breakingनेपाली कांग्रेसविचार

कांग्रेसबारे किन लेखिन छाडियो ?

विनोद न्यौपाने

१८ असार २०७७ १०:३२:००
लुक यतिबेला असाधारण संकटमा फसेको छ। राजनीतिक नेतृत्वले मुलुकलाई नेतृत्व दिन नसक्दा यस्तो परिस्थिति निर्माण भएको हो। शासकमा राष्ट्रवादी भावना र शासकीय शैली अभावको मार मुलुकले बेहोर्दै आएको छ छिमेकी मुलुकका अस्वाभाविक गतिविधिले त्यसमा थप मलजल गरेको छ। सधैं हेपाहा प्रवृत्ति देखाउँदै आएको भारतका गतिविधिप्रति चीनले पनि गम्भीर चासो राख्न थालेपछि मुलुक विदेशीको रणनीतिक मैदान बन्दै गएको छ। नागरिकता, कालापानी विवाद होस् या एमसीसीप्रतिका आरोप–प्रत्यारोप यी सबै यसैका बाछिटा हुन्। यी बाछिटाबाट मुलुकलाई जोगाउने हैसियत सरकारले गुमाइसकेको छ। किनकि आवरणमा मात्र देखिने राष्ट्रवादी चिन्तनले न छिमेकीलाई सन्तुलनमा राख्ने क्षमता राख्छ न त नागरिकका असन्तुष्टिको सम्बोधन नै गर्न सक्छ। गलत कार्यशैलीका कारण उत्पन्न रोषलाई कुण्ठाका रूपमा लिनु शासकको अज्ञानता हो। सरकारलाई कहीं–कतैबाट खतरा छ भने नेकपाभित्रैबाट छ, बाहिरी शक्तिबाट होइन। त्यो स्थायी समितिको मंगलबारको बैठकले पनि पुष्टि गरेको छ।
झन्डै दुईतिहाइ बहुमत हासिल गरेको नेकपाले सरकारकै कारण पार्टी बद्नाम हुने स्थिति उत्पन्न भयो भने नेतृत्व फेर्न सक्छ। त्यो स्वाभाविक पनि हो। त्यो स्थिति उत्पन्न भयो भने पार्टी पनि विभाजित हुन सक्छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसको भूमिकाको खोजी हुन सक्छ। उसलाई आफ्नो उपयोगिता र सान्दर्भिकता पुष्टि गर्न उक्साइने छ। सत्ताको पर्यायको परिचय बनाएको कांग्रेस नेतृत्व त्यसका पक्षमा उभिन सक्छ। तर परिस्थिति उसको अनुकूल छैन किनकि कांग्रेसले पनि धेरैको मन दुखाएको छ। राजनीतिलाई संकटपूर्ण अवस्थासम्म ल्याउन बाह्रबुँदे सम्झौतादेखि आजसम्म कांग्रेस धेरै ठाउँमा चुकेको छ।
नेपाली कांग्रेस बुद्धि र विवेक भएको मान्छेसँग बहसमै आउन चाहँदैन भने कसरी समयको गति पछ्याउँदै अघि बढ्न सक्छ ?
