breakingअन्तर्वार्तासमाचार

अहिलेकै संविधान, प्रणाली र थिति रह्यो भने हामी ‘कोल्याप्स’ हुन्छौं

पेशल निरौला, उपप्राध्यापक– नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय

हामी अहिले नेपालको इतिहासको कुन राजनीतिक मोडमा छौं ?
नेपाल भन्नुस् वा हामी भन्नुस् अहिले अत्यन्त अप्ठेरो स्थितिमा आइपुगेका छौं । देख्दा अहिले के देखिन्छ भने संविधान आयो, संघीय ढाँचा अनुसारका निर्वाचनहरु पनि भए अरु संरचनाहरु पनि बने । तर तपाईलाई अनौठो लाग्छ कि दलहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता जे कुरालाई उपलब्धि भनेर औंला भाँच्दछन् ती विषयमा उनीहरुले संविधानसभामा आउँदा जनतासँग कहिल्यै भोट मागेनन् । सुरुदेखि । त्यसकारण मतदानको दृष्टिकोणले अहिलेको संविधान जनताको भावना विपरीत छ । कुनै पनि दलले हामीलाई यो एजेण्डाका लागि मत दिनुहोस् भनेर एजेण्डाका आधारमा मत मागेनन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा जोसुकै भन्नुहोस् । अहिलेको मुख्य समस्या के हो भने एउटा प्रयोजनका लागि मागिएको मत अर्काे प्रयोजनमा दुरुपयोग भयो । किनभने धर्म मास्नका लागि नेपाली जनताले मत दिएका थिएनन् । धर्म निरपेक्षता भनेको क्रिश्चियनहरुको एजेण्डा हो, त्यसमा पनि प्रोटेस्टेण्टहरुको । जहाँ–जहाँ धर्मनिरपेक्षताको नारा चल्छ, त्यहाँ–त्यहाँ क्रिश्चियनहरुलाई धर्म प्रचार गर्नका लागि ठाउँ बनाइएको हुन्छ । भारतमा पनि त्यही नै हो । गणतन्त्रमा जान्छौं, राजा फ्याँक्छौं भनेर पनि भोट मागेका हैनन् । संघीयताका लागि पनि यिनीहरुले भोट मागेका हैनन् । जाने भए पाँच प्रदेशमा जाउ, अन्यथा कुरा नगर भन्ने जनताको आक्रोश यिनीहरुले सुनेकै थिए । त्यसैले अहिलेको संविधान समाधान होइन समस्याको कारक बनेर आइरहेको छ । जनताको आस्था, विश्वास, निष्ठाका विरद्ध काम भैरहेको छ । यिनीहरु वास्तवमा नेपाललाई पश्चिमा शक्तिहरुको प्रयोगस्थल बनाउँदैछन्, भारतको पश्चिमा शक्ति पनि यसमा छ । अहिलेका पार्टीहरु कोही राजावादी होलान्, कोही कम्युनिष्ट होलान्, कोही कांग्रेस होलान् तर यिनी सबैको शक्तिकेन्द्र एउटै छ । तपाईलाई अचम्म लाग्ला सीके राउत, प्रचण्ड, कमल थापा, शेरबहादुर देउवा एउटै शक्तिकेन्द्रका मान्छे हुन् । योगेश भट्टराई, गगन थापा एउटै हुन्, शक्तिकेन्द्रका दृष्टिकोणले । हामीले कुन मान्छे कुन पार्टीमा छ भन्नुभन्दा पनि कुन मान्छे कुन शक्तिकेन्द्रबाट सञ्चालित छ भन्ने कुरा बुझ्यौ भने हामीले नेपालको राजनीतिलाई राम्रोसँग बुझ्न सक्छौं । जस्तो कुनै चलचित्रमा नायिका अथवा नायकले एकदम दुःख पाएको दृश्य देखियो भने साधारण मानिस भावनामा आएर दुःखी वा निराश हुन्छ, दर्शकहरु रुन पनि थाल्छन् । जब दर्शकहरु रुन्छन् तब ‘प्रोड्युसर’, ‘डाइरेक्टर’ र पटकथा लेखक हाँस्छन् । अहिलेको नेपालको राजनीतिक मोड यही हो । अहिले नेपाली जनता दुःख पाएर रोइराखेका छन् र दलहरुको माध्यमबाट नेपाली जनतालाई खेलाउने शक्तिकेन्द्रहरु हाँसिरहेका छन् ।
वास्तवमा नेपाली जनताको प्रजातन्त्रको आकांक्षा त महान् हो नि ! जनताले प्रजातन्त्रका मूल्य, मान्यता वा आदर्शको अपेक्षा गर्याे, देशले स्वर्णिम भविष्य पाउँछ भन्ने कल्पना गर्याे । तर, हामी चुक्यौं कहाँ ?
