समाचारनेपाली कांग्रेस

सरकारको स्वेच्छाचारिता बढ्यो : कांग्रेस

रमेश सापकोटा
काठमाडौं, २० असार | ०४
प्रमुख प्रतिपक्षी कांग्रेस सरकारको स्वेच्छाचारी गतिविधिविरुद्ध आक्रामक बन्ने भएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको पदाधिकारीसहित वरिष्ठ केन्द्रीय सदस्यको बैठकले सरकारका पछिल्ला गतिविधि स्वेच्छाचारी र निरंकुश बन्दै गएको भन्दै सदन र प्रदेशमा सशक्त आवाज उठाउने निर्णय गरेको हो ।
‘पछिल्लो समय सरकारका कामकारबाही स्वेच्छाचारी बन्दै गएका छन् । यसै विषयमा छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको थियो,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘संविधानमा सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुने भनेर उल्लेख भए पनि एमाले र माओवादी एक भइसक्दा पनि एउटा छाडेका छैनन् ।
विपक्षीलाई दिने कुरा गर्दैनन् । सरकारका अरू क्रियाकलाप पनि स्वेच्छाचारी बन्नु गलत भएको भन्दै हामीले पार्टीलाई बलियो बनाउँदै सरकारका गलत प्रवृत्तिविरुद्ध केन्द्रदेखि प्रदेशसम्म सशक्त आवाज उठाउने समझदारी गरेका छौँ ।’
सरकार के–केमा स्वेच्छाचारी ?
संविधानमा सभामुख र उपसभामुख एउटै दलले लिन नहुने भए पनि कम्युनिस्टहरूले अझै नछोडेको, सुनुवाइ समितिलाई नुटंग्याउँदा संवैधानिक अंगमा नियुक्तिमा ढिलाइ भएको, गोविन्द केसीको सत्याग्रहको अनशनप्रति गलत रबैया लिएको, ज्यानको जोखिममा पुगेकी अनशनरत गंगामाया अधिकारीको विषयमा सरकार जिम्मेवारी नबनेको आरोप प्रमुख प्रतिपक्षी दलको छ ।
साथै, सार्वजनिक स्थलमा विरोध गर्न नपाइने गरी निषेधित क्षेत्र तोकेको, कर्मचारी संयन्त्रमा राजनीतिकरण गरेको आरोप पनि कांग्रेसले लगाएको छ । साथै, महँगी र मूल्यवृद्धि रोक्न नसक्नुले पनि सरकार जनविरोधी बन्दै गएको भन्दै गलत कार्यशैलीविरुद्ध अब सशक्त प्रतिवाद गर्ने तयारी गरेको केन्द्रीय सदस्य डा. रामशरण महतले जानकारी दिए ।
असमझदारी समाप्त पार्ने
बैठकमा नेताहरूले सरकारको गलत रबैयाविरुद्ध लड्न आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । ‘पार्टीलाई बलियो र प्रभावकारी बनाएर लान र असझदारीलाई समाप्त पारेर अगाडि बढ्नमा हामी सबै सहमत छौँ,’ सहमहामन्त्री महतले भने, ‘अब छिट्टै महासमितिको बैठकको तयारीमा लाग्ने भन्ने भएको छ । यसका लागि विधान संशोधन समिति चाँडै बनाउने भन्ने भएको छ ।’
छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले लिएको निरकुंश शैलीसहित आन्तरिक स्थितिलाई विधिमार्फत सल्ट्याउन र अघि बढाउन समझदारी भएको जानकारी दिए । ‘हामीले धेरै अघिदेखि पार्टीभित्रको अहिलेको स्थितिलाई व्यवस्थित गरौँ, सामूहिक सोच, पद्धति विधिमार्फत अघि बढ्दै जाऔँ भन्दै आएका छौँ,’ केसीले भने, ‘क्रियाशील सदस्यताको विषय मिलाउनुपर्ने, विधानसम्मत भ्रातृसंस्थाको निर्वाचन गराउनुपर्ने, जनसम्पर्क समितिको अधिवेशन गर्नुपर्ने, प्रदेश समितिको गठन गर्दा विधिलाई मान्नुपर्ने विषय उठाएका छौँ ।’
बैठकमा पदाधिकारीसहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, अर्जुनरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्कासहितका करिब एक दर्जन केन्द्रीय सदस्य पनि सहभागी थिए ।
संसदीय दलको बैठक बस्दै
पछिल्लो समय सरकारको क्रियाकलापप्रति असन्तुष्ट रहेको कांग्रेसले सरकारका कामकारबाहीसहितका विषयमा छलफल गर्न बुधबार संसदीय दलको बैठक पनि बोलाएको छ । पार्टीका शीर्ष नेताबीच भएको सहमतिलाई कसरी संसद्देखि प्रदेश सभामा कसरी उठाउने भन्ने विषयमा रणनीति बनाउन दलको बैठक डाकिएको जानकारी मुख्य सचेतक बालकृष्ण खाणले दिए
nema
Show More

Related Articles

Check Also
Close
Back to top button