'शेरबहादुरजीको ढंग पुगेन'
कांग्रेस केन्द्रीय समिति बैठक जारी छ, निर्वाचनमा भएको पराजयबारे बहस भइरहेको बाहिर आइरहेको छ, यथार्थ के हो ?
बैठकमा मैले आफ्नो धारणा व्यक्त गरेको छु। सबै कुरा बताउनु जिम्मेवार कार्यकर्ताको हिसाबले उपयुक्त पनि होइन। किनकि म पार्टीभित्र पनि सिस्टममा बस्नुपर्छ भन्ने मान्यता राख्छु। यद्यपि मैले निर्वाचनमा भएको पराजयलाई ‘रणनीतिक हार’ को संज्ञा दिएको छु। संविधानसभाबाट संविधान जारी भएपछि कांग्रेस सत्ताको पक्षमा कमजोर देखियो। राष्ट्रपति, सभामुखदेखि सबै जिम्मेवारी गुमाउनुपर्ने अवस्था उत्पन्न भयो। त्यतिबेलैदेखि कांग्रेसको ओरालो यात्रा सुरु भयो, त्यसको प्रतिफल हामीले निर्वाचन हार्यौं। पुष्पकमल दाहाललाई हामीले प्रधानमन्त्री बनायौं, तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म पनि उहाँ हामीसम्म टिक्न सक्नुभएन। हामीले पनि टिकाउन कुनै भूमिका निर्वाह गर्न सकेनौं, त्यो पनि कांग्रेसको रणनीतिक कमजोरी वा असफलता हो। यसबाहेक उम्मेदवार छनोटदेखि प्रचारप्रसारका क्रमसम्म व्यवस्थापकीय कमजोर पनि धेरै भए। नेतृत्वको नीतिगत निर्णयदेखि संगठनात्मक संरचनाको भूमिका पनि निर्वाचन हार्न सहयोगी बन्यो। आफ्नै नेतृत्वमा मुलुकलाई संघीय संरचनामा लगे पनि अहिलेसम्म पार्टीका प्रादेशिक कमिटी बन्न सकेका छैनन्। निर्वाचनअघि नै प्रदेश कमिटी बनाएर त्यसको अधिवेशन गराउन सकेको भए सकारात्मक सन्देश जाने थियो।
अब पार्टीमा आमूल परिर्वतन गरेर अगाडि बढ्नुको विकल्प छैन। पार्टी बैठक जारी रहेकाले एउटा निचोड अवश्य निस्कनेछ। तर पार्टी बैठकको सुरुमै सभापतिका तर्फबाट महामन्त्रीले निर्वाचनसम्बन्धी एउटा प्रतिवेदन प्रस्तुत गरिदिएको भए उपयुक्त हुन्थ्यो। बैठकको अन्त्यमा सभापति र पदाधिकारीले प्रतिवेदन पेस गर्नु हुन्छ, त्यसपछि अगाडिको बाटो तय हुनेछ।
तपाईंले बैठकमा सभापति देउवाले पार्टी कब्जा गर्नसक्ने आकलन प्रस्तुत गर्नु भएको विषय सार्वजनिक भयो, कांग्रेस देउवाको कब्जामै गएको हो त ?
पार्टीको फ्रन्टमा रहेका शेरबहादुरजी, रामचन्द्रजी र महामन्त्रीले चाहनुभयो भने सधैं पार्टीको नेतृत्वमा बसिरहन सक्नुहुन्छ भन्ने मेरो आशय हो। पार्टीलाई नेताहरूले कब्जामा राख्नु ठूलो कुरो होइन, तर देशमा कम्युनिस्टहरू एकीकृत भएर सिंगो सत्तालाई कब्जा गर्न थालेका छन्, राज्यका अंगहरूले सन्तुलन गुमाउन थालेका छन्। यो स्थितिलाई हामीले कसरी सामना गर्ने भन्ने प्रमुख विषय हो। कांग्रेसले त्यस्ता गतिविधि चिर्न अहिलेकै अवस्थामा सम्भव छैन। यसका लागि पार्टीमा सबै प्रकारका परिर्वतनको आवश्यकता छ। नीतिगत तथा रणनीतिक व्यवहार परिवर्तन गर्न सक्यौं भने हामीले फेरि पनि नेतृत्व गर्न सक्छौं, जसका लागि हामी तयार हुनु आवश्यक छ। यसका लागि परिवर्तित हुन नसक्ने साथीहरूले नेतृत्व पनि छोड्न सक्नुपर्छ र व्यापक बहस र परामर्श गर्न आवश्यक परे महासमिति बैठक बोलाएर छलफल गरौं भन्ने मेरो दृष्टिकोण हो। समाजको गतिमा पार्टी पनि अघि बढ्न सक्नुपर्छ।
तेह्रौं महाधिवेशनपछि पार्टीको नेतृत्व वा पार्टीबाट भएको कमजोरी केके हुन् त ?