हामीले दुईवटा कुरा बुझ्नुपर्छ हेर्नुहोस् । एउटा ‘प्योर साइन्स’ हुन्छ अर्काे ‘सोसियल साइन्स’ हुन्छ । ‘प्योर साइन्स’मा जस्तो फिजिक्स, केमिष्ट्री, बायोलोजी आदि जे हुन्छ, यसमा पश्चिमाहरुको धर्मका लागि स्थान छैन । जब हामी ‘सोसियल साइन्स’को कुरा गर्छाै, यसमा उनीहरुको धर्म, संस्कृति परम्परा आदि बलात् लादिएर आएको हुन्छ । म माक्र्सलाई पनि सम्मान गर्छु, लिंकनलाई पनि सम्मान गर्छु । तर तिनीहरुको अथवा पश्चिमाहरुको जति पनि ‘सोसियल साइन्स’का विषयहरु छन् तिनीहरु सबैमा बाइबल र क्रिश्चियानिटीको प्रभाव छ । चाहे फ्रायडवाद होस् चाहे माक्र्सवाद होस् चाहे उत्तरआधुनिकतावाद नै किन नहोस्, जति पनि हामी समाज विज्ञानका विषयहरु पढ्छौं, त्यसमा उनीहरुको सभ्यता, संस्कृतिको प्रभाव छ । त्यो कुरा जस्ताको तस्तै हामीले नेपालमा बोक्यौं । हामीले ००७ सालको क्रान्तिलाई उमंगका साथ महान् उपलब्धि हो भन्यौ तर त्यसका नकारात्मक पक्षहरुतिर हामी कहिल्यै पनि गएनौं । ००७ सालको क्रान्तिपछि नै नेपालमा बाह्यशक्तिको हस्तक्षेप सुरु भएको हो । सुरुमा भारतको मात्र हस्तक्षेप देखिन्थ्यो, त्यसपछि पश्चिमाहरुले यो ‘सोसियल साइन्स’को माध्यमबाट सुरु गरे । आज हाम्रा जति पनि विश्वविद्यालय वा कलेजहरुमा ‘सोसियल साइन्स’ पढाइन्छ त्यो पश्चिमाहरुको ‘सोसियल साइन्स’ हुबहु पढाइन्छ । माक्र्सले त नेपाली समाजको अध्ययन गरेका थिएनन् । उनले त औद्योगिक क्रान्तिकालको युरोपको मात्र अध्ययन गरेका थिए । फ्रायडले यो बेलाको युरोपका यौन मनोविज्ञानको मात्र अध्ययन गरेका थिए । तर फ्रायडको यौन मनोविज्ञानको अनुयायीमा हाम्रा वीपी कोइराला ! त्यसमा वीपी कोइराला पनि फस्नु भएको छ हेर्नुस् । पुष्पलालहरुले पनि युरोप र चीनको ‘सोसियल साइन्स’लाई नेपालमा लागू गर्ने प्रयास गर्नुभयो ।
त्यसैले हामीले जरोमै पुगेर हाम्रा समस्याहरुको समाधान खोज्नु पर्दछ । आफ्नो समाज आफ्नो संस्कृति र आफ्ना परम्पराहरुलाई समयसापेक्ष ढंगले सुधार गर्दै, आफ्नो समस्याको समाधान पनि आफूबाटै खोज्नु पर्दछ । हामीले आफ्नो अनुहार आफ्नै समाजको ऐनामा हेर्नुपर्दछ । हामी पश्चिमाहरुको नक्कल गरेर यो दूरावस्थामा आइपुगेका हौं ।
तपाईले अघि दलहरु वा व्यक्तिहरुको नाम लिंदै उनीहरु शक्तिकेन्द्रबाट परिचालित छन् भन्नुभयो । नेपाली जनताकै शक्तिमाथि विश्वास नगरेर उनीहरु शक्तिकेन्द्रहरुको शरणमा जानु पर्नाको कारण के होला ? 
