breakingसमाचार

गणतन्त्र घोषणा गर्ने नेताले आफ्नै ‘मृत्युभोज खाँदा’

काठमाडौं । दोस्रो जनआन्दोल र तत्कालिन माओवादीले सुरु गरेको ‘जनयुद्ध’को बलबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ११ बर्ष पुरा भएको छ ।
पहिलो संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र हटाएर नेपालमा गणतन्त्र स्थापना गरेको इतिहास छ ।
तर राजतन्त्र हटे पनि ‘सैन्य कु’ हुने, राजा सक्रिय हुनसक्ने अफवाफका बाबजुत पनि तत्कालिन संविधानसभाले नेपालमा गणतन्त्रको घोषणा गर्‍यो ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सक्रियतामा संविधानसभाका जेष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा संविधान सभाको पहिलो बैठक बस्यो र बैठकले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको घोषणा गर्‍यो ।
जेष्ठ सदस्यको हैसियतमा आफ्नै अध्यक्षतामा बसेको बैठकबाट गणतन्त्र घोषणा गरेर नेपाली राजीतिक इतिहासमा बेग्लै छाप छोडेका ८४ बर्षीय गुरुङ अहिले पनि सक्रिय राजनीतिमा छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका गुरुङ यतिबेला आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आइरहेका छन् ।
बामपन्थीहरुसँग मिलेर चुनाव लडेको, कांग्रेसभित्र गुटबन्दी बढेको, कांग्रेसले विपीको आदर्श र विचारलाई भुलेको, पार्टीको सिद्धान्त र विधानलाई मिचेको लगायतका विषयमा असन्तुष्टी जनाउँदै आएका उनी गणतन्त्रको संस्थागत विकास हुन नसकेकोमा पनि व्यापक गुनासो गरिरहेका छन् ।
२०७२ को राष्ट्रपति निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गुरुङ विपी कोइरालासँग निकट भएर काम गरेका पाका नेताका रुपमा चिनिन्छन् । राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरुमा सडकमा उत्रिएका उनी गणतन्त्रको मियोका रुपमा स्थापित छन् ।
वीपी र केबी
नेपाली राजनीतिक इतिहासमा सबैभन्दा बढी पढिने व्यक्तिमा विश्वेश्वरप्रसाद कोइराला (वीपी) लाई लिने गरिन्छ ।
उनको बैचारिक क्षमता, उनले देखाएको आदर्शको बाटो र समृद्ध राष्ट्रको परिकल्पना आज पनि चर्चाको शिखरमा छ । बीपीका विचार र सिद्धान्तहरुलाई समय सापेक्ष रुपममा परिवर्तन गर्दै नेपाली राजनीतिमा प्रयोग हुँदै पनि आइरहेको छ ।
बान्चुन्जेल अत्यन्तै कठिन जीवनका उकाली ओराली हिंडेका बीपीका साथमा को र कति सारथी र सहयात्रीहरु थिए भन्ने अझै गौण छ ।
वीपीलाई ‘होस्टेमा हैसे’ थप्ने पात्रहरु कतिपय अझै जिवित छन् । जिवित रहेपनि गुमनाम छन् । नेपाली राजनीतिमा निष्ठा र आदर्शको पक्षमा वकालत गर्दागर्दै उनीहरुको जिवन गुमनाममै सिमित भएको छ । तीनैमध्येका एक पात्र गुरुङ पनि हुन ।
राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी भारतको निर्वासनबाट स्वदेश फर्कदा पहिलो दुतका रुपमा गुरुङ नेपाल आएको बताउँछन् ।  ‘कांग्रेस भित्र कांग्रेस खोजिरहेको छु’ भन्ने फरक अभियान लिएर हिडिरहेका उनी मेलमिलाप नीतिका केबीले देखाएको एउटा साहासपूर्ण कदम सम्झन योग्य छ ।
त्यो निर्मम कदम
वीपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए ।
अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन भए ।
त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर फर्के ।
आठ वर्षको भारत प्रवासपछि नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
नेपाल फर्किनु अघि केबी गुरुङ बीपीका दुत बनेर नेपाल फर्किएको कथन उनले हामीसँग सुनाए । नेपाल फर्किनु अघिल्लो रात केबी गुरुङलाई बीपीले गरेको प्रस्ताव र केबीले गरेको साहस निकै मर्मस्पर्सी र त्यागपूर्ण छ र निर्मम पनि ।
विचित्रको योजना
