विचारनेपाली कांग्रेस

गुटको आँखामा गुटै संसार

महेश आचार्य काठमाडौं, ३१ वैशाख |
१‍. ऊर्जाको गलत प्रयोग
चुनावी हारको आन्तरिक कारण
तीनवटै निर्वाचनमा आएको अनपेक्षित परिणामबाट हामी रन्थनिएका छौँ । निर्वाचन हार्नुमा नेतृत्वपंक्तिको असफलता पहिलो कारण हो । ठूलो अंशको जिम्मेवारी सभापतिको काँधमै पर्छ । केन्द्रीय समितिमा बसेको हिसाबले हामीले लिनुपर्ने जिम्मेवारीबाट हामी पनि पछाडि हट्नु हुँदैन । पार्टीको समग्र सांगठनिक संरचना परिचालित गर्न सकेनौँ । गुटगत प्रवृत्ति हाम्रो निर्णय प्रक्रियामा हाबी भयो । संगठनका सबै शक्ति हामीले परिचालन गर्न सकेनौँ । निराश भएर बसेका कांग्रेसीलाई उत्साह जगाउने ढंगको व्यवहार अपिल र आकर्षण नेतृत्वले जगाउन सकेन । हामीले उपलब्धि गरेका विषयलाई जनतासम्म लान सकेनौँ । कांग्रेसीजन एकअर्काको मानमर्दनमा रमाइरहे । विपक्षीसँग भन्दा हामीले आफ्नै पार्टीभित्र परस्पर द्वन्द्व गर्यौँ । यसकारण हामीले अनपेक्षित परिणाम भोग्यौँ । तर, हामीले आत्तिनुपर्दैन । एकपटकको जनमत अनन्तकालसम्मका लागि होइन । जनमत निरन्तर आफ्ना पक्षमा निर्माण गर्ने, पोषण गर्ने कार्य जारी राख्नुपर्छ । आमाले बच्चालाई पोषण गरेजस्तो असल कार्य नेतृत्व र संगठनले गर्नुपर्छ, जुन कामलाई जनताले चित्त बुझाउनुपर्छ ।

पार्टी सभापति प्रधानमन्त्री हुँदा संविधान कार्यान्वयन गर्ने तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको जस उहाँलाई नै जान्छ । तर, पार्टीले पराजय व्यहोर्नुपर्दा उहाँले जिम्मेवारी लिने नैतिक साहस गरेको भए विषय यति विवादित हुने थिएन ।

२. हारको बाह्य कारण
आन्तरिकभन्दा बाह्य कारणले पनि हामीले यस्तो चुनावी परिणाम भोग्यौँ । दुई कम्युनिस्ट पार्टी मात्र होइन, अरू ससाना कम्युनिस्ट पार्टी पनि एक ठाउँमा उभिएर कांग्रेसविरुद्ध मत दिने अवस्था उत्पन्न भयो । जनताको भावना शान्त र सौम्य नहुँदै निर्वाचन भयो । जातीय र पहिचानका लागि आन्दोलन भए । भारतले लगाएको नाकाबन्दीले सिर्जना गरेको मनोवैज्ञानिक असर, मधेसमा लगातार आन्दोलन हुुनु, पहाड र मधेसबीचको दुरीलाई राजनीतिक दलले एजेन्डा बनाए, भावनात्मक रूपले अस्थिर मनस्थिति भएका वेला निर्वाचन हुँदा पनि हामी हार्यौँ। जनताले शान्त हृदयबाट देशको दीर्घकालीन हित केमा छ भनेर निर्णय गर्नुको साटो तीव्र रूपमा घटना घट्ने र आन्दोलन हुँदा जनतामा अर्कै मनोविज्ञानले काम गर्यो ।