कथं सरकारको नेतृत्व परिवर्तनका संकेत बलशाली हुँदै गए भने कांग्रेसमाथि सत्ता साझेदारीको कार्ड फ्याँकिने छ। नेतृत्वको प्रस्ताव पनि आउन सक्छ। पार्टीलाई पतनको बाटोमा लैजान सघाउनेहरू सत्तामा जान सल्लाह दिन पनि सक्छन्। कांग्रेसका नाममा राजनीति गर्न चाहने भविष्यको पुस्तालाई त्योभन्दा ठूलो घात अरू केही हुने छैन। पार्टी भाँडमा जाओस् आफ्नो अभीष्ट पूरा गरेरै छाड्ने नेतृत्वको कार्यशैली कांग्रेसको बीउ जोगाउनेभन्दा मास्न उद्यत् देखिन्छ। कांग्रेसभित्रको प्रतिपक्षी पनि विचार र सिद्धान्तमा भन्दा भागबन्डामा विश्वास गर्छ। यही गतिलाई निरन्तरता दिने हो भने भागबन्डाको संस्कृति नै कांग्रेस पतनको कारण बन्न सक्छ। त्यसैले जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्न दिएको म्यान्डेटको सम्मान गर्न जान्नुपर्छ।
हो, यस्तै कार्यशैलीका कारण आम प्रजातन्त्रवादी, नागरिक समाज र बौद्धिक जगत्मा यतिबेला कांग्रेसबारे बहस, चर्चा–परिचर्चा हुन छाडेको छ। कांग्रेसबारे मिडियामा लेखिन पनि छाडिएको छ। उसले आफ्नो बाटो नबिराओस् भनेर निरन्तर घच्घच्याइरहने कलम पनि यतिबेला बन्द भएका छन्। हो, कांग्रेसबारे लेख्ने शब्द सकिएर पनि हुन सक्छ। कतिलाई लागेको पनि होला, विचारशून्य पार्टीका गल्ती–कमजोरीबारे लेखेर कति हलुंगो भइरहने। ‘राजा सुन्दैन, देउता बोल्दैन’ भन्ने उखान एकपटक खुबै चल्तीमा थियो। कलमजीवीहरूलाई पनि त्यस्तै महसुस भएरै होला।
हाम्राबारे किन लेख्न÷बोल्न छाडिएको होला भन्नेबारे कांग्रेस बेखबर छ। संसद्मा प्रतिपक्षीको बेन्चमा बसेर निरन्तर घुरिरहँदा पनि कांग्रेसबारे कसैले केही लेख्दैनन् भने म के गरौं त भन्ने लागेको हुन सक्छ दलका नेतालाई। तिनीहरूले नलेखे पनि म कांग्रेस पार्टीको सभापति हुँदै हुँ भन्ने होला शेरबहादुर देउवालाई। प्रधानमन्त्रीलाई जस्तै कोरोना भाइरस सञ्जीवनी बुटी बनेको छ देउवाका लागि पनि किनकि पार्टीको महाधिवेशन समयमा गर्नुपरेन भने त्योभन्दा ठूलो उपलब्धि उनका लागि केही हुने छैन। त्यसो त पार्टीको गिर्दो साख जोगाउन भूमिका खेल्नुपर्ने उनको दायित्वभित्र पर्दैन, आसेपासेले त्यस्तो सल्लाह दिँदैनन् पनि। नागरिकसँग टुटेको सम्बन्ध जोड्न नचाहने, पार्टीबारे चासो र भविष्यबारे चिन्तन नगर्ने नेतृत्व भएको पार्टीबारे लेखिने मसला के नै हुन्छ र? गगन थापा मात्र अनुपस्थित हुने हो भने संसद्मा प्रतिपक्षीको भूमिका पनि नेकपाकै भीम रावलले निभाइदिनुपर्छ।
कांग्रेसले पेसागत संघसंगठन र आम प्रजातन्त्रवादीको विश्वास पनि गुमाइसकेको छ। प्रजातन्त्रका पक्षमा वकालत गर्ने बौैद्धिक जगत् कांग्रेससँग टाढिएको छ। उनीहरूलाई विश्वासमा लिने आधार पनि समाप्त भइसकेको छ। हिजोसम्म बोलेर÷लेखेर कांग्रेसको उन्नतिका पक्षमा वकालत गर्ने व्यक्ति आज नेकपालाई गाली गरेर भए पनि आफ्नो कलम चलाइरहेको छ। विचारशून्य पार्टीको वकालत गर्न कसैले रुचाउँदैन पनि। हिजोसम्म कम्युनिस्टको पनि नेतृत्व लिँदै आएको कांग्रेस आज कम्युनिस्टको खेलौना बनेर गौरव गर्न चाहन्छ भने त्यस्तो पार्टीको उन्नतिबारे कसले किन कलम चलाउँछ? सुझाव र गाली छुट्ट्याउन नसक्ने नेतृत्वबाट नागरिकको अपेक्षा पनि रहँदैन।
