कांग्रेसमा विद्रोहको खाँचो
गाेविन्द अधिकारी
यसै साताको सुरुमा नेपाली कांग्रेसका एक जनाले नेतासँग भलाकुसारी हुँदा मलाई सोधे – ‘‘तिमीलाई महासमितिलाई सम्बोधन गर्न भनियो भने के भन्छौ ? ’’ उनको ठट्टामा मैले भने – ‘‘नेताहरूविरुद्ध विद्रोह गर्न आह्वान गर्थेँ’’ । उनी हाँसे र भने ‘‘तिमीले त गम्भीर कुरा पो ग¥यौ त’’ । (विसं २०४२ सालमा पोखरा राष्ट्रिय भेलापछि कांग्रेसको कुनै बैठकमा मैले भाग लिएको वा बोलेको छैन । पोखरा भेलामा सहभागीमध्ये अहिले कति नै पो पार्टीमा होलान् र ? आधाउधी त परमधामै पुगी सके होलान् । त्यतिबेला मञ्चमा रहेका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला तीनै जनाको मृत्यु भइसक्यो ।)
कांग्रेस कुनै बेलाको रोमाञ्चक शब्द थियो । अहिले त थाकेको गलेको गन्तव्यहीन यात्रीजस्तो देखिएको कांग्रेसमा आकर्षण पनि बाँकी छैन । यथार्थमा कांग्रेसले आकर्षणमात्र हैन पहिचानसमेत गुमाउँदै गएको छ । बाह्र बुँदे दिल्ली सम्झौतापछि कम्युनिस्टहरूले घिसार्दै र ठेल्दै हिँडाएको कांग्रेसले बाटो नफेर्ने हो भने कुनै पनि विन्दुमा पुग्दा थला पर्न सक्छ ।
विसं २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला देश संकटमा पर्ने जोखिम देखेर ज्यानको बाजी थापेर नेपाल फर्केका थिए । उनैको पार्टीका नेताहरू अहिले पार्टीको विधानमा आफूलाई फाइदा कसरी हुन्छ भन्दै बखेडा झिक्तैछन् । यस्ता नेताविरुद्ध विद्रोहको आह्वान गर्नु पक्कै पनि अर्घेल्याइँ हुनेछैन ।
जनाधारित पार्टीमा उज्यालो र भरपर्दो छविको लोकप्रिय नेतृत्व हुनुपर्छ । अहिले नेपाली कांग्रेसको नेतृत्व पंक्तिमा रहेका नेताहरूको न छवि नै उज्यालो छ न उनीहरू जनताका आँखामा प्रिय र अनुकरणीय नै छन् । तैपनि, अनेकौं तिकडम गरेर नेतृत्वमा टाँसिन चाहन्छन् । नमरुन्जेल नेतृत्वमा बसेर युवा पुस्तालाई अगाडि आउनै नदिएपछि पार्टी कमजोर हुँदै समाप्त हुन्छ । पार्टी नै समाप्त हुने अवस्था उत्पन्न गरेर नेतृत्वमा टाँसिन चाहनेहरूका विरुद्ध महासमिति सदस्यलाई विद्रोह गर भन्नुलाई कसरी अनुचित भन्न सकिन्छ ?
कम्युनिस्टहरूको त दीक्षा नै अधिनायकवादी हो । तर, तिनीहरूसँग प्रतिस्पर्धा गर्न पर्दैमा कांग्रेसले पनि त्यही बाटो अपनाउन हुन्छ ? अहिलेको कांग्रेसको नेतृत्वको मानसिकता त कम्युनिस्टहरूकै जस्तो देखिन्छ । आफ्ना समर्थक कार्यकर्ता पालेर पार्टी कब्जा गर्ने नेताहरूको नियत नबदलिने हो भने जनतामा आधारित दल भएको कांग्र्रेसको मौलिक विशेषता लोप हुन्छ । पार्टीको इतिहास, पहिचान र प्रकृति नै लोप हुने अवस्थामा आदर्शप्रति आकर्षित भएर राजनीतिमा होमिएका युवाले यस्ता नेतृत्वविरुद्ध विद्रोह नगरेर के गर्ने ? कांग्रेस ‘क्याडर बेस’ हुन खोज्नु पहिचान बदल्नु हो । त्यसपछि नाम रहे पनि आत्मा कांग्रेस रहँदैन । नेपाली कांग्रेस मूलतः उदार लोकतन्त्रवादी पार्टी हो ।