३. हारको जिम्मेवारी कसको ?
पार्टी हारको विषयमा फरक–फरक मत भएपछि लामो समयसम्म बहसको प्रतिध्वनि आइरहन्छ । मुख्य कुरा के हो भने संगठनको संरचनामा प्रमुख नेतृत्वकर्ताले राम्रा उपलब्धिको जस पनि लिन पाउने हुन्छ । केही दुर्घटना भयो, केही पक्ष कमजोर भए भने त्यो अपजसको जिम्मेवारी लिने र नैतिक बल देखाउने हो भने मात्र संगठन अगाडि बढ्छ । हाम्रो पार्टीका सभापति प्रधानमन्त्री हुँदा संविधान कार्यान्वयन गर्ने तीन निर्वाचन सफलतापूर्वक गरेको जस उहाँलाई नै जान्छ । तर, पार्टीले पराजय व्यहोर्नुपर्दा उहाँले जिम्मेवारी लिने नैतिक साहस गरेको भए विषय यति विवादित हुने थिएन । यद्यपि निर्णय प्रक्रियामा पार्टीको समग्र संरचना र नेतृत्वपंक्तिको सहभागिता छ । यसैले पार्टी हारमा हामी सबै कुनै न कुनै हिसाबले जिम्मेवार छौँ । यो विषय विवादमा आइरह्यो भने हामीले अल्पमत र बहुमतका नाममा जेजस्ता निर्णय गरे पनि असन्तुष्टिको प्रतिध्वनि लामो समयसम्म चलिरहनेछ ।
वैधानिक रूपले सभापतिलाई जुन–जुन अधिकार दिइएको छ । यो मेरो मात्रै अधिकार हो भनेर बल प्रयोग गर्नुको साटो साथीहरूसँग परामर्शको विवेकले अधिकार प्रयोग गर्दा उचित परिणाममा पुग्छौँ । पदाधिकारीको निर्णय प्रक्रियामा असहमति प्रकट गर्दा पनि भनेको थिएँ– बलको प्रयोग प्रमुख हुँदैन । बल प्रयोग गरिँदाको परिणाम अभिलिखित हुन्छ । त्यसैले सभापतिको अधिकारलाई सिनियर साथीसँगको परामर्शको विवेकमा प्रयोग गर्दा स्वीकारयोग्य हुन्छ । राजनीतिक पार्टी भनेको थोरै व्यक्तिको चित्त बुझाएर गरिने निर्णय होइन । यो त धेरै ठूलो समूहसँग परामर्श गर्दा निर्णयको स्वीकारोक्ति बढ्छ । हाम्रो पार्टीमा यसरी निर्णय गर्दा पटक–पटक दुर्घटना भएको छ । तर, सभापति चुक्नुभएको छ ।
४. कहाँ चुक्यौँ हामी ?
कसैकसैले ८ बजे खानू भनेको औषधि ९ बजे खाँदा खासै असर गर्दैन भनेको पनि सुनियो । तर, यस्तो होइन, अघिल्लो दिन बेलुका खानुपर्ने औषधि भोलिपल्टको ९ बजे खाएपछि त्यसले राम्रोसँग काम गर्न सक्दैन । त्यसले क्षति गराउँछ । बितेको दुई वर्षमा पार्टी महत्वपूर्ण घटनाबाट गुज्रिएको छ । संविधान कार्यान्वयन, अनेकौँ आन्दोलन र यिनको व्यवस्थापन, सत्ताको नेतृत्वको अवसर, गठबन्धन निर्माण र छिटै विघटन, भारतीय नाकाबन्दी, जातीय, पहिचानका आन्दोलन आदि व्यहोर्नुपर्यो । यी सबै सन्दर्भमा पार्टीको शक्ति परिचालन गर्ने गरी सभापतिले काम गर्नुभएन । अहिले पनि तीन पदाधिकारीको मात्र विषय होइन, चालीस विभाग गठन हुन सकेका छैनन् । जहाँ एउटैमा चालीसभन्दा बढी नेता क्रियाशील हुने थिए तर हामीले यस्ता विभागलाई चलायमान बनाउन सकेनौँ ।
गुटको परिधिबाट निर्णय गर्ने, देश र पार्टीका समस्यालाई गुटगत समस्याका आँखाले हेर्ने गल्ती गर्यौँ भने गुटको आँखामा गुटै संसार जस्तो देखिन्छ ।
५. चिन्ताको कारण
