समाचार
दमौली डुम्रे सडकखण्डमा सवारी सञ्चालनमा रोक
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।
सडक मर्मतका लागि शुक्रबार र शनिबार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।
साथै बिहीबार साँझदेखि नै अवरुद्ध भएको डुम्रे–दमौली सडकखण्डमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए । “वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो”, उनले भने ।
स्राेतः राताेपाटी