गेजा शर्मा वाग्ले
कम्युनिस्ट सरकारको जनविरोधी गतिविधिको भण्डाफोर गरी संगठन विस्तार गर्ने रणनीतिअनुरूप प्रतिपक्षी कांग्रेसले गत बुधबारदेखि देशव्यापी जागरण अभियान प्रारम्भ गरेपछि राष्ट्रिय राजनीतिमा अर्थपूर्ण तरंग सिर्जना भएको छ। ०७४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा लज्जास्पदरूपमा पराजित भएपछि किंकर्तव्यविमूढ भएको कांग्रेस सरकारविरुद्धमा आक्रामक रणनीति अख्तियार गरी संगठन सुदृढीकरणको उद्देश्यसहित जनसमक्ष जानु सकारात्मक संकेत हो। बूढानीलकण्ठ, बोहोराटार र महाराजगन्जमा गुटका बैठक गरेर रिपोर्टर्स क्लबमा रत्यौली तथा आन्तरिक भागबन्डाबारेमा सार्वजनिक आरोप÷प्रत्यारोपको आत्मघाती शृंखलाभन्दा अस्थायी ‘युद्धविराम’ गरी जनतासँग गएपछि कार्यकर्तापंक्तिमा उत्साहको सञ्चार र ऊर्जाको विकास भएको छ।
१२ भाषामा गाइएको जागरण संगीत र अनिवार्य महिला वक्ताको मापदण्डले समावेशीकरण, ब्याच, माला, आसनग्रहण र पट्यारलाग्दा शास्त्रीय भाषणजस्ता परम्परागत प्रवृत्ति अन्त्य गरी विषयकेन्द्रित सीमित वक्ताको संक्षिप्त कार्यक्रमको नयाँ प्रयोग सुरु गरिएपछि झीनो भए पनि सुधारको संकेत देखिएको छ। कम्युनिस्ट सरकारको विरुद्धमा आक्रामकरूपमा प्रस्तुत भएको राष्ट्रिय जागरण अभियानमा सापेक्षिकरूपमा जनताको उल्लेखनीय उपस्थितिले निर्वाचनपछि निराश, हतास र आत्मविश्वास गुमाएको नेतृत्वले नयाँ आत्मविश्वास र ऊर्जा हासिल गरेको छ भने दुईतिहाइ सरकारको विरुद्धमा जनमत बढिरहेको पुष्टि भएको छ। प्रारम्भिक र सांकेतिक भए पनि जागरणमार्फत कांग्रेसप्रति आकर्षण र कम्युनिस्टप्रति विकर्षण देखिएको छ। तर कांग्रेसले घोषित उद्देश्य हासिल गर्न केही सैद्धान्तिक, नीतिगत र सांगठनिक प्रश्नमा स्पष्ट सन्देश सम्प्रेषण गर्नु अपरिहार्य देखिन्छ।
नीतिगत स्पष्टता
राष्ट्रियता, लोकतन्त्र र समाजवाद स्थापनाकालदेखि अनुसरण गरिएका मार्गनिर्देशक सिद्धान्तहरू हुन्। सोही मार्गनिर्देशक सिद्धान्तका आधारमा कांग्रेस लोकप्रिय र लोकतान्त्रिक दलका रूपमा स्थापित भएको हो। तर राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिवर्तित तरल राजनीतिक परिदृश्यमा पुरानो पुस्ताका नेतृत्वपंक्तिका शास्त्रीय श्लोक, परम्परागत प्रवचन र सनातनी सन्देशले मात्रै जनसमर्थन हासिल हुने सम्भावना क्षीण देखिन्छ। त्यसैले सरकारको विरुद्धमा परम्परागत आरोप र आक्रामक भाषण मात्रै होइन, कांग्रेसको वैकल्पिक दृष्टिकोण तथा भावी नीति र पार्टी रूपान्तरणको स्पष्ट कार्यसूचीका साथ जनसमक्ष जानु उपयुक्त हुने थियो। तर लामो बहस र गृहकार्यका साथ सुरु गरिएको जागरण अभियानको उद्घाटनको अवसरमा अपेक्षाकृत स्पष्ट सन्देश प्रवाह हुन सकेन। स्पष्ट दृष्टिकोण र कार्यसूचीमा गएको भए थप शक्तिशाली तरंग सिर्जना हुने थियो।