नेपाल फर्कनुअघि बीपीको भित्री चाहना आफू नेपाल जानुभन्दाअघि कसैलाई नेपाली कांग्रेसको तर्फबाट नेपाल पठाउने विचारमा थिए । गणेशमानको भनाई अलिक भिन्न थियो । उनी भन्थे यसबेला नेपाल जानु भनेको ‘सुसाइड’ गर्नु र भारत बस्नु भनेको ‘स्लो पोइजन’ हो, केबी सम्झन्छन् ।
केबीले भने, बीपीले बेलाबेला हामीलाई सम्झाएर भन्ने गर्नुहुन्थ्यो ‘संसारमा यसबेला राजनीति गर्नेले एउटा न एउटा जोखिम लिनै पर्छ’ र यतिबेला नेपाल जाँदा ‘कि मरिन्छ कि जेल जानुपर्छ,’ भनेर सम्झाउनुहुन्थ्यो ।’
बीपीको कदम सम्झदै केबी भन्छन् ‘नेपालमा राजनीति गर्छु भन्नेले भने मेरो गर्धन पनि जान सक्छ भन्ने जोखिम लिएर राजनीति गर्नुपर्छ’ । उहाँ आफैं नेपाल जान हिम्मत गर्नुहुन्थ्यो । तिमीहरूलाई नेपाल जाऊ पनि म भन्दिनँ भन्नु हुन्थ्यो, केबी स्मरण गर्दै भन्छन, ‘यति भनेपछि उहाँको मनोविज्ञान हामीले बुझ्यौं । उहाँ कसैलाई दुतका रुपमा नेपाल पठाउन चाहानुहुन्थ्यो ।’
उनले भने,‘उहाँको मनसाय बुझेर हामी नेपाल जान तयार भयौं र जान्छौं भन्यौं । हामीलाई थाहा थियो त्यो समयमा नेपाल जानु भनेको पञ्चायत शासकको गोली खानु हो । तर मर्नु र बाँच्नुको कुनै मतलब नराखी हामी नेपाल जान तयार भयौं र पटनातर्फ गयौं ।
पटनामा अन्तिम भोज
पटना आइसकेपछि केही नयाँ योजनाहरु पनि बनेका थिए । केबी भन्छन्, ‘पटना आइसकेपछि बीपीले हामीसँगै बसेर खाना खाने इच्छा राख्नुभयो । पटनाबाट प्लेनमा हामी नेपाल आउने तयारीमा थियौं । त्यबीपीले ‘आज बेलुलका म तिमीहरूसँगै बसेर खाना खान्छु भन्नुभयो ।’
‘पटनामा बीपीका निकै नजिकका साथी थिए देवेन्द्रबाबु । उनकै घरमा सुशीला भाउजु, नोना भाउजू गणेशमानजी, शैलजाजी सँगै बसेर खाना खायौं । त्यो रात संभवत हाम्रो अन्तिम रात भएजस्तो लागेको थियो,’ उनले भने ।
‘त्यसदिन सामुहिक रुपमा हामीले खाएको खाना मेरा लागि ‘मृत्युभोज’ सरह थियो । गणेशमानजीले उक्त दिनको खानालाई भाचाखुसीमा लगेर खुवाइने दही चिउरा भनेर सज्ञा दिनुभएको थियो । यो भाचाखुसीको बेग्लै कहानी छ’ उनी विगत सम्झदै भन्छन् ।
केबी गणेशमानको भनाई सम्झदै भन्छन,‘गणेशमानजीले भन्न खोज्नुभएको ‘तिमीहरूको लागि यो अन्तिम खाना हो’ भन्ने हो । त्यस्तो भनाईले बीपी स्तब्ध हुनुहुन्थ्यो । केही बोल्नुभएको थिएन । सामुहिक बसेकाहरु सबै मौन थिए ।
‘त्यसपछि हामी तीन जना म, बासु कोइराला र धर्म गौतम नेपाल फर्कने तयारी भयौं । भोलीपल्ट विहान हामीहरू नेपालतर्फ आयौं । उहाँहरु पटनाबाट अन्यत्रै जाने तयारीमा लाग्नुभयो । पटना एयरपोर्टबाट हामी प्लेनबाट काठमाडौं ओर्लियौं,’ उनले नेपाल फर्किदाको घटना सम्झिए ।
त्यसपछि २५ दिन थुनामा
काठमाडौं उत्रिए लगत्तै केबी लगायतको टोली पक्राउ प¥यो । हामी उनले भने, ‘हामीलाई २५ दिनसम्म हनुमानढोकामा थुनियौं । हनुमान ढोकामा धेरै समय विताउनु परेन । मलाई र धर्म गौतमलाई झापा तिर सारियो । बासु कोइरालालाई काठमाडौंमै राख्यो ।’
’झापा पुर्याए लगत्तै मलाई मार्ने भन्ने हल्ला सुनियो । सोही बेला क्याप्टेन यज्ञबहादुर थापालाई मार्यो । सरोज कोइराला मारिएका थिए । धर्म र मलाई मध्ये एकजनालाई मार्ने भन्ने हल्ला ब्यापक भयो ।
यस्तो हल्ला सुनेपछि २०३५ सालतिर मेरो भाइ हेम गुरुङले मेरो जहान श्रीमतीलाई ‘अब दाइसँग अन्तिम भेटघाट गर्न जाऔं भाउजू’ भनेका थिए रे, केबी सम्झन्छन् ।
‘तर भाग्यवश नै भन्नुपर्छ, म र मेरो जहानले भेटघाट गरेको हप्ता दस दिनभित्रै जनमतसंग्रहको घोषणा भयो । जनमतसंग्रहको घोषणा भएपछि हामी रिहा भयौं । र आजसम्म बाचिरहेको छु,’ जेल जीवनको कथन सुनाउँदै उनले भने ।
साभार fresh News Nepal >com

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button