दुई हप्तापछि बिनापरीक्षण घर पठाउन मिल्छ
‘
२०७७ असार १० गते
१० असार, काठमाडौं । सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेकाले समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण फैलने जोखिम बढ्दै गएको भन्दै सर्वत्र विरोध भइरहेका बेला गत जेठ ३२ गते अनलाइनखबरमा प्रकाशित अन्तर्वार्तामा विश्व स्वास्थ्य सङ्गठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले सरकार गलत दिशामा नरहेको र सरकारी रणनीतिले हालसम्म राम्ररी काम गरिरहेको बताएका थिए ।
तर, अन्तर्वार्तामा नेपाल सरकारले प्रवर्द्धन गरिरहेको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बारे कुरा नगरिएको बताउँदै र यसबारे डब्लुएचओले आफ्नो स्पष्ट धारणा राख्नुपर्ने माग गर्दै विभिन्न सरोकारवाला व्यक्ति र संस्था तथा आम पाठकले अनलाइनखबरलाई विभिन्न प्रतिक्रियाहरू दिए ।
सलगत्तै हामीले एक पूरक अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन भान्देलारलाई आग्रह गर्यौँ । लगातार बैठकहरूमा व्यस्त रहेको तर्क गर्दै उनले हामीलाई बल्ल हिजो (असार ९ गते) समय उपलब्ध गराए, त्यो पनि करिब १० मिनेट मात्र । यस अन्तर्वार्तामा उनले आफूले क्वारेन्टिनमा उचित गुणस्तर कायम भएमात्र सरकारी नीतिले काम गर्न सक्ने भन्ने कुरा आफूले राखेको भनेर स्पष्ट पारेका छन् ।
क्वारेन्टिनमा रहँदा मानिसहरूवीच पर्याप्त सुरक्षा दुरी कायम भएको सुनिश्चित गर्न सकिने अवस्थामा मात्र कुनै परीक्षणबिना नै लक्षण नभएका मानिसहरूलाई दुई हप्तापछि क्वारेन्टिनबाट घर पठाउन सकिन्छ, अर्थात् त्यस्तो अवस्थामा न पीसीआर, न त आरडीटी परीक्षण आवश्यक हुन्छ, भन्ने उनको भनाइ छ ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
हामीले थाहा पाएसम्म डब्लुएचओले अध्ययन—अनुसन्धानका लागि मात्र आरडीटीलाई मान्यता दिएको छ, कोभिड १९ सङ्क्रमण पहिचान र निदानका लागि छैन । तर, नेपाल सरकारले कसलाई क्वारेन्टिनमा राख्ने र कसलाई नराख्ने भनेर निर्णय गर्न यसको प्रयोग गर्दै आएको छ । यस विषयमा तपाईँको धारणा के छ ?
आरडीटीले तपाईँले आफूभित्र भाइरस पालिरहनुभएको छ वा छैन भन्ने कुरा देखाउँदैन, पीसीआरले देखाउँछ
एन्टीबडी उत्पादन हुनै सङ्क्रमणपछि १० देखि १४ दिन लाग्छ । त्यसैले प्रायजसो, एन्टीबडी देखिँदा तपाईँले सङ्क्रमणको चरम अवस्था त पहिल्यै पार गरिसक्नुभएको हुन्छ । आरडीटीले तपाईँले आफूभित्र भाइरस पालिरहनुभएको छ वा छैन भन्ने कुरा देखाउँदैन, पीसीआरले देखाउँछ ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र रियलटाइम पोलिमरेस चेन रियाक्सन (आरटी पीसीआर) एकदमै फरक–फरक परीक्षण हुन् । पीसीआरले तपाईँभित्र भाइरस छ कि छैन भन्ने देखाउँछ, तर आरडीटीले देखाउँदैन । बरु आरडीटीले तपाईँको शरीरमा भाइरस भएका कारण त्यसको सामना गर्न शरीरले उत्पादन गर्ने एन्टीबडी छ कि छैन भन्ने देखाउँछ ।