राजनीतिक संगठन भनेका जनइच्छा प्रकट गर्ने माध्यम हुन्। तर जनताका इच्छाको प्रतिनिधित्व गर्ने बाटोबाट सत्तासीन नेकपा मात्र होइन, प्रतिपक्षी कांग्रेस पनि अलग भइसकेको छ। अंकगणितमा मात्र सीमित सत्तासीन नेकपाले जनताको वैधता गुमाइसकेको छ। प्रतिपक्षी कांग्रेसले पनि संकटका बेला जनतासँग नजिक हुने खालका कुनै पनि काम गर्न नसक्दा उसको पनि राजनीतिक वैधता गुम्ने स्थितिमा छ। सरकारका गल्ती–कमजोरी केलाएर जनतासँग टुटेको सम्बन्ध जोड्ने मौका कांग्रेसले क्रमशः गुमाइरहेको छ। तैपनि कांग्रेस निदाइरहेको छ। समयसापेक्ष नयाँ मान्यता स्थापित गर्नु त कहाँ हो कहाँ, स्थापनाकालीन शाश्वत मूल्य र मान्यता पनि विसर्जन गरिरहेको छ।
यतिबेला विद्यमान राजनीतिक पद्धति र प्रणालीले मुलुक अघि बढ्न सक्दैन भन्ने आवाज जबर्जस्त स्थापित गर्न खोजिएको छ। नेकपा संसदीय व्यवस्था कमजोर हुँदै गएकोमा खुसी छ किनकि सरकार सञ्चालनमा गल्ती–कमजोरी गर्दै जानुको उद्देश्य यो व्यवस्थाको बदनाम गराउनु पनि हो। संसदीय व्यवस्था कमजोर भयो भने त्यसको सबैभन्दा ठूलो मार कांग्रेसलाई पर्ने छ। तर नेतृत्व व्यवस्था बदनाम गराउनेहरूसँग संवैधानिक पदको बार्गेनिङमा लागिरहेको छ भने कांग्रेसको उन्नतिमा कसले किन कलम चलाउँछ?

हिमाल र पहाडमा कमजोर बन्दै आएको कांग्रेस कुनै समयको आधारभूमि मानिने मधेस पनि गुमाउँदै छ। मधेसमा कांग्रेसको नेतृत्व गर्नेहरू पितापुर्खाले जोगाएर राखेको राष्ट्रियताप्रतिको चट्टानी अडान बलिवेदीमा चढाउँदै छन्। महेन्द्रनारायण निधिजस्ता व्यक्तिको राष्ट्रियताप्रतिको अडानलाई आज उनकै उत्तराधिकारीले बन्धकी राख्न खोजिरहेका छन्। आज नागरिकताका मुद्दामा उठेको बहसमा कांग्रेसको भूमिकाले मधेसको सहानुभूति गुम्दै गएको छ। वंशजको अस्तित्व रक्षामा मौन बसेर अंगीकृतका पक्षमा वकालत गर्ने कांग्रेसले मधेस र मधेसीको सहानुभूति बटुल्न सक्छु भनेर कसरी विश्वास दिलाउन सक्छ? एउटा राष्ट्रवादी नागरिकले नागरिकताको राजनीतिलाई राष्ट्रियता दाउमा राख्ने प्रपञ्चका रूपमा बुझेको छ।
कांग्रेसले इतिहासको गति किन पछ्याउन सकेन ?
नेपालको इतिहासमा नेपाली कांग्रेसको सम्मानजनक स्थान छ। तर उसले इतिहासले दिएको त्यो इज्जत जोगाउन सकेन। बीपी, गणेशमान, कृष्णप्रसादको पुस्ताले दिएको बलिदानबाट बनेको इज्जतमा दाग लगाउनेबाहेक उल्लेख्य उपलब्धि हासिल हुन सकेको छैन। अघिल्लो पुस्ताले हासिल गरेको विश्वव्यापी लोकतान्त्रिक मान्यता र इज्जतको ब्याजकै भरमा नेता भइरहन सरम पनि लाग्नुपर्ने हो। समय र परिस्थिति फरक छ, बदलिएको छ। नयाँ युवा पुस्ता हामीलाई आजै सेवा चाहिन्छ भन्छ तर कांग्रेस ०७ सालमा हामीले