पार्टीलाई चितामा सुताउँदै कांग्रेसजन
कात्तिक १७ ,काठमाडाैं
नेपाली कांग्रेसका नाममा एउटा अनौठो बैठक बस्यो । बैठक शीर्ष नेताका नाममा बोलाइएको थियो । यो बैठकका लागि कात्तिक १४ गते सभापति शेरबहादुर देउवाले आव्हान गरेका थिए ।
सञ्चारमाध्यमलाई समाचारको विषय हुने गरी बोलाइएको उक्त बैठक औपचारिक थियो । पार्टी आफैँमा औपचारिक संस्था हो । यसका नाममा देखिने गरी गरिएका काम पनि औपचारिक नै हुन्छन् ।
पार्टी सभापति या कुनै सदस्यले अनौपचारिक छलफल र बैठक गर्न सक्ला । तर, त्यसले मान्यता पाउँदैन । त्यसलाई अनुमोदन गर्नका लगि कार्यसमिति या विधानले व्यवस्था गरेका अन्य निकायको आवश्यकता पर्छ ।
नेपाली कांग्रेस स्थानीय तहदेखि गठन हुँदै आएको छ । टोल कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिसम्मको व्यवस्था विधानमा छ । विधानमै नभएको पदाधिकारी र शीर्ष नेताहरुको समिति (गुट) बनाएर सभापतिले आफू अनुकुलको राजनीति गरेको प्रष्ट देखिन्छ ।
महासमिति, महाधिवेशन, कार्यसम्पादन र कार्य समितिलाई मात्रै कांग्रेस विधानले केन्द्रीय तहमा पहिचान गरेको देखिन्छ । विधानविपरीत पदाधिकारीका नाममा बैठक बस्ने प्रचलन पनि कांग्रेसमा नयाँ होइन ।
नेपाली कांग्रेसभित्रको गुटबन्दीका एक अध्येता एवं कानुनविद् जगदीश दाहालका अनुसार कुनै पनि संस्थाको विधानभन्दा माथि कुनै व्यक्ति हुन सक्दैन । अझ राजनीतिक पार्टीको विधानभन्दा माथि कुनै राजनीति शक्ति या व्यक्ति हुने कुरै भएन । पार्टी त आफ्नो विधान अनुसार चलेकै हुनुपर्छ ।
नेपाली कांग्रेसभित्रको गुटबन्दीका एक अध्येता एवं कानुनविद् जगदीश दाहालका अनुसार कुनै पनि संस्थाको विधानभन्दा माथि कुनै व्यक्ति हुन सक्दैन । अझ राजनीतिक पार्टीको विधानभन्दा माथि कुनै राजनीति शक्ति या व्यक्ति हुने कुरै भएन । पार्टी त आफ्नो विधान अनुसार चलेकै हुनुपर्छ ।
कांग्रेसको विधानले शीर्ष सदस्यलाई चिन्दैन र जान्दैन । सभापति या कुनै व्यक्तिले मनखुसी शीर्ष सदस्य बाँड्नु आफैँमा हास्यास्पद् भएको दाहाल बताउँछन् । उनी भन्छन्, ‘सभापति देउवाले शीर्ष नेताका नाममा औपचारिक बैठक बोलाएर अवैधानिक काम गरेका छन् ।’
कांग्रेसका पूर्वसहमामन्त्री गोविन्दराज जोशी कांग्रेस विधानले टोल हुँदै केन्द्रीय समिति, कार्यसम्पादन समिति, महासमिति र महाधिवेशनको कल्पना गरेको बताउँछन् । ‘विधानले कल्पना नै नगरेको पदाधिकारी र शीर्ष नेताका नाममा बैठक बस्नु गलत भएको’ जोशीको दाबी छ ।
‘कम्युनिस्ट पार्टीहरुमा सचिवालय र स्थायी समिति हुन्छ । कांग्रेसले त्यसैको सिको गर्दै छ । यसको अर्थ कांग्रेस कम्युनिस्ट पथमा हिँड्दै छ भन्ने पनि हो’, जोशी भन्छन् ।
शेरबहादुरजीले पार्टी हाँक्न थालेपछि कांग्रेस वामपन्थी प्रभावमा गएको दाबी गर्दै जोशी भन्छन्, ‘कांग्रेस वामपन्थीकरण भइसकेको छ ।’
जोशीले भने जस्तो कम्युनिस्टमा जस्तै सचिवालय र स्थायी समितिको सिको गर्दै पदाधिकारी र शीर्ष सदस्यकोे बैठक बोलाउने हो भने विधानले यी २ निकायलाई पहिचान गर्नुपर्ने आवश्यकतालाई कांग्रेसजनहरु किन महसुस गर्दैनन् ?
