कांग्रेस जिल्ला सभापतिलाई ८ केन्द्रीय सदस्यको पत्र ‘नयाँ संरचना अनुसार तत्काल निर्वाचन थालौँ’
हेटौंडा — कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्र लेखि नयाँ संरचना अनुसार तत्काल अधिवेशन गरी नेतृत्व चयनको विषयमा छलफल गराउन अनुरोध गरेका छन् ।
स्थानीय, संघीय र प्रादेशकि निर्वाचन हुनु २ वर्ष अगाडि नै पार्टी अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहने भन्दै महासमिति मार्फत् अधिवेधनको मिति तोक्न माग गरिएको छ ।
केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, गाउरनगरपालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक भएको भन्दै भेलामा विषय उठाउन अनुरोध गरिएको हो।
‘पुरानै संरचना अनुसार नियमित समयमै महाधिवेशन गर्ने गरी बस्ने हो भने अहिलेको विधान अनुसार ७ प्रादेशिक समिति बाहेक हामीले केहि पनि बनाउन सक्दैनौँ, महासमिति मार्फत नयाँ संरचनामा गएनौँ भने महाधिवेशन पछि सुरु गर्दा अर्को स्थानीय निर्वाचनसम्म पनि हामीले संघीय संरचना अनुसार गतिविधि गर्न सक्दैनौँ,’ भेलामा प्रस्तुत दस्तावेजमा भनिएको छ, ‘वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र, प्रदेशको अधिवेशन गर्न झण्डै १ वर्ष लाग्छ, यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौँ, महासमितिवाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब सुरु गरौँ।’
२०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गर्न २०७६ मा केन्द्रीय महाधिवेशन गर्न सुझाव दिदै गठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने र सशक्त प्रतिपक्षको भुमिका हुने तर्क गरिएको छ।
प्राविधिक कारणले मात्रै निर्वाचन नहारिएको भन्दै राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा राजनीतिक युद्ध जितेपनि चुनावी लडाईं हारिएको तर्क गरिएको छ।
निर्वाचन पश्चात बसेको २०७५ बैशाख ११ गतेको केन्द्रीय कार्य समितिको समिक्षा बैठकमा ७ केन्द्रीय सदस्यले निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्ताव सहितको ५१ पृष्ठ लामो प्रतिवेदन बहसका लागि पेश गरेका थिए।
