नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री के.बी. गुरुङद्वारा प्रस्तुत मेरो विचार, कार्यक्रम र अभियान
मिति ः २०७५÷०२÷१८
आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु,
आजको यो महत्वपूर्ण भेलामा मेरो निम्न अवधारणाहरु प्रस्तुत गर्दछु ।
१. मैले ११ वैशाख २०७५ मा सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा मेरा केही अवधारणाहरु राखेको थिएँ । मलाई विश्वास थियो कि कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसभित्र विद्यमान समस्याको समाधान मात्र होइन देशले अहिले भोग्नुपरेको जटिल परिस्थितिको समाधान पनि निकाल्नेछ ।
मैले आज दुःखका साथ भन्नुपर्दछ, कांग्रेसको त्यो बैठक विनाकुनै निष्कर्ष समाप्त भयो । यस्तो जटिल अवस्थामा बसेको कांग्रेसको बैठकले केही ठोस परिणाम निकाल्नुको सट्टा समस्याको जटिलतातिर पनि आफ्नो ध्यान केन्द्रित गर्न सकेन । आज देशको राजनीति कता गइरहेको छ ? के नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व गम्भीर छ ?
अहिले किन कांग्रेसबाहेक सबै दलहरु एक भए ? कसका विरुद्धमा ? केका लागि ? के कांग्रेस यो देशमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष मुलुक बनाउन प्रयोग मात्र भएको हो ? के हिजो जनआन्दोलनमा कांग्रेसको नेतृत्वलाई शिरमा राखेर हिँड्ने दलहरुले आज कांग्रेसको उपयोगिता समाप्त गर्न खोजेका हुन् ? के कांग्रेसविनाको नेपालको परिकल्पना गरिएको हो ? ०६२÷०६३ को आन्दोलनको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भूमिकाविहीन अवस्थामा आइपुग्यो ? यी र यस्तै गम्भीर प्रश्नहरु नेपाली राजनीतिमा उठेका छन् । यसतर्फ आज कांग्रेस नेतृत्व गम्भीर देखिँदैन । यतातिर नेपाली कांग्रेस र नेपाली जनताको ध्यान आकृष्ट गर्नु नै मैले मेरो अभियानको मर्म र उद्देश्य बनाएको छु ।
२. अहिले कांग्रेसका कार्यकर्ताहरुको गला अवरुद्ध भएको मैले महसुस गरेकोे छु । मैले अहिले पुराना कांग्रेस नेताहरुमा निराशा पाएको छु, तरुण पुस्तामा विद्रोहको भावना पाएको छु । आमजनमानसमा नैराश्यता छाएको पाएको छु ।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसको नराम्रो पराजय भयो । हारको जिम्मेवारी कांग्रेस केन्द्रीय समितिले त लियो । तर ती कारणहरु के–के हुन् ? कार्यकर्ताहरु जान्न चाहन्छन् । कांग्रेस नेतृत्वले कारणहरु कार्यकर्तासामु भन्न सकिराखेको छैन । किन कांग्रेस आज प्रभावकारी प्रतिपक्ष पनि रहेन ? वर्तमान सरकारको विरुद्ध अविश्वासको प्रस्ताव राख्ने संख्या र हैसियत पनि छैन भने सदनमा हाम्रो के भूमिका होला । म ठोकेर भन्न चाहन्छु, जुन दिन यो देशमा नेपाली कांगे्रस समाप्त हुनेछ त्यो दिन यो देशमा प्रजातन्त्र र राष्ट्रियता दुवै समाप्त हुन्छ । आज कांग्रेस त्यही बाटोतिर गइरहेको छ । त्यसैले नेपालको राष्ट्रियता र प्रजातन्त्र जोगाउन नेपाली कांगे्रसलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ र यसमा म केही भूमिका निभाउन सक्छु कि भनेर मैले मेरो विचार र कार्यक्रमलाई अभियानको रुप दिएर आज तपाईंहरुसामु उपस्थित भएको छु ।
