वीपी विचार – रेवती प्रसाद भुसाल
“म मरेपछि नेपाली काँग्रेसमा मेरो भुमिकाको वारेमा व्यापक भ्रम श्रृजना गर्ने प्रयास हुनेछ । घटनाहरुलाई वङ्गयाएर इतिहासको गलत व्याख्या गरिनेछ ।” करिव करिव आफ्नो जीवनको अन्तिम समय तिर वि.पी ले भन्नु भएको कुरा हो यो । वि.पी.ले जे अनुमान या भविष्य वाणी गर्नु भएको थियो,आज त्यस्तै भईरहेको छ । उग्र वामपन्थी तथा उग्र दक्षिण पन्थीहरुले मात्र होइन, नेपाली कांग्रेस कै कतिपय नेता कार्यकर्ताहरुले पनि भ्रम श्रृजना गर्दै या भनौ आफै भ्रमित हुदै वि.पी का वारेमा गलत व्याख्या गरि रहेको अहिले हामीले देखि रहेका छौँ ।
राष्ट्रियता,प्रजातन्त्र र वि.पी
नेपालको राजनितीमा प्रवेश गर्दा वीपीले राष्ट्रीयता र प्रजातन्त्रलाई मुल आधार मान्नु भयो । प्रजातन्त्र प्राप्तीको लडाई लड्दा वँहाले कहिल्यै पनि राष्टी«य स्वतन्त्रताको पक्षलाई कमजोर हुन दिनु भएन । २००७ सालको क्रान्ति होस या २०२७–२०२८ साल तिरको शसस्त्र संघर्षको कार्यक्रम होस वा २०३३ साल पछिको राष्टीय मेलमिलापको नीति पछिको शान्तिपुर्ण संर्घषको कार्यक्रम होस् सवै कार्यक्रम,आन्दोलन वा क्रान्तिमा राष्टीयता र राष्टीय स्वाभिमान प्रति वहाँ सदैव सचेत रहनु भयो । २००७ साल तिरको नेपाली जनमत त्यती सचेत र शिक्षित जनमत थिएन । गरिवी, अशिक्षा र सामन्ती दासताबाट ग्रसित जनता थिए । गरिवीलाई इश्वरको दण्ड मान्दथे । राजालाई विष्णुको अवतार मान्दथे । राणाहरुले राजाको नाममा शासन चलाएका थिएँ । जनताको यो भावना वि.पी ले नवुझ्ने कुरा भएन । क्रान्ति सफल पार्न राणालाई कमजोर वनाउन र जनतालाई राणाको विरुद्धमा उत्साहित गराउन राजा क्रान्तिको पक्षमा छन् भन्ने देखाउनु जरुरी थियो । त्यसैले वि.पीले क्रान्ति शुुरु गर्नु पुर्व राजालाई राणाहरुको कैदबाट मुक्त गरी पश्चीम नेपालको पाल्पामा लैजाने योजना वनाउनु भयो । तर राजा त्रिभुवन आफ्नो ज्यान र राजतन्त्रलाई जोखिममा पार्न चाहदैनथे । त्यसैले जनताले तयार पारेको किल्ला भित्र बस्नु भन्दा भारतको शरणमा जान सुरक्षित ठाने र भारतीय दुतवासको शरणमा पुगे । त्यती वेलै वि.पी ले भन्नु भयो, क्रान्ति हाम्रो हातमा मात्र रहेन । भारतले खेल्ने ठाउँ पायो । राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको यस्तो दुरदर्शी प्रभाव देख्ने त्यती वेला वि.