यसबारे मैले बैठकमा विस्तृत कुरा राखेको छु। सबै कुरा सार्वजनिक गर्न म चाहन्न। महाधिवेशनमा शेरबहादुरजी सभापति हुनुमा मेरो पनि योगदान छ। मैले सहयोग गरेको भए रामचन्द्रजी सभापति हुनुहुन्थ्यो भन्ने अहिले पनि लागेको छ, तर त्यो विगत भइसक्यो। महाधिवेशनपछि मैले सभापतिको रूपमा देउवाजीले लिएका निर्णयलाई निःसर्त सहयोग गरेकै हुँ। सभापतिको निर्णयलाई मान्नुपर्छ भन्ने पार्टीको स्थापित मान्यताका कारण सघाउँदै आएको हुँ, भ्रातृसंगठनहरूको मुद्दादेखि निर्वाचनसम्म। तेह्रौं महाधिवेशनदेखि अहिलेसम्मको स्थिति हेर्दा उहाँको नेतृत्वको पार्टी सफल हुन भने सकेन। यो सर्वविदित छ। यस्तो कुरा गर्दा आफू पनि जिम्मेवारीबाट भाग्न मिल्दैन। मलाई चित्त नबुझ्ने कतिपय काम नेतृत्वबाट भए तर त्यसलाई रोक्न सकिएन। गलत निर्णयहरू त रोक्नुपथ्र्यो। त्यसको जिम्मेवारी मैले पनि लिनुपर्छ, तर नेतृत्वको भूमिका महŒवपूर्ण हुन्छ। बैठकअघि निर्वाचनको परिणाम र नीतिगत विषयको प्रतिवेदन पेस गरेको भए उहाँले धेरै आलोचित हुनुपर्ने थिएन पनि। केन्द्रीय समितिका सदस्य साथीहरूलाई विश्वासमा लिने एउटा मौका पनि हुन सक्थ्यो। उहाँले यो अवसर गुमाउनुभयो, यो परिपक्वता अभावको परिणाम हो। अब कांग्रेसको आन्तरिक जीवनलाई पूर्णरूपमा परिवर्तन गर्नैपर्छ
महाधिवेशनमा देउवालाई सघाउनु गलत भएको प्रमाणित गर्न खोज्नुभएको हो ?
सुरुमा मैले शेरबहादुरजी सघाएकै होइन। सुशील कोइराला जीवित भएको भए म उहाँलाई नै सघाउँथें। जिल्ला अधिवेशन सुरु भएकै दिन उहाँको आश्चर्यजनक मृत्यु भयो। त्यसपछि सभापतिमा सघाउने नेता नै भएन। रामचन्द्रजी र शेरबहादुरजीलाई सभापति मान्ने अवस्था नरहेपछि गगन थापा र उमाकान्त चौधरीसहित आफैंले सभापतिमा उम्मेदवारी दिएको हुँ। उहाँहरूले नेतृत्व लिनसक्ने अवस्था नभएकाले मेरो उम्मेदवारी आएको हो। भोट दोहोरिने अवस्था आएपछि निर्वाचन परिणाम हेरेर कम्प्रोमाइज गर्न मैले शेरबहादुर र रामचन्द्रलाई आग्रह गरेको हुँ। त्यतिबेलाको वातावरण देउवाको पक्षमा गइसकेको थियो।
शेरबहादुर सभापति भएपछि उहाँलाई सघाउनु मेरो कर्तव्य हुन गयो। अहिले मैले उहाँलाई भन्ने गरेको छु, तपाईंलाई सघाउन दिएको ब्ल्यांक चेक फिर्ता लिएँ। किनकि उहाँले मेरो सहयोग लिन नसकेको हो वा लिन नचाहेको हो बुझिनँ। पार्टीलाई देशकै नेतृत्वमा पुर्याउनका लागि के गर्न सकिन्छ भन्नेमा मेरो ध्यान दृष्टि जानेछ।
५. अबको बाटो के त ?