हिजो शितयुद्धकालमा दुईवटा शक्ति ध्रुवहरु थिए । अमेरिका र सोभियत संघ । दुवै शक्तिहरुसँग संलग्न नहुने भनेर असंलग्न राष्ट्रहरुको छुट्टै समूह बन्यो । ती असंलग्न राष्ट्रहरुको दुवै शक्ति ध्रुवहरुसँग मित्रवत नै सम्बन्ध थियो । ती असंलग्न देशहरु शक्ति ध्रुवहरुसँग साँठगाँठ गर्न स्वतन्त्र थिए । हाम्रा नेताहरु शक्तिकेन्द्रसँग टाँस्सिन जाने मौका मिलेको यस्तै चरित्रले हो । मित्रवत सम्बन्धका नाममा पहिले उनीहरु शक्तिकेन्द्रको ढोकासम्म पुगे । तर त्यो मित्रवत सम्बन्ध अहिलेका नेताहरुको पालामा आएर खुफियागिरी गर्ने तहसम्म पुग्यो । अहिलेका जम्मै नेताहरु खुफियागिरी गर्छन् हेर्नुस् । पहिले वीपी कोइरालाको, पुष्पलालको, भारतका इन्दिरा गान्धी, जयप्रकाश नारायणहरुसँग मतभेद रहे पनि एक किसिमको सम्बन्ध थियो । त्यो सम्मानजनक सम्बन्ध थियो । तर अहिलेका नेताहरु, ठूलठूला नेताहरु कोही ‘रअ’ को कोही ‘सिआइए’को एजेन्टको काम गर्छन् । बाबुराम र प्रचण्डले द्वन्दकालमा भारतमा गएर तिमीहरुको खिलाफमा जाँदैनौं भनेर बिन्तीपत्र नै हाले । त्यस्तै कांग्रेसमा हेर्नुस्, म कांग्रेसमै भएकोले भन्दैछु, कांग्रेसको कुनै पनि नेता राष्ट्रवादी छैन । तपाईलाई बुझ्नको लागि म सूत्र बताइदिन्छु कि भारतीय दलालहरु अथवा भारतलाई मूल शक्तिकेन्द्र मान्नेहरुले कहिल्यै पनि राष्ट्रियताको एजेण्डा बोक्न सक्दैनन् । नाम नै मलाई भन्न नलगाउनुस्, त्यसले कहिल्यै पनि राष्ट्रियताको एजेण्डा बोक्न सक्दैन । चाहे त्यो कांग्रेसको नेता होस्, चाहे कम्युनिष्टको नेता होस् । यो पनि बुझ्नुहोस् कि पश्चिमाहरुको अथवा क्रिश्चियनहरुको दलाली गरेर खाने नेताले कहिल्यै पनि हाम्रो धर्मसंस्कृतिको वकालत गर्दैन । तपाईले यति मात्र एउटा सूत्र बुझ्नुभयो भने कसले कसको दलाली गरेर खान्छ, तपाई सजिल्यै चिन्न सक्नुहुन्छ । तपाईलाई अनौठो लाग्ला दरबार हत्याकाण्ड हुँदा ‘सिआइए’ अथवा ‘रअ’को कुरै नगर्नुस्, यहाँको सेना नै संलग्न छ । तत्कालीन राज्य व्यवस्था नै संलग्न छ । किन छ भने राजा वीरेन्द्रको हत्या हुँदा संसदले समवेदनासम्म पनि प्रकट गरेन । हामी यो ‘रेकर्ड’ हेरिराछौं । आफ्नो राष्ट्राध्यक्ष मर्दा समवेदना दिएन । तत्कालीन सेनापतिले राजाको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो होइन भनेर वक्तव्य निकाले । यस्तो ताजा उदाहरण छ । यहाँ त्यसै धर्मनिरपेक्षता आएको छैन यो ठूलो धनराशी खर्च गरेर आएको छ । यसमा गिरिजाप्रसाद र प्रचण्ड दुवै संलग्न छन् । कृष्ण सिटौला, बाबुराम, सुवास नेम्वाङजस्ता तल्लोस्तरका मान्छेहरुको नाम लिइराख्नै पर्दैन । किनभने त्यो बेला ती दुइटा नेताले मिलेर जे निर्णय गरे त्यही हुन्थ्यो । सत्ता र पैसा दुवै कुरा उपलब्ध गराइदिने भएपछि नेता भनाउँदाहरु शक्तिकेन्द्रहरुका पछाडि लागे । अहिले उनीहरुका एजेन्टहरु तलसम्म पुगिसकेका छन् ।
हाम्रो देश अहिले शक्ति राष्ट्रहरुको खेल मैदान बनेको छ र हाम्रा नेताहरु उनीहरुका एजेन्ट । तर पुरस्कृत पनि उनीहरु नै भइरहने हाम्रो समाजको बाध्यता के हो ? 