संगठनमा अहिले सदस्यता वितरणमा नियन्त्रण गरेर पार्टी संगठनमा प्रभुत्व जमाउने प्रवृत्तिबाट समस्या देखिएको हो । यसले गर्दा पार्टी संगठनमा गलत तत्त्वको बाहुल्य बढ्दै गएको देखिन्छ । कांग्रेसको आदर्श र सिद्धान्तसँग कुनै साइनो नै नभएकाहरू पार्टीको केन्द्रीय समितिमा चुनिने र चक्र बास्तोला वा बलदेव मजगैयाँहरूले चुनाव हार्ने संगठन अहिलेका नेताहरूको स्वार्थका कारण बन्न पुगेको हो । यसैले क्रियाशील सदस्यता कायमै राख्ने तर पार्टीका पदाधिकारीलाई साधारण सदस्यले पनि मतदान गर्न पाउने प्रावधान राखियो भने धेरै समस्या समाधान हुनसक्छ । यस्तो व्यवस्थाले संगठनमा सक्रिय युवाले पार्टी कब्जा गर्लान् भन्ने डर बूढा नेतालाई हुनसक्छ । त्यसका लागि अगिल्लो अधिवेशनभन्दा पहिले सदस्यता लिएकाले मात्र मतदान गर्न पाउने व्यवस्था गरे हुन्छ ।
जाति र क्षेत्रका आधारमा आरक्षणको व्यवस्था गरेर अहिलेकै ठालुहरूलाई सत्ताको स्वाद दिलाइरहन ‘नेपाली कम्युनिस्ट’ले ल्याएको कार्यसूची बीपी कोइरालाको पार्टीकै अगुवाइमा अनुमोदन गरियो । अब फर्कने सजिलो बाटो छैन । समाजलाई यसको दीर्घकालीन प्रतिकूल प्रभावबाट जोगाउन आर्थिकरूपमा कमजोर परिवारलाई राज्यका सुविधामा प्राथमिकता सुनिचित गर्ने नीति अगाडि सार्न नसक्नेहरूविरुद्ध विद्रोह गर्न आह्वान गर्दा अर्घेल्याइँ हुन्छ र ? जातिगत आरक्षणको समाजमा परेको दुष्परिणामा हेर्न चाहने हो भने भारत उदाहरण नै छ । लोकतन्त्रको अभ्यास गरेको ७० वर्षपछि भारतको राजनीति अहिले धर्म, जाति र क्षेत्रमा सीमित भएको छ । चर्को आर्थिक असमानता र गहिरो सामाजिक भेदभावसमेतका कारण सामाजिक विकासका धेरै क्षेत्रमा नेपालभन्दा पनि भारत पछाडि छ ।
कांग्रेसले सबैभन्दा धेरै बाटो बिराएको त आर्थिक नीतिमा हो । बीपीको आर्थिक नीति नेपालको यथार्थ सुहाउँदो थियो । त्यसलाई कार्यान्वयन गरिएको भए देश आत्मनिर्भर हुन्थ्यो । आत्मनिर्भर मुलुकमात्र स्वतन्त्र र स्वाभिमानी हुनसक्छ । बीपीले नपालका लागि र संसारकै लागि पनि अनुपयुक्त ठानेका हेनरी फोर्डको विकास ढाँचा कम्युनिस्टहरूले पनि अपनाए । तर त्यसले देशको अर्थतन्त्र बलियो बनाउन सकेन । अहिलेको नेपालको आर्थिक अवस्था यथार्थमा सुन्निएर मोटाएजस्तै अस्वस्थकर छ । कांग्रेसले गुजारामुलक वातावरणमैत्री, दिगो, श्रमप्रधान र आत्मनिर्भर अर्थतन्त्रको बीपीकै नीति अनुसरण गर्ने हो भने नेपालको भलो हुन्छ ।
उदार लोकतन्त्रवादी दलले कम्युनिस्ट पार्टीको जस्तो सामूहिक नेतृत्वको सिको गर्ने हो भने ‘न हाँसको चाल न कौवाको चाल’ भनेजस्तो हुन्छ । कम्युनिस्टहरूको जनवादी केन्द्रीयतामा पार्टीबाहिर बोल्ने स्वतन्त्रता हुँदैन । यसैले प्रतिपस्र्धीलाई भौतिकरूपमै सिध्याउने षड्यन्त्र हुन्छ । नेपाली कांग्रेसमा त प्रतिबन्धित कालमा समेत त्यस्तो कट्टरता थिएन । पार्टीका कार्यवाहक सभापति सुवर्ण शमशेरको नीतिविरुद्ध सरोज कोइरालाहरूले विद्रोह नै गरेका थिए । बोल्न नपाउने संगठनमा मात्रै कथित सामूहिक नेतृत्वको अभ्यास उपयुक्त हुनसक्ला । त्यसमाथि नेतृत्व त जति नै सामूहिक भने पनि एकल नै हुन्छ । त्यसैले विधानमा सभापतिलाई कमजोर बनाउन खोज्नु अन्ततः कांग्रेसको अस्तित्व समाप्त पार्ने उपक्रमको प्रस्थान विन्दु हुनसक्छ । सिद्धान्ततः यो गलत हुनेछ । महासमिति सदस्यहरूले यसमा विवेक प्रयोग गर्नुपर्छ । उदार लोकतन्त्रवादी जनताधारित दलमा एक जना नेताले नै हाँक्ने हो ।