लोकतान्त्रिक मूल्यमा रहेर समृद्ध राष्ट्र बनाउनुपर्छ भन्ने मान्यतामा विश्वास गर्दै आएको हो कांगे्रस। संघीयता, लोकतन्त्र, समावेशी सहभागिता आजका थप मान्यता हुन्। यी मान्यताकै आधारमा राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ। यी मूल्यमान्यतालाई सम्बोधन गर्न कांग्रेसभित्र आमूल परिर्वतन आवश्यक छ।
हामीले राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्र ढाल्यौं, तर पार्टीभित्रको सामन्ती प्रवृत्ति भने कायमै रह्यो। यो समस्या कांग्रेसमा मात्र होइन प्रमुख भनिएको एमाले र माओवादीमा पनि देखिएको छ। सबै सामन्ती शासन कांग्रेसकै नेतृत्वमा ढालिएको हो, त्यसैले आफूभित्रको सामन्ती सोच अन्त्य गर्नैपर्छ। चाकडीका भरमा अवसर पाउने प्रवृत्ति सामन्ती सोचको उपज हो। हामीले यसलाई मन र व्यवहारबाटै अन्त्य गर्नुपर्छ। लोकतान्त्रिक आचरण पार्टीको आन्तरिक जीवनमा पनि लागू गर्नुपर्छ। इतिहास भजाएर मात्रै अब चल्दैन।
तपाईं अहिले रामचन्द्रसँग मिलेर आफ्नो गुट बलियो बनाउन लाग्नुभएको भन्ने खबर सही हो ?
पार्टीभित्र समूहहरू निर्माण हुनु स्वाभाविकै हो। एउटा पार्टीभित्र विभिन्न विचारका आधारमा समूह बन्दा त्यसले पार्टीलाई ऊर्जा नै दिन्छ। गुट वा समूह जब व्यक्तिगत स्वार्थमा प्रयोग हुन थालेपछि मात्र पार्टीलाई नोक्सान पुर्याउने हो। विचार मिल्नेहरूका बीचमा कुरा मिल्नु स्वाभाविकै हो। पार्टीभित्र उठेका विचार सुन्नु लोकतान्त्रिक आचरण हो। कांग्रेस कुनै तानाशाही पार्टी होइन नि, जहाँ अरू विचारहरूका बारेमा छलफल नहोस्।
केही विषयमा रामचन्द्रजी र हामीबीचमा कुरा मिलेको हो। हामी केही विषयमा सँगै देखिएका पनि हौं, तर त्यो स्थिति सधैं कायम रहन्छ भन्ने होइन। विचार नमिलेको बेला फेरि हामी अलग पनि हुन सक्छौं। केही विषयमा शेरबहादुरजीसँग कुरा मिल्यो भन्ने हामी उहाँसँग पनि जोडिएर आउँछौं पनि। किनकि अन्तिम लक्ष्य त हामी सबैको एउटै हो।
तपाईं र रामचन्द्रबीचको सहमति आउँदो महाधिवेशनसम्मका लागि हो कि तात्कालीन अवस्थाका लागि मात्रै ?
मुद्दा मिलेसम्म सहमति कायम रहन्छ। पार्टीको आन्तरिक जीवनमा केही कुरा पनि स्थायी हुँदैन। पार्टी आन्तरिक जीवनमा आपसमा मिलाप र प्रतिस्पर्धा हुनु स्वाभाविक हो। बाह्य कुरामा हामी सबै एक हुन्छौं तर आन्तरिक विषयमा सबैका फरकफरक दृष्टिकोण हुनु अस्वाभाविक होइन। पार्टीको आन्तरिक जीवनमा प्रतिस्पर्धा भएन भने त्यसले शिथिलता ल्याउँछ। हाम्रो कमजोरी भनेको दुई वर्षमा शेरबहादुरजीले साथीहरूको कुनै पनि कुरामा ध्यान दिनुभएन। नेतृत्वले सबैको कुरा सुनेर विवेकसम्मत निर्णय लिनुपर्छ।
सभापतिले एक्लौटी निर्णय लिएको कुरा गर्नुभयो निर्वाचनअघि भएका तयारी बैठकमा तपाईंहरू पनि सँगै हुनुहुन्थ्यो नि ?
सभापतिले कसरी निर्णय लिनुभयो भन्नेमा प्रवेश गर्ने हो भने धेरै कुरा सार्वजनिक हुन्छ। उहाँले चाहेको कुरा मात्रै निर्णय लिनुभयो।
निर्णयप्रक्रियामा तपाईंहरू पनि हुनुहुन्थ्यो नि ?