तपाईले महत्वपूर्ण प्रश्न उठाउनुभयो । अब तपाई हाम्रो काम नै के हो भने यी कुराहरुलाई बाहिर ल्याइदिने । षडयन्त्र भन्ने कुरा भित्र कोठामा रहुञ्जेल मात्र त्यो षडयन्त्र हुन्छ, त्यसलाई हामीले सडकमा पुर्याइदियौं भने त्यो षडयन्त्र रहँदैन । मैले त पटक–पटक मिडियाहरुमार्फत् भनि नै राखेको छु अब हामी जातिको कुरामा अल्झिनु हुँदैन, पार्टीको कुरामा अल्झिनु हुँदैन भनेर । पार्र्टी चाहिन्छ तर पार्टीभन्दा पनि ठूलो कुरा राष्ट्र हो, धर्म हो, संस्कृति हो, परम्परा हो, हाम्रा गौरवहरु हुन् । जुनसुकै पार्टीमा रहेका भए पनि ती प्रवृत्तिहरुका विरुद्ध उभिनुपर्छ, उनीहरुलाई बाहिर ल्याइदिनुपर्छ । यो सडकमा ल्याइदियो भने के हुन्छ ? ती शक्तिकेन्द्रहरुलाई त हामीले नै स्पेस दिइराछौं नि ! स्पेस दिनु पनि पर्छ । अमेरिकालाई तँ हाम्रो मर्यादाको यो सीमासम्म बस, भारतलाई पनि हाम्रो मर्यादाको यो सीमासम्म बस र चीनलाई पनि तँ हाम्रो मर्यादाको यो सीमासम्म बस भनेर स्पेस तोकिदिने हो । तर अहिले त के भैराखेको छ भने सबै उनीहरुका हरुवा चरुवा भइराखेका छन् । उनीहरुले लाए अर्हाएको काम मात्र गरिरहेका छन् । हामीले जनतामा यो चेतना जगाउनु पर्याे । आज हाम्रा मानिसहरु युरोपतिर जान पाए भने एकदमै खुशी हुन्छन्, जबकि उनीहरुसँग बराबरीको लडाइँ लडेका जातिहरु हौं हामीहरु । ती ठूल्ठूला युद्धमा आफ्नो गौरवलाई कायम गरेका जातिहरु हौं हामीहरु । अथवा हामी आफ्नो सभ्यता, संस्कृति, इतिहास र भूगोलको रक्षा गर्न भीषण लडाइँ लडेका जातिहरु हौं । लडाइँको महत्व के छ म तपाईलाई त्यो पनि भनिहालुँ । हिन्दूहरुका हाम्रा तीनवटा परम्परा छन्– शैव, शाक्त र वैष्णव । शैवले ज्ञान, उत्पादन र सेना मान्दछ । वैष्णवले ज्ञान, पडी(व्यापार) र अहिंसालाई मान्दछ । भारतमा वैष्णव र बुद्धको प्रभाव बढी पर्याे, त्यसपछि भारत विदेशीहरुको गुलाम बनेको हो । किनभने उनीहरुले सेनालाई प्राथमिकता दिएनन् । नेपाल किन लड्यो, भन्दाखेरि नेपाल शैव भूमि हो । शिवका गण हुन्छन् हेर्नुस् । लडाइँ भनेको आज भौतिक लडाइँ मात्र हुँदैन । आध्यात्मिक, वैचारिक, ज्ञान, विज्ञान आदिको लडाइँ हुन्छ । हाम्रो त यति ठूलो सभ्यता हो हेर्नुस् अहिले पनि यहाँ जीवित देवीहरु हुन्छन् र उनीहरु पुजिन्छन् । नेपाल संसारमै अध्यात्मको गुरु राष्ट्र हो । तर देशभित्र शक्ति राष्ट्रका एजेन्टहरुमार्फत् निरन्तर षडयन्त्र चलिरहेको छ र उनीहरु नै पुरस्कृत भइराखेका छन् । अब हामीले, हामी देशभक्त नेपालीहरुले धर्म, संस्कृति, परम्परा, गौरव आदिलाई पुनःस्थापित गर्ने एउटा लडाइँ अथवा अभियान थाल्नुपर्छ ।
 मैले सन्दर्भ बदलेर प्रश्न गर्न चाहें, ०७४ सालको निर्वाचनमा कम्युनिष्टहरुले अप्रत्याशित विजय हासिल गरे, कम्युनिष्ट सरकारले काम थालेको पनि ८–९ महिना भैसक्यो । जताततै असन्तोष छ, निराशा छ । यो राज्य व्यवस्थाको समस्या हो कि पार्टी र सरकारको समस्या हो ? 
