विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण उपचारका लागि खडा गरेको कोषमा नेपाली कांग्रेसका सांसदहरुले १५ दिन बराबरको तलब रकम दिने भएको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुहरुका तर्फबाट १५ दिनको तलब बराबरको रकम दिने निर्णय गरेको हो । नेकपाका सांसदहरुले पनि कोषमा १५ दिनको तलब जम्मा गर्ने निर्णय गरिसकेका छन् । यस्तै संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक साताका लागि देशभर लकडाउन गर्ने निर्णयको पनि कांग्रेसले स्वागत गरेको छ ।
लकडाउनलाई पूर्ण रुपले पालना गर्न सबैलाई अनुरोध समेत गरेको छ । लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाइ हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेको छ ।