पी बाहेक शायदै अरु कोही थिएनन् । परिणाम २००७ सालको क्रान्तिको अन्त्य अथवा राणा–राजा सम्झौतालाई स्वीकार्नुको विवसता वहाँले आफ्नो आत्म वृतान्तमा मार्मिक रुपमा उल्लेख गर्नु भएको छ । क्रान्ति पश्चातको सरकार गठन, भारतीय राजदुतको हेपाहा प्रवृती नेहरुको हस्तक्षेप आदी राष्ट्रीय स्वाभीमान विपरितका कार्यको वहाँले सदैव प्रतिकार गर्नु भयो । तर भू राजनीतिको कारण भारतसँगको सम्वन्धलाई सदैव महत्व दिनुभयो । भारत वा चिनको हस्तक्षेप वा सिमा विवादमा सदैव नेपाली मान सम्मानलाई कायम राख्नुभयो तर दुवै देशसँगको मित्रतामा पनि आँच आउने काम गर्नुभएन । आफ्नो १८ महिने छोेटो प्रधानमन्त्रीत्व कालमा पाकिस्तान, इजरायल लगायतका देशहरुसँग दौत्य सम्वन्ध कायम मात्र होइन ती देशको भ्रमण समेत गरी नेपालको स्वतन्त्रताको परिचय दिनुभयो ।
वीपीको छोटो शासनकाल वा छिटो सत्ताच्युतको लागि केहि कथित वुृद्धिजिवीहरुले वि.पीको अपरिपक्वता वा अति उत्साहीपन भनि दोष दिने पनि गरेका छन् । यस्ता व्यक्ति वाहिर मात्र होइन, नेपाली काँग्रेस भित्रै पनि देखिन्छन् ।वीपी व्यवहारिक वनेर राजा तथा भारतसँग मिलेर (झुकेर ?) काम गर्नुपर्ने पनि भन्ने गरेकोे सुनिएको छ । तर के २०१७ सालको प्रतीक्रान्ति केवल वि.पीको सत्ताच्युत हुनुमा मात्र सिमित थियोर ? २००७ सालको जनक्रान्तिको सम्पुर्ण उपलब्धिलाई कायम राखि केवल त्यस क्रान्तिका नायक वि.पीलाई मात्र सत्तच्युत गरेको भए यो भनाई सँग सहमत हुन सकिन्थ्यो । २०१७ सालको घटना त राजा महेन्द्रको जनअधिकार विरोधी र एक व्यक्तिको तानाशाही कायम गर्ने कठोर राष्ट्रघाती कदम थियो । जनअधिकार खोस्दा र प्रजातन्त्र अपहरण गर्दा त्यस्को नायकलाई बन्दी बनाउनु पर्ने अन्यथा नायकको नेतृत्वमा जनताले प्रतिकार गर्ने हुनाले मात्र वि.पी.लाई राजाले बन्दी बनाएको थिए । अर्को पनि कारण थियो, त्यति बेला वि.पी. कोइराला देशमा अत्यन्त लोकप्रिय हुनु हुन्थ्यो र अन्तराष्ट्रिय मञ्चमा पनि वहाँको ख्याति बढि रहेको थियो । एक छत्र अधिनायकवादी राजगर्ने मानसिकता भएका राजालाई अरु ढिला गरेमा आफ्नो योजना सफल हुन सक्दैन कि भन्ने चिन्ताले सैनिक हस्तक्षेप गरी छिटो सत्ता हत्याउन प्रेरित गरेको हुन सक्छ ।
वीपीको कहि कतै कमजोरी नभएको भने होइन । वहाँले आफै पनि स्वीकार्नु भएको छ । २००८ सालमा मोहन सम्सेर सँग विवाद हुँदा सिंहदरबारको सेना नारायणहिटीमा सार्ने जुन निर्णय भयो त्यसले राजा बलिया भए । एउटा त्यो गल्ती थियो । अर्को १८ महिना सम्म शाशनमा रहंदा सेना तर्फ ध्यान नदिनु । यी दुई गल्ती नेतृत्वबाट भएका हुन भनेर स्वयं वि.पीले आफ्नो आत्मवृतान्त र जेलजर्नलमा स्वीकार्नु भएको छ ।