संविधान कार्यान्वयन र रक्षा गर्दै सरकारलाई खबरदारी गर्नु हाम्रो पहिलो दायित्व हो । दोस्रो, लाखौँ कार्यकर्ता, समर्थक र शुभेच्छुकमा निर्वाचन परिणामपछि नैराश्य बढेको छ । उनीहरूको शक्ति र सामथ्र्य क्रियाशील गराउने सांगठनिक शक्ति र ऊर्जा बढाउनु अर्को प्रमुख जिम्मेवारी छ । यी दुई दायित्व पूरा गर्न कांग्रेसको थोपाथोपा शक्ति लगाउनुपर्छ । पार्टीको सबै शक्ति यसतर्फ केन्द्रित गर्नुपर्ने वेलामा हामीले पार्टीभित्रै मतभेद चर्काएर जाने, गुटको परिधिबाट निर्णय गर्ने, देश र पार्टीका समस्यालाई गुटगत समस्याका आँखाले हेर्ने गल्ती ग¥यौँ भने गुटको आँखामा गुटै संसार जस्तो देखिन्छ । यसबाहिर केही देखिँदैन । गुटगत चाहना र कल्पना मात्र यथार्थ हुन् कि भन्ने देखिन्छ । गुटभन्दा माथि नउठ्ने हो भने हाम्रो शक्तिको ह्रास हुन्छ । ऐतिहासिक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकिँदैन ।
६. नीति र नेतृत्वको एजेन्डा किन ?
पार्टीमा अहिल्यै गम्भीर मतभेद चर्किने गरी ‘अर्ली महाधिवेशन’को मुद्दा उठाउनुभन्दा संविधान जारी गरेको, उपलब्धि हासिल गरेको र कमजोरी गरेका विषयको समीक्षा महाधिवेशनका प्रतिनिधिले गर्ने हो । महाधिवेशनमा पार्टीको नेतृत्व, मुद्दा, नीतिका विषयमा पनि छलफल हुन्छ । पार्टीको वैधानिक र सांगठनिक संरचनालाई फेरबदल गर्ने विषयमा छलफल हुन्छ । पार्टीभित्र एकता कायम गर्ने, अनुशासन कायम गर्ने र अन्तर्घात निधानको उपायमाथि महाधिवेशनमा छलफल हुन्छ । नेतृत्व, नीति, निर्णय गर्ने प्रक्रियादेखि सांगठनिक संरचना, अनुशासनसहितका विषय महाधिवेशनमा उठ्छन् । वर्तमान सभापतिको नेतृत्व र भूमिकाको विषयमा महासमितिमा कुरा उठ्छन् र महाधिवेशनमा यी विषय एजेन्डा बन्छन् । तर, अहिले नै हाम्रो शक्तिलाई तीन–चारवटा खेमामा विभाजित हुनुको साटो विवेकपूर्ण बहसको थालनी गर्नुपर्छ । यस्ता विषयमा पूर्वाग्रहरहित बहस चलाउनुपर्छ न कि गुटगत बहस । एकले अर्कालाई दोषारोपणभन्दा नीति र नेतृत्व पार्टीमा एजेन्डा बन्छ भन्ने बहस अघि बढाउनुपर्छ ।
७. अब के गर्ने ?
हाम्रो पक्षमा जनमत नआए पनि अब सांगठनिक शक्तिलाई अझै बढी क्रियाशील गराएर नयाँ मतदाताको मत जित्ने कार्यक्रम प्रस्तावित गरी जनमत जित्नुपर्छ । यसो गर्नका निम्ति गुटबाट माथि उठ्नुपर्छ । समग्र पार्टीको शक्तिलाई एकढिक्का बनाउनुपर्छ । सभापतिसँग ठूलो मौका थियो । उहाँ धेरै ठूला दुर्घटनाको साक्षी बन्नुभयो, पात्र बन्नुभयो । सिंगो कांग्रेसलाई एकताबद्ध गर्ने ऐतिहासिक अवसर उहाँलाई थियो । तर, दुर्भाग्यवश उहाँको भूमिका गुटको नेतृत्व गर्ने साँघुरो ठाउँतर्फ फर्कन आँटेको देखिन्छ । यो शुभसंकेत होइन । पदाधिकारी मनोनयनका वेला असहमतिपत्रमा पंक्तिकारले यी विषय ‘नोटिस’ गराएको छ । पार्टीलाई एकताबद्ध बनाएर चाँडै महासमिति गर्ने र महासमिति डाकेर नेतृत्व, नीति, हाम्रो निर्णय प्रक्रिया, सांगठनिक र वैधानिक ढाँचा, पार्टीभित्रको एकता र अनुशासनमा केन्द्रित भएर अब बहस चलाउनुपर्छ ।
(आचार्य कांग्रेस केन्द्रीय सदस्य हुन्)
शाभार नयाँ पत्रिका राष्ट्रिय दैनिक

nema
Show More

Related Articles

Back to top button