व्यवहारिकरूपमा सभापतिलाई कमजोर बनाउन खोज्नु प्रकारान्तरले शेरबहादुर देउवालाई हराउन सकिन्न भनेर हरेस खानु हो । सभापतिबाट देउवालाई हराउनै नसक्ने टुंगोमा कांग्रेसका अरू नेता पुगेका हुन् भने यो पार्टीलाई विघटन गरिदिए हुन्छ । कारण देउवाकै नेतृत्व रहिरहने हो भने नेपाली कांग्रेस समाप्त हुन धेरै बेर लाग्दैन । माझीले नै डुबाउन लागेको डुंगामा तमासा हेरेर बसिरहने कि बहाना खोसेर डुंगा पार लगाउने प्रयास गर्ने ? महासमिति सदस्यहरूले नेताहरूको दौराको फेर समातेर हैन आआफ्नै धरातलमा उभिएर बीपीले भनेजस्तै ‘एक मुठी माटो’ हातमा लिएर विवेक प्रयोग गर्नुपर्छ ।
कांग्रेसका पार्टी सभापति र संसदीय दलका नेता न सदनमा सुनिन्छन् न सडकमा देखिन्छन् । शून्यमा बिलाउँदै गएको यही नेतृत्व, नीतिहीनता र अकर्मण्यता रहने हो भने नेपाली कांग्रेसको भविष्य समाप्त हुनसक्छ । कम्युनिस्टहरूको विकल्पमा उग्र कम्युनिस्ट वा दक्षिणपन्थी अधिनायवादीहरू चुनावबाटै सत्तामा पुग्न सक्छन् । कांग्रेसलाई त्यही कुनामा पु¥याउने बाटामा घचेट्ने नेतृत्वविरुद्ध विद्रोह नगर्ने हो भने तरुणहरूको भविष्य समाप्त हुनेछ । महासमिति सदस्यहरूले हस्तक्षेप गरेरै पनि ७० वर्षे प्रावधान लागु गराउन सके सायद पार्टी बौरिन्छ । भारतमा ४० वर्षे राहुलको हातमा गएको वर्ष दिनभित्रै कांग्रेस बौरिएको देखियो । भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांगेसबीच धेरै समानता छ । केही देशमा बाहेक संसारभर युवावर्गले देशको नेतृत्व गरेको छ । भारतमै पनि राहुल गान्धीले पार्टीको नेतृत्व गरेको १ वर्षमै भारतीय राष्ट्रिय कांग्रेस पुनः उदाएको छ । यही गति कायम रहे आउने वर्षको निर्वाचनमा कांग्रेस पुनः सत्तामा पुग्नेछ । पार्टीको भविष्य संकटमा पारेर पनि आफ्नो स्वार्थ पूरा गरिरहनुपर्ने लोभीपापीहरूलाई विद्रोह गरेर भए पनि तह लगाउन गरिएको आह्वानले हित त कांग्रेस र देशकै गर्ने हो ।
नेपाली कांग्रेससँग नेपालको लोकतन्त्रको पनि भविष्य गाँसिएको छ । यसैले कांग्रेसको दलगत राजनीतिमा चासो नराख्नेहरू पनि यसका शुभेच्छुक छन् । लोकतन्त्रको संघर्षमा अहिलेसम्म अरू कुनै पार्टीले नेतृत्व गरेको पनि त छैन । गौरवमय इतिहास भएरमात्र भने नपुग्ने रहेछ । कांग्रेसको वर्तमान नेतृत्व हेर्दा यो पार्टी त्यही नेपाली कांग्रेस हो भन्ने पत्याउनै मुस्किल हुन्छ । कांग्रेसले आफ्नो भूमिका पहिल्याओस् भन्ने चाहना राखेरै मैले महासमितिका सदस्यले विद्रोह गर्नुपर्छ भनेको हो ।
बाह्रखरीबाट साभार