वीपीआजीवन प्रधान मन्त्री बन्न सक्नु हुन्थ्यो । यदि वहाँले राष्टी«यता सँग अलिकती सम्झौता गरेर भारत सँग झुकेको भए र अर्को प्रजातन्त्र सँग अलिकति सम्झौता गरेर राजा महेन्द्रको अनुशाशित प्रधानमन्त्री बन्न स्विकार गरेको भए । तर के प्रधान मन्त्री भई रहनु मात्र वि.पी.को जीवनको ध्येय थियो र ? वहाँको ध्येय त स्वतन्त्र स्वाभिमानि देशका स्वतन्त्र र सुखी नेपाली जनता हुन भन्ने थियो । वहाँलाई आफ्नो निजी स्वाभीमान र स्वतन्त्रता जत्तिकै नेपाली जनताको स्वतन्त्रताको पनि उत्तिकै खयाल थियो । वहाँलाई आफ्नो जीवन सँग असन्तुष्टि पनि थिएन भएन । करीब अन्तिम काल तिर भोला चाटर्जी सँगको सम्वादमा तपाईको जीवन कत्तिको सफल भनी प्रश्न गर्दा, सफलताको माप दण्ड के ? सत्तामा रहनु, प्रधान मन्त्री हुनुलाई मात्र म सफल मान्दीन म आफ्नो जीवनमा जुन उद्देश्यका निम्ति लडे त्यो अन्तिम बेला सम्मपनि त्यसमा संघर्षरत रहे , म मेरो आत्मा प्रति इमान्दार रहें, मलाई यसैमा खुसी छ भनेर भन्नु भएको छ । राणा पछिको लामो प्रधानमन्त्री पदको भोग त सूर्य बहादुर थापाले पनि गर्नुभयो । तर के सूर्य बहादुर थापाको तुलना वीपी सँग हुन सक्छ र ? तसर्थ शासनमा रहनु मात्र सफलता होइन, निश्चित लक्ष्य र ध्येयमा इमान्दारीताका साथ निरन्तर लाग्नु नै जीवनको सार्थकता हो भन्ने वीपी ले देखाएर छाड्नु भएको छ ।
“यज्जीव्यते क्षणमपि प्रथितं मनुष्यै
विज्ञान शौर्य विभवार्य गुणै समेतम ।
तन्नाम जीवीत मिह प्रवदन्ति तज्ज्ञाः
काकोपि जीवति चिरञ्च वलिं च भुङ्.ते ।।”
त्यस्तै मानिसको जीवनलाई वास्तविक जीवन मानिन्छ , जो क्षण भरको लागि मात्र वाचोस तर विज्ञान वीरता ऐक्ष्वर्य, लगायतका श्रेष्ठ गुणले युक्त भएर कीर्तिका साथ वाच्दछ । वाच्नको लागि मात्र त अर्काले दिएको वली खाएर कौवा पनि लामो समय सम्म वाच्दछ । त्यसकारण देश र जनताको लागि आफ्नो सम्पुर्ण क्षमताको प्रयोग गरेर निरन्तर लाग्नु नै सफल जीवन हो भन्ने विचार नै सच्चा वीपी विचार हो ।
राजतन्त्र र वीपी
२००७ साल देखि २०१७ साल सम्म संवैधानिक राजतन्त्रको वारेमा कुनै विवादै भएन । नेपाली काँग्रेसको विधानमा नै संवैधानिक राजतन्त्र राखिएको थियो । २०१७ सालको घटना पछि राजतन्त्र विवादमा आयो । स्व. राजा महेन्द्रले नै निर्विवादित राजतन्त्रलाई विवादित वनाउने कार्य गरे । साँच्चीकै भन्ने हो भने राजतन्त्रको जरो काट्ने कामको सुरुवात नै २०१७ साल पौष १ गते का दिन भयोे । ८ वर्षको लामो कारावास पछि स्वनिर्वाशनमा वनारस वस्दा वि.पी ले राजतन्त्रको वारेमा ऐतिहासिक तथ्य र व्याख्या सहित एउटा लामो लेख लेख्नु भयो जुन तत्कालीन तरुण पत्रीकामा प्रकाशित भयो । सारमा वि.