क्रान्ति गरेका थियौं भनेर युवाको विश्वास जित्न खोज्छ। एकापसमा मेल नखाने तर्क गरेर इतिहासले दिएको इज्जत जोगाउन सकिन्न। बीपीको निधनपछि जन्मिएको पुस्तालाई त्यो बलिदानीको इतिहासबारे चासो र चिन्तन हुँदैन। नयाँ पुस्तालाई सम्बोधन हुने खालका कुनै पनि गतिविधि कांग्रेसबाट नभएकैले सम्मानित भइरहन पाउनुपर्ने उसको मान्यताले ठाउँ पाउन छाडेको हो। नेतृत्व तहमा बसेकाहरू विश्वप्रकाश, गगन थापाहरू आएकै छन् त भन्छन् तर उनीहरूले पनि नयाँ पुस्तालाई कांग्रेसप्रति सद्भाव जगाउने खालको कुनै पनि सिद्धान्त र दृष्टिकोण पार्टीमा स्थापित गराउन सकेका छैनन्। किनकि नेतृत्व तहमा रहेको अहिलेको असान्दर्भिक पुस्ता उनीहरूको अस्तित्व पूर्णरूपमा स्वीकार गर्न तयारै छैन। नयाँ पुस्तासँग सम्पर्क गर्ने नयाँ दृष्टिकोणसहितको रणनीति नभएपछि पार्टीप्रति आकर्षण बढ्न सक्दैन। नयाँ पुस्ताको मान्यता पाउन पार्टीलाई सैद्धान्तिक रूपमा नवीकरण गर्नुपर्छ। युवा पुस्ताले नेतृत्वबाट हात थापेर वा आसे भएर लिएको पदबाट उनीहरूको अस्तित्व कायम हुन सक्दैन। साँच्चिकै समयसापेक्ष नयाँ पुस्ताको सद्भाव बटुल्ने इच्छाशक्ति र हिम्मत छ भने युवा नेताहरूले नेतृत्वविरुद्ध क्रान्ति गरेर नयाँ सिद्धान्त र नेतृत्व स्थापित गर्न सक्नुपर्छ। बाईसौं शताब्दीको पूर्वसन्ध्यामा बीपीको नाम मात्र बेचेर जनताबाट अनुमोदित हुने अपेक्षा राख्नु मूर्खतासिवाय केही होइन।
कांग्रेसले अब सिद्धान्तको पुनव्र्याख्या गर्न आवश्यक छ। त्यसको खाका कोर्ने जिम्मा नयाँ पुस्तालाई दिनुपर्छ। तर नयाँ पुस्ताको युवा प्रखर राष्ट्रवादी हुनुपर्छ, परचालित होइन, स्वचालित हुनुपर्छ। विद्यमान पुस्तामा सिद्धान्तको नवीकरण गर्ने क्षमता अभाव भएकाले पार्टीमा नयाँ पुस्ताको आकर्षण नभएको बुझ्न ढिलाइ गर्नु हुँदैन।
सर्वहाराको अधिनायकत्व भन्ने एमाले परिस्कृत हुँदै लोककल्याणकारी समाजवादमा आइपुग्यो। त्यो उसको सिद्धान्तको नवीकरण थियो। भित्रभित्रै भुसको आगो सल्किए पनि आवरणमा त ऊ आज साहन्दार अंकगणितसहित सत्ताको ढुकुटीमा रजगज गरिरहेको छ। तर समयसापेक्ष सिद्धान्तको नवीकरण गरेर अघि बढ्न नसक्दा निकै पछि परिसकेको आभास कांग्रेस नेतृत्वलाई हुन सकेको छैन। तर नेतृत्व त्यो बुझ्न चाहिरहेको छैन।
बेलायतको उदाहरण यहाँनेर सान्दर्भिक हुन्छ। त्यहाँको लेबर पार्टीले सन् १९७९ देखिका तीनवटा निर्वाचन हार्‍यो। कन्जरभेटिभ पार्टीकी मार्गरेट थ्याचर सत्तामा आएर लामो समय शासन गरिन्। सन् १९९७ मा भएको निर्वाचनमा टोनी ब्लेयरले नेतृत्व गरेको पार्टी विजयी बन्यो। हामी न्यु लेबरको नारा लिएर महत्‍वपूर्ण कार्यक्रम र सिद्धान्तसहित आउँदै छौं है भन्ने सन्देश प्रवाह गरेर जनसमक्ष गयो। निर्वाचनमा विजयी बन्यो। एउटा मात्र होइन, लगातार तीनवटा निर्वाचनमा लेबर पार्टीले जित हासिल गर्‍यो। पार्टी समयसापेक्ष गतिशील हुनुपर्छ भन्ने सन्देशलाई जनताले अनुमोदन गरिदिए। तर नेपालमा कांग्रेसले त्यस्तो गतिशीलता देखाउनै सकेन÷चाहेन। भएको संरचना पनि गलत कार्यशैलीका कारण लथालिंग छ। पछिल्ला निर्वाचनमा पार्टीका नाममा जति पनि मत प्राप्त भएका छन्, त्यो आस्थाका मतदाताको आशीर्वाद हो, नेतृत्वका कारण आएको होइन।