म, एमाले भनेको एनजिओहरुको गुँड हो भन्ने मान्छे । माओवादी भनेको क्रिश्चियनहरुले चलाएको पार्टी भन्ने मान्छे । यी पार्टीहरु कसैसँग देशको भविष्यको बारेमा दूरदृष्टि पनि छैन हेर्नुस् । तर के हो भन्दाखेरि नेपालमा अहिले तपाई हामीले देखेको भन्दा पनि भिन्न खालको परिस्थितिको विकास भैराखेको छ । म तपाईलाई दृष्टान्त पनि दिन्छु– पृथ्वीनारायण शाहको पालापछि अहिले आएर मात्र होला क्रिश्चियन धर्मको प्रचार गरेको कारणले यहाँबाट मानिस निष्काशित गरेर पठाएको । दुई नम्बरमा के छ भने कसैले पनि धर्म परिवर्तन गराउने काम गर्याे भने पाँच वर्ष कैद गर्ने कानुन बनेको छ । तेस्रो नम्बरमा के छ भने प्रचण्ड भारत भ्रमणमा रहेकै बेला बिमस्टेकको संयुक्त सैनिक अभ्यासमा सहभागी हुने निर्णयबाट सरकार फर्कियो । नेपाल सहभागी नहुने भएपछि थाइल्याण्डले पनि हाम्रो जस्तै पर्यवेक्षक मात्र पठायो । यो हामीले सोचेको भन्दा पनि भिन्न खालको परिस्थितिको विकास भैराखेको छ ।
अर्काे गम्भीर कुरा के छ भन्दाखेरि युरोप आफू कसरी बाँच्ने भनेर अस्तित्व रक्षाको अवस्थामा पुगेको छ । अमेरिका पनि खस्कँदो अवस्थामा छ । चीन विश्वशक्तिको दृष्टिले बढ्दो क्रममा छ । नेपालमा पश्चिमाहरुको हरेक क्षेत्रमा लगानी छ । नेपालको कुनै पनि मिडिया यस्तो छैन जसमा पश्चिमाहरुको लगानी नभएको होस् । थोरबहुत भारतको पनि लगानी छ । त्यसैले के देखिन्छ भन्दाखेरि यही ‘कोर्स’मा यो राजनीति जाँदैन । भित्रभित्रै शक्तिकेन्द्रहरुको तीव्र संघर्ष चलिरहेको छ । प्रचण्ड र खड्ग ओली यिनीहरु चीनीया धुरीका कम्युनिष्टहरु होइनन् । भए पनि यिनीहरु ‘ट्र्याप’मा परेका छन् । विश्लेषण के छ भने खड्ग ओली भारतसँग नजिक हो, पश्चिमाहरुसँग होइन, तर प्रचण्ड पश्चिमाहरुसँग नजिक हो भारतसँग होइन । यद्यपि हामीले प्रचण्डले बिन्तीपत्र हालेको कुरा गर्याै तर त्यो पनि पश्चिमाहरुले दिएको सल्लाहमा गरेको काम हो । तर अहिलेको नेपालको राजनीतिको निकास चीनीयाहरुको उपस्थिति बेगर हुँदैन । यो संघीयता त लागू हुँदैन हुँदैन यो राज्य व्यवस्था पनि धेरैबेर रहँदैन । तर यसको विकल्प तपाईले दिनुपर्छ । चाहे राजावादीले होस् चाहे धर्मवादीले होस् चाहे जोसुकै राष्ट्रवादीले होस् । विकल्प नदिइकन विरोध गर्नुको तुक छैन ।
म अब तपाईको प्रश्नको उत्तरतिर लाग्छु, जे–जस्तासुकै बाहिरी परिदृश्यहरु देखिएका होऊन तर खड्ग ओली राजा महेन्द्रजस्तै राष्ट्रवादी नेताका रुपमा दरिने छन् । त्यसका लागि चीनसँगका सम्झौताहरु कुन गतिमा कार्यान्वयन हुन्छन्, त्यस कुरामा पनि भर पर्छ । चाँडै नै शक्तिकेन्द्रहरुको सन्तुलन खल्बलिने छ र एजेन्ट भएर नेता बन्ने चरित्रको राजनीति पनि विस्तारै समाप्त होला ।
खड्ग ओली महाकाली सन्धिको पक्षमा सबैभन्दा उग्र भएर देखा परेका व्यक्ति हुन् । यिनको राष्ट्रियताको पक्षधरता कति विश्वसनीय हुनसक्छ ? 
खड्ग ओली लामो समयसम्म जेल बसेका मान्छे हुन् हेर्नुस् । मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीहरु लामो समयसम्म जेल बसेका मान्छे हुन् । आफ्नो एजेन्टहरुलाई शक्तिकेन्द्रहरुले निश्चित कामको प्रयोजनमा बाहेक लामो समयसम्म जेलमा बसाउँदैनन् । खड्ग ओलीलाई अब आफ्नो स्वास्थ्यको कारणले पनि केही न केही गरेर जान पाए हुन्थ्यो भन्ने छ, अर्काे उनका छोराछोरी कोही पनि छैनन् । त्यसैले उनी केही गरेर मर्न चाहन्छन् । नेपालको नयाँ राजनीतिक परिदृश्यमा चीनलाई प्रवेश गराउने त खड्ग ओली नै भए नि ! र के पनि हुन्छ भने मान्छे हिजोकै अवस्थामा नरहन सक्छ । जस्तो १५ वर्ष अगाडिको मेरो अवस्था र आजको मेरो अवस्था फरक छ हेर्नुस् । म कांग्रेस हुँ तर मेरो सोचाइमा फरक छ । मेरो के अनुमान छ भने यो मान्छेले केही न केही काम गरेर जान्छ । अहिले ६–७ महिना भयो, देशमा केही पहाड नै खसिहाल्या छैन । अहिले जो जसले केही कुरा उचालिराख्या छन्, उनीहरुले पश्चिमा शक्तिहरुको बहकाउमा त्यस्तो गरिराख्या छन् । खड्ग ओलीको सरकार बनेपछि कान्तिपुरलगायतका पत्रिकाहरुका सम्पादकहरु पश्चिमाहरुले नै बदल्न लगाएका हुन् ।
गएको निर्वाचनमा कांग्रेसको जुन स्तरको पतन भयो त्यो त ऐतिहासिक पतन नै भयो । सन् २०१४ मा भएको भारतको आम निर्वाचनमा त्यहाँको कांग्रेस (आई)को पतन जस्तै । नेपाली कांग्रेसको यति चर्काे पतन कसरी भयो ? 