विगत आमनिर्वाचनमा भएको पराजयको राष्ट्रिय परिवेश तथा दक्षिणपन्थी राष्ट्रवाद र लोकप्रियतावाद हावी भएको अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा उदार लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित भई ‘कन्जरभेटिभ’ दिशातर्फ उन्मुख हुन्छ कि भन्ने गम्भीर आशंका थियो। तर राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै प्रतिकूल भए पनि स्थापनाकालीन उदार लोकतान्त्रिक मूल्य र मान्यताबाट कांग्रेस विचलित भएन। त्यसैले दूरदर्शी नेता बीपी कोइरालाद्वारा प्रतिपादित उदार र बहुलवादी लोकतन्त्र, समावेशी राष्ट्रियता, लोकतान्त्रिक समाजवाद, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र समतामूलक समाज स्थापनाका मूल्य र मान्यतालाई मार्गनिर्देशक सिद्धान्तका रूपमा थप प्रतिबद्धतासहित गत वर्ष पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेपछि उक्त आशंकाहरूको निवारण गरेको छ।
तर राज्य र पार्टी सञ्चालनका क्रममा नेतृत्वपंक्तिका विवादास्पद निर्णय र अभिव्यक्तिका कारणले उक्त सिद्धान्तप्रति पटकपटक प्रश्नचिह्न खडा गरिएको छ। राष्ट्रियताको संरक्षण र संवर्धन तथा राष्ट्रिय स्वार्थलाई कांग्रेसले मूलमन्त्रको रूपमा व्याख्या गरेको छ। तर राष्ट्रियताको संवर्धन, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षार्थ इतिहासको कालखण्डमा कांग्रेस चुकेको आरोप लाग्दै आएको छ। भारतसँग भएका कतिपय प्राकृतिक साधन-स्रोतका सम्झौता मात्रै होइन, ०७२ मा संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीप्रति मौनताको कारणले कांग्रेसको राष्ट्रियताप्रतिको प्रतिबद्धताबारेमा आशंका सिर्जना भएको छ।
कम्युनिस्ट सरकारको आलोचना मात्रै होइन, राज्य र पार्टी सञ्चालन क्रममा विगतमा भएका गल्ती तथा कमजोरीको सार्वजनिक आत्मालोचना गर्दै भविष्यमा पुनरावृत्त नगर्ने संकल्प गर्ने घडी पनि हो अहिले।
त्यसैले महासमितिले पारित गरेको दस्ताबेजअनुरूप राष्ट्रियता र विदेश नीतिको बारेमा ठोस प्रतिबद्धता सार्वजनिक गर्नुपर्छ। जहाँनिया राणा र निरंकुश पञ्चायती शासन अन्त्य गरी लोकतन्त्र तथा तानाशाही राजतन्त्र उन्मूलन गरी गणतन्त्र स्थापनार्थ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्यो तर लोकतन्त्रको संवर्धन र संस्थागत विकासमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको मात्रै होइन, कांग्रेसको शासनकालमै लोकतान्त्रिक मूल्यमान्यतामाथि आँच आउने कार्य गरेको आरोपसमेत लाग्दै आएको छ।
बीपीले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादी अर्थनीतिलाई तिलाञ्जली दिएर उदारीकरण, भूमण्डलीकरण र निजीकरणजस्ता पुँजीवादी अर्थनीति अनुसरण गरेकाले अलोकप्रिय भएको आवाज स्वयं कांग्रेसवृत्तबाटै उठेको छ। पुँजीवाद र उदार अर्थनीतिको प्रणेता अमेरिका नै उदार अर्थनीति र भूमण्डलीकरणको विपक्षमा गएपछि सामाजिक न्यायसहितको समतामूलक समाज स्थापनाका लागि लोकतान्त्रिक समाजवादलाई पुनः व्याख्या गर्नुपर्ने अनिवार्य परिस्थिति सिर्जना भएको छ। त्यसैले कांग्रेसलाई अनुदारवादी वा ‘कन्जरभेटिभ’ होइन, महासमितिद्वारा पारित प्रगतिशील दस्ताबेजका आधारमा उदार लोकतान्त्रिक, प्रगतिशील लोकतान्त्रिक समाजवादी र समावेशी राष्ट्रवादी पार्टी भएको स्पष्ट दृष्टिकोण सम्प्रेषण गर्नु कांग्रेसकै स्वास्थ्यका लागि श्रेयष्कर हुनेछ।
