नेपालले कालापानी क्षेत्र आफ्नो नक्सामा राखेर संविधान नै संशोधन गरिसकेको दुई दिनपछि भारतीय रक्षामन्त्री सिंहले उक्त सडकबारे नेपालमा केही भ्रम रहेको बताएका हुन्।
‘हाम्रो छिमेकी देश नेपालमा यस सडकलाई लिएर गलत फेमी पैदा भएको छ। भारत र नेपालबीच जुन सम्बन्ध छ यो कुने समान्य सम्बन्ध होइन। भारत र नेपालको सम्बन्ध रोटी र बेटीको हो,’ सिंहले भने,‘नेपालीप्रति भारतमा कहिले पनि कटूता रहेन। भारत-नेपाल सीमालाई लिएर अहिले जुन भ्रमको स्थिति बनेको छ यसलाई हामी बसेर छलफलका माध्यमबाट हल गर्नेछौं।’
उनले नेपालसँगको सम्बन्ध केवल सामाजिक, भौगोलिक, ऐतिहासिक र साँस्कृतिकमात्र नभएर आध्यामिक पनि भएको तर्क गरे।
‘यो सम्बन्ध त यस लोकको मात्र होइन मलाई लाग्छ यो अर्को लोकको पनि सम्बन्ध हो र जुन चाहेर पनि बदल्न सकिन्न,’ सिंहले भने,‘बाबा पशुपतिनाथको हामी कसरी भुल्न सक्छौं। बाबा पशुपति नाथ हुन् वा चाहे भारतमा हाम्रा काशीनाथ, विश्वनाथ, सोमनाथ। यी सबैलाई अमरनाथबाट कसैले कसरी अलग गर्न सक्छ?’
उनले धार्चुलाका अगाडि जतिसुकै तारजाली लगाए पनि यो सम्बन्ध टुट्न नसक्ने बताए।
‘महाकाली त कलकत्तामा, कामाख्यामा र विद्याञ्चलमा सबै ठाउँमा विद्यमान छ। र महाकालीका भक्त उत्तराखण्डका गाउँगाउँमा छन् भने भारत-नेपालको सम्बन्ध कसरी टुट्न सक्छ।’
सम्बोधनका क्रममा उनले भारतीय सेनामा रहेका गोर्खा सैनिकको पनि तारिफ गरे।
‘म अहिले भारतको रक्षा मन्त्रीको जिम्मेवारी निर्वाह गरिरहेको छु। र हाम्रो यहाँ गोर्खा रेजिमेन्ट छन्। जसले बेलाबेलामा शौर्य र पराक्रमको परिचय दिएका छन्,’ सिंहले भने,‘ती गोर्खा रेजिमेन्टको पनि उद्घोष छ-जय महाकाली, आयो रे गोर्खाली।’