नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत तीन जनालाई पार्टीबाट निस्कासन गरेपछि केन्द्रीय सदस्य शेखर कोइरालाले विरोध गरेका छन्।
कांग्रेस अनुशासन समितिले जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादुर विष्टलाई कारवाही गर्दै पाँच वर्ष पार्टीबाट निस्कासन गरेको थियो।
कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीलगायतलाई कारवाही गरिएको भन्दै विरोध गरेका हुन्।
आइतबार फेसबुकमा लेखेका कोइरालाले पार्टीमा सम्पूर्ण जीवन दिएकाहरूलाई कारवाही गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका हुन्।
‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?,’ कोइरालाले भनेका छन्, ‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’