गुट र विवाद व्यवस्थापन
बहुशक्ति केन्द्र तथा गुटगत संरचना संस्थागत र अन्तरपार्टी विवाद चीरस्थायी भएको कांग्रेसमा गुटबन्दीको अन्त्य गरी संस्थागत र विधिसम्मत पार्टी सञ्चालन नै प्रमुख चुनौती हो। कांग्रेसको प्राविधिक एकीकरण भए पनि भावनात्मक एकीकरण हालसम्म पनि भएको छैन। त्यसैले गुटबन्दी र भागबन्डालाई संस्थागत गरिएको छ। सरकार र पार्टी सञ्चालनका क्रममा गुट सन्तुलन र ‘सम्मानजनक’ भागबन्डा नभएको अवस्थामा पार्टीको विवाद सडकमा छताछुल्ल हुँदै आएको छ। गुटबन्दी र भागबन्डा यसरी संस्थागत र स्वाभाविक भएको छ कि विद्यमान परिस्थितिमा गुटबन्दी र भागबन्डालाई निषेध होइन, व्यवस्थापन गर्नुपर्छ।
त्यसैले गुट व्यवस्थापन र पार्टीको आन्तरिक विवाद निरूपण नगरेसम्म यथार्थमा एकताको सन्देश जाने सम्भावना छैन र सिन्धुपाल्चोकका जस्ता दुर्भाग्यपूर्ण दृश्यहरू थप सार्वजनिक हुँदै जानेछन्।
पार्टी एकताको सन्देश प्रवाह नगरेसम्म केवल जागरण अभियानले मात्रै पार्टी सदस्य र जनतामा उत्साह सिर्जना हुने छैन। सभापति एवं संस्थापन पक्षका शक्तिशाली नेता शेरबहादुर देउवा, गैरसंस्थापन पक्षका कमजोर संयोजक रामचन्द्र पौडेल र विगत महाधिवेशनमा देउवालाई सहयोग गरे पनि अहिले असन्तुष्ट भई गैरसंस्थापन निकट पुगेका सहायक गुटका नेता कृष्णप्रसाद सिटौला कांग्रेसको भविष्यप्रति संवेदनशील छन् भने एकताको सन्देश दिनु अपरिहार्य छ। देउवा, पौडेल र सिटौलाले एकताको सन्देश प्रसारण गर्न सके भने जागरण अभियानको मौलिक सफलता हुनेछ। महासमितिको समापन समारोहमार्फत पनि देउवा र पौडेलले एकताको सन्देश दिने प्रयास नगरेका होइनन्। तर उक्त प्रयास केवल भाषणमा मात्रै सीमित भयो।
जनताको भावना र पार्टी सदस्यहरूको चाहनाअनुरूप संस्थागत, विधिसम्मत, लोकतान्त्रिक र पारदर्शी प्रक्रियाद्वारा पार्टी सञ्चालन र जनतामा लोकप्रिय तथा वैचारिक नेतृत्वको विकास तथा हस्तान्तरण नै कांग्रेस पुनर्जीवनको अपरिहार्य पूर्वसर्त हो। त्यसैले आन्तरिक लोकतन्त्र संस्थागत गरी उत्तरदायी र जवाफदेही पार्टी र नेतृत्व प्रणालीको विकास अहिलेको आवश्यकता हो। अब कांग्रेसलाई नेतृत्वप्रधान होइन, नीतिप्रधान पार्टीका रूपमा रूपान्तरण गरिनुपर्छ। नेतृत्वमुखी पार्टी संरचना होइन, पार्टी सदस्य र जनताप्रति उत्तरदायी संस्थाका रूपमा विकास गरिनुपर्छ। यसैगरी गुटहरूको महासंघ होइन, सामूहिक नेतृत्व प्रणाली विकास गरिनुपर्छ। लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक पार्टीका आधारभूत सिद्धान्त र संरचना पनि यही हो।
संघीयकरणमा विलम्ब किन ?