बैठकमा हामी सहभागी भयांै, तर निर्णय अर्कै भए। प्रतिनिधिसभाको समानुपातिक सूचीसमेत हामीले हेर्न पाएनौं। यसबारेमा अब धेरै कुरा नगरौं। रामचन्द्रजी र उहाँबाहेक अरू कसैले त्यो सूची हेर्न पाएन। यो सब विषय कोट्याएर सुकेका घाउका पाप्रा उक्काउनु राम्रो होइन। हामी निर्वाचन समीक्षा बैठकमा छौं। सकारात्मक नतिजा आउला भन्नेमा म आशावादी छु। महासमिति बैठक बोलाएर त्यसबारेमा व्यापक छलफल र बहस गर्न चाहन्छौं।
पार्टी बैठकमा महाधिवेशनमा जानुपर्ने माग पनि उठेको छ नि ?
सर्वप्रथम प्रदेशस्तरको अधिवेशन गर्नुपर्छ। प्रदेश समिति नहुँदा प्रदेशहरूमा पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा अन्योल छ। किनकि हामी सबै प्रदेशमा प्रतिपक्षी भूमिकामा छौं।
अग्रिम महाधिवेशनको पक्षमा म छैन। नियमित हुन दुई वर्ष बाँकी छ, त्यो धेरै समय होइन। सभापतिलाई महाधिवेशनमै जाऊँ भन्ने लाग्यो भने त्यो झनै राम्रै।
सभापति देउवाको मनस्थिति कस्तो छ ?
कुनै पनि सभापतिलाई आफूले हाँकेको पार्टी असफल होस् भन्ने चाहँदैन। सफल बनाउने रहर उहाँमा होला पनि, तर उहाँको नेतृत्वले त्यो नदेखाएकै हो। उहाँको ढंग पुगेन भन्ने हाम्रो गुनासो हो।
पार्टी सभापतिले पदाधिकारी मनोनयन गर्ने कुरा आएको थियो नि ?
यो कार्यसमिति तेह्रौं महाधिवेशनबाट आएकाले चौधौं महाधिवेशनसम्म यो समितिले आवश्यकताअनुसार काम गर्न पाउनुपर्छ। तर पार्टीभित्र महाधिवेशनको माग नउठेको होइन।
निर्वाचनमा हार्नुको आन्तरिक कमजोरीका बारेमा पनि बहस भएको छ नि ?
भएको छ। सभापतिले सार्वजनिकरूपमै सभापतिले अन्तर्घातीलाई कारबाही गर्छु भनिरहनुभएको छ। पार्टीले निर्वाचनमा हार पहिलोपटक बेहोरेको पक्कै पनि होइन। पहिलो संविधानसभामा पार्टीले चुनाव हार्दा किन अहिले जसरी तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालामाथि प्रश्नहरू उठेनन् ? किनकि उहाँप्रति एउटा विश्वास थियो कि पार्टी पुनः उठ्न सक्छ भन्ने थियो तर अहिले सभापतिमाथि व्यापक आशंका उब्जिएको छ। नेता र कार्यकर्तामा निराशा छ।
प्रसंग बदलौं, अब वाम घटकहरूको एकताले कस्तो प्रभाव पार्ला ?
वाम एकतालाई म पनि नजिकबाट नियालिरहेको छु। मैले यसलाई एकताभन्दा पनि माओवादीको एमालेमा विलय ठानिरहेको छु। माओवादी शान्तिप्रक्रियाको एउटा अंग भएकाले मैलै धेरै समस्या देखेको छु। शान्ति प्रक्रियाका दुइटा पक्ष माओवादी र कांग्रेस नै हुन्। माओवादी भनौं वा प्रचण्ड एमालेमा विलय भएपछि बाँकी कामका लागि हामीले एमालेको नेतृत्व गर्ने केपी ओलीसँग कुरा गर्ने कि पुष्पकमल दाहालसँग ? यसको जटिलता भोलिका दिनमा भयानक पनि हुन सक्छ। त्यतिबेला कांग्रेसले लिने पोजिसनका बारेमा अहिले केही नभनौं। माओवादी अध्यक्ष प्रचण्ड यु टर्न गर्ने स्वाभावका नेता नै हुन्। त्यही भएर उनले बेलाबेलामा युटर्न गर्छन्।
पछिल्लो समयमा वाम गठबन्धन बनाएर चुनाव लड्नुभयो, जितेर सरकार पनि बनेको छ। उहाँहरूले पार्टी एकीकरणको खाका पनि ल्याएको देखिरहेको छु। उहाँहरूको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँको भ्रमण सफल रहोस्, मेरो शुभकमना !