कांग्रेसमा देउवा र कोइराला समूहबीचको हानाथाप नयाँ होइन । एकले अर्कोलाई कमजोर बनाउनु र थाङ्नामा सुताउनु यी २ समूहले प्रतिष्ठा र चुनौतीका रुपमा लिने गर्छन् । भलै गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अवशानपछि कोइराला खेमा देउवाका लागि डिंगोका लागि झिँगो जस्तो बन्न पुग्यो ।
पार्टीले बाटो बिराउनुमा सभापति मात्रै एक्ला दोषी हुन् भन्नु सर्वथा गलत हो । महामन्त्री डा. शशांक कोइराला र वरिष्ठ नेता भनिएका रामचन्द्र पौडेलको गैरजिम्मेवारीका कारण सभापति देउवालाई मनपरी गर्न सहज भएको प्रष्ट छ ।
कांग्रेसमा देउवा र कोइराला समूहबीचको हानाथाप नयाँ होइन । एकले अर्कोलाई कमजोर बनाउनु र थाङ्नामा सुताउनु यी २ समूहले प्रतिष्ठा र चुनौतीका रुपमा लिने गर्छन् । भलै गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अवशानपछि कोइराला खेमा देउवाका लागि डिंगोका लागि झिँगो जस्तो बन्न पुग्यो ।
१३ औँ महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेपछि कोइराला खेमालाई थाङ्नामा सुताउन त्यति धेरै मेहनत गर्नु परेन देउवाले । अनेकन चतुर्याइँ गरेर आजीवन कोइराला परिवारका भक्त पुराना नेता केबी गुरुङलाई आफ्नो प्रस्तावक बनाउन सफल देउवाले कोइराला पक्षका धेरै नेताहरुलाई सहजै चोरी दिए ।
सिद्धान्त भन्दापनि अवसर खोज्ने कांग्रेसी प्रवृत्तिले देउवालाई आफ्नो कार्यकाल पूरा गर्नुमा कुनै पापड पेल्नुपरेन । नेता कार्यकर्ताको उपियाँ प्रवृत्तिलाई उनले मजैसँग दुरुपयोग गरे । भाग्यमा भएपछि डोकोमा दूध दुहे पनि अडिन्छ भन्ने चरम भाग्यवादी उखान देउवामा हुबहु लागू भयो ।
भिन्न समूहबाट महामन्त्री बनेका डा.शशांक कोइरालाको अर्थ न बर्थको शालीनता र सभापतिमा देउवासँगै हार खाएका रामचन्द्र पौडेलको कचौरे लेनदेनले देउवालाई पार्टीमा एकलौटी राज गर्न सहज बन्यो ।
देउवा पक्षधर एक नेता भन्छन्, ‘अहिले पार्टी पार्टी जस्तो छैन । शेरबहादुरका गोडा मोल्न र पैसा खन्याउन सक्नेले मात्र कांग्रेस हुँ भन्न पाउँछ । कसैले विरोध गर्न सक्दैनन् । यसको मुख्य कारण त कोइराला पक्ष निकै कमजोर भयो ।’
नाम सार्वजनिक नगर्ने सहमतिमा यति टिप्पणी गर्ने ती मनुवाले नै पनि देउवाको विरोध गर्न सकेनन् । उनले गौँडा कुरेर बसेका छन् । गौँडामा तगारो हल्ने कोइराला समूह अभिभावक नभएका परिवारका अनुशासनहीन सदस्यहरु जस्तै बनेका छन् । महामन्त्री डा.शशांकको व्यवहार रोबोट जस्तो लाग्छ । पार्टी समाप्तको संघारमा पुग्दा पनि देउवाको संगीतमा उनी नाचिरहेका छन् ।
मुसमुन्द्रे चरित्रका धनी रामचन्द्रलाई पार्टी होइन, आफू र आफ्ना आफन्त चाहिएको छ । उनले खोजेको जस्तो देउवाले उनलाई पुर्याइदिने हो भने पार्टी भाँडमा जाओस्, पौडेलले चिन्ता गर्ने छैनन् । उनको एकबारको जुनी गोविन्दराज जोशीलाई लखेट्नुमा बित्ने पक्का छ ।