संघीय प्रणालीअनुरूपको संविधान लागू भएको तीन वर्षभन्दा बढी भइसक्यो। तर अहिलेसम्म पनि पुरानै एकात्मक संरचनाअनुरूप कांग्रेसको सञ्चालित छ। लामो बहस र विवादपछि ढिलै भए पनि महासमितिबाट संशोधन भएको विधानले कांग्रेसलाई लोकतन्त्रीकरण, संघीयकरण र समावेशीकरण गरेको छ। संशोधित विधानअनुरूप संस्थागत, विधिसम्मत र पारदर्शी प्रक्रियाद्वारा पार्टी सञ्चालन गरियो भने जवाफदेही र उत्तरदायी नेतृत्व प्रणाली उद्विकास हुनेछ। त्यसैले संशोधित विधानले जनताको चाहना र कार्यकर्ताको भावनाअनुरूप कांग्रेस पुनः संरचना र पुनर्जीवनको संघार उद्घाटित गरेको छ।
तर कांग्रेसको संघीयकरण केवल कागजमा मात्रै सीमित भयो। हालसम्म पनि संघीय प्रणालीअनुरूप पार्टी संरचना गठन गरिएको छैन। कांग्रेस नेतृत्वपंक्तिको मानसिकता, सार्वजनिक अभिव्यक्ति र कार्यशैलीका आधारमा विश्लेषण गर्दा केन्द्रीकृत प्रवृत्ति कायमै देखिन्छ। अहिले पनि केन्द्रलाई अधिकारसम्पन्न र सभापतिलाई शक्तिशाली बनाउनुपर्ने विचार सार्वजनिक रूपमै व्यक्त गरिँदै आएको छ। उक्त मानसिकता कायमै रहँदासम्म वास्तविक रूपमा संघीयकरण हुने सम्भावना क्षीण देखिन्छ।
होइन भने प्रदेश र स्थानीय समिति गठन गर्न विलम्ब किन ? केन्द्रदेखि स्थानीय तहसम्म राष्ट्रिय जागरण कार्यक्रम घोषणा गरेको छ। तर हालसम्म न प्रदेश न स्थानीय समिति बनेको छ। जुन पार्टीको प्रदेश र स्थानीय समितिसमेत छैनन्, उक्त पार्टीको स्थानीय तहसम्मको जागरण कसरी सफल हुन्छ ? जागरण अभियान सफल बनाउने हो भने अविलम्ब प्रदेश र स्थानीय समिति गठन गर्नुपर्छ। त्यसैले औपचारिकताका लागि होइन, संघीय प्रणालीको सिद्धान्त र उद्देश्य तथा संशोधित विधानअनुरूप कांग्रेसलाई अविलम्ब संघीयकरण गरिनुपर्छ।
कांग्रेसलाई पुनर्जीवन दिन संशोधित विधानअनुरूप पार्टी सञ्चालन गर्ने हो भने अब स्थानीय तहबाट अधिवेशन प्रारम्भ गरिनुपर्छ र निर्धारित समयमा महाधिवेशन गरिनुपर्छ। स्थानीय तहबाट अधिवेशन गरियो भने पूर्णरूपमा विधान कार्यान्वयन हुनेछ। विधान कार्यान्वयन भयो भने कांग्रेसको रूपान्तरण, संघीयकरण र समावेशीकरण हुनेछ र व्यापक जनतामा आधारित पार्टीको रूपमा स्थापित हुनेछ। त्यसैले कांग्रेस रूपान्तरण, संघीयकरण र समावेशीकरणको दृष्टिले अहिले उपयुक्त अवसर हो।
भण्डाफोरको रणनीति
प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्न असफल भएको भनी व्यापक आलोचना भएको कारणले होला, अहिले कांग्रेस सरकारप्रति आक्रामक देखिएको छ र सरकारको भण्डाफोर जागरणको प्रमुख कार्यसूची भएको छ। तर कम्युनिस्ट सरकारलाई केवल अधिनायकवादी र सर्वसत्तावादी भएको परम्परागत र शास्त्रीय आरोप मात्रै होइन, विगत १५ महिनाको वस्तुनिष्ठ विश्लेषण गरी तथ्य र तथ्यांकसहित श्वेतपत्र जारी गर्नुपर्छ। सरकारका सूचकांक निराशाजनक मात्रै होइन, राजनीतिक र संवैधानिक दृष्टिकोणले विवादास्पदसमेत छन्।