पी ले राजतन्त्रको वारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै भन्नुभयो, निरङ्गकुश राजतन्त्र कुनै हालतमा स्विकार्य छैन । संवैधानिक राजतन्त्रमा राजा वस्न चाहन्छन् भने स्वीकार्य हुन सक्दछ तर राजा सम्वैधानीक अर्थात जनताको सार्वभौमीकता अन्र्तगत बस्न चाहदैन भने मलाई पनि नेपाली जनतालाई पनि राजतन्त्र स्वीकार्य छैन । यसैबाट वीपी को राजतन्त्र सम्वन्धी विचार वुझ्न सकिन्छ । २०३३ साल पछि वि.पी ले राष्ट्रीय एकता र मेलमिलापको नीतिलाई नेपाल आउँदा राजासँग सहकार्य गरी प्रजातन्त्र प्राप्त गर्ने नीति लिनु भएको छ । यसलाई दक्षिण पन्थीहरुले भारतमा वस्न नदिएर वा वस्न नसकेर आएको भनेका छन् भने कम्युनिष्टहरुले राजासँग झुकेको समर्पण गरेको भनेका छन् तर वीपी त्यती वेलाको विश्व राजनीति र विशेष गरेर दक्षिण एसियाको अस्थिर राजनितिक अवस्था, साना राष्ट्रले आफ्नो राष्ट्रीयता गुमाएको अवस्थालाई देखेर तथा आफु भारतमा वस्दा नेपालको राष्टी«यता झन कमजोर हुने महसुस गरेर राष्ट्रको रक्षाको लागि नेपाल आउनुभएको वहाँको त्यति वेलाको विभिन्न लेख भाषण र तत्कालिन परिस्थिती हेर्दा थाहा हुन्छ । वि.पी ३० डिसेम्बर १९७६ मा नेपाल आउनुभयो । त्यस भन्दा अघि १९७१ मा भारत सोभीयत शान्ती मैत्री सन्धी भयो जस्ले भारतलाई असंग्नताबाट सोभियत रुसको धु्रवमा लग्यो । १९७१ मा वङ्गलादेश स्वतन्त्र त भयो तर लगतै भारतको अनुयायी जस्तो वन्यो । १९७५ मा सिक्कीमको भारतमा विलय भयो । त्यती नै वेला देखि अफगानीस्तानमा अस्थिरता देखिन थाल्यो जुनपछि गएर वि.पी को नेपाल आगमन पछि १९७९ मा रुसले कब्जा ग¥यो । यिसवै घटनाहरुको विश्लेषणबाट आफु हिन्दुस्तानमा वसी रहने हो भने नेपालको स्वतन्त्रता पनि संकटमा पर्ने अवस्था देखि राष्ट्रीयताको रक्षार्थ वि.पी नेपाल प्रवेश गर्नु भएको कुरा घाम जतिकै छर्लङ्ग छ ।
नेपाल आगमन पछि वीपी को दुइवटा कुरा प्रमुख छन् । राष्टी«यताको संरक्षणको लागि राजासँग संर्घष नगर्ने तर प्रजातन्त्रको मूल्यमा राजासँग समर्पण नगर्ने प्रजातन्त्र प्राप्तीको लडाई जारी राख्ने । वहाँ जीवित रहँदा सम्म यसै नीतिको आधारमा आफ्ना गतिविधी गर्नु भयो नेपाली काँग्रेसलाई गतिशिल वनाउनुभयो । ८ वर्षको नेतृत्वको कारावास र लामो निर्वाशनपछि छिन्नभिन्न भएको नेपाली काँग्रेसको संगठनलाई पुर्नजिवन दिनुभयो । जसको कारणले २०३७ सालमा जनमत संग्रह भयो । परिमाण प्रजातन्त्रवादीको पक्षमा नआएतापनि त्यसबाट देशमा राजनितीक गतिविधी वढाउन र साँच्चीकै भन्नेहो भने त्यसकै पृष्ठ भूमिमा २०४६ सालको आन्दोलनको सुत्रपात र सफलता मिलेको हो ।
काँग्रेस भित्र र वाहिर पनि यो प्रश्न प्रायः रहन्छ कि २०४६ सालमा कम्यूनिष्टहरु सँग मिल्नु र २०६४ मा राजतन्त्र फ्याक्नु के यो वि.पी विचारको अनुकुल छ ?