आरडीटी परीक्षण गर्दा तपाईँ (वर्तमान होइन) विगतलाई हेर्न खोज्नुभएको मानिन्छ । विगतमा कुनै व्यक्ति भाइरसको सम्पर्कमा थियो कि थिएन भन्ने थाहा पाउन खोज्नुभएको मानिन्छ । पीसीआर परीक्षणमा भने उक्त व्यक्तिले हाल भाइरस पालिरहेको छ कि छैन थाहा पाउन खोज्नुभएको मानिन्छ ।
सर्वेक्षण तथा निगरानीका लागि आरडीटीको प्रयोग गर्न सकिन्छ भन्ने डब्लुएचओको सुझाव हो । कुनै एउटा ठूलो जमातको कत्रो हिस्सामा एन्टीबडी छ, अथवा त्यो जमातका कति मान्छे चाहिँ भाइरसको सम्पर्कमा पुगेका रहेछन् भन्ने थाहा पाउनका लागि आरडीटीको प्रयोग गर्न सकिन्छ । तर, कुनै खास व्यक्तिले हाल भाइरस पालिरहेको छ वा छैन भनेर जाँच्नु चाहिँ छुट्टै कुरा हो ।
तर, नेपालमा त आरडीटी परीक्षणमा निगेटिभ नतिजा आएपछि घर पठाइएका धेरै मानिसमा पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको छ । अर्थात्, आरडीटीमा निगेटिभ देखिनेहरूलाई क्वारेन्टिनबाट छुटाइदिएपछि त समुदायमा सङ्क्रमण सजिलै फैलने भयो नि । सरकारले अब आरडीटी परीक्षण रोक्नुपर्ने होइन र ?
यदि मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा राम्रोसँग, सबै व्यवस्था मिलाएर राखिन्छ भने त्यसपछि सामान्यतया (लक्षण नदेखिएको अवस्थामा) उनीहरूको शरीरमा भाइरस उपस्थित हुँदैन । किनकि, यसको आयु नै १४ दिनभन्दा बढी हुन सक्दैन । क्वारेन्टिनमा सुरक्षाका लागि पर्याप्त दुरी कायम भएको र एक व्यक्तिले अर्को व्यक्तिलाई सङ्क्रमण फैलाउन सक्दैन भन्ने सुनिश्चित गर्न सकुन्जेल तपाईँले जे गर्नुभए पनि लक्षण नदेखिएकाहरूलाई घर पठाउनुभए हुन्छ । कुनै परीक्षण गर्नुपर्दैन, न त पीसीआर, न त आरडीटी ।
तर, यदि तपाईँलाई कसैले शरीरमा अझै भाइरस पालिरहेको छ कि थाहा पाउन मन लाग्छ भने पीसीआर परीक्षण गर्नुपर्छ ।
डब्लुएओका कुनै कर्मचारी वा प्रतिनिधिहरूले नेपालका क्वारेन्टिनस्थलहरू आफ्नै आँखाले हेरेका छन् ? त्यहाँको अवस्थाबारे सरकारी अधिकारीहरूलाई जानकारी दिएका छन् ?
हाम्रा कर्मचारीहरूले नेपालका धेरै क्वारेन्टिनस्थलहरूको भ्रमण गरेका छन् र आफूले देखेको कुरा सरकारलाई बताएका छन् । हामीले के बुझेका छौँ भने पछिल्लो समयमा क्वारेन्टिनमा रहनेहरूको सङ्ख्या केही हप्ता अगाडिको सङ्ख्याभन्दा घटिसकेको छ । त्यसैअनुसार स्थानीय अधिकारीहरू क्वारेन्टिन स्थलले आवश्यक आधारभूत मापदण्ड पूरा गरून् भन्ने निश्चित गर्न विभिन्न उपायहरू अवलम्बन गर्दै छन् ।
हामीले अस्ति पनि कुरा गर्यौँ कि नेपालका प्रयोगशालाहरूको क्षमता सीमित छ र परीक्षणका लागि सङ्कलित धेरै नमुनाहरूले हप्तौँसम्म पालो पर्खनुपरेको छ । यसले गर्दा नतिजाको विश्वसनीयतामा कस्तो प्रश्न उठ्छ ?