३. नेपाली कांग्रेस आफ्नो लामो गौरवमय क्रान्तिकारी इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिई तिनै गल्ती र कमजोरीहरुलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको छ । निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साख मात्रै गुमाएको छैन कि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर छ । पार्टी पराजयका विषयमा केन्द्रीय समितिको बैठकमा समीक्षा भइरहँदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्बन गरेको अहिलेको नीतिले हो कि, अथवा हाम्रो कार्यशैलीको कारणले हो वा नेतृत्वको अक्षमताले हो ? भन्ने विषयमा गम्भीररुपमा छलफल हुनुपर्ने थियो, तर दुर्भाग्य ! त्यसतर्फ हाम्रो गम्भीरता देखिएन । अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक बी.पी. कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइपुगेको हो भन्ने मेरो निष्कर्ष रहेको छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमभन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीहरुसँग अंकमाल गर्न पुग्यांै भने कहिले उग्र दक्षिणपन्थीहरुसँग । सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो । यसको शुरुवात कहाँबाट भयो ? र, के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो दुरावस्थामा आइपुग्नुको कारण पार्टीको सैद्धान्तिक विचलन हो ? यसतर्फ हामी कहिल्यै गम्भीर भएनौं । जारी केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराइसम्म पुगेर स्वतन्त्र एवम् निष्पक्ष ढंगले समीक्षा गरी पार्टीलाई गतिशील बनाउन प्रयास गर्नेभन्दा एकले अर्कालाई दोष मात्र थोपरेर आपूm चोखो बन्ने प्रवृत्ति देख्दा म अत्यन्त मर्माहत भएको छु ।
अन्त्यमा नेपाली कांग्रेसको बैठकले पराजयको जिम्मा केन्द्रीय समितिले लिने निर्णय गरे पनि पराजयका कारणहरुको जानकारी दिइएन । केन्द्रीय समितिको कहाँ के–के गल्तीहरु भए भन्ने कुरा यथार्थरुपमा कार्यकर्तासामु नआउँदासम्म कांग्रेस नेतृत्वलाई कार्यकर्ताहरुले विश्वास गर्न सक्ने अवस्था छैन । यदि नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको गल्तीको कारण गत सबै तहका निर्वाचनमा कांग्रेसको पराजय भएको होे भने पुनः ती गल्तीहरु दोहोरिँदैनन् भन्ने के आधारहरु छन्, जसलाई कार्यकर्ताहरुले विश्वास गर्न सकून् । यत्रो गम्भीर गल्ती गरेको कांग्रेस नेतृत्व अझै सबै तहका कार्यसमितिहरु विघटन गरी अविलम्ब नयाँ नेतृत्वको लागि निर्वाचन गर्नुको सट्टा पादावधि सकिएपछि पनि अझै एक वर्ष म्याद थप्ने कुरामा सहमति हुनु र कांग्रेस नेतृत्वले त्यही किसिमको अभिव्यक्ति गरिरहनु कार्यकर्तामाथिको घोर अपमान हो र लोकतन्त्रको खिल्ली उडाउनु हो भन्ने मेरो ठहर छ ।
४. पार्टी विधानअनुसार ११ जनाको बनाउनुपर्ने संसदीय समितिलाई २५ जनाको बनाउँदा पनि हामी सबै मौन रह्यौं । जिल्लाबाट सिफारिस नगरिएका व्यक्तिहरुलाई टिकट दिँदा र एक ठाउँबाट सिफारिस गरिएका व्यक्तिलाई कहीँ–कतै सिफारिस नै नभएको अर्को ठाउँमा टिकट दिँदा हामी कोही बोलेनौं । कार्यसमितिको कुरै छोडौं, संसदीय समितिमा पनि छलफल नै नगरी भागवण्डाका आधारमा विनानिर्णय टिकट वितरण गर्दा कार्यसमितिका साथीहरूको भूमिका बुझी नसक्ने गरी किन मौन रह्यो ? विधान विपरीत बनेको संसदीय बोर्डका सबै सदस्यहरूले आफैंले टिकट लिए, तर दुर्भाग्य ! मुस्किलले चारजनाले मात्र जिते । यो भन्दा लज्जाको विषयको अरू के हुन सक्छ ? आफैं टिकट बाँड्ने, आफैं टिकट लिने र आफू आफ्नो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोष जति अर्काको टाउकोमा पन्छाएर हामी उम्कन सक्दछौं ?