पौडेलको राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धी जोशीलाई पार्टीबाट साधारण सदस्य नै नरहे गरी कारबाही गर्नु बनेको छ । यही कारबाहीलाई पार्टी सभापति देउवाले अनुमोदन गर्न सहमति दिनु नै उनका लागि देउवा महान नेता बन्न पुगे ।
पूर्वपर्यटन राज्यमन्त्री एवं पूर्व कांग्रेस केन्द्रीय सदस्य रेवतीप्रसाद भूसाल भन्छन्, ‘देउवाको कार्यकाल सकिएर थप कार्यकाल पनि फागुनमा सकिँदै छ । उनले अहिले आएर विभाग गठन गर्दैछन् । उनीसँग वैधानिकताको कुरा गर्नु बेकारको कुरा हो ।’
‘देउवालाई मन लागेको गर्न कसले छेक्ने ? कसले रोक्ने ? उनले पदाधिकारी र शीर्ष सदस्यको बैठक बोलाउँदा प्रश्न गर्ने कोही नभएपछि उनलाई विधानको चासो र हेक्का किन हुनुपर्याे ?’ भूसाल गुनासो गर्छन् ।
कोरोनाको महामारीमा कम्युनिस्ट सरकारले ब्रह्मलुट गरेको भन्दै नागरिकहरु चिच्याइरहेका छन् । सत्ताको नेतृत्व गरेको नेकपाका नेताकार्यकर्ताहरु पार्टीको बेइज्जत हुने गरी सरकारले भ्रष्टाचार गर्याे भन्दै प्रतिवाद गरिरहेका छन् । प्रमुख प्रतिपक्षी भने ‘साँढेले दूध देला र खीर खाउँला’ को अवस्थामा छ । सिंगो कांग्रेसका लागि योभन्दा अपमान के हुन सक्ला ? योभन्दा लज्जाको विषय के हुन सक्ला ?
अझ ‘सभापति देउवा, प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेका छन रे ! अहिले सरकारलाई सहयोग गरेबापत ओलीले देउवालाई पुनः सभापतिमा विजयी बनाउने सहमति छ रे !’ भन्दै ताली पिट्नमा कांग्रेसी नेता कार्यकर्ता व्यस्त देखिन्छन् । कांग्रेसका सिद्धान्तनिष्ठ नेता कार्यकर्ता यही देख्न र सुन्न बाँचेका होलान त !
अझ ‘सभापति देउवा, प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेका छन रे ! अहिले सरकारलाई सहयोग गरेबापत ओलीले देउवालाई पुनः सभापतिमा विजयी बनाउने सहमति छ रे !’ भन्दै ताली पिट्नमा कांग्रेसी नेता कार्यकर्ता व्यस्त देखिन्छन् । कांग्रेसका सिद्धान्तनिष्ठ नेता कार्यकर्ता यही देख्न र सुन्न बाँचेका होलान त !
कांग्रेस लोकतन्त्रको वकालत गर्ने पार्टी हो भने त्यसका लोकतान्त्रिक चरित्रहरु पनि खोज्न जरुरी हुन्छ । अहिलेको अवस्थालाई हेर्दा कांग्रेसमा लोकतान्त्रिक चरित्र छ भन्नु भ्रम बाँड्नु मात्रै हो । पार्टीका पिता मानिने बिपी कोइरालालाई समाप्त पार्न, हरप्रयासको राजनीति गरेका सूर्यबहादुर थापाका सुपुत्रलाई पार्टी प्रवेश गराएर पुस्तौनी कांग्रेस गोविन्दराज जोशी र पुष्करनाथ ओझा जस्तालाई कारबाही गर्ने कांग्रेस नेतृत्वमा लोकतान्त्रिक चरित्र छ भन्न मिन्छ ?
कांग्रेस शेरबहादुर देउवा र रामचन्द्र पौडेको बपाैती हो ? जोशीको पलहमा बनेको पार्टी कार्यालयमा बसेर सम्पूर्ण जीवन कांग्रेसमा समर्पण गर्नेहरुलाई शूली चढाउने, अनि कांगेस नामेट गर्ने शिक्षाबाट दीक्षित सुनिलबहादुर थापालाई फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराउने ?
