समाचार

हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं, वैशाख १४ । एसीसी अण्डर १६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २१ ओभर चार बलमा पुरा गदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसअघि नेपालले कसिलो बलिङ गर्दै हङकङलाई ८६ रनमै समेटेको थियो ।
थाइल्याण्डको चियाङमाईमा जारी खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले हङकङलाई ३२।२ ओभरमा ‘अल आउट’ गरेको थियो ।
नेपालका लागि निखिलकुमार सिंहले कसिलो बलिङ गर्दै ६ ओभर दुई बलमा १६ रन दिएर चार विकेट लिए । त्यस्तै विशालकुमार पटेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए भने तिलकराज भण्डारीले एक विकेट लिए ।
हङकङका लागि आरुष भागवतले ४३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु नेपाली बलरले १६ वाइड र चार रन ‘बाइ’ गरी हङकङलाई २० रन अतिरिक्त दिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गर्न सकेन । ब्याटिङमा लामो साझेदारी नहुँदा विकेट गुमाइरहे पनि सानो लक्ष्य भएकाले नेपालले सहजै जित हासिल गरेको हो ।
नेपालका लागि आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए । त्यस्तै, दीपक बोहराले ११, सुवास ऐरले १०, रोहन विकले १४ र कृष कार्कीले १२ रन बनाए ।
साविक विजेता नेपाल यस पटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

nema
Show More

Related Articles

Back to top button