कांग्रेस मूलतः सिद्धान्तमुखी, नेता मान्ने र अभियानमा चल्ने पार्टी हो । यो संगठन भन्दा पनि जीवन्त अभियान बोकेर हिंड्ने पार्टी हो । ००७ सालदेखि ०४६ सालसम्म कहिले हतियार बोकेको छ, कहिले जनमतसंग्रहमा होमिएको छ, त कहिले सत्याग्रहमा बसेको छ । मातृका, वीपी, सुवर्ण शमशेर, गणेशमान, किसुनजीजस्ता अथवा गिरिजा नै पनि भन्नुस् न ‘टावर पर्सनालिटी’ भएका नेताहरुले नेतृत्व गरेको पार्टी हो, कांग्रेस पार्टी । अन्तर्राष्ट्रिय परिस्थितिलाई ‘ट्याकल’ गर्न सक्ने व्यक्तित्व भएका नेताहरुले नेतृत्व गरेको पार्टी हो ।
तर अहिलेको दशा हेर्नुस् त । मैले त कांग्रेसको झण्डामा रहेका चारताराको अर्थ सुरा, सुन्दरी, सत्ता, सम्पत्ति भएको छ भन्दै आएको छु । अहिले त्यस्तो खालको नेतृत्व नै कांग्रेसमा छैन । यो पार्टी जहिलेसम्म जीवन्त रह्यो, त्यसको एउटै मात्र कारण के हो भने त्यसको नेतृत्वप्रति जनताको ठूलो विश्वास । जस्तो गणेशमानकै कुरा गर्नुस्, कम्युनिष्टहरुले समेत गणेशमानको नेतृत्व भए हामी मान्छौं भन्थे । कम्युनिष्टहरुले नै कृष्णप्रसाद भट्टराई इमान्दार मान्छे हो भन्थे । जनता त उनको सादा जीवनको जानकार थियो नै । मनमोहन अधिकारी पनि इमान्दार नै थिए । अझ साँच्चै भन्नुहुन्छ भने हाम्रा नेताहरुभन्दा पनि मरिचमान झन् इमान्दार थिए, राष्ट्रियताको सन्दर्भमा । तर पछिल्लो समयमा आएर कांग्रेस के भन्देखि, यो कुरा नहटाउनु होला, बाह्य खुफिया शक्तिकेन्द्र र आन्तरिक गुप्तचर एजेन्सीबाट चलेको पार्टीमा परिणत भयो । म चुनौती दिएर भन्छु कांग्रेसका युवा नेतादेखि सबै नेताहरुसँग मिडियामा आएर म बहस गर्न सक्छु मैले भनेका यी कुरामा नफसेको नेता हुँ भन्ने कुनै कांग्रेस बाँकी छैन । कांग्रेसका २० जना मुख्य नेता छुट्याउनु भयो भने एउटा पनि चोखो छैन । अब के भयो भनेदेखि पार्टीको नेतृत्व तहमा गुप्तचरहरुले अभियान चलाउँछन् । गुप्तचरको काम त ‘रिपोर्टिङ’ मात्र गर्ने हो, चाहे त्यो ‘रअ’ को होस् चाहे त्यो ‘सिआइए’को होस् वा सेना र पुलिसको होस् । गुप्तचरले अभियान चलाउन सक्दैन । आज कांग्रेसले अभियान चलाउन नसक्नुको कारण के हो भने यो गुप्तचरी संयन्त्रबाट सञ्चालित छ । त्यसैले आज कांग्रेस नीतिविहीन छ, एजेण्डाविहीन छ । कांग्रेसलाई मध्यमार्गी पार्टीको रुपमा लिइन्थ्यो । यसले राजा मान्छ, यसले धर्म मान्छ, यसले परम्परा मान्छ भनेर यसलाई मान्छेले मान्थे । कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यो एउटा लुज फोरम हो, यसमा सबै अटाउन सक्छन् भनेर मानिन्थ्यो । कांग्रेससँग न अहिले नेतृत्व छ न त एजेण्डा नै । यस्तो कांग्रेसलाई तपाई आफै भन्नुस् किन कसैले भोट दिन्छ ? नाकाबन्दी हुँदा बोल्न सकेन, धर्म बेच्ने काममा आफै संलग्न भयो, राजा र यो संसदीय व्यवस्था कांग्रेसको आस्था हो, त्यो आस्थै त्याग्यो । आजको कांग्रेस पश्चिमाहरुका जति पनि एजेण्डाहरु छन् ती एजेण्डाहरुको भरिया मात्र भएको छ । ओलीको एउटा सानो अडानले उनलाई राष्ट्रिय व्यक्तित्व बनाइदियो । कांग्रेस यस्तै शक्तिकेन्द्रहरुको भरिया मात्र रहिरह्यो भने यो छिट्टै चीनको कोमिन्ताङ पार्टीमा परिणत हुनेछ ।