४. ६०÷४० को भागवण्डामा बाँडिएको पार्टी एकजुट हुनेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्ररूपमा नेपाली कांग्रेस हुनेछ, नेपाली कांग्रेसभित्र नेपाली कांग्रेस खोज्ने परिस्थितिको अन्त्य हुनेछ, कांग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति हुनेछ, पार्टी अनुशासित भई विधि विधानले चल्ने पद्धति कायम हुनेछ, पार्टीमा पद र पैसाको आधारबाट हुने राजनीतिको अन्त्य भई निष्ठा, सदाचार र आदर्शको मान्यतामा आधारित देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटीको विकास हुनेछ, पार्टीको मूलभूत सिद्धान्तहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवम् बी.पी.को विचार र चिन्तन व्यवहारमा लागू गर्न यसलाई थप विकसित गर्दै संरक्षण एवम् प्रवद्र्धन गर्नेछ भन्ने विश्वास अहिलेको कांग्रेस नेतृत्वबाट गर्न सकिने अवस्था मैले देखेको छैन । के अहिले कांग्रेस केन्दीय समितिले निर्वाचनको पराजयको जिम्मेवारी लिनु भनेको पार्टीलाई केही व्यक्तिको गुट बनाएर चलाउनु हो ? के पार्टीमा टिकट वितरण गर्दा कार्यकर्ताहरुको आशंका गरेजस्तो पैसामा टिकट वितरण गर्नु हो ? के टिकट वितरण गर्दा आफ्ना परिवार, नातागोता र त्यो पनि नभए आफ्ना वरिपरि घुम्नेहरुलाई टिकट दिएर राष्ट्र र जनताप्रति समर्पित कार्यकर्ताहरुलाई पाखा लगाउनु हो । यदि त्यो हो भने अब त्यसो हुँदैन भनेर वर्तमान नेतृत्वलाई विश्वास गर्ने आधारहरु के–के छन् ? त्यही कुरा मैले यो मेरो विचार र कार्यक्रममा कार्यकर्तासामु उठाउन चाहन्छु ।
५. १३औं महाधिवेशनमा सभापतिमा विजयी बनेका शेरबहादुर देउवाजीले कांग्रेस कार्यकर्ताहरुको विश्वास र पार्टीको सिद्धान्त विपरीत पार्टीमा अझ व्यापकरूपमा गुटलाई प्रोत्साहित गर्ने, पार्टी विधानबमोजिम परिचालन गर्ने कार्यमा सभापतिले पूर्णरूपमा बेवास्ता गरी पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भ्रातृसंस्थाहरूलाई सशक्त बनाई परिचालन गर्न नसकेको, निर्वाचनमा पार्टीको सिद्धान्त–नीति विपरीत पार्टीको कार्यसमितिलाई पनि छलेर प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धतिप्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पुग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षतिलगायतको कार्यबाट १३औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक बसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु । अतः मैले देउवाजीलाई १३औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुखित हुन पुगेको छ ।
६. पार्टी पराजयको यो अत्यन्त गम्भीर अवस्थामा त्यसको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठकले यसका यथार्थ कारणहरु पत्ता लगाउनेभन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेशन वा महासमितिको बैठकको कुरा उठाइएको हो भन्ने मलाई महसुस भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढंगबाट समीक्षा गर्न असमर्थ रहेको अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट सम्भव रहँदैन । हालको तीनै तहमा भएको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । देशमा संविधानसभाबाट जारी संविधानको प्रावधान बमोजिम नयाँ पुनर्गठित जिल्ला, नगर र गाउँको संरचनामा परिवर्तन भएको हँुदा राष्ट्रको संवैधानिक व्यवस्थालाई मध्यनजर गरी, नेपाली कांग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी, सबै तहका समितिहरुलाई विघटन गरी, तदर्थ समिति बनाई, सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गर्नु एकमात्र समाधान हो ।
