथ्र्याएका छन्। बीपीको बुझाइमा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताले बेलायतको कृपाबाट पल्लवित हुने मौका पाएको थियो। एउटा सन्दर्भमा उनले बेलायतीहरूले नेपाललाई भारतीय राज्यहरूको तुलनामा सबैभन्दा ठूलो र सम्मानित स्थान दिएको (अर्थात् स्वाधीन रहन दिएको) बताएका छन् (प्रदीप गिरी (सं), विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख, २०६६, पृ. १७३)। अर्को एउटा सन्दर्भमा उनले भारतबाट नेपाल भिन्न हुनुमा राजनीतिज्ञको स्वार्थ जिम्मेवार छ भनि नेपालको स्वतन्त्रताप्रति रोश व्यक्त गरेका छन् (उही, पृ. ३४२)। यदि बीपीले सोचेझैं बेलायतको कृपामा नेपालको स्वतन्त्रता टिकेको थियो भने त्यस्तो ‘कृपा’ नेपाललाई मात्र किन प्राप्त भयो ? तिब्बत, सिक्किम र काश्मिर आज किन स्वतन्त्र छैनन् ? यस भेगको अर्को मुलुक भुटानको राजनीतिक अस्तित्व किन नाम मात्रको छ ? यस भेगको स्वतन्त्र मुलुकका रूपमा रहन नेपाल मात्र किन सफल भयो ? यी र यस्ता प्रश्नले बीपीको नेपाको सार्वभौमसत्तालसम्बन्धी बुझाईलाई फितलो साबित गरिदिएका छन्। अर्कोतर्फ पुष्पलाल चाहिँ विदेशी लेखकहरूले नेपाल र भारत एउटै संस्कृतिका अंग हुन् भनी भ्रम छरेकामा रुष्ट थिए। नेपाललाई भारतीय अथवा चिनियाँ सभ्यताको चश्माबाट हेरर राम्रोसँग बुझ्न सकिँदैन भन्ने उनको मान्यता थियो (पुष्पलाल, हिस्टोरिकल नोट्स, सन् २०१०, पृ १, ११)।
पुष्पलालले बटुलेका नेपालसम्बन्धी अंग्रेजी भाषामा लेखिएका÷अनुवाद गरिएका लेखहरूको सँगालो ‘हिस्टोरिकल नोट्स’ नामक किताबमा समावेश छन्। सोही किताबमा छापिएको उनको लेख ‘निड फर द हिस्टोरिकल सर्भे अफ द नेपलिज सोसाइटी’ पढ्दा नेपालसम्बन्धी उनको अध्ययन र बुझाइ अत्यन्तै प्रौढ थियो भन्ने देखिन्छ। लेखमा उनले पशुपतिपुराण, स्वयम्भूपुराण, नेपाल महात्म्य, विभिन्न वंशावलीहरू, लिच्छविकालदेखिका अभिलेख, नेपालबारे लेख्ने चिनियाँ रात्री युआन च्वाङदेखि कर्कप्याट्रिक हुँदै भगवनलाल इन्द्रजीसम्मका नेपालसम्बन्धी लेखाइ र बुझाइको विवेचना गरेर नेपाली समाजसम्बन्धी आफ्नो विश्लेषण पस्केका छन्। संशोधन मण्डलमा आबद्ध इतिहासकार डा. महेशराज पन्तका अनुसार, पुष्पलालले नेपाली इतिहासको परिशीलन राम्रोसँग गरेका थिए, त्यसैले उनका लेखाइमा तथ्यगत त्रुटि सितिमित पाइँदैनन् (डा. महेशराज पन्त, साम्यवादी नजरमा नेपालको इतिहास, कान्तिपुर कोसेली, २०७४ फागुन १२, पृ. क)। इतिहास लेखनमा देशभित्रबाहिर कहलिएका डिल्लीरमण रेग्मीका लेखाइमा बग्रेल्ती त्रुटि देखाउने संशोधन मण्डलले पुष्पलाललाई ‘क्लिन चिट’ दिएबाट पनि पुष्पलालको नेपाल अध्ययनको प्रौढता झल्किन्छ।
समाजको विश्लेषण गर्दा र राजनीतिक कार्यक्रम तय गर्दा साम्प्रदायिकताको गन्ध लेसमात्र पनि आउनु हुँदैन भन्ने पुष्पलालको स्पष्ट विचार थियो। एकपटक नेपालको इतिहासबारे चर्चा गर्ने क्रममा डिल्लीरमण रेग्मीले उनलाई भनेका थिए, ‘पृथ्वीनारायण शाहले नेवार जातिमाथि अत्याचार गरेको छ, आफ्नो विजयपछि कीर्तिपुरेहरूको नाक, कान काटे तर मैले नेवार जातिको पक्षमा लेखेको छु।’ आफू नेवारबाट नेपालीमा परिणत भई माक्र्सवादतिर लागेको व्यक्ति भएकाले रेग्मीको सो कुराले उनीप्रति घृणा जागेको पुष्पलालले लेखेका छन्। ‘जुन कुरा रेग्मीले मसँग कोठामा गरेका थिए, त्यही कुरा आज विश्वेश्वर लिखित रूपमा भन्न थालेका छन्’ भनेर उनको बीपीको समेत आलोचना गरेका छन्। वर्गीय राजनीति गर्न नसक्नेले साम्प्रदायिक नारा उराल्छ भन्ने उनको मत थियो (पुष्पलाल, हिस्टोरिकल नोट्स, सन् २०१०, पृ. २०–२१)। आफूलाई पुष्पलालसमेतको चेला बताउने माओवादीहरूले हिजोका दिनमा वर्गीय राजनीतिको मर्मलाई कम आँकेर साम्प्रदायिकताको डंका पिट्नु गुरुद्रोह मात्र थिएन अपितु नेपाली समाजको आधारभूत चरित्र बुझ्न नसक्ने असक्षमता पनि थियो। कवि श्यामलले भन्ने गरेझैं माओवादी आन्दोलनले जनतालाई ‘अवेयर’ होइन, ‘प्रभोक’ गर्‍यो। त्यसैले आफैंले बुनेको जालमा फस्ने माकुराको दुर्दान्त नियती भोग्न ऊ अभिसप्त भयो। वाम आन्दोलन सघनताका साथ सञ्चालन गर्न माओवादीहरूले पुष्पलालले संगठनात्मक क्षेत्र विभाजन गर्दा नेपालका तीन प्रमुख नदी कोशी, गण्डकी र कर्णालीलाई आधार बनाएको यथार्थबाट शिक्षा लिनु पथ्र्यो (उही, पृ. ५७)।
इतिहास लेखनको परम्परागत शैलीबाट पनि साम्प्रदायिकतालाई प्रोत्साहन मिलिरहेको छ भन्ने पुष्पलालको बुझाइ थियो। राजवंशलाई आधार मानी लिच्छविकाल, मल्लकाल र शाहकाल गरी इतिहासको कालखण्ड विभाजन गर्दा यसले साम्प्रदायिक भावना भड्काउँछ र राष्ट्रिय एकतामा बाधा सिर्जना गर्छ भन्ने उनको मत थियो। त्यसैले उत्पादनको ढाँचामा आउने युगान्तकारी परिवर्तनलाई इतिहासको कालखण्ड छुट्याउने आधार बनाउनुपर्छ भन्ने उनको राय थियो (पुष्पलाल, हिस्टोरिकल नोट्स, सन् २०१०, पृ. १, ११)।
निष्कर्षमा भन्नुपर्दा समग्र बौद्धिकतामा पुष्पलाल बीपीका एक छेउ पनि थिएनन् परन्तु नेपाल बुझ्ने सवालमा उनी बीपीभन्दा निक्कै अघि थिए

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button