breakingसमाचारविचारवी पी विचार

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

२९ फागुन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । र, पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।

जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ ।

सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झा उम्मेदवार छिन् ।

शनिबार बिहान बसेको सत्तारुढ १० दलको बैठकले जसपालाई दुई (महिला र पुरुष) उम्मेदवार गर्न अनुमति दिएको थियो । २५ फागुनमा जसपाले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले पुरुष (रामचन्द्र पौडेल) राष्ट्रपति भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेपछि जसपा झस्कियो । जसपाले महिला र पुरुष दुवै उम्मेदवार बनाउन चाह्यो, जसमा नेताहरु सहमत भए । किनकी १२ फागुनमै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेका थिए ।

जसपाले प्रतिनिधिसभा संसदीय दलका नेता रामसहाय र राष्ट्रियसभा सदस्य प्रमिलालाई उम्मेदवार बनायो । रामसहायको उम्मेदवारीविरुद्ध एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले आइतबार रामसहायको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

त्यसको भोलिपल्ट प्रमिला यादवले वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । उनले भनेकी छन्, ‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यहरुलाई अपील गर्दछु ।’

nema
Show More

Related Articles

Back to top button