७. म २००७ सालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रहेको र २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा काठमाडौंमा सहभागी भई गिरफ्तारी दिएको र आजसम्म निरन्तररुपमा पार्टीमा संलग्न हँुदै आएको पार्टीको एउटा बफादार सिपाही हुँ । मैले सदैव निष्ठा, आदर्श र सिद्धान्तलाई महत्व दिँदै आएको छु । भोलिका दिनमा पनि म मेरा यी मान्यताहरुमा अडिग रहिरहनेछु । जननेता बी.पी. कोइरालासँग निर्वासनमा बसेको, २०३३ साल पौष १६ गते बी.पी. निर्वासनलाई परित्याग गरी नेपाल आउनुभन्दा अगाडि बी.पी. कोइरालाको ज्यान जोखिमबाट बचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालीन सरकारले मलाई मारे बी.पी. नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने सर्तमा नेपाल आएको र पार्टी एवम् नेताको लागि ज्यानको समेत परवाह नगरेको बी.पी. कोइरालाको एउटा सच्चा अनुयायी हुँ । त्यसैले त म आज पनि तपाईंहरुको अगाडि उभिएर यति बोल्न सकेको छु ।
आजको यो सभामा देशलाई संकटबाट जोगाउन म सम्पूर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, तरुण र विद्यार्थीहरु, महिला, दिदी–बहिनीहरु, प्राध्यापक, शिक्षक, कानुन व्यवसायी र पत्रकार साथीहरुलाई मेरो यो अभियानमा सरिक हुन हार्दिक अनुरोध गर्दछु । म मेरा पुराना कांग्रेसका नेताहरुलाई निराश नहुन र नेपाली कांग्रेसलाई बी.पी.को बाटोमा पुनस्र्थापित गर्ने अभियानमा संलग्न हुन हार्दिक अनुरोध गर्दछु ।
नेपाली कांग्रेसको यो अत्यन्त नै गम्भीर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको कुनै परवाह नराखी पार्टीका जिम्मेवार साथीहरुको विश्वास र भरोसा प्राप्त भएका बखत पार्टीको जुनसुकै जिम्मेवारी लिएर पार्टीको वर्तमान नेतृत्वले विगतमा गरेका कमी–कमजोरीहरुलाई नदोहो¥याउने बाचाका साथै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका स्थापित मान्यताअनुसार पार्टी सञ्चालन गर्ने प्रण यो समारोहमा गर्न चाहन्छु । देशको परिस्थिति र आमकार्यकर्ताको चाहनालाई आत्मसात् गर्दा मैले पार्टीमा अझै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो महसुस गरेको छु । वर्तमान चुनौतीका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आमप्रजातन्त्रवादी र देशभरका निष्ठावान् कार्यकर्ताको भावनाअनुसार पार्टीलाई परिवर्तन गर्न सम्भव नभएको अवस्थामा पार्टीलाई यसका मौलिक सिद्धान्त र बी.पी. कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको वीरता र किसुनजीको आदर्श एवम् गिरिजाबाबुकोे क्रियाशीलताको बाटोबाट पार्टीलाई अगाडि लैजान नेपाली कांग्रेसका आमनेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्न हार्दिक अपिल गर्न चाहन्छु । अन्त्यमा म जीवनपर्यन्त देश, नेपाली जनता र नेपाली कांग्रेसमा निष्ठापूर्वक सदा समर्पित रहिरहनेछु ।
जय नेपाल !
………………………………
कुल बहादुर गुरुङ (के.बी.)
केन्द्रीय सदस्य
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति