विचारविश्व

बाजपेयी भारतीय राजनीतिका भीष्मपितामह

भारतीय जनता पार्टी (भाजपा)का नेता तथा पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उनको मृत्युसँगै भारतले एक इमानदार र आदर्शवान् सन्त नेता गुमाएको छ । भाजपाका संस्थापक सदस्यमध्येका एक उनी स्वदेश र देशबाहिर पनि सबैभन्दा प्रशंसित राजनेता थिए ।
भारतीय राजनीतिका भीष्मपितामह बाजपेयी तीनपटकसम्म प्रधानमन्त्री बनेका थिए । सन् १९९६ मा १३ दिन प्रधानमन्त्री बनेका बाजपेयी १९९८ देखि १९९९ मा ११ महिना र १९९९ देखि २००४ सम्म पूरा पाँचवर्षे कार्यकाल पूरा गरेका थिए । उनी भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित थिए ।
 जन्म र शिक्षा
बाजपेयीको जन्म मध्यप्रदेशको ग्वालियरमा एउटा मध्यमवर्गीय परिवारमा सन् १९२४ को डिसेम्बर २५ मा भएको थियो । उनका पिता कृष्णबिहारी बाजपेयी स्कुलका शिक्षक तथा कवि थिए । ग्वालियरको सरस्वती शिशु मन्दिरमा विद्यालय तहको अध्ययन गरेका बाजपेयीले भिक्टोरिया कलेजबाट हिन्दी, अंग्रेजी र संस्कृतमा स्नातक गरेका थिए ।
उनले कानपुरको डिएभी कलेजबाट स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । अध्ययन सकेपछि उनले केही समय पत्रकारिता पनि गरेका थिए । कानपुरस्थित डिएभी कलेजमा पढ्दा उनी र उनका बाबु सँगै भर्ना भएका थिए । दुवैजना एउटै कक्षामा बस्थे । उनीहरू होस्टेलको पनि एउटै कोठामा बस्थे । तर, साथीभाइले बाबु–छोरालाई खिसी गर्न थालेपछि गुरुहरूले उनीहरूलाई अलग–अलग सेक्सनमा राखेका थिए ।
भारत छोड आन्दोलनमा होमिए
बाजपेयी सानैदेखि राजनीतिमा होमिएका थिए । बेलायती उपनिवेश शासनविरुद्ध आवाज उठाएबापत उनले केही समय जेलजीवन बिताएका थिए । किशोर अवस्थादेखि नै उनी भारतीय जनता पार्टी (भाजपा)को भगिनी संगठन (आरएसएस)मा आबद्ध थिए । सन् १९४२ देखि १९४५ सम्म चलेको भारत छोड आन्दोलनदेखि उनको राजनीतिक करिअर सुरु भएको थियो । भारत छोड स्वतन्त्रता आन्दोलनका योद्धामध्ये बाजपेयी पनि एक थिए । उनी भारतीय जनता संघ (बिजेएस)का संस्थापक श्यामप्रसाद मुखर्जीका बफादार शिष्य थिए ।
वाक्पटुतामा निपुर्ण
विश्वव्यापी रूपमा नै सम्मानित बाजपेयी उत्कृष्ट वाक्पटुताका लागि प्रख्यात थिए । चातुर्य र ठट्टामिश्रित उनका तेजस्वी भाषणले जोकोही पनि मन्त्रमुग्ध हुन्थ्यो । उनको तीक्ष्ण बौद्धिकताबाट विपक्षी राजनीतिक दलका नेताहरूसमेत प्रभावित थिए । समसामयिक विषयमा संसद् भवन वा अन्य फोरममा उनले आफ्ना धारणा राख्दा समर्थक र विपक्षी मन्त्रमुग्ध हुन्थे । हिन्दीबाहेक उनी अंग्रेजी भाषामा पनि उत्तिकै दख्खल राख्थे । पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरू बाजपेयीको बोल्ने शैलीबाट औधी प्रभावित थिए । ‘कुनै दिन बाजपेयी देशको प्रधानमन्त्री हुन्छन्,’ जहवारलाल नेहरूले भविष्यवाणी गरेका थिए, जुन सत्य प्रमाणित भएको थियो ।
सफल कवि, असफल पत्रकार
राजनीतिका अतिरिक्त बाजपेयी एक सफल कवि पनि थिए । कविताप्रति उनको गहिरो मोह थियो । विचारोत्तेजक कवितामार्फत उनी एउटा साहित्यकारको रूपमा लाखौँ मानिसको हृदयमा बसेका थिए । उनले विभिन्न साप्ताहिक, मासिकलगायत विभिन्न पत्रपत्रिकाको सम्पादन गरेका थिए । उनका कविताका दुई एल्बम सार्वजनिक भएका छन् । नई दीक्षा र समवेदना उनका चर्चित कविता हुन् । राजनीतिबाहेक अध्ययन, लेखन र भ्रमण उनका सोख थियो । एउटा अन्तर्वार्तामा बाजपेयीले आफू सफल पत्रकार बन्न चाहेको तर भूलवश राजनीतिमा लागेको बताएका छन् । अध्ययन सकेपछि उनले पत्रकारिता गरे । पत्रकारितामा सफल नभए पनि साहित्यमा उनी जीवनभर चर्चामा रहे ।
 तीनपटक प्रधानमन्त्री
बाजपेयी तीनपटक भारतको प्रधानमन्त्री बने । सबैभन्दा बढी दलको गठबन्धन (२६ पार्टी)मा सरकार बनाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन् । सन् १९९६ को आमनिर्वाचनमा भाजपा तल्लो सदन लोकसभामा सबैभन्दा ठूलो पार्टी बनेको थियो । ठूलो दलको हैसियतमा उनी संसद्बाट प्रधानमन्त्री बने । तर, बहुमत जुटाउन नसकेपछि उनले १३ दिनमा नै प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । त्यही भएर कतिपयले उनलाई अहिले पनि ‘१३ दिने प्रधानमन्त्री’ भनेर व्यंग्यसमेत गर्छन् ।
सन् १९९८ मा संसद्मा भाजपा ठूलो दल बनेपछि उनले पुनः प्रधानमन्त्रीको शपथ लिए र अन्य दलहरूको सहयोगमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन बनाए । तर, यो सरकार पनि मुस्किलले ११ महिना टिकेको थियो । सन् १९९९ को निर्वाचनपछि उनी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । यसपटक बाजपेयी नेतृत्वको सरकारले पाँचवर्षे कार्यकाल पूरा गरेको थियो । सन् २००५ मा बाजपेयीले आफ्नो ४० वर्षे राजनीतिक जीवनबाट सन्न्यास लिए ।
लोकसभामा ९ पटक निर्वाचित
तीव्र बौद्धिकता र गहिरो राजनीतिक धरातल भएका उनी लोकसभामा नौपटक र राज्यसभामा दुईपटक निर्वाचित भए । भारतको तल्लो सदन लोकसभामा सन् १९५७ देखि २००९ सम्म उनी निर्वाचित भएका थिए । त्यस्तै, भाजपा सरकारको पाँचवर्षे पूर्ण कार्यकाल पूरा गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । उनी सन् १९९६ मा जम्मा १३ दिन प्रधानमन्त्री बनेका थिए । पूर्वप्रधानमन्त्री पिभीनरसिंह रायले बाजपेयीलाई राजनीतिक गुरु मान्थे ।
बाजपेयीको कार्यकालका स्मरणीय घटना
सक्रिय राजनीतिज्ञका रूपमा बाजपेयीको अन्तर्राष्ट्रिय मामिलामा गहन चासो थियो । उनले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका थिए । आफ्नो कार्यकालमा छिमेकी मुलुक पाकिस्तानसँगको सम्बन्ध सुधार्न विशेष पहल गरेका थिए ।
उनले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफसँग शिखरवार्ता गर्न बस चढेर पाकिस्तानको लाहोर सहरसम्मको यात्रा गरेका थिए । तर, पाकिस्तानसँग उनले आशा गरेजस्तो सम्बन्ध स्थापित हुन सकेन । समाजका अपहेलित जाति र समुदायको उत्थान, महिला तथा बालबालिकाको भलाइमा उनको अतुलनीय योगदान छ । उनी देशको आर्थिक विकासबारे गहन चासो राख्थे ।
उनले तिब्बतलाई चीनको स्वायत्त अंगको रूपमा स्विकारेर बेइजिङलाई रिझाउने प्रयास गरेका थिए । उनको कार्यकालमा भारतमा चिनियाँ लगानी ह्वात्तै बढेको थियो । काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको अपहरण, सन् २००१ मा भारतीय संसद्मा अतिवादी हमला, सन् २००२ मा गुजरातमा भएको हिन्दू र मुस्लिमबीचको दंगा उनका कार्यकालका महत्वपूर्ण घटना हुन् । सन् १९९८ मा भारतले गरेको परमाणु बम परीक्षण उनको कार्यकालको सबैभन्दा ठूलो उपलब्धि थियो ।

नयाँपत्रिकाबाट साभार गरिएको ।
nema
Show More

Related Articles

Back to top button