राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमणअघि चिनियाँ विदेशमन्त्री वाङ यी आउँदै
काठमाडौँ ÷ चिनियाँ राष्ट्रपति सी जिङपिङ पहिलोपल्ट नेपाल आउने चर्चा भएसँगै सम्भावित भ्रमणको मितिभन्दा एक महिनाअघि चिनियाँ विदेशमन्त्री बाङ यी नेपाल भ्रमणमा आउने भएका छन् ।
बनारसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भनिएको शिखर बैठकका लागि जाने तयारी गरिरहेका राष्ट्रपति सी जिङपिङ त्यहीँबाट करिब नौ घन्टाका लागि काठमाडौँमा आउने समाचार सार्वजनिक भएका छन् । उनको सम्भावित भ्रमणभन्दा एक महिनाअघि त्यसको पूर्वतयारीका रुपमा विदेशमन्त्री वाङ यी नेपाल आउन लागेको श्रोतले बताएको छ ।
चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी पाकिस्तान ६ सेप्टेम्बरमा पुग्ने र त्यहाँबाट ८ सेप्टेम्बरमा नेपाल आइपुग्ने बताइएको छ। उनी पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र चीन वार्तामा सहभागी हुने बताइएको छ ।
नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा हुने भनिएको सीमा सम्बन्धी वार्ताका लागि जाने बताइए पनि यसबारे टुंगो भइनसकेको बुझिएको छ। वाङ यीको नेपाल(पाकिस्तान र सम्भावित भारतयात्राको तालिकाले मोदी र सीबीच अर्को महिना हुने शिखर बैठकमा क्षेत्रीय विषयले प्राथमिकता पाउने अड्कलबाजी गरिएको छ।