के कांग्रेस आफ्नै विश्लेषणका आधारमा गणतन्त्रमा गएको हो ? जबकि कांग्रेसको विशेष महासमितिको बैठकलाई चिठी नै लेखर त्यति ठूलो नेता किसुनजीले त्यहाँ जानबाट रोक्न खोज्दाखोज्दै पनि कांग्रेस गणतन्त्रमा गयो । के यो आफ्नै चाहनाले गणतन्त्रमा गएको हो ? 
म एउटा दृष्टान्त बताउँछु । कटवाल त दरबारले पालेको मान्छे हो नि । त्यो नै गणतन्त्रमा किन गयो ? यहाँ हामी जति पनि राजनीतिक मानिसहरु देख्छौं ती सुरक्षा निकायसँग बढी सम्बन्धित मान्छेहरु छन् । गणतन्त्र देखावटी रुपमा पार्टीहरुले ल्याएका हुन्, तर गणतन्त्र कहाँबाट आयो भने सुरक्षा निकाय र यहाँको संरचना नै बिकेको हो । कांग्रेस के भयो भने, जस्तो कृष्ण सिटौलालाई जुन प्रयोजनका लागि त्यहाँ पुर्याइयो, त्यसले त्यो काम गर्छ । गिरिजाप्रसाद कोइरालालाई घेराऊ गरेर राजा ज्ञानेन्द्रसँग उनलाई ‘ल्क्यास’ गर्न लगाइयो । त्यो शक्तिकेन्द्रको निर्देशनमा भयो । यो स्थिति आउनमा हुन त अरुका पनि कमजोरी छन् तर गिरिजाप्रसाद र राजा ज्ञानेन्द्र बढी दोषी छन् । त्यो पछिल्लो परिस्थितिमा गिरिजाप्रसादलाई पनि अलि बढी नै अहं भयो । म वीपीभन्दा ठूलो भएँ भन्ने । उनलाई पहिलो राष्ट्रपति बन्ने महत्वाकांक्षाले पनि डोर्यायो । पछि गएर महसुस गरे त्यो अलग कुरा हो । तर के भने कांग्रेसभित्र नेतृत्वको दूरदर्शिताको अभाव र पैसाको प्रलोभनका कारणले यो एजेण्डामा जान कांग्रेस विवश भएको थियो । अहिले हेर्नुस् कांग्रेसभित्र कुनै पनि नेता यसले राष्ट्रियताको एजेण्डा बोक्ला भन्ने छैन । ०४६ सालपछि कांग्रेसमाथि नै नेपाली जनताले सबैभन्दा बढी विश्वास गरेका थिए । तर भैदियो के भने कांग्रेस र संसदीय व्यवस्थालाई सबैभन्दा बढी बदनाम गिरिजाप्रसाद र शेरबहादुर देउवाले नै गरे । किनभने भ्रष्टाचारको सुरुआत गिरिजाप्रसादले नै गरे, म त उनलाई भ्रष्टाचार शिरोमणि नै भन्छु । खुमबहादुर, गोविन्दराज जोशी आदि त प्यादा मात्र हुन् । र संसदीय व्यवस्थालाई बदनाम गर्ने काम शेरबहादुरले गरे । पजेरो, प्राडो, सुरा, सुन्दरी, हङकङ–बैंककमा सांसद पठाउनेदेखि लिएर यावत कामहरु शेरबहादुरले गरे । संसदीय व्यवस्था त कम्युनिष्ट, राप्रपा, दरबार कसैको थिएन, कांग्रेसको आफ्नो व्यवस्था थियो । आफ्नै व्यवस्थालाई बदनाम गर्ने कांग्रेससँग तपाई के अपेक्षा गर्नुहुन्छ ? ०४७ सालको संविधान कांग्रेसको नेतृत्वमा बनेको थियो, त्यही संविधान सक्नमा लागे यिनीहरु । कति सन्तुलित संविधान थियो त्यो । सिद्धान्तहीन बेथितिपूर्ण दौडका जड नै गिरिजाप्रसाद र शेरबहादुर देउवा हुन् । यस्ताका कार्यकर्ता कस्ता होलान् ?