स्वभावतः जब तपाईँ कुनै नमुना सङ्कलन गर्नुहुन्छ, तपाईँ सकेसम्म त्यसलाई छिटो परीक्षण गरी नतिजा थाहा पाउन चाहानुहुन्छ । परीक्षणमा कसैको नतिजा पोजिटिभ आएपछि उनीहरूलाई अरूबाट छुट्याउनुपर्छ, उनीहरूको सम्पर्कमा रहेका मानिसहरूको पहिचान गर्नुपर्छ र ती व्यक्तिहरूलाई पनि एक्ल्याउनुपर्छ । यी सबै काम छिटोभन्दा छिटो हुनुपर्छ ताकि तिनले अरू कसैलाई सङ्क्रमण फैलाउन नसकून् ।
नेपालमा परीक्षणका लागि धेरै नमुनाहरू पर्खाइमा रहेको हामीलाई थाहा छ । यस्तो पर्खाइ एकदमै धेरै दिनसम्म जान सक्ने पनि थाहा छ । यदि यस्ता नमुनाहरूलाई सर्वोपयुक्त अवस्थामा राख्न सकियो भने समयमा नै परीक्षण गरिएजस्तै नतिजा सही नै आउला । तर, समस्या नतिजा सही आउँछ कि गलत भन्ने होइन, बरु दुई हप्ता नकुरी सकेसम्म छिटोभन्दा छिटो नतिजा कसरी थाहा पाउन सकिन्छ भन्ने हो ।
नेपालका प्रायः सङ्क्रमितहरूमा सङ्क्रमणका लक्षण देखिएका छैनन् । यस पछाडि कुनै वैज्ञानिक कारण छ ? के नेपालसम्म आइपुग्दा भाइरसको प्रकृति नै बदलिएको हो त ?
संसारका अन्य देशभन्दा नेपालमा फैलिरहेको भाइरस जिनकै आधारमा छुट्टै प्रकृतिको हो भन्ने पुष्टि गर्ने गरी हालसम्म कुनै प्रमाण भेटिएको छैन । बरु नेपालमा लक्षणबिनाका बिरामीहरू बढी हुनुको कारण यहाँ परीक्षणका लागि मानिस छनोट गरिएको प्रक्रिया हो ।
नेपालमा भाइरसको प्रकृति नै छुट्टै हो भन्ने किसिमको वा यस्तै अन्य दाबीसँग यस तथ्यको कुनै सम्बन्ध छैन
नेपालमा अधिकांशतः भारतमा काम गरी फर्किएकाहरूको परीक्षण गरिएको छ र उनीहरू नै सङ्क्रमितका रूपमा गनिएका छन् । यस समूहका प्रायः सदस्यहरू युवा उमेरका पुरुष छन् । कोभिढ१९को सवालमा, तपाईँ जति पाको हुनुहुन्छ, तपाईँमा त्यति नै नराम्रा लक्षणहरू देखिने गर्छन् ।
नेपालमा परीक्षणको मूल दायरा नै युवा उमेरका पुरुषहरूमा सीमित गरिएकाले सङ्क्रमितहरूमा खासै लक्षण नदेखिनु वा हल्का मात्र देखिनु कुनै अनौठो कुरा होइन । यो उमेर समूहमा हाम्रो अपेक्षा नै यस्तो होस् भन्ने हुन्छ । नेपालमा भाइरसको प्रकृति नै छुट्टै हो भन्ने किसिमको वा यस्तै अन्य दाबीसँग यस तथ्यको कुनै सम्बन्ध छैन ।
तर, नेपालमा कोरोनाभाइरसबाट मुत्यु भएकाहरूमध्ये धेरैमा मृत्युपछि सङ्क्रमण पुष्टि भएको छ । यसको पनि केही विशेष अर्थ छ कि यो पनि स्वाभाविक हो ?
मलाई सबै घटनाहरूबारे एकएक जानकारी त छैन । तर कहिलेकाँहि के हुन्छ भने कोही मान्छे बिरामी पर्छ, उनीहरूलाई उपचारका लागि अस्पताल लगिन्छ र परीक्षणका लागि नमुना सङ्कलन गरिन्छ ।
अनि कहिलेकाँहि, दुर्भाग्यवश, बिरामीको निधन भइसकेपछि मात्र परीक्षणको नतिजा आउँछ । यसलाई बिरामीको मृत्युपछि सङ्क्रमण पुष्टि भएको भनेर भनिएको पाइन्छ । तर, नमुना त निजको मृत्युभन्दा अगाडि नै, निज जीवित रहँदै लिइएको हुन्छ नि ।