लोकतान्त्रिक पद्धति, संवैधानिक प्रावधान र संघीय प्रणालीको भावनाविपरीत सरकारले शृंखलाबद्ध विवादास्पद निर्णय गरेको छ। प्रधानमन्त्रीको शपथग्रहण गर्नासाथ मन्त्रिपरिषद्ले समेत पूर्णता नपाउँदै अर्थ मन्त्रालयअन्तर्गतका राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागजस्ता महत्वपूर्ण र संवेदनशील निकायलाई हतारहतारमा प्रधानमन्त्री कार्यालयमा स्थानान्तरण गरियो। प्रधानमन्त्री केपी ओलीको अतिरिक्त अभीष्ट छैन भने संघीय प्रणालीमा शक्तिको केन्द्रीकरण किन ?
संविधानको भावनाअनुरूप राज्यको संघीयकरण तथा संघीय प्रणालीको सिद्धान्तका आधारमा राज्य सञ्चालन ओलीको प्रमुख संवैधानिक दायित्व थियो। प्रादेशिक तथा स्थानीय सरकारका लागि ओली सरकारले महत्वपूर्ण नीतिगत, संरचनागत र प्रणालीगत आधारशिला तयार गर्नुपर्ने थियो। तर संघीय प्रणाली असफल बनाउन ओलीले नै भूमिका निर्वाह गरेको आरोप प्रदेश २ का समाजवादी पार्टीका मुख्यमन्त्रीले मात्रै होइन, ओलीका विश्वासपात्र शंकर पोखरेल र शेरधन राईलगायत अन्य मुख्यमन्त्रीले समेत लगाएका छन्।
नागरिक तथा मानव अधिकार र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्यमान्यतालाई कुण्ठित गर्ने उद्देश्यले विद्यमान कानुन संशोधन तथा विवादास्पद कानुन जारी गरेपछि सरकार सर्वसत्तावादी प्रवृत्तिको पर्दाफास भएको छ। निर्मला हत्याकाण्ड, वाइडबडी काण्ड, ३३ किलो सुनकाण्ड, बूढीगण्डकी काण्ड, बालुवाटार जग्गा काण्डलगायत यति बहुचर्चित काण्ड छन् कि सरकारको पर्याय नै काण्ड भएको छ। तर कांग्रेसले अपेक्षाकृत पर्दाफास गर्न सकेको छैन।
निष्कर्ष
जागरणको उद्देश्य र कार्यसूची सकारात्मक भए पनि उक्त उद्देश्य हासिल गर्न माथि उल्लिखित चार आयामलाई कांग्रेसले गम्भीरतापूर्वक आत्मसात गर्नु अपरिहार्य छ। कम्युनिस्ट सरकारको आलोचना मात्रै होइन, राज्य र पार्टी सञ्चालन क्रममा विगतमा भएका गल्ती तथा कमजोरीको सार्वजनिक आत्मालोचना गर्दै भविष्यमा पुनरावृत्त नगर्ने संकल्प गर्ने घडी पनि हो। उक्त संकल्पले पार्टी सुधार, रूपान्तरण र पुनर्जीवनको आधारशिला खडा गर्ने छ। कांग्रेस सुधार, रूपान्तरण र पुनर्जीवन प्रक्रिया प्रारम्भ भयो भने जागरण अभियानको महत्वपूर्ण उपलब्धि हुनेछ। कांग्रेसको नेतृत्वपंक्तिले उक्त वास्तविकतालाई आत्मसात गरी कांग्रेस रूपान्तरण र पुनर्जीवनको सूत्रपात गर्न सफल होला ?
अन्नपूर्ण पोष्टबाट साभार
http://annapurnapost.com/news/127164