तपाई आफै पनि नेपाली कांग्रेसको एउटा कार्यकर्ता, के आशा गर्नुहुन्छ ? के कांग्रेसले आफ्नो विषयमा पुनःविचार गर्ला ?
मैले कृष्णप्रसाद भट्टराईबाट सिकेको कुरा के हो भन्देखि पार्टीभन्दा पनि ठूलो आफ्नो आदर्श हुन्छ । आफ्नो मूल्य हुन्छ । त्यसैले भट्टराईले पार्टी छोडेर पनि आफ्नो मूल्य छोड्नुभएन । जब मूल्यको जागरण कांग्रेसले गर्नेछ, आस्थाको जागरण कांग्रेसले गर्नेछ अनि मात्र कांग्रेस ब्युँतने छ । नत्र यो घाटे वैद्यकोमा पुगिसकेको छ । तपाईलाई सुन्दा अचम्म लाग्ला, यदि यो सरकारले पूरा–पूरा पाँच वर्ष काम गर्याे भने कांग्रेसमा म जस्ता पुराना मान्छे मात्र बाँकी रहनेछन् । खान आका, लुट्न आका अहिलेका कांग्रेस सबै लाखापाखा लाग्नेछन् । यदि कांग्रेस साँच्चै पुनःजागृत हुने हो भने मेरो विचारमा कांग्रेसले ०४७ सालकै संविधानको सेरोफेरोमा काम गर्नुपर्छ । यथार्थमा म गणतन्त्रवादी हुँ । तर राजाहरु हुँदाखेरि जति यो देशको मान मर्यादा थियो आज देशले त्यो सबै गुमाएको छ । अन्तर्राष्ट्रिय जगतमा राजाहरु जाँदाखेरि जुन एउटा सम्मान थियो, चाहे अमेरिकी राष्ट्रपति होस् चाहे भारतको प्रधानमन्त्री मोदी हुन् राजालाई भेट्न उनीहरु आउनुपर्छ, ‘प्रोटोकल’ले । राष्ट्रियताका लागि राजा छ है भन्ने जुन हाम्रो आधार थियो, त्यो आधार आज सकिएको छ ।
म त्यही प्रश्न तपाईलाई गर्न चाहन्थे । ०६२/६३ को आन्दोलनपछि हामी विजयी बनेको चर्चा गरियो, गराइयो । तर, गणतन्त्र आएपछि हामीले ठूला ठूला मूल्य चुकाउनु परेको छ । हामीले चुकाएका मूल्यहरुको तपाई कसरी विश्लेषण गर्नुहोला ? 
म सुरुतिरको प्रसंग उप्काउँछु । कांग्रेसकै शासनकालमा ३८ वटा ठूला उद्योग र २ सय ४० वटा साना उद्योगहरु कांग्रेसले नै कौडीको मूल्यमा बेचेर खायो । यो राष्ट्रलाई कमजोर बनाउने खेल ०४७ सालबाटै सुरु भएको हो । ती उद्योगहरु बेच्दा एमाले किन बोलेन ? ती उद्योग बेच्दा राजाका मान्छेहरु किन बोलेनन् ? यहाँका पत्रकार, यहाँको प्रशासन कोही बोलेनन् । यो मिलिभगत उहिल्यैदेखि चलेको हो । तपाई हेर्नुहोला प्रदेश नचल्ने कुरा त प्रदेशबाटै आइराख्या छ । यही व्यवस्था रहिरह्यो भने यही संविधान रहिरह्यो भने एकपछि अर्काे गरी हाम्रो देश नै रहँदैन । अहिलेकै संविधान, अहिलेकै प्रणाली र अहिलेकै यो थिति रह्यो भने हामी ‘कोल्याप्स’ हुन्छौं । त्यो स्थिति आउनबाट हामी बच्नुपर्छ । किनभने यसले निष्कर्षमा पुर्याउँदैन हेर्नुस् । नेपाली जनताको एउटा इच्छा, एउटा आकांक्षा छ, तपाईले अर्काे चिज थोपरिदिनुभयो भने त्यहाँ द्वन्द सुरु हुन्छ । अहिलेको संविधान अहिलेको प्रणालीले यहाँ द्वन्द बढाउने मात्रै हो । त्यसैले सबै राष्ट्रिय शक्तिहरु मिलेर राष्ट्र जागृत गर्ने बेला हो यो ।
नवचेतना डटकमबाट साभार

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button