कांग्रेसमा अझै पनि राजनीतिक चरित्र र सिद्धान्त छ भन्नु खोँचमा गएर गीत गाउनु जस्तै हो । यति गम्भीर अपराध गर्दा पनि कुनै नेताले औपचारिक रुपमा यसको प्रतिवाद गर्न सकेनन् । अबको नेतृत्व युवाले गर्नु पाउनुपर्छ भन्दै डुक्रिने विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे र गगन थापा प्रदीप पौडेलहरुले मुखमा पानी राखेर अवसरको खोजी मात्रै गरेर बसेको देख्दा लाग्छ– कांग्रेस नेतृत्वको निरंकुशता र गैरराजनीतिक चरित्रको इनारको गहिराइ कल्पना बाहिरको कुरा बनिसक्यो ।
भोलिको पार्टीको नेतृत्व दाबी गर्नेले आज पार्टीमा भएका भद्दा मजाकमाथि खबरदारी गर्नुपर्दैन ? युवाबाट नयाँ ढंगको व्यवहारको आशा पनि गर्ने, उनीहरुको चाकरी र आशे चरित्रमाथि प्रश्न गर्न नचाहने नयाँ पुस्ताका कांग्रेसी कार्यकर्तामा पनि सक्नेले जे गरे पनि हुन्छ, नसक्नले सहनुपर्छ भन्ने रोगग्रस्त चिन्तन हाबी भइसकेको छ ।
महाधिवेशनमा सर्वाधिक मत ल्याउने कुलबहादुर गुरुङ र डा. शेखर कोइरालाहरुलाई कनिष्ठ सदस्यको पुछारमा राखेर पार्टी समाप्त पार्न हिँडेकाहरुलाई अग्रस्थानमा राख्दा कुनै नेताले प्रतिवाद नगरेको देख्दा लाग्छ- कांग्रेस अब कुनै पार्टी रहेन । यो व्यक्तिहरुको झुण्डमा परिणत बनिसक्यो भन्नु कुनै अतिरञ्जना हुने छैन ।
विधानमा कहीँ कतै उल्लेख नै नभएको पदलाई एकाएक सिर्जना गरेर बैठक बोलाउँदा पार्टीका महामन्त्री बोल्न सक्दैनन् । वरिष्ठ नेता बेखबर बस्छन् । सभापतिले भन्दैमा कोही शीर्ष हुने कोही कनिष्ठ हुने विधानको कुन धारामा व्यवस्था छ । कुनै कांग्रेसले खोजीनीति गर्याे ? पार्टीमा नांगो नाच नाचिरहँदा पनि सैद्धान्तिक बहस गर्न नसक्ने पनि पार्टी हुन्छ ? पार्टीलाई चितामा सुताएर आगो लगाउन हौसिएका कांग्रेसजन कांग्रेस भएकै कारण सम्पूर्ण जीवन पीडामा बिताएका पुराना नेताहरुको मन कस्तो हुँदो हो ?
तिनै कुलबहादुर गुरुङले ज्यानको बाजी थापेर २०३३ सालमा मृत्यु परीक्षण गर्न नेपाल नआएका भए आज कांग्रेस भन्ने पार्टी हुन्थ्यो, हुन्नथ्यो कुनै कांग्रेसी नेताले सोचेका छैनन् । देउवालाई सभापति जिताउन प्रमुख कारक बनेका गुरुङप्रति देउवा त कृतघ्न बने, बने अरु नेताहरुले समेत गुरुङ यसै धर्तीमा छन् भन्ने हेक्कासमेत राखेका छैनन् ।
विधानमा कहीँ कतै उल्लेख नै नभएको पदलाई एकाएक सिर्जना गरेर बैठक बोलाउँदा पार्टीका महामन्त्री बोल्न सक्दैनन् । वरिष्ठ नेता बेखबर बस्छन् । सभापतिले भन्दैमा कोही शीर्ष हुने कोही कनिष्ठ हुने विधानको कुन धारामा व्यवस्था छ । कुनै कांग्रेसले खोजीनीति गर्याे ? पार्टीमा नांगो नाच नाचिरहँदा पनि सैद्धान्तिक बहस गर्न नसक्ने पनि पार्टी हुन्छ ? पार्टीलाई चितामा सुताएर आगो लगाउन हौसिएका कांग्रेसजन कांग्रेस भएकै कारण सम्पूर्ण जीवन पीडामा बिताएका पुराना नेताहरुको मन कस्तो हुँदो हो ?
कांग्रेसभित्रको यो गैरलोकतात्रिक चरित्रले केही कांग्रेसलाई क्षणिक लाभ देला । रुख रहुञ्जेल हाँगा लुछ्ने हो । रुखै नरहे हाँगाको हारालुछाइ कसरी गर्नु ? आज कांग्रेसको विरासत र चरित्र जोगाउन सके मात्रै भोलि कांग्रेस भनेर गर्व गर्न पाइएला । नत्र खरानी धसेर समाप्त हुनु पर्ला ।
सोच काग्रेसजन !