वि.पी सदैव आफ्नो अर्थात नेपालीको सामथ्र्यले मात्र लोकतन्त्र स्थापना गर्नेमा दृढ निश्चियी हुनुहुन्थ्यो । नैतीक सहयोग लिन सकिन्छ तर विदेशीको आडमा आएको लोकतन्त्र टिकाउ हुदैन र राष्ट्रहित पनि गर्दैन भन्ने वि.पीको मान्यता हो र यो उहाँको अनुभव जन्य कुरा पनि हो । कम्युनिष्टसँग मिल्दा वहाँले दुईवटा समस्या देख्नुभयो । काँग्रेस र कम्युनिष्टको लक्ष्य नमिल्नु र कम्युनिष्टहरु विदेशी नेतृत्वमा विभाजित हुनु । २०४६ सालको आन्दोलन सफल भएता पनि हामीले यो भोगी सकेका छौकी संसदीय प्रजातन्त्र र संविधानलाई स्विकार गरेको ए.मा.ले २०४८ सालको निर्वाचन पछि रचनात्मक प्रतिपक्षी नभएर २९ दिनमा सरकार ढाल्ने भन्दै राज्यका सवै अङ्गलाई आक्रमण गर्न पुगेको थियो । २०५१ सालमा भारतीय स्वार्थ अनुरुप अरुण तेस्रो जस्तो आयोजनाको विरोध र त्यसलाई खारेज गर्न पुगेको थियो । हामी यो भन्न सक्छौ की कम्युनिष्टहरुलाई प्रजातान्त्रिक धारमा ल्यायौँ । तर कुन मूल्यमा ? प्रजातन्त्र आएको २८ वर्ष पछि पनि हामी अझै अविकसित मुलुकमा नै छौँ । हजारौ नेपालीको हत्या भयो,हजारौ घरवार विहिन भए र आज गाउँहरु खालि रहेका छन्, गाउँ वृद्धा आश्रममा परिणत भएको छ । यत्रो मूल्य चुकाउदा पनि अझै लोकतन्त्रको स्थायित्व र संम्वृद्धिको संसय वाकी नै छ ।
वि.पी आफु गतिशिल हुनुहुन्थ्यो वहाँको विचार पनि गतिशिल थियो । वहाँको एउटा कालखण्डको विचारलाई लिएर त्यसैलाई मात्र रटान लगाउनु वि.पी विचार होइन । प्रजातन्त्रलाई स्वीकार गर्ने राजतन्त्र उहाँको नेपाली शासनतन्त्रको आर्दश हो । तर प्रजातन्त्रलाई स्वीकार नगर्ने राजतन्त्र उहाँलाई स्वीकार्य हुने कुरै भएन । त्यसैले २०१७ सालमा जनतन्त्रलाई घात गर्ने राजतन्त्र सच्चिनुको वदला फेरी २०५९ मा जनतन्त्रलाई घात गर्न पट्टि लाग्नु नै राजतन्त्रको मृत्युको कारण हो । हामीले राजतन्त्रलाई आफ्नो क्षमताले फ्याक्नुपर्दथ्यो , अर्काको साहारा र आडमा होइन । त्यो नेपाली काँग्रेसको तत्कालको नेतृत्वको कमजोरी हो । तर फ्याकिसकेको राजतन्त्रलाई वोक्ने नियतले वि.पी विचारको दुहाई दिनु किमार्थ पनि उचित होइन । यस्तो विचारले नेपाली काँग्रेस सवल वन्न सक्दैन ।
अन्त्यमावीपीको लेखको एउटा अंश उध्दहरण गरेर यसलाई टुङ्गयाउछु,“उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन र सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ भन्ने एकथरी विचार छ । अर्को भनाई केछ भने नैतिकता विनाको राजनीति सफल भएपनि ग्राह्य छैन र नैतिकता विनाको राजनीति सर्वथा पापाचार मात्र हो । …………… माथिका नैतिकता वारेका दुवै दृष्टिकोण अतिवादको उदाहरण मात्र छन् । राजनिती र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु देशको राजनीतिमा अग्रणी हाम्रो पार्टीले नै यसवारे पनि एउटा नयाँ वाटो र सर्वथा अभिनव प्रारम्भ गर्नुपर्दछ । साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकता विनाको राजनीति निरर्थक र अलिनो हुन्छ । त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरु वीच नै असत्यको प्रचार ग¥यौ, गैर इमान्दार भएर कार्य गर्यौ र आपसमा अविश्वास गर्यौ भने हामी राजनीतिक कार्यकर्ताहरुको संर्घषमय शुष्क जीवनको संवल नै के रहन्छ र ? मनुष्य आफै एउटा अत्यन्त कमजोर निरीह प्राणि हो । तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरुलाई भुलेनौ भने घोर अन्धकार र निरासाका अवसरमा पनि यसको क्षीण प्रकासले हामीलाई जीवित र उल्लासमय वनाई राख्नेछ ।”
जय नेपाल ।