त्यसो त टोनी ब्लेयरले पनि न्यु लेबरको नारा आफ्नै विवेकले बनाएका थिएनन्। बुद्धिजीवीको सहारामा उनले त्यो जोखिम मोलेका थिए। धुरन्धर विद्वान् एन्थोनी गिडेन्सको सल्लाहमा ब्लेयरले नयाँ नारा स्थापित गरे। बुद्धिजीवीहरूको सल्लाह मान्दा ब्लेयरको पार्टीले लगातार तीनपटकको निर्वाचन आफ्नो पक्षमा पार्न सफल भयो। तर नेपाली कांग्रेस बुद्धि र विवेक भएको मान्छेसँग बहसमै आउन चाहँदैन भने कसरी समयको गति पछ्याउँदै अघि बढ्न सक्छ? आउने महाधिवेशनमा पनि यही नीति, सिद्धान्त र कार्यक्रम अनुमोदन गर्ने गरी नेतृत्व अघि सर्‍यो भने जनतामा जाँदा फुटबलमा जस्तै आत्मघाती गोल हुनेछ।
नेपालमा पार्टीलाई समयसापेक्ष चलाउन विचार दिने मान्छे नभएका होइनन् तर कांग्रेस किताब पढ्न जानेका कसैको सल्लाह लिन÷सुन्न चाहँदैन। कांग्रेसलाई सिक्ने कुरामा एलर्जी छ किनकि सबैथोक मैले नै जानेको छु भन्ने भ्रम नेतृत्व तहमा बस्नेहरूको छ। पार्टी भनेको पोखरी जस्तो होइन, नदीजस्तो निरन्तर बगिरहने हुनुपर्छ तर कांग्रेस पोखरीको पानीजस्तै छ। निरन्तर बगिरहँदा समाप्त हुने चिन्ता छ उसलाई। गतिशील दलले जोखिम मोल्न सक्छ। नयाँपन दिन सक्छ। पार्टीलाई समयसापेक्ष नयाँ अर्थमा ढाल्न सक्नुपर्छ। यसो गर्न सकेन भने कांग्रेस अब त्यही बीपीको इतिहासमा सीमित हुनेछ।
नयाँपन दिन सकिएन भने विरासतवाला कसरी पछि पर्छन् भन्ने उदाहरण बनेको छ भारतीय कांग्रेस। गान्धी परिवारको नाम अहिले बिक्री हुन छाडेको छ। किनकि नरेन्द्र मोदी नयाँ नारा लिएर जनतामाझ गए। दुइटा निर्वाचन जिते। तर गान्धी परिवारले नेतृत्व गरेको पार्टी कमजोर प्रतिपक्षका रूपमा रहन विवश छ। किनकि उसमा पनि नयाँपन देखिएन। त्यसैले इतिहास भजाएर मात्र पार्टी गतिशील हुँदैन भन्ने कंग्रेस आईको भारतीय सन्देश नेपाली कांग्रेसले बुझ्नुपर्छ। परिवारवाद हावी भयो, भ्रष्ट हुँदै गयो भन्ने तर्कले मात्र कांग्रेस पछि परेको भनेर व्याख्या हुन सक्दैन। हिजोको एमाले र माओवादीले भ्रष्टाचारमा कांग्रेसलाई धेरै माथ गरिसकेका छन्। समयसापेक्ष फेरिएको राजनीति र विकासको परिभाषा परिवर्तन गर्न नसक्दा कांग्रेस पछि परेको छ, यही नीति र नेतृत्वबाट त्यस्तो सुधारको गुन्जायस पनि देखिँदैन। समाजमा सनातनदेखिको संरचना ध्वस्त भएको छ। संस्कृतिको उपहास भएको छ। त्यसैले त राज्य र जनताबीच अन्तद्र्वन्द्व बढ्दो छ। त्यो अन्तद्र्वन्द्वबाट मुलुकलाई मुक्ति दिलाउने कसमसहित नयाँ नेतृत्व स्थापित भयो भने कांग्रेसको गुमेको साख जोगिन सक्ला नत्र यही नीति र नेतृत्वले उसको भविष्य अन्धकार छ।
 
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button