समाचार

संविधान संशोधन प्रस्तावमाथि छलफल जारी, काँगे्रसको पूर्ण समर्थन

२७ जेठ, काठममाडौैँ
प्रतिनिधिसभामा अहिले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समावेश गरी जारी भएको नयाँ नक्सा निशान छापमा राख्‍ने विषयमा आएको संविधान संशोधन प्रस्तावमाथि छलफल जारी छ । प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियास् भनी प्रस्ताव प्रस्तुत गरेपछि अहिले सोमाथि सांसदहरुले धारणा राखिरहेका छन् ।
संशोधन विधेयकमाथिको जारी सैद्धान्तिक छलफलमा राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सिंगो संसद एक ठाउँमा देखिएको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरु संशोधन विधेयकको पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले संशोधन विधेयकलाई पूर्ण समर्थन गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नेपालको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्‍ने संविधान संशोधन प्रस्तावलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
यस्तैराजपा र संघीय समाजवादी दलले पनि संशोधन विधेयकलाई समर्थन गर्ने जनाएको छ । छलफलमा बोल्दैँ नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले राष्ट्रियताको पक्षमा देश एक ढिक्का भएको बताउनुभयो ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो । भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।
सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोही नक्सा निशान छापमा समावेश गर्न जेठ ९ गते संशोधन प्रस्ताव संसद सचिवलयमा दर्ता गरेको थियो । आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइने संसद सचिवालयले जानकारी दिएको छ । विधेयक पारित हुन तत्कल उपस्थित सांसद संख्याको दुईतिहाई आवश्यक पर्ने संवैधानिक प्रावधान छ ।

nema
Show More

Related Articles

Back to top button