समाचार

कांग्रेस नेता गुरुङद्वारा देशव्यापी अभियान शुरु, सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट

२१ बैशाख ,दमौली÷नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले वी.पीको विचार प्रचारका लागि तनहुँबाट देशव्यापी अभियान सुरु गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असहमति राख्दै समर्थन फिर्ताको घोषणा गरेका गुरुङले बीपीको विचारमा पार्टीलाई ल्याउनका लागि भन्दै अभियान थालेको घोषणा गरेका हुन् । बीपी विचार समाज तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यक्रममा उनले आफू बीपीका विचार लिएर सातवटै प्रदेशमा जाने उत्घोष गरे ।

कार्यक्रममा उनले कांग्रेस बीपीको सिद्धान्तबाट विचलित भएका कारण हार बेहोर्नु परेको भन्दै पार्टीमा सुकिला मुकिलाहरु हावी हुँदा संकटमा परेको टिप्पणी गरे । ‘बीपीलाई नसम्झने कांग्रेस हुन सक्दैनन् तर अहिले जसको नेतृत्वमा कांग्रेस छ, उनीहरुले बीपीलाई बिर्सिएका छन्,’ उनले भने । ‘कांग्रेसले अहिले बीपीको विचार र सिद्धान्त सबै बिर्सेको छ,’ उनले भने,‘कांग्रेसका नेताहरुले हसिया हथौडामा भोट हाल्न निर्देशन दिनेसम्मको अवस्थाले पार्टी निकै कमजोर बनेको छ ।’ उनले आफ्नो कार्यक्रममा नजानका लागि पार्टीबाट विज्ञप्ति नै जारी भएको खबरले दुःखी भएको भन्दै भने,‘बीपीको विचार लिएर हिंड्दा मलाई रोक्न खोजिंदा आश्चर्य लागेको छ ।’ जवसम्म देशको कुनै क्षेत्रमा काँगे्रस बाँकी रहन्छ तवसम्म काँगे्रस समाप्त नहुने गुरुङको विश्वास छ ।

कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले पार्टीमा विश्वास नहुँदा अनेक गुट बनेको भन्दै देशमै अपराधीकरण र अपराधको राजनीतिकरण भैरहेका बेला पार्टीलाई एक बनाएर कांग्रेसले मात्र नेतृत्व लिनसक्ने बताए । ‘सत्ता, सम्पत्ति र शक्तिका लागि सबै कुरा त्याग्दा पार्टी कमजोर भएको हो,’ उनले भने,‘स्थानीय, प्रदेश र संघमा कमजोर पार्टीलाई नयाँ जीवन दिन पार्टीले सशक्त भूमिका खेल्नुपर्दछ ।’

पूर्व सह महामन्त्री गोविन्दराज जोशीले पार्टीलाई सुधार्न खोज्दा आफूहरुमाथि कारबाही गर्ने धम्की दिएर कार्यकर्तालाई त्रासमा पारिएको आरोप लगाउँदै सबै कार्यकर्तालाई कारबाही गर्न चुनौती दिए । जिल्लाको राजनीतिप्रति संकेत गर्दै उनले पार्टी संगठनमा आफ्नालाई मात्र जिम्मेवारी दिएर अरुलाई पछि पारे आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए । उनले बीपीले बनाएको बाटो पार्टीले छोडेर नेतृत्वले पैसामा टिकट बिक्री गरेको आरोप लगाए । नेता जोशीले विधान र सिद्धान्तअनुसार पार्टी चलाएर पुर्नजीवित बनाउन आफूहरु सक्रिय भएको बताए । उनले काँगे्रस नेता के.वी गुरुङलाई नेत्रृत्व सम्हाल्न आग्रह गदै भने— ‘तपाई काँगे्रस सम्हाल्नुस , तनहुँ काँगे्रस तपाईको साथमा छ ’ ।
कार्यक्रममा नेताहरु विनयध्वज चन्दले नेपाली काँगे्रसलाई पहिलेकै ठाउँमा लैजान वी.पीको बाटो अवलम्बन गर्नुपर्ने बताए । काँगे्रसबाट वी.पी नजन्मिएका जिकिर गदै वी.पीबाट काँगे्रस जन्मेको बताए । उनले पार्टीमा वैचारिक विचलन आएकाले वी.पी को विचारलाई शसक्त बनाउनको लागि वी.पी विचार राष्ट्रिय समाजको गठन गरिएको उल्लेख गरे । उनले भने—, ‘ यो कुनै ब्यक्ति विषेशको झुण्ड होइन, वी.पीको विचारलाई रोक्न खोज्नेहरु काँग्रेस नभएको उनले बताए ’ ।

पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद खगेन्द्रराज रेग्मीलगायतले बोलेका थिए । यातायात व्यवसायीको सार्वजनिक हड्तालका बाबजुद कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता उपस्थित भएको महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेलले दाबी गरिन् । तनहुँसहित कास्की, गोरखा र स्याङजाबाट कार्यकर्ता कार्यक्रममा सहभागी भएका थिए ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button