ध्रुवहरि अधिकारी
गुप्तचरको पुस्तक नै समाचारको स्रोत हुन पुगेको छ । कुनै बखत ‘रअ’ को विशेष निर्देशक रहेका अमर भूषणले लेखेको ‘इन्साइड नेपाल’ (नेपालभित्र) नामक किताब छापिएपछि त्यसलाई आधार बनाई समाचार लेखिएको देखिन्छ– हिजो सोमवार । ईण्डियाकै छापा ‘डेली न्यूज एण्ड एनालिसिस्’ (डिएन्ए) को अन्लाइन संस्करणमा वरिष्ठ संवाददाता सुमितकुमार सिंहले लेखेको समाचार छापिएको छ ।
समाचारको शीर्षक र त्यसको पेटबोली दुबै सन्सनी फैलाउने प्रकृतिका छन् : नेपालको राजतन्त्र ‘रअ’ले फ्याँकेको हो । र, त्यस कामको थालनी सन् १९८९-९० मा भएको थियो । ‘रअ’ को दोहोरो जिम्मेवारी थियो :१) फरक-फरक सैद्धान्तिक विचारधारा राख्ने राजनीतिक दलहरूमा एकता गराउने, र २) नेपालमै गुप्तचरहरूको सञ्जाल निर्माण गर्ने । अनि यी दुई विधिबाट राजसंस्थालाई विस्थापित गर्ने । तर लक्ष्य हासिल गर्न आवश्यक सबै गतिविधि अत्यन्त गोपनीय ढङ्गबाट सञ्चालन गर्नुपर्ने चुनौती थियो ।
नेपालमा भारतको प्रभावलाई कम गर्न राजाले चीनसँग सहयोग खोजेको कारणले भारत थप झस्कियो । त्यसै बखत हो, भारतले नेपालमा लोकतन्त्र सुरक्षित राख्ने कामको जिम्मा गुप्तचर निकाय ‘रअ’ लाई सुम्पियो ! अनि ‘रअ’का प्रमुख ए. के. वर्माले चाहिँ सहयोगी जीवनाथन्लाई त्यो गहन कार्यभार जिम्मा लगाए । ( जीवनाथन् छद्म नाम हो,समाचारमा भनिएको छ ।)
अमर भूषणको चर्चित किताबमा प्रचण्डलाई ‘रअ’को राजतन्त्र पाखा लगाउने योजनामा सामेल गर्न लामो समय लागेको चर्चा भएको छ । एकपल्ट त उनले ‘रअ’सँग प्रश्न समेत गरे: हामी राजतन्त्रमुनि रहौं वा जनगणतन्त्र मातहत, तपाञीहरूलाई किन चिन्ता ? तर पछि माओवादीहरूलाई गोप्य (खतरनाक) ठाउँहरूमा समेत डाकेर अनेक चरणको वार्ता गरेपछि बल्ल प्रचण्डको सहमति प्राप्त भएको थियो । प्रचण्ड पछि गएर (सन् २००८ र २०१६ मा गरी) दुई खेप नेपालका प्रधानमन्त्री भए ।
किताबमा चर्चित मुख्य बुँदाहरू यिनै हुन्, समाचारको मजबुन यही हो । यति पढेकै भरमा पनि बुझ्न सकिने कुरा यी हुन्:–
– नेपालका राजाले राजीव गान्धीका कुरा नसुनेको, नमानेको अनि सँगसँगै चीनसँग मित्रता बढाएकोले नेपालले २०४५/४६ सालमा भारतीय नाकाबन्दी खेप्नु परेको थियो
– दिल्लीको कूटनीतिक दबाबले काम नगरेको हुनाले नै राजीव सरकारले नेपालमा जन-आन्दोलन भड्काउन सहयोग पु-याउने बाटो समातेको थियो
– राजतन्त्रलाई विस्थापित ‘रअ’को माध्यमबाट दिल्लीले गरेको हो, स्थापित गर्ने क्षमता पनि उसैमा छ । अन्य शक्तिको जोड चल्दैन
– माओवादी नेताहरू शुरुमा चीनका ‘महान्’ अध्यक्षको नामबाट चिनिए तापनि पछि गएर ‘रअ’ का प्यादा मात्र हुन पुगे ; तिनले स्वाभिमानी नेपाली जनतालाई भ्रमित पारे; पार्दैछन् । तिनको असली चरित्र बेलैमा चिन्न पाएको भए नेपाली मतदाताले आफ्नो मत खेर जान दिने थिएनन्
– काँग्रेस लगायतका अन्य दलका नेता पनि ‘रअ’ कै संयोजनमा सञ्चालित भएका हुन् । मधेसी कहलिन रुचाउने दलका नेतागणको त कुरै भएन । यसरी धोका दिने नेताहरूलाई तिनका कार्यकर्ताहरूले कति छिटो र कति निर्णायक ढङ्गले विद्रोह गरी लखेट्न सक्छन् त्यो समयको अन्तरालमा देखिँदै जानेछ । अहिले यस पक्षमा यत्ति मात्र ।
एउटा सान्दर्भिक प्रश्न: यो ‘इनसाइड नेपाल’ को प्रकाशन अहिले किन भयो होला त ? केही कुरा अनुमान गर्न सकिन्छ । जस्तो, किताब छाप्ने र वितरणमा लैजाने समयको छनोट पनि महत्वको कुरो हुने रहेछ । उदाहरण हो : ‘एक्सिडेण्टल प्राइम्-मिनिष्टर’ । डा. मनमोहन सिंहको प्रधानमन्त्रित्वको पहिलो कार्यकाल ( सन् २००४-८) मा उनैका प्रेस सल्लाहकार सञ्जय बारूको यो पुस्तक सन् २०१४ को निर्वाचनको केही महीना पहिले छापियो । काकताली मात्र नहोला, निर्वाचनमा सोनिया अध्यक्ष रहेको काँग्रेसले ठूलो पराजय बेहोर्यो । पाँचौं वर्षमा त्यस किताबकै आधारमा त्यही नामको चलचित्र बनेर सन् २०१९ को चुनावअघि प्रदर्शनमा आयो, फेरि बीजेपी र नरेन्द्र मोदीकै लहर आइदियो ।
@ लोकान्तर डटकमबाट साभार